Wednesday, December 12, 2012


नेपालका राजनीतिक दलका नेताहरूले राजनीतिलाई उपहासको विषय बनाएकै थिए। दुःखको कुरा, भद्र, स्वच्छ र गम्भीर छवि बनाएका राष्ट्रपति रामवरण यादव पनि तिनैको हुलमा मिसिने तरखरमा देखिए। राष्ट्रपतिले सरकार निर्माणका लागि दलका नेताहरूलाई सहमति गर्न दुईपटक म्याद थपिसके। थपिएको म्यादभित्र पनि सहमति हुने कुनै निधो छैन। नेपाली कांग्रेसले प्रधानमन्त्रीको उमेदवार नतोक्दासम्म पुष्पकमल दाहालहरूले त्यसैलाई सहमति टार्ने बहाना बनाएका थिए। अब माओवादी-मधेसी मोर्चाले अरू बखेडा झिक्न थालेको छ। यिनले सत्ता त कुनै पनि अवस्थामा छाड्दैनन्। यसैले सहमति भन्ने शब्दप्रति नै नेपाली जनताका मनमा वितृष्णा उत्पन्न गराउनुभन्दा अब राष्ट्रपतिले थपेको म्यादभित्र पनि नाम प्रस्तावित नभए सरकार हटाउने आँट गर्नुपर्छ। त्यसो गर्ने आँट वा चाहना नभए यही सरकारलाई चुनाव गर्न बाध्य पार्ने गरी निर्देश दिनुपर्छ। राजनीतिलाई यसरी तमासा बनाएर राख्नु आत्मघाती हुनसक्छ। राष्ट्रपति यादवबाट राष्ट्रले आत्मघाती खेलमा होमिने मूर्खताको अपेक्षा गरेको छैन। 

यसो त, राजनीतिक दलका नेताहरू विशेषगरी कांग्रेसका नेतालाई पटकपटक धोका खाने बानी नै परिसकेको छ। बाबुराम भट्टराईलाई एनेकपा (माओवादी) अध्यक्ष दाहालले मात्र हटाउन सक्छन्। आफू हुने भएमात्र दाहालले भट्टराईलाई हटाउँछन्। हुन त दाहालका लागि अहिलेको अवस्था सम्भवतः सबैभन्दा सुविधाजनक हुन पुगेको छ। भट्टराईको कुर्सी डगमगाएको छ। कांग्रेसका नेता प्रधानमन्त्री हुन दाहालकै मुख हेरेर बसेका छन्। राष्ट्रपति यादवसमेत भालुको कन्पटबाट हात झिक्न दाहालकै सहयोगमा निर्भर छन्। दाहाल 'किङ मेकर' को भूमिकामा छन्। यसैले उनलाई हतार छैन। परन्तु, मुलुकका निम्ति भने निकै हतार भइसकेको छ। करण ंिसंह पशुपतिको दर्शनका लागिमात्र त आएका हैनन्। चिनियाँ चासो बढ्दैछ। युरोपेली र अमेरिकी पनि तमासा देखाउन तम्सन थालेको छनक देखापरेको छ। दाहाललाई लागेको होला, आफ्ना लागि यस्तो सुविधाजनक अवस्था किन छिटै अन्त्य गर्ने? अन्ततः सबैले दाहालकै मुख हेर्ने हो भने त्यसको लाभ किन नलिने? निहित स्वार्थलाई बढी महŒव दिने मानव कमजोरी नै हो। यसैले पुष्पकमल दाहाललाई पनि स्वार्थमा रमाएकोमा दोष छैन। उनी कुनै योगी त हैनन्। तर दाहालको दोधारे प्रवृत्ति र कपटी राजनीतिले मुलुकको अस्तित्व संकटमा परेको यथार्थ जनताले थाहा पाएका दिन भने उनका लागि निकै कष्टकर हुनसक्छ। राजनीतिक नेताहरूप्रति जनताको विश्वास गुमी जो सकेको छ। 
आशाको किरण
मीन पचास सुरु भएसकेकाले काठमाडौं कठ्यांग्रिनु स्वाभाविकै हो। झन् मौसम र राजनीतिले बेइमानी गर्दा जनता दिक्क भएका छन्। यस्तो प्रतिकूलताबाट कमजोरहरूलाई बढी मर्का पर्छ। उनीहरूमा जीवनप्रतिको विश्वास र आशा मर्छ। परन्तु, गएको साता काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरूमा अचम्मको उत्साह देखियो। अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आयोजना गरिएको अपाङ्गता भएका व्यक्तिहरूको रोजगार मेला (करिएर एक्स्पो) मा अपाङ्गता भएका युवा ठूलो संख्यामा भेला भएका थिए। मेलामा रोजगारदाता र रोजगारी चाहनेहरू सहभागी थिए। अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने महानुभावहरूले रोमाञ्चक अनुभव सुनाएका थिए। रोजगारीको खोजी गर्नेहरूले वैयक्तिक विवरण भरेर छाडेका छन्। उनीहरूमा केही त भइहाल्ला कि भन्ने आशा जागेको हुनसक्छ। यसैले यो मेला आयोजकहरूका लागि चुनौती पनि बन्न पुगेको छ। उपस्थित वा रोजगारी खोज्ने सबैले काम पाउनु सम्भव छैन। तर, सांकेतिकरूपमै भए पनि केहीले रोजगारी पाए भने त्यसले सम्भवनाको ढोका खोल्नेछ। तीमध्ये धेरैसँग रोजगारीका लागि आवश्यक व्यावसायिक सीप नहुन सक्छ। उनीहरूको चाहना र बजारको आवश्यकताअनुसार आयमूलक सीप सिकाउने तालिम आयोजना गर्न सकिन्छ। अपाङ्गता भएका व्यक्तिहरू कार्यरत संस्थाका प्रमुखहरूले उनीहरूको इमान र लगनको निकै प्रशंसा गरेका थिए। अरू रोजगारदाताले पनि त्यसबाट लाभ लिन पक्कै चाहलान्। 
कुनै कलकारखाना वा औद्योगिक प्रतिष्ठानमा २५ जनाभन्दा बढीले रोजगारी पाएका भए अपाङ्गता भएका कम्तीमा एक जनालाई रोजगारी दिनुपर्ने कानुनी प्रावधान छ। त्यसरी रोजगारी दिँदा भएको खर्चलाई आय करमा छुट दिने पनि व्यवस्था छ। यसैगरी अपाङ्गता भएका व्यक्तिहरूलाई दिनुपर्ने संख्यामा रोजगारी नदिने प्रतिष्ठानलाई जरिवाना गर्ने पनि कानुनी व्यवस्था छ। दण्ड र पुरस्कारको यो व्यवस्थाबाट रोजगार दाताहरू लाभान्वित हुनुपर्छ। सरकारले अहिले भएको कल्याणकारी ठहरिएको कानुनमात्र कार्यान्वयन गर्ने दायित्व पूरा गरे पनि अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार चरितार्थ हुनेछ। अपाङ्गता भएका व्यक्ति राज्यमा आश्रित हुनुपर्ने छैन। बरु उनीहरू आर्थिक दृष्टिले समेत उत्पादनशील नागरिक बन्न पुग्नेछन्। साथै, वैदेशिक रोजगारीका कारण अभाव भएको युवा जनशक्तिको आपूर्ति पनि यसबाट हुनेछ। अर्थात्, अपाङ्गता भएका व्यक्तिलाई दिइने रोजगारी र सीपको तालिम आर्थिक विकासका लागि पनि महŒवपूर्ण उपाय हुनेछ।
मेलामा रोजगारदातामध्ये श्यामसुन्दर कक्षपतिले निकै घत लाग्ने प्रसंग सुनाए। बहिराहरूको इमानदारीले उनलाई बहिरामात्र भएको रेष्टुराँ चलाउने प्रेरणा मिल्यो। उनका बेकरी क्याफेहरू सफल पनि भए। नेपाली व्यावसायिक संस्कारअनुसार अरूले पनि बेकरी क्याफे खोल्न थाले। नामको अगाडि वा पछाडि फुँदा गाँसेर धेरैले रेस्टुराँको नामको पनि नक्क्ल गरे। त्यतिमात्र हैन कक्षपतिका अनुसार साजसज्जा र मेनुको समेत नक्कल गरे। अपशोच, बहिराहरूलाई काम दिने उनको अभियानको भने नक्कल गरेनन्। 


No comments:

Post a Comment