Sunday, September 9, 2012

सफा टेम्पोको थालनी र गाविसमा इन्टरनेट


धेरैलाई नेपालमा सफा टेम्पोको थाल्ने कसरी भयो भन्ने थाहा छैन । त्यस काममा मेरो पनि संलग्नता भएको त झन् थोरैलाई थाहा छ । ग्लोबल रिसोर्सेज इन्टरनेसनल भन्ने संस्थाले समाज कल्याण परिषद्सँग मिलेर विक्रम टेम्पोलाई ब्याट्रीबाट चल्ने बनाएको हो । गिरिजा बाबु प्रधानमन्त्री थिए । असोज ६ गते (२०५० कि ५१?) उनैले उद्धाटन गरेका थिए । औपचारिक रूपमा तेसको पहिलो यात्रु पनि उनै हुन् ।
यताबाट पुरानो टेम्पो लगेर सिंगापुरमा ब्याट्रीवाला बनाएर नेपाल ल्याउने सुरुको प्रस्ताव मलाई मन परेको थिएन । टेम्पो आयात रोकिएको थियो । भन्सार छुटलगायतको प्रशासनिक झन्झटले पनि मलाई अर्को उपाय खोज्न परेको थियो । ( म समाज कल्याण परिषद्को कार्यकारी निर्देशक थिएँ नि त !)
मैले ( उनको नाम भिक्टर हो कि ) सिंगापुरबाट प्राविधिक बोलाएर नेपालका प्राविधिकलाई पनि सिकाउने प्रस्ताव गरेँ । उनले सजिलै माने । थापाथली क्याम्पसमा तालिम दिने र टेम्पोलाई बिजुलीबाट चल्ने बनाउने काम भयो ।
यो प्रसंग अहिले उठाउनुको कारण जस खोज्न चाहिँ होइन । ग्लोबल रिसोर्सेजले उति बेलै देशका सबै गाविसलाई इन्टरनेट संजालमा जोड्ने महत्त्वाकांक्षी परियोजना प्रस्ताव गरेको थियो । व्यक्तिगत घटना अभिलेखनका लागि त्यसलाई प्रयोग गर्ने र अमेरिकी सरकार, राष्ट्रसंघीय निकायलगायतबाट स्रोत जुटाउने उसको योजना थियो । स्याटलाइटबाट लिंक गर्नुपर्ने हुनाले महंगो पनि थियो । 
सरकार परिवर्तनलगायतका कारणले त्यो काम त्यसै हरायो । सायद, अब संचार प्रविधिमा भएको प्रगतिलाई विकास र शासनमा गति दिन प्रयोग गर्ने बेला भएको छ । प्रविधि सहज, सुलभ र सस्तो भएको छ । स्याटलाइटको भर बिरलै पर्नुपर्ला । 
उति बेला यातायात र अर्थ मन्त्रालयसँग बिजुलीबाट टेम्पो चलाउने स्वीकृति लिन निकै गाह्रो भएको थियो । अहिले त त्यस्तो पनि नहोला कि ?

No comments:

Post a Comment