Monday, October 12, 2015

बैगुनी मुलुक भारत र बेलायत - २


बेलायतको भिसाको ठेकेदार कम्पनी भीएफएसले सायद हिजो टाँसेको सही र छाप केही नभएको सूचनामा फटाइँ चरमरूप देखिएको छ। दिल्ली पठाएको नेपालीको पासपोर्ट फिर्ता दिनुपर्ने आफ्नो नैतिक र कानुनी जिम्मेवारी पन्छाउन एउटा बेनामी सूचना टाँसिएको छ बेलायतको लैनचौरस्थित दूतावास परिसरका भिसा आवेदन संकलन गर्ने ढोका नजिकैको भित्तामा।
पहिलो फट्याइँ - सूचनामा राहदानी फिर्ता ल्याउन नसक्नुको कारण ‘नेपालमा जारी राजनीतिक अशान्ति’ भनिएको छ। भिसाको निर्णय भएका राहदानी नेपालको सीमामा आएर रोकिएको भए वा भारत सरकारले कब्जामा लिएर राहदानी नेपाल पठाउन रोकेको भए त्यसलाई राजनीतिक कारण भन्न मिल्थ्यो। हुनत, भारतमा पुगेका राहदानी अड्किनुको स्पष्ट कारण केही खुलाइएको छैन तर भीएफसकै कर्मचारीले हिजो (शुक्रवार) बताएअनुसार नेपाल आउने जहाजले आउन जान पुग्ने तेल ल्याउन पर्ने हुनाले कार्गो बोक्न मानेका छैनन्। यसैले निर्णय भएका राहदानीहरू नेपाल ल्याउन सकिएको छैन। नेपाल ल्याउनका लागि दुवै लगियो तर त्यहाँबाट पनि कसैले ल्याइदिएन। यो त कुनै राजनीतिक कारण हैन। नेपाल आउने सबै उडान रद्द वा बन्द भएको छैन। बंगलादेश वा पाकिस्तान पठाएको भए काठमाडौं ल्याउन सजिलो हुन्थ्यो। अलिकति पनि नैतिक जिम्मेवारी बोध गरेको भए दिल्लीबाट चार्टर गरेर पनि ल्याउन सकिन्थ्यो। नेपालीसँग भिसाका लागि जनही लिएको पैसाले नपुगे मागे हुन्थ्यो। तर उसले त बेनामे सूचना निकालेर दुनियाँलाई ढाँट्ने कोसिस पो गर्‍यो।
दोस्रो फट्याइँ - ८ अक्टोबर वा त्यसपछि आवेदन दिनेलाई भिसा जरुरी भए दिल्ली गएर लिए हुन्छ भनेको छ। सेम्टेम्बर २९ सम्म निर्णय भएको नेपाल आइसक्यो भनेर हिजो तिनै कर्मचारीले भनेका थिए। मैले २२ सेप्टेम्बरमा भिसा फर्म बुझाएको थिएँ। नयाँ दिल्लीस्थित बेलायती दूतावासबाट ६ अक्टोबरमा सूचना इमेल आयो। त्यसमा मेरो भिसा आवेदनमा निर्णय भइसकेको र भिसा आवेदन केन्द्रमा पठाइएको जानकारी दिइएको छ। तर यो सूचनामा मेरो वा मजस्तैको राहदानी दुबैमा छ कि दिल्लीमा छ कि कतै बाटैमा हरायो केही लेखिएको छैन। सूचना हेर्दा लाग्छ, ८ अक्टोबर वा त्यसपछि मात्रै भिसा मागिएको छ र त्यसभन्दा पहिलेको कसैको राहदानी भीएफएसमा छैन।
तेस्रो फट्याइँ - नयाँ दिल्लीबाट राहदानी लिन वा अरू सोधपुछका लागि भनेर फोन नंबर दिइएको छ ००८६ १० ८४०५३५०७ वा ००४४ १२४३ २१३ २९९। सँगै सूचना पनि छ - यो सोधपुछ गर्न पैसा तिर्नुपर्छ, त्यसैले क्रेडिट वा डेबिट कार्ड पनि तयार राख्नु भन्ने। अब मजस्ता सामान्य नेपालीले प्रतिमिनेट १.३७  पाउन्ड तिर्न विदेशी मुद्राको कार्ड कहाँ पाउने। उनीहरू राहदानी लिएर हराइदिने अनि खोज्नका लागि पैसा माग्नेभन्दा ठूलो फट्याइँ के हुनसक्छ?
कुन्तको निम्छरो सरकार त्यसमाथि त्यही पनि बदलिने बेलाको । सरकारले त के हेर्ला र? कारिन्दा र कार्यकर्ताबाहेक अरूले राज्यबाट केही अपेक्षा गर्नु पनि फजुलै हो।
संकटका बेलामा पनि बेलायती दूतावासले सहयोग नगर्ने हो भने नेपालमा त्यो दूतावास चाहियो नै किन? बेलायतले नेपाली मित्रता र भावनालाई अलिकतिमात्रै पनि कदर गर्ने हो भने सके त यहीँबाट भिसा दिनुपर्छ नभए ढाका वा इस्लामावाद पठाए हुन्छ । मनै फाटेकाले नयाँ दिल्ली नेपालका लागि दूर जो भएको छ ।  

No comments:

Post a Comment