Sunday, July 13, 2014

मधेसको समस्या

मधेसमा सर्पदंशको सामान्य औषधि नहुँदा कतिको ज्यानै गयो होला? खडेरीले बाली लगाउन सकिएको छैन। सिँचाइको प्रबन्ध भएकै कतिपय ठाउँमा समेत खोला गहिरिएर कुलामा पानी चलेको छैन रे। कतै  वर्षा सुरु भएपछि सरकारलाई अतिक्रमित जमिन खाली गराउने बायु चडेको छ। पहिले घर बनाउन दिने अनि डोजर लगाएर भत्काउने परपीडक मानसिकता सरकारी संयन्त्रमा जो व्याप्त छ। घर भत्काएर बिचल्लीमा पारिएकाहरूका बारेमा मधेसका कुनै दलका नेताले केही बोलेनन्। सर्पदंशले मर्नेपनि गरिब न हुन्छन्। धनी ठालुहरू त यता नभए उता पुगिहाल्छन्। यसैले तिनीहरू पनि मधेसी नेताका चासोका विषय बनेका छैनन्। महंगी मधेसमै बढी छ रे। गरिबी पनि मधेसका केही जिल्लामा निकै चर्को छ। झोले विद्यालय पनि मधेसमै छन्। भ्रष्टाचार र शोषण अपेक्षाकृत मधेसमै बढी छ। दाइजो वा बोक्सीको निहुँमा हिंसा पनि मधेसमै धेरै हुन्छ। अनि, तुलनात्मकरूपमा मधेसकै केही जातिको प्रशासनमा प्रतिनिधित्व पनि बढी छ रे। तर, यी कुनै विषयमा अहिलेसम्म मधेसका राजनीतिक नेतामात्र हैन बुद्धिजीवीले पनि खासै टाउको दुखाएको देखिएको छैन। बढीमा उनीहरू पहाडेको शोषणले यस्तो भएको भन्छन्। बस। जनतालाई यसरी नै उपेक्षा गरेर चल्ला र?

अगिल्लोपटक माओवादीसँग मिलेर सत्ताको स्वाद फेरेका हुन्। मधेसीका गति विपन्न जनताका हितमा तिनले गरे के?  जागिरमा छुट्ट्याएको कोटा नागरिकतै नभएको र स्कुलको मुखै नदेखेको दलित युवाका लागि त कागलाई बेल पाकेजस्तै न हो? किन कोही कम्तीमा त्यतै उनीहरू बसेर तिनको अवस्थामा सुधार गर्न लाग्दैन? के राजनीति सत्ताका लागि मात्रै हो? जनता भर््यांगमात्रै बनिदिनुपर्ने हो? मधेसमै सशस्त्र समूह अझै क्रियाशील छन् रे। भागेर राजधानी पसेका मधेसी व्यापारी अझै पूरै फर्कन सकेका छैनन्। उद्यमी व्यापारीलाई लखेटेर कस्ले गर्ने हो मधेसको विकास? मधेसी नेता भने एनेकपा (माओवादी)सँग मोर्चाबन्दी गरेर सरकारलाई घेर्न लागेका छन्।

एमाओवादी अरू माओवादीसँग एकता गर्ने सुरसारमा छ। वैद्य माओवादीलाई संविधान सभा नै चाहिएको छैन। अब मधेसका नेता बिस्तारै तिनैको पछि लाग्ने न हो। माओवादीको बल पुगे अरू जे भए पनि संविधानमा लोकतान्त्रिक मर्म मार्नेछन्। बहुमतलाई यसरी घेराबन्दी गर्न थालेपछि संविधान त यसै पनि बन्न सत्तै्कन केही यता देखिएको राजनीतिक स्थिरता पनि कायम रहँदैन। फाइदा कस्लाई हुन्छ? लोकतन्त्रलाई खतरा कहाँबाट छ? लोकतन्त्र नभए संघीयता हुन्छ? मुलुकलाई जति चिरा र टुक्रा पारे पनि लोकतन्त्रबिनाको संघीयताले जनताको भलो हुन्छ? 

No comments:

Post a Comment