Sunday, April 28, 2013

सौरभको लेखले सम्झाएका घटना

 गत बिहीबार ( अप्रिल २५, २०१३) प्रकाशित लेख 'नजिकिँदो अँध्यारो' पढेपछि केही पुराना घटना सम्झेँ।  कान्तिपुरलाई पत्र पनि पठाएको छु तर यो लामो भएकाले छापिए पनि सबै नछापिन सक्छ । तेसैले यहाँ पनि राख्न मन लाग्यो ।

१. पञ्चायत कालको घटना हो। कास्कीको कुनै गाउँमा लागेको मेलामा केही कम्युनिस्ट शिक्षकले सूर्यमोहन भट्टराईले लगाएका राजारानी अंकित लकेट खोसेर खुट्टाले कुल्चिदिएछन्। सूर्यमोहनजीले प्रजिअसमक्ष उजुरी गरे। रामचन्द्र पौडेल कास्कीका प्रमुख जिल्ला अधिकारी थिए। प्रशासनले ती शिक्षकहरूलाई कारबाही चलाउने तयारी गर्‍यो। मुद्दा दायर भयो। गण्डकी अञ्चलमा पहिलेका कम्युनिस्ट तर त्यति बेला शरदचन्द्र शाहाको निकट मानिने खड्गबहादुर जीसी अञ्चलाधीश थिए। प्रजिअमाथि मुद्दा नचलाउन दबाब पर्न थाल्यो। प्रमुख जिल्ला अधिकारीले पनि लिखित निर्देशन मागेछन्। तेतिबेलाका मन्त्री राधेश्याम कमारोको विशेष अग्रसरतामा ती शिक्षकहरूमाथि मुद्दा चलाउन रोकियो। पछि सुनियो, त्यही मुद्दामा अञ्चलाधीशले भनेको नटेरेको भनेर पौडेलको सरुवा भयो।  सीडीयो सरुवा दरबारले चाहेमात्र हुन्थ्यो ।

२. वालिग मताधिकारका आधारमा राष्ट्रिय पञ्चायतको चुनाव भएपछि बनेको सूर्यबहादुर थापाको सरकारले विकेन्द्रीकरणमा विशेष जोड दिएको थियो। विकेन्द्रीकरणको नमुना योजना तयार गर्न तनहुँ जिल्ला रोजिएको थियो। कृषि आयोजना सेवा केन्द्रले विश्व खाद्य संगठनलगायतका संस्थाको सहयोगमा त्यो पाइलट प्रोजेक्ट चलाइएको थियो।  विकेन्द्रीकरणसम्बन्धी अञ्चल, क्षेत्र र राष्ट्रिय स्तरका गोष्ठी र बैठक पोखरामा भइरहन्थे। म लगभग सबैमा आमन्त्रित हुन्थेँ। जिल्ला पञ्चायतको उपसभापतिलाई पदेन बोलाइनेबाहेकका भेलामा पनि कर्मचारीहरूले मलाई बोलाउने गर्थे। धेरैजसो भेलामा कट्टर पञ्चहरू दुई खेमामा विभाजित हुन्थे। राजावादी पञ्चहरू राज्यको नीति हो भने विरोध गर्नु हुँदैन भन्नेजस्तो व्यवहार गर्थे भने कम्युनिस्ट पञ्चहरू विकेन्द्रीकरणले निर्दलीयतामा असर पर्ने हुनाले ठीक हुँदैन भन्थे। (सामान्यतः जनमतसंग्रहमा पंचायतका पक्षमा लागेका र बहुदलका पक्षमा लागेकाको बीचमा विभाजन हुनेगर्थ्यो । निर्दलकै पक्षमा लागेका पनि उदार र अनुदार खेमामा बाँडिएका थिए)।  राघवलाल वैद्य अञ्चलस्तरीय कुनै वर्गीय संगठनमा थिए। उनले विकेन्द्रीकरणलाई वीक केन्द्रीकरण अर्थात् केन्द्रलाई कमजोर बनाउने षड्यन्त्र भनेको अझै सम्झना छ। तिनै राघवलालजी पछि पुष्पकमल दाहालका पालामा महान्यायाधिवक्ता नियुक्त भए।

३. शिक्षकहरूले संगठनको अधिकारलगायतका माग राखेर देशव्यापी आन्दोलन थालेका थिए। म तनहुँ जिल्ला शिक्षा समितिको सदस्य थिएँ। मेरो गाउँको राम शाह माध्यमिक विद्यालय सञ्चालक समितिको अध्यक्ष पनि थिएँ। म पढाइ बिथोलिनु हुन्न भन्ने मान्यतामा थिएँ। अर्कातिर, शिक्षकहरूको संगठन स्वतन्त्रताको विषय भएकाले विरोध गर्न मेरो नैतिकताले रोकेको थियो। सरकार निकै आक्रामकरूपमा प्रस्तुत हुने लक्षण देखिन थालेको थियो। पञ्चायत विरोधी शिक्षकहरूमाथि कारबाही गर्न परिपत्र जारी भइसकेको थियो।
कुनै कार्यक्रमका सन्दर्भमा चन्द्रावती पुगेका बेला त्यहाँका शिक्षकहरूसँग सल्लाह गरेँ। मैले उनीहरूलाई हडताल गर्ने तर विद्यार्थीको पढाइ नबिगार्ने उपाय खोज्न आग्रह गरेँ। हाँजिर नगरी पढाउन शिक्षकहरू सहमत भए समाधान भेटिने भयो। केन्द्रमा नेतृत्व कम्युनिस्टहरूले गरे पनि हडताल संयुक्त थियो । कांग्रेस समर्थक शिक्षकहरू पनि हडतालबाट पछि हट्न तयार थिएनन्। छलफलका क्रममा मैले हडताल दबाउन मण्डलेहरू सक्रिय हुनसक्ने र त्यस प्रकारको वातावरण बनाउन प्रशासनले भेला बोलाउन थालेको जानकारी पनि दिएँ।
भोलिपल्ट डुम्रेको पवित्रा माविमा प्रशासन पक्षको भेला थियो। म पनि बोलाइएको थिएँ। बोल्ने क्रममा शिक्षकहरू पढाउन तयार भए भने दमनको बाटो लिन नहुनेमा मैले जोड दिएँ। बीचको बाटो निस्कन्छ कि भन्ने मेरो आशा थियो। तनहुँमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद उपाध्याय थिए। उनले मैले चन्द्रावतीमा शिक्षकहरूसँग गरेको सल्लाहको विवरण मैलेमात्रै बुझ्ने गरी भेलामा बताइदिए। म अवाक् भएँ। शिक्षक हडताल पञ्चायत विरोधी राजनीति भएकाले सहन नसक्ने हुँकार गरे।
 केही दिनपछि जिल्ला शिक्षा समितिको बैठक भयो। हडताली शिक्षकहरूलाई कारबाही नगर्ने सञ्चालक समिति भंग गर्ने प्रस्ताव बैठकमा आयो। मैले शैक्षिक सत्रको बीचमा शिक्षकहरूमाथि कारबाही गर्दा पढाइ बिथोलिने तर्क दिएर असहमति जनाएँ। निकै चर्काचर्की भयो। शिक्षकहरूलाई मैले उकासेको आरोप लगाउँदै उनले चन्द्रावती बैठकमा मैले भनेका शब्दहरू दोहोर्‍याइदिए। म केही क्षण बैठकबाट बाहिरिनु पर्‍यो। त्यही मौका छोपेर मलाई सञ्चालक समितिको अध्यक्षबाट हटाउने निर्णय गरिएछ। जिल्ला शिक्षा समितिमा हाम्रो बहुमत थिएन। सञ्चालक समितिबाटै हटाइएपछि म जिल्ला शिक्षा समितिबाट पनि हटाइएँ। नेपाली कांग्रेस निकट सबैजसो अध्यक्षहरू हटाइएका थिए भने कतिपयमा कम्युनिस्ट निकट मानिनेहरू नियुक्त गरिएका थिए। जिल्लामा हडतालको नेतृत्व कम्युनिस्ट शिक्षकले गरेको देखिन्थ्यो। चन्द्रावतीमा भएको सल्लाहमा सबैजसो कम्युनिस्ट निकट शिक्षकहरू सहभागी थिए। माधवजी दरबारको पनि  भूमिगत गिरोह निकटका प्रशासक मानिन्थे।

४. म राजनीति छाडेर काठमाडौं पसेपछि पढाउन थालेको थिएँ पिपल्स क्याम्पसमा। तीर्थरत्न बज्राचार्य क्याम्पस प्रमुख थिए। पहिले त्रिविको विद्यार्थी हित शाखा प्रमुख भइसकेका हुनाले धेरै विद्यार्थी नेताको चिना उनलाई क48ठै थियो। क्याम्पसमा टंक कार्की, ज्ञानेन्द्र कार्की, हिरण्यलाल श्रेष्ठजस्ता राजनीतिक प्राणीहरू पनि थिए। पहिलो जनआन्दोलन सुरु हुन लागेको थियो। बज्राचार्य पंचायत समर्थक थिए। यसैले क्पाम्पसमा राजनीतिक गफ हुने नै भयो। बज्राचार्य भन्ने गर्थे - अखिलका धेरै नेतालाई मैले पैसा दिएको छु। यिनीहरू कम्बल ओडेर घिउखाने  खालका हुन्।  टंकले चाहिँ पैसा नखाएको भन्न छुटाउँदैन थे ।

५. विस्तृत शान्ति सम्झौता भइसकेको थियो। माओवादीले राज्यको नीतिनियम मात्र हैन संविधान र कानुन मिच्दा पनि कारबाही हुँदैन थियो। एउटा मित्रको विवाहको २५ औँ वार्षिकोत्सवमा त्यति बेला मन्त्री रहेका नेपाली कांग्रेसका एक जना नेतासँग भेट भयो। पुरानै चिनाजानी भएकाले कुराकानी सोझै सामयिक राजनीतिमै पुग्यो। मैले माओवादीलाई छाडा छाडेर सरकारले गल्ती गरेको, त्यसबाट सामान्य नागरिक पीडित भएको र कांग्रेसका तल्लो तहका कार्यकर्ताको पनि मनोबल गिरेको छ के भनेको थिएँ उनले त मेरा विचारलाई नै शान्ति विरोधी र राजवादीको धारणा  पो भनिदिए। तनहुँ कांग्रेसका तत्कालीन सभापति रघुनाथ पौडेल पनि सँगै थिए।
सौरभको लेखमा व्यक्त विचारको यी घटनासँग सोझो सम्बन्ध देखिँदैन तर कुन्नि किन त्यो लेख पढ्दा मलाई यिनको सम्झना भयो।  

No comments:

Post a Comment