Saturday, December 17, 2011

अब के गर्ने रे !


अगिल्लो साता लाजिम्पाटमा रुट नं ५ को माइक्रोबस चडेर सुन्धारा आउँदा बाटाभर एकजना भलाद्मी टेलिफोनमा कुराकानी गर्दै थिए। सुरुमा त उनका कुरामा मैले ध्यानै दिइन। लैनचौर आइपुगेपछि हनुमान ढोकामा थनाएको प्रसंग सुनेर कान ठाडा भए। उनले लैनचौरबाट भद्रकालीसम्म आइपुग्दा मोबाइलमा गरेको कुराकानी र बिलौनाको सारांश :  
उनको मूल घर काठमाडौंबाहिर पहाडमा सानो गाउँले बजारमा हुनुपर्छ। भारतीय सेनाबाट पेन्सनमा आउँदा उनी  ४० वर्ष जतिका थिए होलान्। घरमा पत्नी र दुई बहिनी छोरी थिए। गाउँमा आएपछि उनले खाडीमा काम पाइने र राम्रै कमाइ हुने थाहा पाए। खेतीपाती गरेर गाउँमा बस्न मन थिएन। पेन्सनमात्रले राम्ररी गुजाहा नचल्ने भएपछि खाडीतिर जाने सल्लाह गरे। पत्नी छोरीहरुलाई पढाउन उनीहरुलाई लिएर काठमाडौं बस्ने भइन्। काठमाडौंमा डेरा खोजेर र छोरीहरुलाई स्कुलमा भर्ना गरेर उनी खाडीतिर उँडे। ठुली १० मा र सानी ६ मा पढ्दैथिए। खाडीमा सुरक्षा गार्डकै काम पाए। महिनैपिच्छे पत्नीका नाममा पैसा पठाउन थाले।
अर्को वर्ष ठुलीले एसएलसी पास गरी। उनलाई निकै रमाइलो लाग्यो। नर्सिङ पढ्नका लागि पैसा पुगेन भनेकाले सरसपाट गरेर दुई लाख रुपियाँ एकमुष्ट पठाइदिए। सातैपिच्छे फोनमा कुराकानी हुन्थ्यो। वर्षदिन जति काठमाडौबाट फोन जान्थ्यो र उनले उताबाट गर्थे। बिस्तारै फोन १५ दिनजतिमा हुन थाल्यो र उनले गरेमात्र सम्पर्क हुन्थ्यो। पछि त उनले फोन गर्दा पनि सम्पर्क हुन गाह्रो हुँदै गयो। एक दिन त मोबाइल नम्बर नै नमिलेको सन्देश सुनियो। हरायो वा बिग्य्रो होला भन्ने ठाने। पैसा पठाउँदै गए।
गएको अढाइ वर्षतिर अचानक एक दिन कान्छी छोरी सिकिस्त बिरामी भई अप्रेसन गर्न पैसा चाहियो भनेर फोन आयो। उनले खोजमेल गरेर लाख रुपियाँ पठाए। आफू पनि आउँछु भने। पत्नीले आत्तिन पर्दैन भनिन्। तीन वर्ष पुगेपछि आए हुन्छ भनिन्। त्यसपछि घरसँग सम्पर्क भएन। छोरीको अप्रेसनबारे पनि थाहा पाएनन्। मन आत्तिए पनि उनी छोरीहरूको पढाइ र उपचारका लागि पठाएको पैसा तिर्न पुग्नेजति कमाएरमात्र जाने अठोट गरेर बसे।
अन्ततः उनी फर्कने दिन पनि आयो। फोन सम्पर्क नभएकाले विमानस्थलमा उनलाई लिन कोही आएनन्। ट्याक्सी लिएर डेरामा पुगे। उनलाई देखेपछि पनि पत्नीको अनुहार उज्यालो भएन। छोरी पनि घरमा थिएनन्। पत्नीले उनलाई ठुली छोरीले प्रेम विवाह गरेकी र सानीलाई छात्रावासमा राखेको खबर दिइन्। उनी थाकेका थिए। सुते। भोलिपल्ट बिहान उठ्दा उनकी पत्नी थिइनन्। किनमेल गर्न गएकी होली भनेर पर्खेछन्। तर, उनी दिनभर आइनन्। साँझ, घरबेटीले त्यहाँ एउटा गुन्डाजस्तो केटो आउने गरेको सुटुक्क सुनाए। बल्ल, उनले रहस्य बुझ्न थाले। छोरी भेट्न स्कुलमा गए। सानी बिरामी भएकै हैन रहेछ। उनी रन्थनिएर पत्नीको माइत र आफन्तहरूकहाँ सबैतिर खोजखबर गरे। कतै नभेटेपछि प्रहरीलाई खोजतलास गरिपाउन निवेदन दिएछन्। ठुली छोरीसँग भेट भएपछि उसले आमाको चर्तीकला सहन नसकेपछि आफूलाई माया गर्ने केटासँग घरजम गरेको भनिछ। दसैँमा छोरीजुवाइँलाई टीकाटाला गरेछन्। स्कुलको शुल्क तिरेको रहेनछ। त्यो तिरेछन् र सानी छोरीलाई छात्रावासमै राख्ने व्यवस्था मिलाएछन्। अनि प्रहरीकोमा धाउन थालेछन्।
प्रहरीले उनलाई एक दिन हनुमान ढोका बोलायो। उनकी पत्नी फेला परिछन्। म तिमीसँग बस्दिन त्यसैले छाडेर हिँडेको भनिन् रे। अनि पैसाका बारेमा सोध्दा केही जबाफै दिइनन् रे। प्रहरीलाई पत्नीले बताएअनुसार उनको प्रेमीले धोका दियो रे। छोरीको पढाइ र अप्रेसनका लागि खर्च माग्न पनि उसैले सिकाएको हो रे। त्यो पैसा लिएर दुई जना कतै गई सानोतिनो व्यापार गरेर गुजारा चलाउने उनीहरूको सल्लाह रहेछ। पैसा आउनेबित्तिकै उनले उसैलाई राख्न दिएकी रहिछन्। उनैका नाममा बैंकमा जम्मा गरेको रहेछ। 'तिमी एटीएम कार्ड चलाउन जान्दिनौ' भनेर उसैले राखेको थियो रे। तीन लाख रुपियाँ बैंकका जम्मा भएको केही दिनपछि प्रेमीसँग उनको भेटघाटै भएको छैन रे। पछि बैंकमा गएर बुझ्दा त खातामा दुई हजार रुपियाँमात्र रहेछ रे। पति आएपछि उनी उसैलाई भेट्न भनेर घरबाट निस्केकी रे। उनको पेटमा उसको गर्भ छ रे।
फोन सुनिरहेको व्यक्तिलाई सम्बोधन गरेर ती बिचरा लाहुरे भाइले सोधे :  ' सर ! अब म के गरौँ? ' उनी भद्रकालीमा ओर्ले। उनलाई ती सरले के सल्लाह दिए मैले सुन्न पाइन।

No comments:

Post a Comment