Wednesday, October 10, 2012

औषधि पसलमा ठगी

मेरी उनीले नियमित खानुपर्ने एउटा औषधि वरपर नपाएपछि खोज्दै शिक्षण अस्पतालसम्म पुगेँ। अस्पतालको डिस्पेन्सरी बन्द थियो। सडकतिर निस्कने बाटामा औषधि पसल छन्। तीमध्ये एउटा हाम्रो फार्मेसी भन्ने पसल रहेछ। त्यहीँ 'बिटालक-१००'मागेँ। त्यो पसलमा जम्मा ३० चक्की बाँकी रहेछ। त्यसको २५०। रुपियाँ तिरेँ। 
दिनहुँ खानुपर्ने औषधि भएकाले अरु पनि लैजाऊँ भनेर खोज्दै सडकपटि्ट गएँ। सडकतर्फको एउटा पसलमा पाइएन। अर्को पसलमा सोधेको विक्रेता नानीले फोनमा सोधेर 'एकैछिन बस्नुस्' भनिन् र बाहिर निस्किन्। सडकपारिको पसलबाट उनले औषधिको बट्टै लिएर आइन्। मैले ३० चक्की मागेँ। उनले हिसाब गरिन् र 'रु २३०। पर्छ' भनिन्। सुनौलो फर्मामा पैसा तिरेँ र पहिलेकै पसलमा फर्केँ। मलाई औषधि बेच्ने भाइसँग 'किन २०। रुपियाँ बढी लिएको?'भनेर सोधेँ। ऊ अकमकाए। पसलका साहुजस्ता अर्काले नाक खुम्च्याउँदै सोधे। मैले २०। रुपियाँ बढी लिएकै कुरा बताएँ। 'पैसा त हामीले लिएजत्तिकै पर्ने हो अर्को पसलले छुट दियो होला' भनेर टार्न खोजे। मैले यसरी फरक त पर्न नहुनेमात्रै भने। म झगडा गर्ने मुडमा थिइन बरु लेखेरै साटो फेर्ने सुरमा थिएँ। म फर्कन लागेको देखेर उनले अनिच्छापूर्वक रु २०। फिर्ता दिए। पैसा लिएँ र फर्केँ। 
यसरी पनि ठगिँदा रहेछौँ त हामी। औषधिको व्यापारमा धेरै नाफा हुन्छ र बदमासी पनि धेरै नै हुन्छ भन्ने त मलाई थाहा थियो। तर, औषधि पसलमा ग्राहकलाई यसरी पनि ठगिँदो रहेछ भन्ने चाहिँ बल्ल अनुभव भयो। अर्को पसलमा किन्न नगएको भए म ठगिएको ठगिएकै हुन्थेँ। सुनौलो फार्माले पनि नाफा राखेरै बेचेको होला। यस्तो ठगी कालो बजारीमा पर्छ कि पर्दैन? औषधिको अधिकतम मूल्य नै बढी तोक्नु कालो बजारी हो कि होइन? सरकारको नियामक निकायको अधिकार क्षेत्रमा यस्तो ठगी पर्छ कि पर्दैन? पर्छ भने कारबाही नगर्नु अख्तियारको दुरुपयोग हुन्छ कि हुँदैन? अस्पताल परिसरमा त औषधि झन् सस्तो हुनुपर्ने। २५०। को औषधिमा त २० रुपियाँ फरक पर्छ भने धेरै पैसाको औषधिमा कति फरक पर्छ होला? मभन्दा सोझो मान्छे भएको भए पैसा फिर्ता माग्ने आँट पनि गर्ने थिएन होला। अनि मभन्दा बलियो युवा भएको भए पसलेलाई चड्काउन बेर लगाउने थिएन होला। 

No comments:

Post a Comment