Sunday, July 19, 2015

नागरिकताका बारेमा अर्थहीन विवाद

नागरिकताका बारेमा ‘र’ र ‘वा’को विवादमा पञ्चायतको प्रेत र जनसांख्यिक प्रवृत्तिको अज्ञान झल्केको देखिन्छ । विशेषगरी भारतमा विवाह भएर गएका चेलीका सन्तानले नेपालको नागरिकता लेलान् भनेर तर्सने र तर्साउनेहरूले यो विवादलाई अत्यन्त उग्ररूपमा चर्काउने लक्षण देखिएको छ ।

विसं २०३७ सालमा भएको जनमत संग्रहमा पञ्चायतलाई जिताउन गरिएका जालझेलमध्ये एउटा भारतीयलाई नेपाली नागरिकताको लोभ देखाएर बसाउनु पनि थियो । त्यतिबेलासम्म सीमाका भारतीय राज्यहरूभन्दा नेपालको आकर्षण बढी थियो । त्यसैले केही लाख भारतीय २०३६ सालको आसपास नेपाल आए । यो क्रम रोकिने लक्षण देखिएन ।

जनमत संग्रहमा पञ्चायत जितेपछि ती भारतीयको प्रयोजन सकिएको थियो । पञ्चहरूकै लागि तिनीहरू खतराका रूपमा प्रकट हुन थाले । त्यसपछि जनसंख्यासम्बन्धी उच्चस्तरीय कार्यदल गठन गरेर नागरिकतासम्बन्धी प्रतिवेदन तयार गरियो । यसलाई डा. हर्क गुरुङको प्रतिवेदन भनियो । नागरिकता नियमन गर्ने यो प्रतिवेदन कार्यान्वयन भने गरिएन । त्यसपछि भारतीय आप्रवासीको ओइरो पनि लागेको छैन । अहिले स्वतन्त्र अध्ययन कसैले गरेको थाहा छैन तर जनसांख्यिक प्रवृत्तिको सामान्य ज्ञान हुने व्यक्तिले पनि सहजै अनुमान गर्नसक्छन् भारतीय नेपाल आउने क्रम धेरै घटेको हुनुपर्छ । पानी ओरालोतिर बगेजस्तै जनसंख्या अवसर भएका ठाउँमा आउँछ । यसलाई कसैले रोक्न सत्तैmन । अहिले भारतका विहार, उत्तरप्रदेश र बंगालका सीमावर्ती क्षेत्रमा नेपालपट्टि भन्दा बढी विकास भएको छ । यसैले उतावाट यता व्यापकरूपमा बसाइँसराइ हुँदैन । बरु, यताबाट उता जानेको संख्या अब बढ्न सक्छ । जनसंख्याको योे सामान्य प्रवृत्ति हो । यसैले भारतीय आउलान् भनेर तर्सेको हो भने डराउनु पर्दैन ।

बहुसंख्यक गैरआवासीय नेपालीले पनि नेपालको नागरिकता कायमै राख्न चाहेका छन् । दुःखका बेला तिनीहरू काम लाग्छन् भन्ने त अहिलेको भुइँचालोमा पनि देखियो । तिनका छोराछोरीले पनि चाहेका खण्डमा नेपालको नागरिकता सजिलै लिनसक्ने व्यवस्था भए मुलुकलाई लाभ नै हुनेछ ।

यसैले वंशजका आधारमा नेपाली नागरिक हुन ‘बाबु र आमा’ दुवै जना नेपाली हुनुपर्ने बुँदा अनुदार र असमान छ । यसैले अन्यायपूर्ण पनि छ ।

यो ‘र’ र ‘वा’ को चक्करमा नपरी ‘ यो संविधान प्रारम्भ हुँदाका बखत नेपाली नागरिकका नेपालमा जन्मेका सन्तान वंशजका आधारमा नेपालका नागरिक हुनेछन् ।’ भन्ने उल्लेख गरे हुन्छ । कसैले पनि हार्नेछैन । यसैगरी नेपालमा जन्मेर विदेशी नागरिकता लिनेले चाहेमा दुवै देशको नागरिकता कायम राख्न पाउने र तिनका सन्तानले चाहेमा अर्को मुलुकको नागरिकता त्यागेमा नेपालको अङ्गीकृत नागरिक हुन पाउने प्रावधान राखे हुन्छ ।

नागरिकताका विषयमा अब अनुदार हुनु अर्थहीन मूर्खतामात्रै हो । नेपालमा अवसर धेरै भए संसारको कुनै कुनाबाट पनि मानिसहरू यहाँ आउँछन् । यहाँ अवसर नहुँदा अहिले नेपालीहरू पेरुको पनि नागरिकता लिएर बसेका छन् । अमेरिका अर्को मुलुकमा जन्मेर बसाइँ सर्नेहरूको पौरखमा बाँचेको छ । हामी पनि जति उदार हुनसक्छौं मुलुकले उति नै बढी प्रगति गर्नेछ ।

उन्नतिको ढोका थुन्ने र अन्याय तथा असमानताको बीउ रोप्ने अनुदार प्रवृत्ति नअपनाऊँ ।

1 comment:

  1. तपाईका यी बिचारसंग म पुर्णरुपले सहमत छु।

    ReplyDelete