Monday, November 24, 2008

चिनिया चासो : अलि बढी भयो ?

चिनिया चासो ः अलि बढी भयो कि -
यसो त चीनको सरकारले सधैं नै नेपालका मामिलामा सधैं आवश्यकताभन्दा बढी नै चासो राख्ने गरेको हो तर नेपाल कम्युनिस्ट पार्टी -माओवादी) सत्तारोहणसँगै चिनिया चहलपहल धेरै नै बढ्न थालेको छ । ठूला छिमेकीहरूको चासो थेग्न सानालाई सधैं धौधौ पर्नेगर्छ । नेपाल अपवाद हुन सकेको छैन । भारतीय चासो त यसै पनि नेपालका लागि सधैं गर्धनमा झुन्डिएको तरबार जस्तो मानिने गरेको छ ।
भारतीय र चिनिया चासो उनीहरूका ठाउँमा उभिएर हेर्दा उचितै देखिएला । साना छिमेकीले पनि ठूलालाई धुरुक्क रुवाउने गरेका हुन्छन् । नेपालले भने आफ्नोबाहेक सकेको भलो नै गरेको छ सबैको । अहिलेको सर्न्दर्भ बढ्दो चिनिया चासोको हो । माओवादीका धेरै घरेलु नीतिमा राजा महेन्द्रको झल्को आउँछ । मओवादीको विदेश नीति त झन् पूरै महेन्द्र पन्थी नै छ । भारत र चीनलाई एकअर्काका विरुद्ध प्रयोग गर्ने र दुबैको साखुल्ले हुने । उति बेला सजिलो थियो । सञ्चार कमजोर थियो त्यसैले संसार निकै फराकिलो थियो । जनतालाई ढाँट्न सजिलै थियो । अब जमाना बदलिएको छ । सञ्चार प्रविधिमा भएको प्रगतिले अब न केही लुकाउन सजिलो छ न जनतालाई ढाँट्न नै । यसैले एउटाका विरुद्ध अर्कालाई उक्साएर साखुल्ले हुन सकिंदैन तर माओवादीले भने यो बिर्सेजस्तो छ । यसैले होला माओवादीहरू चिनिया चलखेल बढ्दा अलि हौसिएका छन् ।
चिनिया चलखेल र चासोमा माओवादी रमाएका देख्दा बिरालाले बाँदरको रोटी भाग लगाएको लोक कथाको सम्झना हुन्छ । एक पटक दुईवटा बिरालाले एउटा रोटी पाएछन् । एकअर्काको भर नपरी उनीहरूले त्यो रोटी बराबर दुई भाग लगाइदिन बिरालोलाई गुहारेछन् । छट्टु बिरालाले रोटी जोख्न थालेछ । रोटी गरुंगो भएपटि्टको टुक्रा भाँच्दै क्वाप्प मुखमा हाल्दै गर्न थालेछ । यसरी नै जोख्दाजोख्दै सबै रोटी बिरालाले खाइदिएछ , बिरालाहरू हिस्स ।
रक्षा मन्त्री दलबलसहित दसैं मनाउन सुटुक्क खासा पुग्छन् । त्यसमा पनि चिनिया सैनिक सहचारीको निम्तोमा । उनीहरूले किन नहेपुन् । चिनिया अधिकारी माओवादी लडाकुको शिविरमा जान्छन्, छापामारको पोसाक लगाउँछन् । छापामारका नेताहरू चिनिया जनसेनाको निम्तोमा सयर गर्छन् । अनि चिनियाले किन नहेपुन् - बिस्तारै उनीहरूको चाख नेपालको घरेलु राजनीतिको विषयमा बढ्न थालेको छ । शान्ति प्रक्रियामा सघाउने नाउँमा चिनियाहरू नेपालको आन्तरिक राजनीतिमा चलखेल गर्न खोज्दैछन् । र यही कारणले अलि बढी नै आवतजावत गरिरहेका छन् ।
चीनमा कम्युनिस्ट पार्टीको सरकार छ । चिनिया सरकार र कम्युनिस्ट पार्टी संसारभर मानव अधिकार विरोधीका रूपमा चिनिएका छन् । तिब्बती जनताको आत्मनिर्णयको अधिकार उनीहरूले खोसेका छन् । संसारभर कै तानाशाही अधिनायकवादी शासनसँग चिनिया सम्बन्ध राम्रो रहने गरेको छ । उनीहरू नेपालमा पनि अधिनायकवादी शासन चाहन्छन् । पञ्चायत कालमा चीनले नेपालका प्रजातान्त्रिक आन्दोलनहरूलाई डाँकुहरूको उपद्रो भन्ने गरेको बिर्से पनि ज्ञानेन्द्रको शासनको दरो समर्थन गरेको त सबैले बिर्सेका छैनन् होला । यही कारणले चिनिया चलखेलसँग झस्कनु परेको हो ।
चिनियाहरूको नेपालका सबैजसो राजनीतिक दलसँग राम्रै सम्बन्ध छ । बेलाबखत बोलाएर मेजमानी खुवाउने र चीन घुमाउने गर्छन् । यसैले उनीहरू चिनिया चलखेलका विरुद्ध मुख खोल्दैनन् । बुद्धिजीवीहरू पनि चीनका विरुद्ध बोल्दैनन् । चीनका विरुद्ध बोल्ने बित्तिकै भारतको मतियार मानिने डर उनीहरूलाई जो लाग्छ । नेपालको हित भर्सेलै परोस् ।
संविधान लेखनका बेलामा यस्ता चलखेल भए भने नेपाल तिब्बत बन्न बेर लाग्ने छैन । भनिरहनु नपर्ला तिब्बत हुनुको अर्थ के हुन्छ -

No comments:

Post a Comment