Friday, December 23, 2011

कठैबरी! कांग्रेसी चरी


नेपाली कांग्रेसका नेताहरूको बुद्धि र स्थिति देख्दा टिठ लाग्छ। उनीहरू यति चाँडै सन्दर्भहीन होलान् र पार्टीलाई यस्तरी क्षयोन्मुख बनाउलान्जस्तो लागेको थिएन। नेपालको इतिहासमा भएका सबै लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस अहिले व्यक्ति विशेषलाई सहिद घोषणा गराउन आन्दोलन गर्न थालेको छ। यो त बाघले फट्यांग्रा टिपेभन्दा पनि दयनीय खवस्था हो। 

पहिलेका नेपाली कांग्रेसका नेतालाई संसारले सम्मान गर्थ्यो। अहिलेका कांग्रेसका नेता देशभित्रै पनि उपहासका पात्र बनाइएका हुन्छन्। सर्वसाधारणका भनाइ सुन्ने हो भने धेरै जना यिनका कुरा गरेर हाँस्छन्। केही यिनीहरूप्रति आक्रोश व्यक्त गर्छन्। कांग्रेसका नेतालाई सही ठान्ने र राम्रो भन्ने व्यक्ति बिरलै भेटिन्छन्। किन यस्तो भयो? के सर्वसाधारण पनि पूर्वाग्रही हुन्? सामान्य जनतामा रुढी र अन्धविश्वास हुनसक्छ पूर्वाग्रह हुँदैन।
कांग्रेसका वर्तमान नेताहरूले पार्टीको ऐतिहासिक गरिमा धान्न सकेनन्। आफूले आर्जन गर्नु त परै रह्यो संस्थापकहरूले कमाएको साख र जनताले सुम्पेको विश्वास पनि जोगाएनन्। अरू कसैलाई दोष छैन, कांग्रेसका नेताहरूले आफ्नै दुर्वुद्धिले जनसमर्थन गुमाउँदै गएका हुन्। मूलतः कम्युनिस्टहरूको पछि लाग्दालाग्दै अहिलेका नेता 'तर्बुजा कांग्रेस' भइसकेका छन्। भारतको पश्चिम बंगालकी वर्तमान मुख्यमन्त्री ममता बनर्जीले 'विचार र व्यवहार दुवै कम्युनिस्टहरूकै जस्तो' भएका कांग्रेसीहरूलाई तर्जुबा कांग्रेसको संज्ञा दिएकी थिइन्। हुन पनि अहिलेका कांग्रेसका नेताहरू चिन्तन र व्यवहार कुनैमा पनि फरक देखिएनन्। उस्तै हुने हो भने छुट्टै रहनुको केही अर्थ छैन। बरु, पार्टीलाई माओवादीमा गाभे त सत्ताको स्वाद पाइएला। नारायणकाजीले जत्रो भाग त पक्कै पाउलान् नि!
बाहुबलीको कब्जामा
नेपाली कांग्रेसको यो पतनको मूल कारण पार्टी बाहुबलीको कब्जामा पर्नु नै हो। कांग्रेसका अधिकांश व्यवहार अराजनीतिक, अलोकतान्त्रिक र संस्कारहीन प्रकृतिका हुनेगरेका छन्। पार्टीको निर्णय र अभ्यासमा सैद्धान्तिक निष्ठाको प्रभाव देखिँदैन। त्यसो त गएको महाधिवेशनमा भीमबहादुर तामाङले पाएको भोटले नै कांग्रेसमा निष्ठाको मूल्य कति छ भन्ने जनाउ दिएकै हो। तैपनि, गाउँका कुनाकाप्चादेखि सहरका गल्लीहरूमा हजारौँ निष्ठावान कांग्रेसजन अझै बाँचेकैले सिद्धान्त निष्ठाको चर्चा गरेको हो। कांग्रेसको केन्द्रीय समितिमा कहलिएका विचारकदेखि गनिएका बाहुबलीसम्म चुनिएका छन्। अचम्म, अहिले बीपीले सशस्त्र विद्रोहको आह्वान गर्दा पनि 'देशभित्रै शान्तिपूर्ण आन्दोलन' गर्नुपर्छ भन्ने अडान राख्ने नेताहरूलाई लठैतहरूले हाँकेका छन्। समय साँच्चै बलवान् हुँदोरहेछ।
शिव पौडेलको हत्यापछि नेपाली कांग्रेस बाहुबलीको कब्जामा रहेको स्पष्ट देखिएको छ। भनिन्छ, धेरै नेता बन्दको पक्षमा थिएनन्। केहीले त सार्वजनिकरूपमै उनीहरू बन्दका विरुद्ध भएको जानकारी दिएका छन्। तैपनि, पार्टीले बन्द गर्ने निर्णय गरेरै छाड्यो। कांग्रेसका कार्यकर्ताले कम्युनिस्टकै शैलीमा तोडफोड गरे। मधेसीकै शैलीमा माग राखे। व्यवहारमा पटक्कै फरक देखिएन। मृत्युदण्ड हुनसक्ने अभियोग लागेका बेलामा पनि बीपीले मुद्दा फिर्ता लिन भनेका थिएनन्। अदालतमा चलेको मुद्दा फैसला हुन नदिएर फिर्ता गराउन आन्दोलन गर्नु लोकतान्त्रिक संस्कार त पक्कै होइन। बाहुबलीहरूले मात्र यस्तो माग गर्न सुहाउँछ। किनभने, विधिको शासनमा उनीहरूको विश्वास र हित जो हुँदैन।
बाहुबली गिरोहका लागि बन्द प्रभाव बढाउने मौका हुनेरहेछ। बन्दलाई प्रभावकारी बनाउन हिंसाको सहारा लिनुपर्छ भन्ने मान्यता नेपाली राजनीतिक नेताहरूमा छ। आतंकका कारण हुने बन्दको 'सफलता' जनसमर्थनको कसी हुनसत्तै्कन। कांग्रेसले कम्तीमा लोकतान्त्रिक आचरण अपनाउनुपर्थ्यो। अरू, अलोकतान्त्रिक शक्तिबाट त यसै पनि लोकतान्त्रिक संस्कारको अपेक्षा गर्नै मिल्दैन। कम्युनिस्ट वा जाति र क्षेत्रको राजनीति गर्नेहरू उदार लोकतन्त्रवादी हुँदैनन्। उनीहरू सिद्धान्ततः अधिनायकवादी हुन्छन्। कांग्रेस पनि उनीहरूकै पछि लाग्यो। संगत गुनको फल!
आन्दोलन बाहुबली गिरोहका निम्ति तागत देखाउने, नेतालाई धम्क्याउने र कमाउने मौका पनि हुन्छ। जति धेरै बल चाहिन्छ बाहुबलीको महत्व उति नै बढ्छ। आन्दोलनका नाममा नेता र जनता दुवैलाई धम्क्याएर पैसा उठाउने गरिएको हुन्छ। सायद, शिव पौडेल हत्या प्रकरणमा आन्दोलन चर्काउन दबाब दिनेहरूको स्वार्थ पनि त्यस्तै थियो कि? किसुनजी काठमाडौं कांग्रेसका एक जना कार्यकर्तालाई देखाएर बेलाबखत ठट्टा गर्थे - 'हामीले एउटा आन्दोलन गरिदियौँ भने उहाँको घर पनि एक तला माथि उठ्छ।' जेहोस्, नेपाली कांग्रेस अहिले निष्ठा, सिद्धान्त, विवेक र सुझबुझले सञ्चालित हुने राजनीतिक दल नभएर बाहुबलीको बन्धकमा परेको संगठनजस्तो देखिएको छ।
कांग्रेस गान्धीवादी त हैन तर ...
पक्कै पनि नेपाली कांग्रेस गान्धीवादी दल हैन। यसको स्थापना नै सशस्त्र संघर्ष गरेर राणाहरूको जहानिया हुकुमी शासनबाट मुलुकलाई मुक्त गराउन भएको हो। यसले तीन पटक त सशस्त्र संघर्षै गरेको छ। संसारमा नेपाली कांग्रेसले जति आन्दोलन गरेका राजनीतिक दलहरू बिरलै होलान्। हुनत, २०३३ पछि कांग्रेसले विधिवत् सशस्त्र संघर्षको नीति छाडिसकेको भए पनि यसलाई गान्धीवादी दल भन्न मिल्दैन। कांग्रेसले बम पनि हानेको हो। बन्दुक पनि बोकेकै हो। यसैका आधारमा हिंसात्मक अतीत भएका अरू दल र कांग्रेसबीच केही फरक छैन भन्नु भने विवेकहीन कुतर्क हो। कांग्रेसले बम हाने पनि निरंकुश सत्ताको प्रतीक राजालाई नै हानेको थियो। घर भत्काए पनि राणा शासनको प्रतिनिधि बडाहाकिमकै सरकारी कार्यालय भत्काएको थियो। विद्यालयमा पढाइरहेका शिक्षकलाई कक्षाबाहिर निकालेर विभत्सरूपमा काटेर मार्नु वा साँझ खाना खाइरहेको निहत्था युवकको मुखमा गाँस भएकै बेला घाँटी रेट्नु र सुरक्षा घेरामा रहेको राजामाथि बम हान्नुलाई उस्तै देख्ने कि 'समदर्शी' महापण्डित हुन्, नभए विवेकहीन दुराग्रही हुन्। यी दुवैलाई उत्तर दिनुको अर्थ हुँदैन। किन्तु, गान्धीवादी नभए पनि कांग्रेस उसका लिखित अभिलेखका आधारमा हिंसावादी दल होइन। यसैले बन्दका क्रममा भएका हिंसा पनि कांग्रेसलाई सुहाउँदो होइन।
शिव पौडेल प्रकरण
शिव पौडेलको हत्यालाई 'गुन्डाहरूको झगडा' मात्र देख्नु पनि बदनियतपूर्ण दुराग्रह हो। शिव भट्टीमा वा जात्रामा मारिएका हैनन्। उनलाई जेलभित्रै मर्ने गरी कुटिएको हो। कुट्नेहरूले सरकारी सुरक्षाकर्मीकै आँखा सामु शिवलाई मर्ने गरेर कुटेका हुन्। बिहान बेलै नभई क्रम मिचेर कुट्नेहरू र कुटिनेलाई राखिएको ढोका खोल्ने र मर्ने गरेर कुट्दा पनि देखेको नदेख्यै गर्ने सरकारी सुरक्षाकर्मीको नियत पक्कै पनि सन्देहपूर्ण छ। यसैले शिवको हत्याको विषय कांग्रेसले उठाउनै पर्थ्यो। किन्तु, कांग्रेसको माग र विधि दुवै उपयुक्त भएन।
शिवमाथि लागेको कर्तव्य ज्यानको अभियोगमा फैसला गर्ने अधिकार न्यायालयको हो। त्यसैले मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिनु विधिको शासनमा हस्तक्षेप हो। विधिको शासन नमान्ने व्यक्ति वा समूह लोकतान्त्रिक हुनसत्तै्कन। नेपाली कांग्रेसको केन्द्रीय समितिले यति पनि हेक्का राख्नसकेन। बाबुराम भट्टराई वा विजय गच्छदारहरू त पक्कै खुसी भए। अब उनीहरूले विभिन्न अपराधमा चलाइएका मुद्दा फिर्ता लिँदा कांग्रेसले कुन नैतिकताका आधारमा विरोध गर्ने?
अर्कातिर कांग्रेसले बन्द गरेर शिव पौडेलको हत्यामा सरकारलाई अदालत र जनता दुवैबाट अपराधी ठहर गर्नसक्ने अवसर पनि गुमायो। कर्तव्य ज्यान मुद्दा लगाइएका शिव अदालतले निर्दोष ठहर गरेमात्र हत्याको कलंकबाट मुक्त हुन्छन्। दबाबका भरमा सरकारले मुद्दा फिर्ता लिएर अभियोग पखालिँदैन। यो त शिवमाथि पनि अन्याय हुन्छ। शिवमाथि अभियोग लागेको कर्तव्य ज्यान मुद्दामा मारिने व्यक्तिमाथि पनि अन्याय हुन्छ। यसरी नैतिक र सैद्धान्तिक दुवै दृष्टिमा कांग्रेसका नेताहरू चुकेका छन्।
शिव पौडेल निरंकुश सत्ताविरुद्धको कुनै आन्दोलनमा मारिएका हैनन्। यसैले यनलाई सहिद घोषणा गराउनु वास्तविक सहिदको अपमान गर्नु हो। राम, लक्ष्मणहरू देखि भोगानन्द झा र स्थिरबम मल्लका पंक्तिमा शिवलाई उभ्याउन खोज्दा कांग्रेसकै सबैभन्दा धेरै अपमान हुन्छ। शिवमात्र हैन पछिल्ला दिनहरूमा घोषणा गरिएका अधिकांश व्यक्ति सहिदको कोटीमा पर्दैनन्। सहिदप्रति त श्रद्धा पो जाग्नुपर्छ। निरंकुश सत्ताको शान्तिपूर्ण प्रतिरोध गर्दा मारिएकाबाहेक अरू सहिद हैनन्। बन्दुक बोकेर मुठभेडमा मारिने 'बहादुर ' मानिएलान् तर ती पनि सहिद त हैनन्। यसैले नेपाली कांग्रेसले यसमा पनि वुद्धि पुर्‍याएन। शिव पौडेललाई सहिद नमान्दैमा उनले पार्टीका लागि योगदान गरेका छन् भने कम हुने होइन तर सहिद सबैको साझा र श्रद्धाको पात्र हुनुपर्छ। जसरी, माओवादी वा मधेसवादीले घोषणा गरेका अधिकांश व्यक्ति सहिद मानिन सत्तै्कनन् त्यही आधारमा शिवले पनि त्यो स्थान पाउन सत्तै्कनन्। बलका भरमा सम्मान दिलाउन खोज्नु सर्वसत्तावादी प्रवृत्ति हो।
वुद्धि पुगेको भए 
बन्द र तोडफोड गर्नुको साटो देशभर कांग्रेसका कार्यकर्ताले प्रदर्शन, जनसभा र सत्याग्रह गरेर घटनालाई जनसमक्ष पुर्‍याएका भए त्यसबाट जनताको आक्रोश हैन समर्थन बढ्ने थियो। बन्द गर्दाजति परिश्रम गरे पक्कै पुग्थ्यो। यस्तै, शिवको मुद्दा फिर्ता र सहिद घोषणाजस्ता अनुचित मागको साटो देशभरका जेलको सुरक्षा, निष्पक्ष जाँच र दोषीमाथि कारबाहीको माग गरेको भए कांग्रेसहरूको नैतिक शक्ति बढ्थ्यो। सबैले स्याबास भन्थे। नेताहरूको साख र सम्मान दुवै बढ्थ्यो।
बीपीले सशस्त्र आन्दोलनका क्रममा कार्यकर्ताले गरेका कामकाजको नैतिक जिम्मेवारी लिएका थिए। अहिलेका नेताहरूले उनको सिको गरेर बन्दका क्रममा भएको क्षति र असुविधाका लागि जनतासँग माफी माग्ने आँट गर्लान्? नैतिक बल नभएका नेता हुनाले यिनले त्यस्तो आँट गर्लान् भन्ने चाहिँ लाग्दैन।
नियतिलाई सायद यस्ता मन्जुर पनि छैन। यसैले त कांग्रेसका नेताहरू कठै! भन्नुपर्ने अवस्थामा पुगेका होलान्।

No comments:

Post a Comment