Tuesday, August 30, 2011

कांग्रेसलाई नियतिको सन्देश

नियतिले नेपाली कांग्रेससँग फेरि खेलाँची गर्‍यो। सरकार बदलियो तर प्रधानमन्त्रीको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समर्थन गर्दा पनि प्रमुख विपक्षी कांग्रेसले सत्ता पाएन। विपक्षमै रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दलहरूको समर्थनमा सरकारकै अर्को घटक एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सत्तामा पुग्यो। सरकार बनाउने कांग्रेसको रहर पुगेन।

फेरि पनि नेपाली कांग्रेस विपक्षमै बस्नुपर्ने भएजस्तो छ। (हुनत, माओवादी नेतृत्व स्वीकार गरेर सरकारमा जाने बानी पार्दै गरे सत्तामा बस्ने रहर नपुगेका कांग्रेसहरूलाई पछि सजिलो हुनेथियो। छिमेकीको चित्त बुझाउन यसरी नै लचिलो हुँदै जान सके नेपाली ममता बनर्जी नजन्मदासम्म यहाँ माओवादी राज रहिरहने छाँट जो देखिँदैगएको छ। भन्छन्, भारतका शासकहरूलाई नेपालको 'डेमोक्रेसी' र भातेकोसी रोजाइयो भने उनीहरूले भातेकोसी छान्छन्। चीनलाई त तिब्बती आन्दोलनको दमनबाहेक अरूमा 'छु मतलब'! लोकतन्त्रका लागि भएका आन्दोलनहरूमध्ये २०३६, ४६ र ६२ मा आन्दोलनकारीलाई चिनिया शासकले 'मुठ्ठीभर उपद्रोकारी' भनेकै हुन्।)
कांग्रेसलाई सत्तामा जाने जनादेशै थिएने। संविधान सभा निर्वाचनमा दोस्रो स्थानमा खुम्च्याएर जनताले कांग्रेसलाई सत्तामा नजानु भनेका थिए। त्यसलाई शिरोपर गरेर अर्को जनादेश पर्खनुको साटो कांग्रेसका नेताहरूले सत्तामा जाने हतार गरे। फलस्वरूप, पटकपटक उनीहरू पछारिए। संविधान सभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि भएका तीन वटा चुनावमा कांग्रेसले उमेदवार उठायो र तीनै पटक हार्‍यो। संसदीय प्रणालीमा विपक्षको औपचारिकता पुरा गर्न पनि उमेदवार उठाउने चलन छ तर कांग्रेस पछिल्ला दुई पटक जित्ने नै आशा गरेर प्रत्याशी भएको थियो। यो सामान्य औपचारिकतामात्र थिएन। सायद, यसैले जनादेशको अवज्ञा गर्ने प्रयास नियतिले विफल पारिदिएको हो। सत्तामा जान हतारिएका कांग्रेसजनका लागि यो दुःखको घडी होला कांग्रेसका धेरै शुभेच्छुक र समर्थक भने यस हारबाट खुसी नै भएको हुनुपर्छ। किनभने, नियतिले कांग्रेसको नेतृत्वलाई विफल हुनबाट जोगाई जो दिएको छ।
कांग्रेस सायद नियतिकै भरमा निर्वाचनमा उत्रेको थियो। प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सुरु भएको १० दिनसम्म त रामचन्द्र पौडेल उमेदवारै थिएनन्। मधेसी मोर्चाका दलको समर्थन जुट्न नसकेपछि शेरबहादुर देउवाले ठुलो त्याग गरे। बहुमत नपाउने थाहा पाएपछि बहुमतीय निर्वाचनमा उमेदवारी दिने मूर्खता किन गर्ने? पौडेलको उमेदवारी लगभग औपचारिकतामा सीमित रह्यो। उनका लागि मधेसी दलहरूकोे समर्थन जुटाउने प्रयास पनि औपचारिकतामै सीमित भयो। विशेष प्रयास त भएन। एमालेले तटस्थ बस्न नपाइने, माओवादीलाई भोट दिँदा पार्टीमा फुट आउनसक्ने र भोट दिए पनि कांग्रेसका उमेदवार प्रधानमन्त्री नहुने ठहर भएपछि 'हराएको गाई सूर्यलाई दान' गरेको न हो। यस्तो अवस्थामा भाग्यले साथ दिएको भए पौडेललाई मधेसीले पनि मत दिन्थे। नियति नै बैरी भएपछि कस्को केलाग्छ?
जनता नै यस युगमा जनार्दन हुन्। तिनको आदेश पालन गर्ने हो वरदान दिन पनि शिवजीभन्दा उदार हुन्छन्। त्यसमा पनि नेपाली जनता बढी नै क्षमाशील छन्। दुःख पुकारा सुन्ने बित्तिकै ज्यानै माया मारेर गुहार दिन पुग्छन्। नेपाली कांग्रेसले पनि जनादेशको सम्मान गरेर जनार्दनप्रतिको भक्ति प्रकट गर्नसके सत्ताको वर नपाउने प्रश्नै छैन। अहिलेको हारले कांग्रेसमाथि लगाइने गरेको केही फत्तुर निरर्थक सिद्ध भएको छ भने नयाँ सन्दर्भमा कांग्रेसले आत्मनिरीक्षणको अवसर पाएको छ। कांग्रेस र एमाले दुवैले शान्ति प्रक्रियाको असल पहरेदार भएर निगरानी गर्नुपर्छ। 'अग्रगामी परिवर्तनकारी' भनिएका शक्तिहरूलाई मुलुकको नेपाली समाजको रूपान्तरणका लागि काम गर्ने पूर्ण अवसर दिनुपर्छ। अवसर दिनेमात्र हैन उनीहरू सही बाटामा लागे भने सघाउनु पनि पर्छ। सत्तामा नगए कम्तीमा दुवै दलको आन्तरिक विवाद त चर्कने छैन। शान्ति र संविधानको कार्यभार पुरा भयो र परिवर्तन संस्थागत भयो भने लोकतन्त्र बलियो हुन्छ। त्यस अवस्थामा सत्ता कांग्रेस र एमालेकहाँ ढिलोचाँडो आइहाल्छ।
कांग्रेसलाई भारत परस्त भनिन्थ्यो। मधेसी मोर्चाका दलहरूलाई धेरैले भारतकै इसारा र हितमा चलेको भन्छन्। कति सत्य हो त्यो उनीहरू नै जानुन् तर यस्तो आरोप लगाउनेमा मधेस आन्दोलनका हस्तीमध्येका उपेन्द्र यादव पनि छन्। माओवादी नेताहरू त सबैजसोले कांग्रेसलाई भारत परस्त भन्दै आएकै हुन्। कांग्रेसकै नेता कार्यकर्तामध्ये केहीलाई समेत भारतीय शासकहरू आफ्ना हितैषी हुन्छन् भन्ने लाग्दो हो। तर, धेरै पटक भारतीय शासकहरूले कांग्रेसको अहित गरेका छन्। विगतमा भारतीय शासकहरूले नेपाली कांग्रेसका नेताको सेखी झार्न पार्टी फुटाउन उक्साएका छन्। सरकार गिराउन सघाएका छन्। राजा महेन्द्रले पनि भारतीय शासककै सहयोगमा फौजी 'कु' गरेको इतिहासमा अंकित भइसकेको छ। तैपनि, कांग्रेसभित्र र बाहिर पनि भारतीय संस्थापना नेपाली कांग्रेसका पक्षमा हुन्छ भन्ने भ्रम छ। मधेसीको समर्थनमा भारतका मित्र मानिएका बाबुराम भट्टराईले सरकार बनाएपछि कम्तीमा पनि त्यो भ्रम अब टुट्नुपर्ने हो।
हो! भारतमा नेपाली कांग्रेस र विशेषगरी कोइरालाहरूको पारिवारिक मित्र छन्। तिनले नेपालका विभिन्न क्रान्ति र आन्दोलनमा ज्यानसम्म दिएका छन्। तर, ती शासक हैनन् जनता हुन्। र भारतमै पनि उनीहरूको राज छैन। जनस्तरको सम्बन्धलाई भारतको शासनसँगको मित्रता ठान्नुभन्दा ठुलो मुर्ख्याइँ केही हुँदैन। यस पटक मधेसी मोर्चाको समर्थनमा कांग्रेसले सरकार बनाएको भए भारत परस्त भएको कलंक मेटिने भएन। कम्युनिस्टहरूले जस्तै नेपाली कांग्रेस पनि भारतको विरोध गरेर 'राष्ट्रवादी' बन्नुपर्दैन तर भारतीय शासकहरूसँग मित्रताको भ्रम पनि पालिराख्नु हुँदैन। कांग्रेसका नेता कार्यकर्ता र समर्थक शुभेच्छुक सबैले यस सत्यलाई आत्मसात् गर्नु उचित हुनेछ। कम्तीका संकटका बेला भारतलाई सम्झने बानी त छुट्नेछ।
यस्तै धेरै उपबुजु्रगहरू मधेस आन्दोलनमा गएका पुराना कांग्रेसीलाई गिरिजाप्रसाद कोइरालाले नै परेका बेला कांग्रेसका पक्षमा प्रयोग गर्न पठाएका हुन् भन्ने ठान्छन्। हुनपनि, त्यसरी जाने ठुला नेताहरूमा महन्थ ठाकुर, विजय गच्छेदार, जेपी गुप्ता सबै अधिकांश समय गिरिजाबाबुका अत्यन्त निकट र विश्वास प्राप्त थिए। भ्रमको खेती गर्न सिपालु कथित वामपन्थी राष्ट्रवादीले मधेसी र कांग्रेस मिलेर भारतको पक्षमा काम गर्छन् भन्ने हल्ला अहिले पनि गरिरहेका छन्। हुनत, फट्याइँ नै 'धर्म' भएकाले यत्तिमै भ्रमको खेती गर्न त के छाड्लान् तैपनि अब कांग्रेसलाई मधेसी मोर्चा र यसका नेताहरूसँग जोड्नु राजनीतिक बेइमानी हुनेछ। नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले भनेजस्तै मधेसवादी माओवादीकै स्वाभाविक र समान स्वार्थ भएको मित्र हुन्। सत्ता दुवैको साझा स्वार्थ हो। उनीहरूबीच भएको सम्झौता गहिरिएर हेरे यो स्पष्ट हुन्छ। कार्यान्वयनका बेलासम्म पर्खे त झन् स्पष्ट हुनेछ। यसैले अब कांग्रेसले पनि मधेसी मोर्चाका पुराना मित्रको भर पर्न छाडेर यथार्थको सामना गर्न तयार हुनु हितकारी हुनेछ।
यस हारबाट कांग्रेसले आत्मनिरीक्षणको अवसर पनि पाएको छ। वास्तवमा अहिलेका प्रमुख तीनै जना नेता जनआन्दोलनका सही अंशियार हैनन्। उनीहरूले आन्दोलनको मूलमर्म राजनीतिकरूपमा ग्रहण गरेकै थिएनन्। यसैले माओवादीलाई शान्ति प्रक्रियामा सहयोग गर्न उनीहरू भित्रैदेखि तत्पर नहुनु अस्वाभाविक होइन। कांग्रेस शान्ति सम्झौताको प्रमुख साझेदार भइरहने हो भने तीनै जना नेता नेतृत्वबाट हट्नुपर्छ। संसारमा लोकतान्त्रिक पार्टीहरूमा निर्वाचनमा विफल नेताहरू नेतृत्वमा रहने गर्दैनन्। सुशील कोइरालाले त अर्को चुनावमा भाग नलिने घोषणा गरिसकेकै छन्। शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि अब नेतृत्वमा बसिरहनु जरुरी छैन। उनीहरूको सक्रियता पार्टी र देशका लागिमात्र हैन उनीहरू स्वयंका लागि पनि हितकारी हुने देखिएन। देउवालाई बाँकी जीवन स्कच खाएरै बिताउन पुग्छ। हजार जनाको घुर्की र धम्की सहिरहनै पर्दैन। पौडेलले जाँगर चले लेखपढ गरे हुन्छ। नभए गीता पाठ गरेरै बाँकी जीवन बिताउन सक्छन्। त्यति लामो संघर्षपूर्ण राजनीतिक जीवनको अन्त्यमा आकासेबेलीहरूको खप्की र सराप सहेर आत्म सम्मान गुमाउनु उचित हुँदैन।
त्यसपछि जनताको धुकधुकी र समयको पदचाप सुन्नसक्नेहरू अगाडि आउनसक्छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिलेजस्तो बदनाम चरित्र र प्रवृत्तिको उपस्थिति सम्भवतः पहिले कहिल्यै थिएन। बेलायतले प्रवेशाज्ञासम्म पनि नदिने पात्र नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएका रहेछन्। यसभन्दा ग्लानिको विषय अरू के हुनसक्छ? अरू दलमा पनि त्यस्ता व्यक्ति छन् नि भन्ने हो भने त नेपाली कांग्रेस भंग गरे हुन्छ। कम्तीमा ती महान् सहिद र नेताहरूको बदनाम त हुनेछैन। नियतिले दिएको परिवर्तनको सन्देश कांग्रेसका नेताले आत्मसात् गर्लान् त?

No comments:

Post a Comment