Saturday, September 29, 2012

काठमाडौंका सडक ह्विलचेयर

 काठमाडौंका सडक ह्विलचेयर प्रयोगकर्ताका लागि उपयुक्त छैनन्। तर, ह्विलचेयरमा हिँड्नेहरूले पनि  प्रयोग त यही सडक गर्नुपर्छ। सडकको सुधार विस्तार गर्दा ह्विलचेयर प्रयोगकर्ताको सुविधा पनि हेरिनुपर्छ भन्ने चेतना जगाउन शनिबार बिहान ९ बजे वाकाथोन ( पदयात्रा ) आयोजना गरिएको थियो। दरबारमार्गस्थित नाङ्लो रेस्टुराँ अगाडिबाट सुरु भएको वाकाथोनमा ह्विलचेयर प्रयोगकर्ताहरूसँगै सेतो छडीवाफा, अपांगता नभएकाहरू सहभागी थिए। आयोजकहरू नै युवा भएकाले पनि हाेला युवा उपस्थिति उल्लेख्य थियो। युथ फर इन्क्लुसिव सोसाइटीको आयोजना र विभिन्न संघसंस्थाको सहयोगमा भएको वाकाथोनमा बालबालिका र बृद्धहरूको समेत सहभागिता थियो। मुख्यसचिवलगायत केही सरकारी अधिकारी कार्यक्रमको थालनीमा उपस्थित भए तर सचिव कृष्ण ज्ञवाली चाहिँे  निकै बेर हिँडेका थिए। सडकमा अपांगता भएकाहरू पनि हिँड्छन् भन्ने चेतना उत्पन्न गर्न थोरै नै भए पनि कार्यक्रम सफल भएको हुनुपर्छ।
 मैले जापानमा १९९३ मा यस्तै कार्यक्रममा भाग लिने मौका पाएको थिएँ। जापानी समाज अपांगता हुनेहरूप्रति बढी नै संवेदनशील छ । तैपनि, त्यहाँ समेत जनचेतना जगाउने कार्यक्रम गरिनेरहेछ। म सहभागी भएको कार्यक्रमलाई उनीहरूले ह्विलचेयर फेयर भनेका थिए। अपांगता नभएकाहरू ह्विलचेयर प्रयोग गरेर सहरको एउटा पसलमा पुगेर किनमेल गर्ने कार्यक्रममा त्यहाँका मेयरलगायतका पदाधिकारी सम्मिलित थिए। हामी एउटा सुपर मार्केटमा गएका थियौँ। सडक जुलुसले ढाकेको थिएन। नियमित आवागमन बाधा नदिई मेलाको आयोजना गरिएको थियो। ह्विलचेयरमा जाँदा अगाडिबाट आउने मोटरसँग असाध्यै डरलाग्दो रहेछ। जापानमा बाटो काट्ने ठाउँ निर्धारित र सुविधाजनक थियो। तैपनि, त्यस दिन करिब एक किलोमिटर जति ह्विलचेयर गुडाउनु पर्दा मैले िवशेष अनुभव गरेको थिएँ।  
यहाँको कार्यक्रममा भने अपांगता भएकालेमात्र ह्विलचेयर प्रयोग गरे। अरूले काठमाडौंको सडकमा ह्विलचेयर गुडाउनु पर्दा कस्तो सास्ती हुन्छ भन्ने अनुभव गर्न पाएनन्। त्यस्तै, सडकमा ब्यानर लिनेहरूले बाटो ढाकेर हिँडेकाले अरू सबारी चालक रिसाएका होलान् तर ह्विलचेयर प्रयोगकर्ताप्रति तिनीहरू संवेदनशील नभएको प्रमाण तिनले बजाएको हर्नले दिइरहेको थियो। कार्यक्रमलाई अलिकति थप व्यवस्थित गर्न सकेको भए सम्भवतः यी दुवै उद्देश्य पूरा गर्न अर्थात् अपांगता नभएकालाई ह्विलचेयरको अनुभव र चालकहरूमा संवेदनशीलता जगाउन पनि सकिने थियो। जे होस्, यस्ता कार्यक्रमहरू निरन्तर हुनसके भने पक्कै पनि समाजमा चेतना जाग्नेछ। त्यसले जनमत सिर्जना भएर राज्यमाथि दबाब पर्नेछ। अपांगता भएका व्यक्तिलाई सुविधा थप्दा धेरै खर्च लाग्छ भन्ने भ्रम छ। सडक पार गर्ने ठाउँमा राखिने संकेत बत्तीसँग ध्वनि संकेत पनि हुने हो भने दृष्टि कमजोर हुनेहरूलाई सुविधा हुन्छ। यसैका लागिमात्र त ठूलो खर्च हुँदैन। भित्री सडकहरूमा बाटो काट्ने ठाउँ छैन। दरबार मार्गमा ह्विलचेयरमा हिँड्नेले बाटो कसरी र कहाँ काट्ने? सडक पेटीमा सजिलै उक्लन मिल्ने गरी केही ठाउँमा रैम्प बनाउन त खासै धेरै पैसा चाहिँदैन। त्यसले अरू अशक्त बूढाबुढी, गर्भवती, बिरामीहरूलाई पनि सजिलो हुन्छ। पैदल, ह्विलचेयर र साइकलका लागि पनि बाटो बनाउने हो भने मूल सडकबाट मोटर बढी गतिमा गुडाउन मिल्छ। भुइँमा विकल्प नदिई बाटो काट्न आकासे पुल बनाउनु अपांगता हुनेको उपहास गर्नुमात्र हैन अधिकार हनन गर्नु पनि हो। कार्यक्रममा राजनीतिक नेता देखिएनन्। यसले तिनको बौद्धिक स्तर देखाउँछ। अपांगता हुने नागरिकको संख्या १० प्रतिशत रहेको अनुमान छ। यति ठूलो समूहको उपेक्षा गर्नु राजनीतिक दलहरूका लागि निकै महंगो हुनसक्छ।  जापानमा हामी जानुपर्ने भवनमा ह्विलचेयरमै डुलेर किनमेल गर्न सकिने सुविधा थियो। तर, त्यस भवनमा भर्खरै खुलेको बैंकको काउन्टर ह्विलचेयर प्रयोगकर्ताको निम्ति सहज रहेनछ। सबैले त्यसमा आपत्ति गरे। धेरै खर्च लाग्ने हुनाले सुधार गर्न नसकिने उत्तर त्यसको व्यवस्थापनले दिएपछि ह्विलचेयर प्रयोगकर्ताको संगठनले उनीहरूलाई चेतावनी दियो - एक साताभित्र त्यसलाई अपांग मैत्री नबनाउने हो भने हामी सबै अपांगता हुनेहरूलाई बैंकसँग कारोबार नगर्न आह्वान गर्छौं। नभन्दै, म त्यहीँ हुँदै त्यो काउन्टर भत्काएर ह्विलचेयरबाट नओर्ली कारोबार गर्न मिल्ने गरी बनाइयो।  
मसँग आजको कार्यक्रममा मेरो नाति अभिज्ञ पनि थियो। उसको टिप्पणी -  कार्यक्रम गरेको ठाउँ नाङ्लो रेस्टुराँ अगाडि पैदलबाटोमा सडकबाट उक्लन र सडकमा ओर्लन ह्विलचेयर प्रयोगकर्तालाई निकै गाह्रो भयो। कम्तीमा त्यहाँ त रैम्प बनाउनुपर्ने थियो नि ! 

No comments:

Post a Comment