Sunday, May 17, 2009

भर नभएको राजनीति




भर नभएको राजनीति

सरकार गठनको टुंगो अझै लागेको छैन । नेपाली कांग्रेसको समर्थनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्तुत गरिएको छ । उनका पक्षमा बहुमत जुटाउने प्रयास भइरहेको छ । मौसमभन्दा पनि भर पर्न नसकिने नेपालको राजनीतिबारे यसै भन्न त सकिन्न तर उनका पक्षमा बहुमत जुट्ने सम्भावना अझै बलियो नै छ ।
प्रधानमन्त्री हुने सम्भावना नेपालको भए पनि चर्काको केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै देखिन पुगेका छन् । दाहालले कोइरालालाई लगाएको आरोप र गरेको गाली तथा कोइरालाका जवाफ सम्झने हो भने यी दुईबीच भेट र वार्ता त के जुनीभर बोलचाल हुँदैन होलाजस्तो लाग्थ्यो । तर राजनीति गर्नेहरूले जनतालाई सुनाउन एउटा कुरा र आफ्नो फाइदाका लागि अर्कै कुरा गर्दा रहेछन् । नेताहरू यस्तो दुई जीब्रे भएकाले नेपाली जनतालाई सधैँ धोका हुने गरेको छ । 
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले नेपाललाई प्रधानमन्त्री हुन दिँदैन भन्ने र कांग्रेसले अर्को कुनै खेलका लागि नेपाललाई र्समर्थन गरेको हुनुपर्छभनेर ठान्ने धेरैले भने नेपाल यस पटक पनि प्रधानमन्त्री हुनेमा सन्देह गरेका छन् । एमालेभित्रै पनि नेपाललाई प्रधानमन्त्री बनाएर फेरि केन्द्रमा आउन दिने पक्षमा अध्यक्ष झलनाथ खनाल नै छैनन् भन्ने हल्ला छ । खनालको 'राष्ट्रिय सहमतिको सरकार’ मोह प्रकारान्तरले नेपाललाई तह लाउने उपाय पनि हुनसक्छ । कतै खनाल महाभारत युद्धका शल्यको भूमिकामा त छैनन् - 
मदेसी जनअधिकार फोरमको र्समर्थनमा माओवादीकै नेतृत्वमा अर्को सरकार गठन हुने अनुमान पनि गरिएको छ । अर्कातिर माओवादीको र्समर्थनमा फोरम वा अरू सकैको नेतृत्वमा सरकार गठन हुने अनुमान पनि छ । 
माओवादी र मदेसवादी मिले भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन भनेर भारत पनि पानीमाथि ओभानो हुन पाउनेछ । कांग्रेस र एमालेको 'सत्ताको साँचो’ पनि ढोका नखोल्दै भाँचिनेछ । भन्न त प्रधानमन्त्री दाहाललाई हटाउन मात्रै यो प्रपञ्च भएको हो, बाबुराम भट्टर्राईको नेतृत्वमा सबैलाई मिसाएर सरकार गठन हुन्छ भन्नेहरू पनि छन् । जेहोस्, मदेसवादी दलको सरकार बनाएर केही लिने अनि त्यसैलाई निहुँ बनाएर सरकार गिराउने खेल भारत र माओवादी मिलेर खेल्न सक्ने सन्देहमा पनि दम चाहिँ छ ।
माओवादीले भारतको विरोधमा चर्का कुरा गर्न थालेका छन् । राजनीतिमा अन्तरंग सम्बन्ध लुकाउन बढी गाली गर्ने चलन छ । चर्का भारत वा अमेरिका विरोधी देखिनेहरू नै तिनबाट बढी पोसिएका छन् । पञ्चहरूको भारत विरोध र भक्ति तथा भारतको पञ्चायतलाई सहयोग यसको साक्षी जो छ । माओवादी स्वयं पनि यसको उदाहरण हो ।
कोइराला र दाहाललाई नजिक बनाउनेहरू फेरि टेलिभिजनको पर्दा र अखबारका पानामा देखिन थालेका छन् । कांग्रेसमा कृष्णप्रसाद सिटौला र अमरेश सिंहहरूको सक्रियता र उपयोगिताको रहस्य खोतल्न खोज्नेहरू शंका गर्छन् - कतै रामवरण यादवलाई हटाएर राष्ट्रपति हुने कोइरालाको धोको पुर्‍याउने खेल त भइरहेको छैन - यादवलाई हटाउन त के छ र- माओवादीले आन्दोलन गरिरहेकै छ । निकास खोल्न राजीनामा गर भनेर कोइरालाले भने उनले आनाकानी  पनि नगर्लान् । मानेनन् भने संसद्मा प्रस्ताव लगे भयो । निकास खोल्न प्रयास गरेको जस पनि पाइने । 
माथिका कुनै पनि आशंका र तर्क सही नभए हुन्थ्यो । तर नेताहरूको अपारदर्शी व्यवहार र बोलीको कुनै ठेगान नभएकाले शंका गर्नु/हुनु अस्वाभाविक होइन । विशेषगरी कोइरालाका सर्न्दर्भमा पारदर्शिता अत्यन्त कम छ । उनको उमेर र स्वास्थ्यले धेरै सक्रिय हुन दिँदैन भने कोइराला राजनीतिमा सक्रिय नभएको भए बेस हुन्थ्यो । हुने नै हो भने उनले आफ्ना सबै कुरा पारदर्शी बनाउनुपर्छ। प्रत्येक भेटपछि लिखित जानकारी गराए हुन्छ । अहिले त उनलाई भेटेर आउनेले जे भने त्यही पत्याउनुपर्ने अवस्था छ । त्यसरी भेट्नेले आफ्ना कुरा त सत्य नै भन्लान् तर कोइरालाका धारणा त उनीहरूले आफ्नो अनुकूलजति मात्रै भन्छन् । रह्यो, कोइरालाका पार्टी  कार्यकर्ताले दिने जानकारी,  त्योपनि व्यक्तिपिच्छे बेग्लैबेग्लै हुन्छ । माओवादीका बारेमा सिटौला वा सिंहले बताउने कोइरालाका धारणा रामचन्द्र पौडेल वा रामशरण महतले बताउने भन्दा बेग्लै हुन्छन् । कसका कुरा पत्याउने- कोइरालाका आफ्ना कुरा ती सबैभन्दा बेग्लै पो छन् कि?
जेहोस्, नयाँ सरकार गठन नगरी त सुख छैन । अर्को सरकार पनि विफल भयो भने मुलुकमा अनिष्ट हुनसक्छ । माओवादी सरकार विफल हुनुको कारण उसैको काम गराइ हो । सामान्यतः कुनै व्यक्ति वा संस्था बाहिरी कारणले विफल हुँदैन । गर्नुपर्ने काम नगरी नगर्नु पर्ने काममा केन्द्रित भएकाले यो सरकार विफल भएको हो । आउने सरकार शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्द्रित होस् । सेना समायोजन, सत्य निरोपण, विस्थापितको सम्पत्ति ससम्मान फिर्ता र बेपत्ता नागरिकको खोजी  गर्ने कार्यलाई प्राथमिकता दिएर शान्ति प्रक्रियाप्रति इमानदार हुनुपर्छ। संविधान निर्माणले प्राथमिकता पाउनुपर्छ। संविधानको मस्यौदादेखिनै सकेसम्म धेरै नेपालीका भनाइ सुन्ने र मान्ने अभ्यास भए नागरिकमा अपनत्व बढ्नेछ । अराजकता र दण्डहीनताको अन्त्य सरकारको पहिलो कर्तव्य हो । त्यो पूरा गर्नुपर्छ । 
सरकारले धर्म छाडेन भने धर्मले नै सरकारको रक्षा गर्ने छ । अनि विदेशी प्रभुलाई दूत पठाउन गुहार्न र बिन्ती बिसाउने मौका नदिएको भन्दै धारे हात लाउन पर्दैन ।
 साभार www.nagariknews.com

No comments:

Post a Comment