Monday, December 1, 2008

संसदीय नेता आचार्यलाई बनाऊ !

संसदीय नेता आचार्यलाई बनाऊ !

नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव हुन सकेको छैन । एकीकरण गरिएको भनिए पनि भावनात्मक रूपमा एक हुन नसकेका कांग्रेसीहरूमा थप गुट उपगुट बनेको सुनिएको छ । शेरबहादुर देउवालाई संसदीय दलको नेता हुने रहर अवश्य पनि छ । भनेजस्तो नभए देउवा पार्टी फुटाउन बेरै मान्दैनन् । यस्तै गिरिजाप्रसाद कोइरालाको पनि अरू कसैलाई नेता हुन दिने बानी छैन । देउवालाई नेता हुन दिने मन पनि छैन होला । सुशील कोइराला त संसद्  नै छैनन् तर रामचन्द्र पौडेललाई पनि संसदीय दलको नेता भएर वैकल्पिक प्रधानमन्त्रीको हैसियत बनाउने रहर अवश्यै होला । देउवा र पौडेललाई नेता मान्न नसक्ने र आफू नेता हुन पनि नसक्नेहरू कुलबहादुर गुरुङलाई नेता बनाएर सबैको मेख मार्न चाहन्छन् भन्ने सुनिएको छ । 
लोकतान्त्रिक पद्धति संकटमा छ । सत्तामा पुगेका माओवादीहरू जनविद्रोह गरेर सत्ता कब्जा गर्ने ताकमा छन् भने अराजकता यसरी नै बढ्ने हो भने सेना अगाडि आउने अवस्था सिर्जना हुन पनि सक्तछ । अर्थात् अहिले लोकतन्त्रमाथि अतिदक्षिण पन्थी वा अतिवामपन्थी उग्रवादीहरूले आक्रमणको जोखिम छ । साथै मुलुकलाई युगौंदेखिको सामन्ती संस्कारबाट मुक्त गरेर लोकतान्त्रिक बाटोमा हिंडाउने चुनौती पनि छ । यी सबै जोखिम र चुनौतीको सामना मूलतः नेपाली कांग्रेसले नै गर्नुपर्ने हुनाले कांग्रेसको संसदीय दलको नेताको चयनमा लोकतन्त्रको भविष्य पनि निर्भर छ भन्न सकिन्छ ।
लोकतन्त्रको रक्षा गर्न सके मात्र कांग्रेसको अस्तित्व पनि सार्थक हुने हो । कांग्रेसको नयाँ नेताले एक्काईसौं शताब्दीको नेपालको नेतृत्व गर्नु पर्छ । यसैले नेतृत्वको चयन सैद्धन्तिक स्पष्टताका आधारमा हुनु आवश्यक हुन्छ । सबैलाई थाहा छ, नेपाली कांग्रेसलाई राजतन्त्रको मोहपासबाट उम्काउने र संविधान सभाको निर्वाचनमा जान तयार गर्नेमा अगुवाइ नरहरि आचार्यले गरेका हुन् । सैद्धान्तिक दृष्टिबाट माथिका नेताहरू सबैभन्दा आचार्य नै स्पष्ट छन् । व्यवहारमा पनि उनी अरूभन्दा बढी लोकतान्त्रिक, सात्विक, युगसापेक्ष व्यवस्थित, परिश्रमी र प्रतिबद्ध देखिन्छन् । उनका विचारहरूलाई पार्टीले स्वीकार गरेपछि नेतृत्व पनि उनैलाई किन नदिने ?
नेपाली कांग्रेसलाई  एक्काईसौं शताब्दीमा पनि नेपालको राजनीतिको केन्द्रमा राखिराख्ने हो भने नरहरि आचार्यजस्ता स्पष्ट विचार भएका व्यक्तिलाई नेतृत्व सुम्पनुपर्छ । नभए कांग्रेसलाई पनि राजतन्त्रसँगै संग्रहालयमा थन्क्याइदिए हुन्छ । कारण माथि चर्चा गरिएका कुनै पनि पुराना नेताहरूले नयाँ पुस्तालाई आकर्षित गर्न सक्तैन । नयाँ पुस्ताको सहभागिता नभएको पार्टी धेरै दिन टिक्न सक्तैन । 
नेताहरूलाई आफ्नोभन्दा मुलुक र पार्टीको माया छ भने विचार गरुन् । 

No comments:

Post a Comment