Sunday, May 17, 2009

रमाइलो सास्ती


न्युजरुममा तन्देरीहरूका कुरा सुन्दै काम गर्न रमाइलो त हुन्छ उनीहरूसँगै जोतिन खोज्दा उमेर ढल्केको ज्यानलाई सास्ती पनि उत्तिकै हुने रहेछ । धान्न धौ धौ नै पर्ने ।
अन्नपूर्ण पोष्ट छाड्दा (२०६३ जेठ )सोचेको थिएँ अखबारमा कामचाहिँ अब गर्दिन । बाल अधिकारका क्षेत्रमा नै पूरै समय दिएँ करिब ३ वर्ष। स्वयंसेवीका रूपमा संलग्न संस्थामा काम गरेबापत पैसा लिनुहुन्न भन्ने आफैँले उभ्याएको पर्खाल नाघ्ने कुरा भएन । ठूला मध्ये गनिने युसेप र रगमार्क नेपालको संस्थाको अध्यक्ष भएर ठूलाठूला कुरा गरे पनि हातमुख जोर्न टाकनटुकन बनीबुतो गर्नैपर्ने । धन्न, साथीहरूको सहयोगले जागिर खाँदाजस्तै कमाइ भइरयो । केही नयाँ काम थालियो । कतै डोब छाडियो । कतै डुंगा भइयो । विपश्यनादेखि अयोध्यासम्म पुगेँ । जुम्लादेखि जर्मनीसम्म गएँ । नातिको साथी भएर बसेँ । 
एक प्रकारले फुक्का थियो दिनचर्या । अझ फुक्का हुने रहरले युसेप छाडेँ ।  रगमार्कको पदावधि सकियो । यत्तिकैमा कान्तिपुरका साथीहरूले नयाँ अखबार सुरु गर्ने समाचार सुने । कुन्नि किन तरुणहरूको हुलमा मिसिएर काम गर्ने रहर लाग्यो । नारायणजीलाई भने । दैनिकीमा पुगेपछि म पनि मिसिएँ । साथीहरू थपिए । अनलाइन सुरु भयो । झन् रमाइलो र रोमाञ्चक पनि । आधारातमा पनि समाचार/विचार अपलोड गर्ने जाँगर चल्ने । आफूले नसके साथीहरूसँग इमेल गुहार माग्ने । दैनिकीमा गाली पनि सबैभन्दा धेरै खाएँ । लेखको अर्थ नै नबुझी खनिए पाठकहरू । नयाँ विधाको अनुभव नमजा चाहिँ लागेन । अनि नेपाली अनलाइन पत्रकारिता ब्लग संस्कृतिबाट थालिएकाले त्यसैको सेरोफेरोमा रुमल्लिएको छ । पाठक पनि पत्रकार पनि । अखबार ब्लग होइन बुभ\mन - बुझाउन अझै सकिएको छैन । 
यस्तैमा पत्रकारको टोली नै नागरिकमा आयो । आधुनिक र उदार विचारको तर गम्भीर प्रस्तुति नागरिकको विशेषता बनाउने सल्लाह भएको छ । पाठकको भने चटपटे खोज्ने बानी छ । सम्पादकको अखबारलाई जीवनसँग जोड्ने चाहना छ । पाठकहरूको आआफ्नै अर्थ र अपेक्षा छ । यथार्थमा  अखबारलाई सम्पूर्ण पत्रिका बनाउन खोजिएको छ । र यो सबैलाई पत्रकार बनाउने प्रयास पनि हो । अभिव्यक्तिको अवसर उत्तरदायित्वको भारी पनि हो ।
वर्णाश्रम पछ्याउने हो भने त उमेरले घरबार छाड्ने बेला भएको हो । जागिर खाने धेरै दौँतरीले उहिल्यै पेन्सन पाइसके । आफूले यौवनको ऊर्जा खर्चेको राजनीतिमा नै पनि रमाएर बस्नेले कमाएकै देख्छु । खेतीपाती नै गरेर बसेको भए पुर्खौली जमिन बाँकी हुन्थ्यो । अब उमेर पुग्यो बसीबसी खान्छु भने पनि बेच्दै खाँदै गर्न केही वर्षपुग्थ्यो । केही वर्षो गर्जो र्टार्न सकेको भए भइहाल्थ्यो । सन्तान हुर्किइसके । पीर नमाने पनि पाप नलाग्ने र गाल नपर्ने भइसक्यो ।  नाम र दाम कमाउने रहर पनि छैन । दामको लोभ कहिल्यै लागेन । नामको भोक पनि नमेटिँदै टरेर गयो । यसैले यो सास्ती किन रमाइलो लागेको हो बुझेको छैन - र कुन दिन दिक्क लाग्ने हो त्यो पनि ठेगान छैन । 

No comments:

Post a Comment