Monday, February 8, 2016

'मियाँ दाइ'ले ढाँटेछन् !


मेरा अधिकांश साथी राजनीतिक भेलामा भेटिन्छन् । विशेषगरी तनहुँ जिल्लामा हुने नेपाली कांग्रेसका कार्यक्रममा उनीहरू अझै सहभागी भइरहेकै छन् । यसैले फुर्सद पाएका बेला कांग्रेसको जिल्ला र क्षेत्रीय अधिवेशनहरू हेर्न तनहुँ जाने गर्छु । यसपटक पनि गएको थिएँ ।
माघ २२ गते डुम्रेमा संसदीय क्षेत्र नं १ को अधिवेशन थियो । आँबु खैरेनीका प्रतिनिधिहरूसँगै डुम्रे पुगेँ । क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिलगायतका पदका लागि निर्वाचन हुँदै थियो । त्यस क्षेत्रका कांग्रेसका हस्तीहरू समूह बनाएरै भिडेका थिए । दुवै समूहबाट चुनिए । विशेष के भयो भने नेपाल विद्यार्थी संघका नेताहरू आनन्द त्रिपाठी र दीपक भट्टराई राम्रो मत ल्याएर चुनाव जितेछन् ।
धेरै पुराना साथीहरू भेटिए । छिम्केश्वरी, देउराली, धरमपानीमा मेरा धेरै परिचित साथीहरू थिए । ती गाविसहरूमा कांग्रेसको संगठन गर्दा मैले धेरै कार्यकर्ता बनाएको थिएँ । छिम्केश्वरीका श्रीबहादुर गुरुङ र देउरालीका रणध्वज गुरुङ अभैm सक्रिय नै रहेछन् । रणध्वज त २०३६ सालमै बहुदलको पक्षमा लागसकेका थिए । छिम्केश्वरीबाट क्षेत्रमा प्रतिनिधित्व गर्नेमध्ये बाबुछोरा भेटिएका थिए ।
यही हुलहालमा पुराना कांग्रेस नेता सूर्यनाथ खनाल पनि भेटिएका थिए । त्यहाँ भेटिएकामध्ये मलाई ‘तिमी’ भन्ने मान्छे उनीमात्रै थिए । सूर्यनाथ दाइसँगको चिनजान कति पुरानो हो सम्झना छैन । तर २०३९—४३ सालमा म तनहुँ जिल्ला पञ्चायतको उपसभापति छँदा उनी सतीश्वाँराका प्रधानपञ्च थिए । उनको पंचायत ६ नं क्षेत्रमा पथ्र्यो । त्यस क्षेत्रबाट मैलै प्रतिस्पर्धीले भन्दा दोब्बर मत ल्याएको थिएँ । यसमा सूर्यनाथ दाइहरूकै योगदान थियो । मैले त त्यस क्षेत्रमा टेकेको मात्रै थिएँ । धेरैलाई चिन्दैनथेँ । पाँच वर्ष उपसभापति छँदा निकट रहेर काम गरियो । उनी पुराना प्रतिबद्ध लोकतन्त्रवादी भएकाले श्रद्धा लाग्थ्यो । उनले पनि मलाई माया गर्थे । पछि काठमाडौंमा बिरामी भएका बेला उनलाई अस्पतालमा केही सहयोग उपलब्ध गराएको सम्झना छ ।
म राजनीति र जिल्ला दुवै छाडेर काठमाडौंमा भौँतारिन थालेँ । त्यसपछि मुस्किलले २—४ पटक भेट भयो होला । डुम्रेमा भेटिँदा सूर्यनाथ दाइ अलि थाकेका देखिन्थे । मैले किन दुःख गरेको ? भने । उनले ठट्टा गर्दै भने यहाँ नआएको भए तिमीसँग भेट हुन्थ्यो त ? हामी हास्यौँ । उनलाई म ‘मिया दाइ’ भन्थेँ । सम्जुरमा हुर्केकाले चुरेटा भाषा बोल्न सक्थे । र उनको लबजमा पनि कताकता मियाँहरूको बोलीको झल्को लाग्थ्यो । सूर्यनाथ प्रधानपञ्च हुँदा इसुफदिन मियाँ उपप्रधान थिए । म उनीहरूलाई जिस्क्याउने गर्थेँ — सूर्यनाथले ‘अल्लाह कसम’ भन्छन् र इसुफदिनले ‘रामको कसम’ खान्छन् भनेर । इसुफदिन दाइ केही वर्ष पहिले बितेछन् । सूर्यनाथले भनेका थिए ‘गइसक्यो ऊ त, म एक्लै हो । दाइले काठमाडौंमा घर सोधे र भेट्न आउँछु भने । उनले मेरो फोन नंबर मागे । र हामी बिदा भएका थियौँ ।
मियाँ दाइले त ढाँटेछन् मलाई । उनी त कहिल्यै नआउने गरी पो गएछन् । दमौलीमा बुद्धिकुमार बतासजीले सूर्यनाथको मरण त गजबको भयो भन्दा मैलै मेरै मियाँ दाइ हुन् भन्ने कल्पनासम्म पनि गरिन । दोहो¥याएर सोधेँ । परशुरामजी साथैमा थिए । उनले भने — म सिंपानीमा हुर्केको तर मैले कांग्रेसको झन्डा भने सूर्यनाथको घरमा देखेको हुँ । ’
ठाँट्यौ दाइ ! काठमाडौं आएर भेट्ने वचन पूरा गरेनौ ।
मेरो हार्दिक श्रद्धाञ्जली !

No comments:

Post a Comment