Wednesday, August 1, 2012

राजनीति छाड्दाको भाषण


(बाह्रबीसेमा नेपाली कांग्रेसका सभापतिहरूको भेलाको तामझामको समाचार पढेपछि पुराना दिनहरू सम्झेँ। विशेषगरी २०३६ सालपछि कांग्रेसका केही कार्यक्रममा म पनि सहभागी भएको थिएँ। गाउँहरूमा आयोजना गरिने कार्यक्रममा त पराल ओछ्याएर बस्ने गरिन्थ्यो। सुत्नका लागि नेता कार्यकर्तालाई गाउँलेका घरमा बन्दोबस्त हुन्थ्यो।   

गोरखाको खोप्लाङ बेसीमा भएको एउटा कार्यक्रममा सीके प्रसाईलाई नेताका लागि विशेष व्यवस्था भएको ठाउँमा जान कार्यकर्ताले आग्रह गरे। सीके मानेनन्। पछि हामीले सोध्यौँ - तपाईँको स्वास्थ्य पनि कमजोर छ। यसरी सुत्दा बिरामी हुनसक्नु हुन्छ। नेताहरूसँगै गएको भए भइहाल्थ्यो नि! ठट्टा गर्दै सीकेले भनेका थिए - नेताहरूको नजिक बसे उनीहरूको कमजोरी थाहा हुन्छ। नेता्रति श्रद्धा कम हुन्छ। यसैले म नजिक नबसेको!
कार्यक्रम कार्यकर्ताकै खर्चमा आयोजित हुन्थे। खर्च पनि खासै हुँदैन थियो। कार्यक्रम आयोजना गर्नेले बस्नेखाने व्यवस्था मिलाउँथे। कांग्रेसले भड्किलो कार्यक्रम गर्न थालेको २०४६ पछिमात्रै हो। बाह्रबीसेको भेला पनि निकै भड्किलो भएछ। त्यसका लागि धेरै खर्च लाग्यो होला। त्यो खर्च कार्यकर्ताको चन्दाले मात्र पक्कै धानेन। व्यापारीहरूसँग पैसा उठाइयो होला। ती व्यापारीले लगानी उठाउन त पक्कै खोज्लान्। सुवर्ण शमशेर, इन्द्रमणि वा श्यामकृष्णजस्ता कांग्रेसका नाममा फलको आशा नराखेर कांग्रेसका लागि खर्च गर्नेहरू अहिले खासै भएजस्तो सुनिएको छैन। यसैले खर्चमा 'पापको कमाइ' पनि लागेको हुनसक्छ। छ भने त्यसको प्रतिफल पक्कै शुभ नहोला।
यो प्रसंग त मैले उपकथाका रूपमा उठाएको मात्रै हो। अहिले राजनीतिका नाममा मान्छे मारेर पैसा लुट्नेहरू 'हिरो' हुने जमानामा कांग्रेसका नेताले त हदै भए धम्क्याएर पैसा मागे होलान्। त्यसको चर्चा गर्नुको तुक सायद छैन। यति नै बेला एउटा पुस्तक खोज्ने क्रममा मैले २०४२ सालमा पोखरामा भएको कांग्रेसको भेलामा गरेको भाषणको टिपोट फेला पारेँ। पुरानो लेखोट भेट्दा उति बेलाको मनःस्थिति आफैँलाई पनि पढ्न मन पर्‍यो। पाठकसम्म पुर्‍याउन मन लागेर जस्ताको तस्तै प्रस्तुत गरेको छु।)
नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेकाले नेपाली कांगेसको गतिविधि देशका सबै पक्षका राजनीतिक व्यक्तिहरूका निम्ति चासोको विषय हुन्छ। प्रजातान्त्रिक समाजवादी आदर्शबाट प्रभावित नेपाली कांग्रेसको सानोतिनो अनुयायीका रूपमा कांग्रेसको यस भेलामा उपस्थित भएको छु।
म सामान्य नागरिक हुँ। सचेत नागरिकसम्म भन्न मिल्ने खालको। तपाईँहरू हुनुहुन्छ - प्रजातन्त्र पुनःस्थापना युद्धका योद्धाहरू, सेनानीहरू! (भेलामा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत सहभागी थिए।) प्रजातन्त्र, मलाई सोध्नुहुन्छ भने 'जनताको शक्ति'को स्वीकृति हो। जतिमात्रामा जनआवाज सुनिन्छ, जनशक्तिको सर्वोपरिता स्वीकारिन्छ प्रजातन्त्रको स्तर त्यसैमा निर्भर हुन्छ। यसैले अब (आशा छ) तपाईँहरूजस्ता प्रजातन्त्रका लागि जीवन अर्पेकाहरूले 'म' अर्थात् सामान्य नागरिकको (कुरा) सुन्नु हुनेछ, सुन्नुपर्छ।
जनमत संग्रहपूर्वको चर्चा म यहाँ गर्न लागेको छैन। त्यति बेला आफ्नै अन्तश्चेतनबाट प्रेरित भएर नेपाली कांग्रेसका नाममा मान्छेहरूले ज्यानको बाजी लगाएका हुन्। जनमत संग्रहताका भने बहुदल पक्षको नेतृत्व गरेर नेपाली कांग्रेसले नै जनतालाई बहुदलको पक्षमा भोट हाल्न आह्वान गरेको हो र जनताले भोट हालेका हुन्। राजनीतिक स्वतन्त्रताको अर्थ नबुझेरै पनि कांग्रेसको भरविश्वासमा सर्वसाधारणले बहुदललाई भोट दिएका छन्। त्यसरी भोट हालेबापत मेचीदेखि महाकालीसम्मका सामान्य जनताले समेत 'श्वेत आतंक' सहनु परेको छ। जनताका मनमा कताकर्ता बहुदललाई भोट दिनु अपराध पो रहेछ कि 'फोयिबा'ले घर बनाएको छ। यो दुःख, त्रास र आतंकबाट जनतालाई परित्राण गर्ने आफ्नो कर्तव्य ठानेर नेपाली कांग्रेसले जिम्मेवारी सकार्नु पछ कि?
नेपाली कांग्रेस, तनहुँले चाहिँ यही जिम्मेवारी सकारेर होला २०३९ सालको स्थानीय पञ्चायत निर्वाचनमा मलगायतका 'जनपक्षीय' व्यक्तिहरूलाई निर्वाचनमा पठायो र जितायो। सिद्धान्त र व्यवहारका कुनै निश्चित सीमारेखा नकोरेका अवस्थामा बाढीमा पौडी खेल्न हुत्याएजस्तै थियो (त्यो)। तापनि, हामीले पञ्चायतमा सामूहिक राजनीति हुन्छ, गर्न सकिन्छलाई धेरथोर प्रयोग प्रमाणित गर्‍यौँ। जनतालाई निष्पक्ष सेवा पुर्‍याउने पदीय दायित्व पूरा गर्‍यौँ। प्रजातन्त्रवादीहरू पूर्वाग्रहरहित सेवा गर्न सक्षम छन् भन्ने साबित गर्न खोज्यौँ। प्रजातान्त्रिक प्रक्रियासँग नजिकिने कार्यक्रम विकेन्द्रीकरण कार्यक्रममा सबैलाई उछिन्न सक्यौँ। (विकेन्द्रीकरणको नमुना जिल्ला विकास योजना तनहुँ जिल्ला पञ्चायतले तर्जुमा गरेको थियो। म त्यसमा बढी नै संलग्न भएको थिएँ।) सत्याग्रहका बेला सकेको मिलेको सहयोग गरेर नेपाली कांग्रेसप्रति बेइमानी गरिएन। (त्यति बेलाका प्रजिअले 'सभापति क्वाटरबाटै सत्याग्रह सञ्चालन हुन्छ ' भनेका थिए। त्यो सत्य थिएन। सभापतिको क्वाटरबाट हैन उपसभापतिको कार्यालयमा सत्याग्रहको ब्याच राखिएको थियो। उपसभापति चाहिँ मै थिएँ। जिल्ला प्रशासन र जिल्ला पञ्चायत एउटै भवनको वल्लो र पल्लो छेउमा थिए। सत्याग्रहमा रिसिङका एक जना सहभागी ब्याच खोज्दै प्रजिअका कोठामा पुगेछन्। त्यसपछि बढी नै निगरानी हुन थालेको थियो। बम पड्केपछि सत्याग्रह स्थगित भयो। हामीलाई जेल जान जुरेन।) पञ्चायतका पुराना पञ्च र पञ्चायतमा घुसपैठ गरेका कम्युनिस्टहरू ओठे भक्ति देखाउनुको साटो हामीले अलग पहिचान कायमै राख्यौँ। यो सबै गथासो सुनाउनुको तात्पर्य नेपाली कांग्रेस पञ्चायतको निर्वाचनतर्फ जानु उपयोगी हुन्छ कि भन्ने मात्र हो।
राष्ट्र र समाज दुवै संक्रमणको स्थितिमा छन्। सर्वसाधारण जनताको आजको अवस्था तत्काल केही गरिहाल्नु, भइहाल्नु पर्ने स्थितिमा छ। जनहितका निम्ति राष्ट्र निर्माण प्रक्रियामा समर्पित नभए नेपाली कांग्रेसलाई पर्खेर अझ दुःख पीडा खप्ने मनःस्थितिमा जनता छैनन्। यो स्थिति तपाईँहरूले पनि अनुभव गर्नुभएकै हुनुपर्छ।
जनताका आफ्ना दुःख, पीडा र समस्या एकातिर छन् अर्कोतिर प्रजातन्त्र शब्द पनि सुन्न नसक्ने तत्व प्रजातान्त्रिक प्रक्रियाकै उपभोग, उपयोग गरेर प्रजातान्त्रिक प्रक्रियाबाट जनताको मोहभंग गराउने कूटिल षड्यन्त्र गर्दैछ। जनमानसमा प्रजातन्त्रप्रति वितृष्णा पैदा भयो भने यो त्याग, तपस्या र तत्परताको कुनै मूल्य रहने छैन। सबैभन्दा ठूलो हानि (यही) हुनेछ।
यस्तो स्थितिमा विकल्प के हुनसक्छ? सैद्धान्तिक स्पष्टता, अडान र कार्यक्रम लिएर पञ्चायतको निर्वाचनमा जाने पो हो कि? (यसपछिको स्थानीय पञ्चायतको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिएको थियो। पोखरा भेला त्यसका लागि निर्णायक भयो।)
पञ्चायतका पदहरू नभोग्दासम्म निकै आकर्षक देखिन्छन्। पदमा जाने र पार्टी चलाउनेबीचमा भारतका प्रान्तीय सरकार र पार्टी संगठनबीचमा जस्तो पाइने देखिने व्यक्तित्वको होडले काम गर्‍यो भने? पञ्चायतमा गएकालाई फकाइने, फुस्ल्याउने, झुक्याइने हुन्छ। (कांग्रेसबाट गएकालाई पनि) त्यसो भयो भने के गर्ने? यसमा पनि विचार गर्नुपर्छ कि?
आर्थिक, सामाजिक, राजनीतिक विचार स्पष्ट राखेर नैतिक शुद्धता र अलग अस्तित्व पहिचान कायम रहन सकेन भने नेपाली कांग्रेसले पञ्चायतमा भाग लिएपछि देशमा राष्ट्रवादी विकल्प पनि बाँकी रहँदैन। कांग्रेसले यसमा पनि दायित्व बोध गर्नुपर्छकि?
पार्टीका जेनुइन (सही) कार्यकर्ताले भाग नलिए पञ्चायतमा नेपाली कांग्रेसको नाम बदनाममात्र गर्ने अरू केही नहुने हुनसक्छ भने (त्यस्ता कार्यकर्ताले पञ्चायतको निर्वाचनमा) भाग लिँदा पार्टीमा चाहिँ अगतिला, अक्षम मान्छेमात्र बाँकी रहेर पार्टीकै नामबाट अराष्ट्रिय काम गर्नेहरूले पो अवसर छोप्छन् कि?

पार्टीका तपाईँ नियन्ताहरूमा विद्यमान (आर्थिक, सामाजिक, राजनीतिक) व्यवस्थाको वैकल्पिक मान्यता र धारणा स्पष्ट हुनुपर्ने हो कि? अध्ययनशील हुनुको साटो नीति, आदर्श र कार्यक्रम सबै 'बहुदल' भन्ने अवस्थामा पो बहुसंख्यक कार्यकर्ता हुनुहुन्छ कि?
नेपाली कांग्रेस पार्टी हो - सामूहिक प्रतिबद्धता र सामूहिक स्वार्थ सर्वोपरि हुनुपर्ने। तर, कार्यकर्ता मान्छे पनि हो। (उसमा) मानवीय इर्ष्याको जन्मजात गुण त छँदैछ। व्यक्तिवादी आग्रह र ईर्ष्या पञ्चायतमा जस्तै यता पनि कम छैन। यसमा पनि विचार पुर्‍याउनुपर्ने हो कि?
सम्भव भएसम्मको दृढ, इमानदार, सक्षम, सैद्धान्तिक स्पष्टता भएको व्यक्ति अगाडि सार्ने पो हो कि ( पञ्चायतको निर्वाचनमा)? सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने कुनै उपाय भए खोज्नका निम्ति पूर्वाग्रह छाडेर तपाईँहरूले पनि सोच्नुपर्छ कि? मैले बुझेको बीपीवाद त यही हो।
म बिदा हुन आएको हुँ। ( मैले पञ्चायतको कुनै पनि निर्वाचनमा भाग नलिने घोषणा पञ्चायत रजत जयन्तिकै दिनमा गरिसकेको थिएँ। ) मनमा लागेका कुरा राखिदिएको छु। आशत्रास भए रैथाने, चण्डी, देउराली, स्थानी, भवानी रिसाउन नपाउन् भन्ने तर्फमात्र ध्यान दिने थिएँ होला। आशा वा त्रासले (अरू साथीका) मनका कुरा कुण्ठित पो छन् कि?
अन्त्यमा, पञ्चायतमा काम गर्दाका अनुभव र सन्दर्भ आवश्यक भए तपाईँहरूसँग साझा बनाउन म तयारै छु।
जय नेपाल!
(यो टिपोटमा मिति चाहिँ रहेनछ। विसं २०४२ को सत्याग्रहपछि र २०४३ को स्थानीय पञ्चायत निर्वाचनपूर्वको मिति हुनुपर्छ। सत्याग्रहबाट नेताहरू छुटेपछि भेलाहरू भएका थिए।)

No comments:

Post a Comment