Thursday, November 20, 2008

समानान्तर - 8 कलामका ५ मन्त्र

नेपालको विकासका लागि कलामका ५ मन्त्र
विख्यात वैज्ञानिक एपीजे अब्दुल कलामले नेपालको विकासका लागि पाँच वटा मन्त्र दिएका छन् । कलामलाई भारतका पूर्वराष्ट्रपति भन्दा पनि असल मान्छे र स्वप्नद्रष्टा वैज्ञानिक भनेर चिन्नु सही हुन्छ । राजनीति कलामका लागि पराइ संसार हो । अत्यन्त विवादास्पद कालखण्डमा भारतको राष्ट्रपति भएका भए पनि कलाम हिलोका कमल साबित भए । राजनीतिको फोहोरले उनलाई छुन सकेन ।
कलाम काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन नेपाल आएका थिए । उनको आगमनको मौका छोपेर बीपी कोइराला नेपाल-भारत प्रतिष्ठानले -सोमबार, २ मंसिर, २०६५) आयोजना गरेको प्रवचन कार्यक्रममा ऋषिकल्प कलामले नेपालको विकासका लागि ५ मन्त्र दिएका छन् । नेपालको विकासका लागि कलामले दिएका ५ मन्त्रहरू हुन् -
कृषि तथा खाद्यान्न प्रशोधन,
शिक्षा र स्वास्थ्य,
सूचना तथा सञ्चार प्रविधि,
सबै गाउँमा ऊर्जा, यातायात तथा सञ्चार पूर्वाधार विकास र
पर्यटन विस्तार
कलामको सल्लाह छ - यी काम गर्न राज्य, निजी र प्राज्ञिक क्षेत्र १० वर्ष खट्नुपर्छ । भारतको विकासको उनको सपना 'भिजन - २०२०' का नामबाट चिनिन्छ ।
नेपालको विकासका लागि उनका मन्त्रहरू सामान्य छन् । उनले ठूला चमत्कारी कुरा गरेका छैनन् । कलामले न त नेपाललाई अमूर्त एसियाली मापदण्डमा पुर्‍याउने भनेका छन् न सिंगापुर बनाउने हावादारी गफ दिएकाछन् । उनले भ्यागुते विकास, र १० वर्षा १० हजार मेगावाटको सोमशर्माको सपना बेचेका छैनन् । यसैले यी सल्लाहहरू काम लाग्ने देखिएकाछन् ।
गाउँले नेपाली जनजीवन बाहिरको आर्थिक संकटबाट अहिलेसम्म लगभग अछुतो रहेको छ । यसको कारण नेपालीहरूको गुजारामुखी खेती र जीवन पद्धति हो । आफूलाई चाहिने धेरै अन्नपात र वस्तुहरू नेपाली किसानले आफैंफलाउँछन् । यसैले अन्तको प्रभाव उनीहरूमाथि बिरलै पर्छ । गुजारामुखी जीवन पद्धति नेपालको भूगोलसँग मिल्छ । गुजारा चलाउन नभईनहुने चिजहरू सकेसम्म आफैं जोहो गर्ने प्रणाली नै गुजारामुखी जीवन पद्धति हो । यो आत्मनिर्भर पद्धतिलाई छाडेर गाउँका नेपालीको हित हुनसक्तैन । यसैले कृषि उत्पादन र त्यसमा आधारित खाद्य प्रशोधनको सल्लाह कमालले दिएको हुनुपर्छ ।
शिक्षा र स्वास्थ्यमा धेरै लगानी गर्ने मुलुकहरूले छिटो आर्थिक-सामाजिक विकास गरेका छन् । शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ । स्वास्थ्य र शिक्षाका बारेमा ढुक्क हुन सके नागरिकहरू राष्ट्र निर्माणमा समर्पित हुन्छन् । यसैले राज्यले स्वास्थ्य सेवा र शिक्षा प्राप्तिका लागि पैसा नचाहिने बन्दोबस्त मिलाउनर्ुपर्छ ।
अहिले सबैभन्दा छिटो प्रगति र परिवर्तन भइरहेको क्षेत्र हो सूचना र सञ्चार प्रविधि । सूचना र सञ्चार प्रविधिका क्षेत्रमा विकसित देशको दाँजोमा पुग्न समय लाग्दैन । राज्य सञ्चालन गर्नेहरूको सोचमात्रै फराकिलो भयो भने पनि फड्को मार्न सकिन्छ । साथै सूचना शक्ति र सम्पत्ति पनि हो । सामान्य जनतालाई शक्तिशाली र समृद्धहरूसँग समान गराउने सबैभन्दा सजिलो र छिटो साधन यही सूचना प्रविधि बन्न सक्तछ । शिक्षा, स्वास्थ्य र शासनका सबै क्रियाकलापमा सूचना प्रविधिका माध्यमबाट सामान्य जनताको पहुँच र नियन्त्रण कायम गराउन सकिन्छ । यसैले सूचना र सञ्चार सेवालाई सकेसम्म सस्तो र सबैको पहुँचमा पुर्‍याउनु पर्छ ।
गाउँमा पूर्वाधार विकास गर्नुको अर्थ गाउँले जनताको जीवनस्तर उकास्नु हो । पुँजीवादी शैलीको प्रतिव्यकि्त आय वृद्धिले मात्रै गरिबहरूको जीवनस्तरमा सुधार हुँदो रहेन्छ भन्ने चीन वा भारतको आर्थिक विकासले देखाएको छ । नेपालका गाउँले गरिबको जीवनलाई समृद्ध र सुविधाजनक बनाउन सामाजिक सेवा र आर्थिक विकासको अवसरमा उनीहरूको पहुँच र स्वामित्व कायम हुनुपर्छ ।
गाउँमा भौतिक पूर्वाधारको विकास भएमा पर्यटनका लागि ठूलो परिश्रम पनि गर्नु नपर्ला । नेपालले प्रकृतिको बरदान पाएको छ । सञ्चार प्रविधिमा भएको विकासले संसारमा नेपाललाई चिनाउन पनि पहिलेजस्तो कठिन हुनेछैन । नेपालका सबै गाउँ पर्यटन क्षेत्र बन्न सक्तछन् ।
कमालका छैनन् त कलामका मन्त्रहरू । दुःखको कुराचाहिं के छ भने यी मन्त्रहरू मन्त्रीहरूले सुन्दैनन् । उनीहरू त 'भ्यागुतो उफार्ने' र '१० वर्षा १० हजार मेगावाट बिजुली निकाल्ने' सोम शर्माको सपनामा नै रमाइरहेका छन् ।

No comments:

Post a Comment