Friday, November 28, 2008

निराशा, अराजकता र अन्यौलग्रस्त नेपाल !

आजका मितिमा नेपाल कस्तो छ भन्यो भने भन्नुपर्ने हुन्छ - निराशा, अराजकता र अन्यौलग्रस्त छ । मुलुकमा अराजकता व्याप्त छ । सरकारले हौस्याएको नभन्ने हो भने पनि ट्वाल्ल परेर बसेको छ । नागरिकको अपहरण हुन्छ । अपहरणकारीका बारेमा थाहा पनि हुन्छ तर सरकार केही गर्दैन । अनि केही समयपछि अपहरित व्यक्तिहरूको लास भेटिन्छ । सरकार तै पनि हलचल गर्दैन । नागरिकहरू अराजक आन्दोलनमा उत्रन वाध्य हुन्छन् । सरकार या त अनावश्यक बल प्रयोग गरेर नागरिकमाथि जाइलाग्छ नभए मूकदर्शक बनेर अराजकतालाई प्रकारान्तरले हौस्याउँछ । जनताको जीउधनको रक्षा गर्नु सरकारको पहिलो र सबैभन्दा मुख्य कर्तव्य हो । जीउधन जोगाउन नसक्ने सरकारको अस्तित्व नै समाप्त हुन्छ । सरकारको क्रियाकलाप हेर्दा कम्युनिस्टहरू अहिलेको राज्य व्यवस्थालाई समाप्त पार्न नियोजितरूपमा नै राज्य र सरकारको अस्तित्व समाप्त पार्न लागेका हुन् कि भन्ने शंका उत्पन्न हुन्छ । कतै यिनीहरू चरम अराजकता उत्पन्न गराएर अधिनायकवादी शासन थोपर्ने दाउमा त छैनन् -
नेपाल कम्युनिस्ट पार्टी -माओवादी) को गन्तव्य सर्वहाराको अधिनायकत्व नै हो भन्ने वास्तविकता उनीहरूले लुकाएका छैनन् । त्यसमा पुग्ने बाटोमा पनि उनीहरूले जनविद्रोह नै रोजेका छन् । सरकारको नेतृत्व गरेका हुनाले प्रचण्डको बाटो अलि घुमाउरो र पार्टी हाँक्ने हुनाले किरणको बाटो सोझो देखिएको मात्रै हो दुबैको गन्तव्य र मर्म त एउटै हो । जनविद्रोह गरेर सत्ता कब्जा गर्ने ।
जनविद्रोहअर्थात् बलपूर्वक सत्ता कब्जा गर्ने प्रयास राज्य संयन्त्र कमजोर भएमात्र सम्भव हुन्छ ।सरकार प्रभावकारी भएमा जनविद्रोह सफल हुँदैन । यसैले माओवादीले सरकार र राज्यका सबै संयन्त्रहरूलाई कमजोर शिथिल बनाउन खोज्नु अस्वाभाविक होइन । अहिले चारैतिर अराजकता फैलाउन पनि यही रणनीतिको अंग हो कि भन्ने शंका गर्नु पनि उत्तिकै स्वाभाविक हो ।
नियतिले नेपाललाई अराजकताको तावाबाट उफ्रेर अधिनायकवादको भुंग्रोमा खस्ने बनाउन खोजेको जस्तो छ । यो नियतिमा देशलाई पुर्‍याउने काम नेपाली नेताहरूद्वारा त्यसमा पनि विशेषगरी नेपाली कांग्रेसका नेताहरूद्वारा भएको हो । यसैले मुलुकको आजको दुरावस्थाको मूल दोषी उनीहरू नै हुन् । अलिकति अर्कमण्यता, अलिकति अज्ञान र धेरै पदलोलुपताका कारण शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाले अधिनायकहरूका लागि बाटो सजिलो बनाइदिए । पहिलो जनआन्दोलनको उपलब्धि धान्न त सकेनन् नै दोस्रो जनआन्दोलनको उपलब्धिलाई पनि यिनले लोकतन्त्र र जनताका पक्षमा बनाउन सकेनन् । यिनैको कमजोरी र कुबुद्धिका कारण माओवादीहरू संविधान सभाको निर्वाचनमा भाग लिएर पनि
बलपूर्वक सत्ता कब्जा गर्ने रणनीति बनाइरहेका छन् । जनादेशको यति ठूलो अनादर गर्ने आँट माओवादीले कांग्रेसीहरूकै कमजोरीबाट गरेका हुन् । यसैले कांग्रेसमा नयाँ नेतृत्व वा नयाँ लोकतान्त्रिक शक्तिको उदय नहुँदासम्म मुलुकको भविष्य धरमरमा नै रहनेछ ।

No comments:

Post a Comment