Sunday, December 16, 2012

पुस १सँगको व्यक्तिगत सम्झना !


अाज पुस १ । पंचायत कालमा अाजको दिन संविधान दिवसका रूपमा मनाइन्थ्यो ।  २०४२ साल पुस १ गते मैले पंचायतको चुनाव नलड्ने घोषणा गरेको थिएँ । तेही घोषणा अन्ततः मेरो राजनीति छाड्ने निर्णयको अाधार बन्यो ।
जिल्ला पंचायतमा त उति असजिलो भएको थिएन तर पार्टीका जिल्ला स्तरीय नेताहरूको असहिष्णु र संकीर्ण सोचबाट दिक्क भइसकेको थिएँ । सामान्य कार्यकर्ताले भने माया गर्थे । पंचहरूमै पनि धेरैले माया गर्न थालेका थिए । मेरो व्यक्तिगत सम्बन्ध राम्रो भएको थियो । जिल्लाका नेताले मेरो व्यक्तिगत लोकप्रियताको अाहारिस गर्न थालेको देखेर दिक्क लागेको थियो । राष्ट्रिय पंचायतको चुनावमा श्रीभद्र शर्माले हारेर क्षेत्रप्रताप अधिकारी र नरबहादुर गुरुङले जितेका थिए । श्रीेभद्रजीलाई मात्र हैन तारापति र विष्णुवीर अालेलाई हराउन पनि पार्टीकै केही साथी लागेका थाहा पाउँदा बढी नै दिक्क लागेको थियो । तेही बेला नरगहादुर सुन तस्करीमा समातिए । पंचहरूको एउटा जमात उनलाई कारबाही हुन नदिन लागे । 
यही पृष्ठभूमिमा मैले पंचायतको चुनाव नलड्ने घोषणा रजत जयन्ती मनाउने समारोहमै गरेको थिएँ । तेसले पंचायतको उपल्लो तहमा खलबल मच्चाएछ । नरबहादुरले राजीनामा गरे । मलाई पंचायत छाड्दिन भन्न लगाउने प्रयास भयो। नगेन्द्रप्रसाद रिजाल र बद्री पहाड़ीले माथलको हवाला दिएर लोभ देखाए । मैले राजनीति नै छाड्न लागेको हुँ भन्दा पनि पत्याएनन् । घुमाउरो शैलीमा राजाबाट कुनै पद दिलाउने अाशा देखाए । कुन्नि किन म पिपुल्स क्याम्पसको अांशिक शिक्षण बढी रमाएँ ।
राजनीतिको अर्थ बदलिएको छ अहिले । जे गरेँ ठीकै गरेँ जस्तो लागेको छ । हुनत, मैले नाम र दाम दुवै कमाउन सकिन । राजनीतिमै बसेका धेरै साथीले दुवै कमाएका छन् । तैपनि, पछुतो चाहिँ छैन ।

No comments:

Post a Comment