Tuesday, October 2, 2012

राष्ट्रपति कांग्रेसै हुन् त ?


 माओवादीले हात पारेको सत्ता अब सजिलै छाड्दैन। छाड्दिन नभन्ने तर छाड्दा पनि नछाड्ने गर्दा जनताले थाहा पाउने डर हुन्छ। जनताको आँखामा छारो हाल्न कुनै न कुनै बहाना त बनाइरहनु पर्‍यो। त्यसैले अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईलगायत् एनेकपा (माओवादी) का नेता र तिनैको बोलीमा लोली मिलाउने मधेसी मोर्चाका केही नेताले समेत राष्ट्रपति रामवरण यादव पनि कांग्रेसै भएकाले नेपाली कांग्रेसका अर्का नेतालाई प्रधानमन्त्री दिन मिल्दैन भन्न थालेका छन्। 

कांग्रेसको नेतृत्व स्वीकार गर्ने कि नगर्ने निर्णय सम्बन्धित दलले गर्ने हो। माओवादी, मधेसी वा अरू कसैलाई पनि कांग्रेसको नेतृत्व स्वीकार गर्नैपर्ने बाध्यता छैन। (अहिलेसम्मका सबै निर्वाचन कांग्रेसकै नेतृत्वमा भएको छ। जति नै कमजोर र नेताहरू बुद्धिहीन भए पनि कांग्रेसको साख अझै बाँकी छ। हिङ नभए पनि हिङ हालेको टालो जो हो। तर, बाबुराम मण्डलीलाई चुनाव गराउनु नै छैन। यसैले सरकार किन छाड्ने? विपक्षीहरू अरू कसैको नेतृत्वमा सरकार बनाउन सहमत भए भने माओवादी-मधेसी झुन्डले अर्को बखेडा निकाल्ने निश्चित छ।) कांग्रेसका पक्षमा आन्दोलनको आँधीबेहरी उत्पन्न भएको पनि छैन। यस्तै, कांग्रेसलाई नै सरकारको नेतृत्व सुम्पनुपर्ने गरी जनमत प्रकट भएको पनि देखिएको छैन। यसैले कांग्रेसको नेतृत्व स्वीकार गर्दैन भनेकै कारण माओवादी वा मधेसी नेताहरूको आलोचना गर्नु उचित नहोला। तर, राष्ट्रपति रामवरण यादवलाई अहिले चर्को स्वरले कांग्रेसको नेता भन्नुमा चाहिँ उनको चरित्र हत्या गर्ने र सरकार नछाड्ने रणनीतिअनुसार जनताको ध्यान अन्तै तान्ने षड्यन्त्रको गन्ध आएको छ। 
पक्कै पनि रामवरण यादव राष्ट्रपति पदमा निर्वाचित नहुँदासम्म नेपाली कांग्रेसका नेता थिए। राजनीति गर्न थालेदेखि राष्ट्रपति पदमा निर्वाचित नहुँदासम्म उनी कांग्रेसै रहे। उनको राजनीतिक जीवन पारदर्शी छ। किन्तु, राष्ट्रपति निर्वाचित भएपछि यादव कांग्रेसको दलगत राजनीतिमा संलग्न भएको देखिएको छैन। उनले पार्टीको सदस्यता त्यागिसकेका छन्। राष्ट्रपति भए यता उनले नेपाली कांग्रेसलाई मात्र फाइदा पुर्‍याउने काम गरेका पनि छैनन्। यसैले अहिले राष्ट्रपति यादवलाई अहिले कांग्रेस भन्नु उनको निष्ठा र इमानमा प्रश्न उठाउनु हो। (अचम्म छ! राष्ट्रपति यादवले बाबुरामका हुँदा/नहुँदा सिफारिस स्वीकार गरे कांग्रेस नहुने तर अदालतले समेत हुँदैन भनिसकेको कर्तव्य ज्यानमा सजाय पाएको व्यक्तिलाई माफी दिन नमाने कांग्रेस हुने?) राष्ट्रपति यादवलाई अहिले आएर कांग्रेस भन्नु षड्यन्त्रकै अंग हो।
चुनावी सरकारको नेतृत्व कांग्रेसका नेताले गर्ने सहमति भएको प्रचारवाजी पुष्पकमल र बाबुरामहरूले सयौँ पटक गरेका छन्। त्यतिबेला पनि रामवरण यादवै राष्ट्रपति थिए। अहिले एकाएक पुष्पकमल, बाबुरामहरूको आँखा खुल्नुको रहस्य के हो? मधेसी मोर्चाका नेताले माओवादीको इसाराअनुसार बोलेकोमा खासै आपत्ति र आश्चर्य मान्नुपर्दैन। अहिलेको सरकार कांग्रेसको नेतृत्वमा हुन्थ्यो भने उनीहरू त्यहीअनुसार बोल्थे। पार्टी फोर्ने र बोली फेर्ने प्रतिस्पर्धा मधेसी नेताबीच चलेको जो छ। पुष्पकमलकै हकमा पनि धेरै आपत्ति गर्नुपर्दैन। यसै पनि उनी जुन बेला जे बोल्दा सजिलो हुन्छ त्यही बोल्ने व्यक्ति कहलिइसकेका छन्। साथै, उनी सरकारमा छैनन्। सरकार उनैले चलाएको भए पनि संविधानतः उनी जिम्मेवार हुँदैनन्। कुनै पार्टीको नेताले लगाएको आरोपका बारेमा धेरै टाउको दुखाउनु मूर्खता हुन्छ। किन्तु, बाबुराम भट्टराई भने प्रधानमन्त्री पदमा छन्। उनी त्यस पदका लागि जति नै अयोग्य र हाल 'कामचलाउ' भए पनि संविधानतः यो मुलुकका प्रमुख कार्यकारी त हुन्। त्यसैले बाबुरामको कथनलाई सामान्य मान्न मिल्दैन। 
मधेसी मोर्चाका नेताहरू 'मुलुक टुक्य्राउने' धम्की दिन थालेका छन्। यति नै बेला मधेसी मूलका राजनीतिक व्यक्तित्वमा राष्ट्रिय अखण्डताका पक्षमा सबैभन्दा दृढ देखिएका राष्ट्रपति रामवरण यादवको निष्ठामा प्रश्न उठाउने र विवादमा तान्ने प्रयास भएको छ। त्यसमा पनि 'रअ' सँग निकट सम्बन्ध भएका भनेर प्रचारित व्यक्तिहरू नै राष्ट्रपति यादवलाई विवादमा मुछ्न बढी उद्यत देखिएका छन्। यो संयोगमात्र पनि हुनसक्छ तर यसमा सन्देह गर्नुपर्ने ठाउँ पनि धेरै नै छन्। (कांग्रेसको नेतृत्व मान्न संविधानका प्रावधानमा अहिले नै सहमति गर्नुपर्ने तर माओवादी वा अरूको नेतृत्वमा सरकार बनाउन नपर्ने? कस्तो झेली तर्क हो यो? संविधान सभाकै निर्वाचन गर्ने सहमति भएपछि संविधानका बारेमा पहिले नै अरूले निर्णय गर्न खोज्नु जनताको अधिकार खोस्नु हो। कांग्रेस जनअधिकार हरण गर्ने यस्ता अलोकतान्त्रिक झेली तर्कमा सहमत हुनसक्ला र? यसैले पनि माओवादी-मधेसी मोर्चाको जिद्दीमा षड्यन्त्रको गन्ध बढी आउँछ।)
रामवरण यादवले भारतीय छात्रवृत्तिमा पढेका त होलान् तर 'रअ' मा निवेदन हालेर राजनीति गरेका हैनन्। उनका बोली र व्यवहार दुवैले यसलाई पुष्टि गर्छन्। उनका पक्षमा 'रअ' प्रतिनिधि कुनै ऋषिमुनि बेला न कुबेला प्रकट भएको पनि देखिएको छैन। यादव 'पञ्चमांगी' त हैनन् नि भनेर ढुक्क हुन सकिन्छ। राष्ट्रियता र लोकतन्त्रका विषयमा बाबुराम, पुष्पकमल, महन्थहरूभन्दा रामवरण यादवकै प्रतिबद्धता र साख बलियोे छ। शायद, यही कारणले यादवलाई विवादमा तान्न निरन्तर प्रयास भएको पनि हो। उनलाई विवादमा तान्न खोज्नेहरूको अनुहार हेर्ने हो भने ती कहाँबाट दीक्षित, प्रशिक्षित र सञ्चालित छन् भनेर ठम्याउन कठिन पनि देखिँदैन। 
राष्ट्रपति यादवले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्दा नेपाली कांग्रेसकै स्वार्थ पूरा गरेको ठहर्छ भने बेग्लै नत्र उनलाई विवादमा तान्नुपर्ने कारण देखिएको छैन। राष्ट्रियता र लोकतन्त्रप्रति निष्ठा हुनेहरूले अब पनि तमासामात्र हेरेर बस्दा पछुतो लाग्नसक्छ। शिखण्डीलाई अगाडि राखेर नेपथ्यबाट अर्जुनले भीष्म पितामहलाई प्रहार गरेजस्तै षड्यन्त्र भएको देखियो। अहिले बुद्धि पुगेन भने पछि पछुताउनु पर्नेछ। यादवका पक्षमा हैन, राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि पनि राष्ट्रपतिमाथि गरिएको 'शिखण्डी प्रहार' को सामना गर्न अगाडि देखापर्नुपर्छ। कारण, यादव आफैँले प्रतिरक्षा गर्न उनको मर्यादाअनुरूप हुँदैन। उनलाई मर्यादा भंग गर्न बाध्य नपार्ने अरूले उनीमाथि भएको प्रहारको जवाफ दिनुपर्छ। शिशुपालले जस्तै बाबुरामहरूले पनि मर्यादाको अन्तिम सीमा नाघे भने कृष्णजस्तै राष्ट्रपति यादव पनि दण्डको चक्र प्रहार गर्न बाध्य नहोऊन्!
प्रतिक्रियाहरू (0)Add Comment

प्रतिक्रिया लेख्नुस्

No comments:

Post a Comment