Monday, May 4, 2009

सबैले नकाम गरे

विधि कि सहमति
बालकृष्ण समको एउटा कथामा भनिएजस्तो हुन थाल्यो देशको अवस्था। परदेश गएको एउटा पात्र घरबाट आएको चिठीको अर्थ बुझ्दैन। मूलभन्दा टीका गाह्रो र टीकाभन्दा तेसको व्याख्या झन् गाह्रो भयो भन्ने गुनासो गर्छ । घरमा सबै अनर्थ मात्रै भएको हुन्छ। 
जेभयो सबै गलत भयो। माओवादीले 'नागरिक सर्वोच्चता'को नाम लिएर आफ्नो सर्वसत्तावाद लाद्ने निर्णय गरे।  अरू दलले लोकतन्त्रको नाम लिएर संसदीय लोकतन्त्रको मर्ममा प्रहार गर्न राष्ट्रपतिलाई उक्साए। राष्ट्रपतिले संविधानको रक्षा गर्न भन्दै त्यसैलाई संकटमा पारे। सबैले नकाम गरे।
सरकार, दलहरू वा राष्ट्रपतिमध्ये एकले मात्रै पनि बाटो र धर्म नछाडेको भए मुलुक आजको अवस्थामा आउने थिएन। अरूबाट त हैन राष्ट्रपतिबाट लोकतन्त्रको मर्यादा राखिने अपेक्षा थियो। राष्ट्रपति सरकारका सबै अंगका संरक्षक हुन् तर उनका सल्लाहकार राज्यका अंगहरू नै हुनुपर्छ। राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री नै हुन्।
राष्ट्रपतिको पत्रको भाषा रकमी छ। कानुनविद्को मस्यौदा होला। पत्रमा दुई अनुच्छेद छन् र वाक्य पनि २ वटा नै छन्। पहिलो वाक्यमा के भन्न खोजिएको हो स्पष्ट नै बुझिदैन। अर्को अनुच्छेद वाक्य पनि स्पष्ट छैन। 'अलग'  लेख्नुपर्नेमा 'अलगत'  लेखिएको छ । पत्रको हैसियत के हो? राजनीतिक हो कि कानुनी? नेपालको अन्तरिम संविधान, २०६३ को कुन धाराको उल्लंघन भयो र कुन धाराले राष्ट्रपतिलाई यो पत्र लेख्ने अधिकार दियो भन्ने पत्रबाट देखिँदैन। तजबिजमा केही गर्ने अधिकार त राष्ट्रपतिलाई अवश्य पनि छैन। ज्ञानेन्द्रले धारा १२७ को व्याख्या गरेकैजस्तो भयो। राष्ट्रपतिको यस गल्तीले माओवादीका सबै अपराध छोपिने भए। 
शासन सहमतिमा हैन विधिअनुसार हुनुपर्छ। प्रधान सेनापति हटाउन दलहरूबीच सहमति भए मिल्ने र सहमति नभएकाले नमिल्ने अर्थ उनको पत्रमा छ। सबैभन्दा मूल गल्ती नै यस प्रकरणमा यही हो। कानुनसम्मत भए सहमति नभए पनि हटाउन हुन्छ। र कानुनविपरीत भए राज्यका सबैले भने पनि हटाउन हुँदैन। राष्ट्रपतिको धर्म सबै सहमति भए असंवैधानिक काम पनि गर्न दिने त हैन होला। 
आशा गरौँ, केही समयपछि स्थिति शान्त होला। कुनै न कुनै निकास निस्कला। संविधान र लोकतन्त्रसम्मत। त्यति बेला पनि यही सहमति भट्ट्याउने मूर्खता नहोस्। विधिको शासनमात्र लोकतान्त्रिक हुन्छ। सहमतिको, प्रधानमन्त्रीको वा राष्ट्रपतिको हैन विधिको शासन कायम हुनुपर्छ। माओवादीको संयमको परीक्षा हो यो। उनीहरूको नियत सर्वसत्तावाद लाद्ने हैन भने धेरै उतर्सिनु आवश्यक छैन। शासनको सबै पक्षमा विफल माओवादीका लागि खारिने मौका हो पो दियो समयले। अब कमल थापाको संगत र भरमा सरकार चलाउने मूर्खता नगर्नु। किनबेचको वामदेव सूत्रको पछि नलागे माओवादीको सहयोगबिना संविधान बन्न त परैजाओस् सरकार पनि चल्दैन। 
अर्को पटक पनि लोकतन्त्रको लागि आन्दोलन गर्नैपर्ने भयो। सम्भवतः गिरिजाबाबुकै जीवनकालमा। यो उनको सबैभन्दा ठूलो विफलता हो।

1 comment: