Wednesday, November 26, 2008

समानान्तर १० अनुत्तरदायी र्सार्वजनिक संस्थानहरू

अनुत्तरदायी र्सार्वजनिक संस्थानहरू
समानान्तर शीर्षकमा ब्लग लेख्न थालेपछि दिनहुँ लेख्ने अठोट गरेको थिएँ । अलिकति अल्छी लागेर र अलिधेरै चाहिं बिजुली र इन्टरनेटका कारण मेरो अठोट पूरा हुन सकेको छैन । गएको तीन दिन एलटीसीको एडीएसएलले कामै गरेन । पैसा तिर्न एक दिन ढिलो भयो भने कनेक्सन काट्ने कम्पनीले ३ - ३ दिनसम्म पनि सेवा दिन नसक्दा पनि मतलबै छैन । न उपभोक्तासँग माफी माग्छ न सेवा दिन नसकेका दिनहरूको क्षतिपूर्ति नै दिन्छ ।
बिजुलीको अवस्था पनि खासै फरक छैन । दिनको १४ घन्टा लोडसेडिङ त सगौरव सूचना गरेकै समय भयो । प्राविधिक गडबडी र अघोषित लोडसेडिङ् गरेर अरू थप केही घन्टा बिजुली आउँदैन । बिजुली र इन्टरनेटको समय मिलाउन साग, बाघ र बाख्रो सँगै तार्नभन्दा पनि कठिन भइरहेको छ ।
यस्तै बानी र चलन कायमै राखेर न नेपाल टेलिकमले एक्काईसौं शताब्दीको आवश्यकता पूरा गर्न सक्छ न विद्युत् प्राधिकरणले नै आवश्यक बिजुली पुर्‍याउन सक्तछ । यी दुबै सार्वजनिक क्षेत्रका संस्थान हुन् । संस्थान भएका नाताले अरू समान प्रकृतिका व्यावसायिक संस्थासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ भने र्सार्वजनिक क्षेत्रको हुनुको दायित्व पनि छ । नाफा र सेवा दुबैलाई सँगै लैजानुपर्छ । यति हुँदाहुँदै पनि यिनको पहिलो दायित्व आफ्ना सेवालाई व्यवस्थित, उपयुक्त र चुस्त बनाउनु हो । उपभोक्ताप्रतिको उत्तरदायित्व यस्ता निकायहरूको पहिलो धर्म हो । सेवाको शुल्क असुल गर्नजत्तिकै तदारुकता र ध्यान सेवा पुर्‍याउन नदिने हो भने एक्काईसौं शताब्दीको प्रतिस्पर्धामा टिक्न सकिंदैन । नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका हाकिमहरूले यो मन्त्र कहिले सम्झने हुन् - यिनको काम गराइमा सुधार हुने लक्षण भने पटक्कै छैन ।
जनमुखी शासनको धक्कु लगाउनेहरूले सार्वजनिक संस्थानहरूलाई मात्रै पनि जनउत्तरदायी बनाई दिए मुलुकको भलो हुने थियो ।

No comments:

Post a Comment