Sunday, July 6, 2014

राष्ट्रपतिको सवारी !


संसद््मा सरकारको नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति डा. रामवरण यादव शीतलनिवास, महाराजगञ्जबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर आउँदा जाँदा ( प्रहरीका शब्दमा सवारी हुँदा ) बाटामा पर्ने सडक बन्द गरिए। महारागन्ज - वानेश्वर आउँदा र जाँदा करिब आधा आधा घन्टा बाटो थुनिदा सहरको यातायातमा अर्को ३-४ घन्टा त्यसको असर पर्दोरहेछ। सहरको मूल बाटो थुनिदा भित्री सडकमा सवारीको चाप जो बढ्छ। त्यसबाट हजारौं जना भनेको बेला गन्तव्यमा पुग्दैनन्। त्यसले धेरैको दिनचर्या खलबलिन्छ। तर, शासकहरूलाई जनताका समस्या 'छु मतलब'?
राष्ट्रपतिको लस्कर जाँदा त देखिन फर्कँदा भने न्यु रोड गेट नजिकै सडकको पेटीमा उभिएर हेरेको थिएँ। प्रहरीको रिसल्ला आउनुभन्दा करिब १५ मिनेट पहिले नै पैदल यात्रुलाई सडक पार गर्नसमेत रोकिएको थियो। त्यस्तो बेला प्रहरीको तनाव बढ्छ र बोलीवचन झन् रुखो हुन्छ। प्रहरीको मोटरसाइकलपछि सुरक्षा निकायका मोटरको ताँती आयो। त्यसपछि राष्ट्रपतिपतिको कार आयो। उपराष्ट्रपतिको कार आयो। अनि भारतीय राजदूतको मोटर पनि त्यही लस्करमा मिसिएर पार भयो। गाडीहरू निकै बिस्तारै चलाइएका थिए। मानौ, जनता राष्ट्रपतिको दर्शनकै लागि सडकमा लाम लागेका हुन् !  राष्ट्रिय पञ्चायतको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न राजा जाँदा पनि यस्तै दृश्य देखिन्थ्यो। राजालाई त जनताभन्दा बेग्लै हुँ भन्ने देखाउनुपर्थ्यो र पो यस्तो तामझाम गर्थे। जनअधिकारका लागि संघर्ष गरेका राष्ट्रपति यादवले यस्ता सामन्ती परम्परा तोड्लान् कि भन्ने आशा लागेको थियो।
राष्ट्रपति यादवले नै जनतालाई दुःख दिने नियतले यो सामन्ती संस्कारलाई निरन्तरता दिएका चाहिँ पक्कै हैनन्। तर, उनले इच्छा शक्ति देखाएका भए यो सामन्ती परम्परामा सुधार पक्कै गर्न सक्थे। औपचारिक समारोहमा मूल बाटो प्रयोग गर्नु स्वाभाविकै हो। राष्ट्राध्यक्षको आवागमन सहज बनाउन केही थप सुरक्षा बन्दोबस्त गर्नु पनि अनुचित होइन। तर, त्यसलाई तडकभडकरहित बनाउँदा पक्कै नेपालका राष्ट्रपति र संसद्को गरिमा घट्ने थिएन। सुरक्षा अधिकारीले त यस्तो तामझाम बढी नै होस् भन्ने चाहन्छन् । राष्ट्रपतिको अगाडिपछाडि पछुवाको ठूलो लस्कर भयो भने त्यसमा केही कटौती गरेर आफूले पनि पछुवा लिएर हिँड्न जो पाइन्छ। तर, जनताफे गाली त राष्ट्रपतिलाई गर्छन् । त्यही मौका छोपेर लोकतन्त्र र गणतन्त्रलाई सराप्न तम्सन्छन् लाउकेहरू ! राष्ट्रपति र संसद्को गरिमामा त जनताको गालीले पो आँच आउँछ ।
यस्ता समस्यालाई जनताको कोणबाट हेरेर सामन्ती चलनको अवशेष मेटाउने प्रयास भने अहँ कसैले गरेन ! एउटा उदाहरण काठमाडौंको मुटुमा रहेको टुँडीखेलमा तोप पड्काएर बढाइँ गर्नुको तुक र औचित्य के छ? कुनै बेला सैनिक शक्ति देखाएर जनतालाई तर्साउन थालिएको चलनलाई किन निरन्तरता दिनुपरेको हो?  राजाका पालमा चलाइएका जनतालाई हेप्ने चलन चालु राखेर राजतन्त्र फालेर सामन्तवाद अन्त्य गर्‍यौँ भन्नुभन्दा ठूलो विडम्बना अरू के होला? संसारका अरू मुलुकमा पनि यस्तै तामझाम हुन्छ भन्दैमा हामीले किन अपनाउनु पर्‍यो?
सायद, लोकतन्त्रको लामो संघर्षका क्रममा पनि लोकतान्त्रिक संस्कारको विकासलाई उपेक्षा गरिएको परिणाम हो यो।

1 comment:

  1. Really a touching issue. Here by,If any of Politician claims he is leader then we will watch them how close have he been to sorrows of public really.

    ReplyDelete