Tuesday, March 15, 2016

नेपाली कांग्रेसको नयाँ महाभारत


नेपाली कांग्रेसको ‘महाभारत’ नयाँ कथा लेखेर सकिएको छ । (हुनत,महाधिवेशन पार्टीको नियमित र औपचारिक कार्यक्रममात्र हो तर पार्टीभित्र र बाहिर यसलाई नेताहरूले जीवनमरणको विषयजस्तै बनाए । महाधिवेशनमा चुनावबाहेक अरू के भयो भन्नेमा कसैले ध्यान दिएन । पार्टीकै नेता र कार्यकर्ताले त वास्ता गरेनन् भने जनताले चासो नराख्नु के आश्चर्य भयो र ? ) कार्यकर्ताले लेखेका कांग्रेसको महाभारतमा पात्र, प्रवृत्ति र नियति भने बदलिएको देखियो । (सदस्यहरूको निर्वाचन परिणामले पनि संकेत देखाइसकेको छ ।) यसपटक दुर्योधनले महाभारत जितेका छन् । शल्य, शिखण्डी र शकुनिको भूमिकामा एउटै पात्रले अभिनय गरेको देखियो । यसपटक शिखण्डीले अभिमन्युलाई चक्रव्यूहमा पस्न उक्साए । भीष्म यस पटक पनि हारे । कांग्रेसको महाभारतमा भूमिका र नियतिमा मात्र हैन धेरै पात्रको नाम र काममा समेत फरक पर्न गयो । यथार्थमा कांग्रेसको महाभारतमा मूल कथाका कृष्ण र अर्जुन दुवैको भूमिकामा भने कोही पनि देखिएनन् । अचम्मको भयो यो महाभारत ! जे होस्, कांग्रेसको महाभारत सकियो । देश भने संक्रमणमै छ । संकट र संक्रमणबाट पार लगाउनुपर्ने योद्धा भने कृष्णको मृत्युपछिका अर्जुनजस्तै सौर्य र वीर्य विहीन देखिएका छन् ।

नियति कि नियत ?

केही दिन पहिलेदेखि नै नियोजितरूपमा शेरबहादुर देउवा र शशांक कोइरालालाई प्रक्षेपण गर्न थालिएको थियो । निर्वाचन परिणाम पनि त्यस्तै आयो । चुनावमा उनीहरू बेग्लाबेग्लै समूहबाट उमेदवारले प्रतिस्पर्धा गरे । तिनलाई मतदाताले भने समूहका आधारमा मत दिएका होइन रहेछ । कार्यकर्ताले न ‘पार्टी जोगाउन लागि जसरी पनि नेतृत्व उम्कन दिनुहुन्न’ भन्ने पुरानो संस्थापनको तर्क पत्याए न ‘गुटबन्दी र भागबन्डा मेटाउने’ नाममा दुवैतिरकालाई मिलाएर नयाँ गुट बनाउने देउवाको अभ्यासकै समर्थन गरे । कार्यकर्ता नेताभन्दा यस अर्थमा बुद्धिमान देखिए । (शशांकलाई आफ्नो समूहबाट महामन्त्रीमा उठाउन देउवाले निकै प्रयत्न गरेका थिए । कार्यकर्ताले अहिले दुवैलाई मिलेर जाने ‘म्यान्डेट’ दिए । त्यसो त, देउवाले अर्जुननरसिंह केसीका लागि र कोइरालाले रामचन्द्र पौडेलका लागि मत मागेनन् भन्ने हल्ला चुनाव नसकिँदै चलिसकेको थियो ।)

अस्वीकृत पात्र
कृष्णप्रसाद सिटौलाले चुनाव जित्दैनन् भन्ने त धेरैले बुझेका थिए तर यति कम मत पाउलान् भन्ने चाहिँ उनले पनि सोचेका थिएनन् होला । दोस्रो जनआन्दोलनलगत्तै र अझ त्यसभन्दा पनि पहिलेदेखि कांग्रेसका हर्ताकर्तामध्येका सिटौलाको भूमिकाको पार्टीभित्र यो पहिलो मूल्याङ्कन थियो । यसरी हेर्दा उनलाई यति धोरै मत प्राप्त हुनु संविधान सभामा कांग्रेसले खेलेको भूमिकाको अस्वीकृति पनि हो । आउने दिनमा उनको भूमिका कस्तो हुन्छ सायद त्यसैका आधारमा सिटौलाको मूल्याङ्कन हुनेछ । अहिले कार्यकर्ताको निर्णयको मूल्याङ्कन गर्ने बेला सायद भएको छैन ।

देउवाको भरोसा कि परीक्षा ?
नेपालमा अहिलेसम्म भएका ५ वटा आमनिर्वाचनमा नेपाली कांग्रेसले ३ पटक बहुमत ल्याएको छ भने एकपटक पहिलो र अर्कोपटक दोस्रो भएको छ । यसैगरी नेकपा (एमाले) एक पटक पहिलो र ४ पटक दोस्रो दल भएको छ । पहिलो संसदीय निर्वाचन, २०१५ मा भने कम्युनिस्टहरूले निकै कम स्थान जितेका थिए । यसैगरी एनेकपा (माओवादी) संविधान सभाको पहिलो निर्वाचनमा पहिलो र दोस्रो निर्वाचनमा तेस्रो भयो । अचम्मको संयोग! साधन, स्रोत र संगठन क्षमताभन्दा नेतृत्वको ‘करिस्मा’ सबै निर्वाचनमा निर्णायक बन्न पुगेको देखिन्छ । पहिलो निर्वाचनमा बीपी कोइरालाको चमत्कारपूर्ण व्यक्तित्वको आडमा कांग्रेसले दुई तिहाइ बहुमत पाएको थियो । पहिलो जनआन्दोलनलगत्तै २०४८ सालमा भएको र २०५६ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईका नाममा कांग्रेस चुनावको मैदानमा गयो । यी दुवै निर्वाचनमा कांग्रेसले बहुमत पाएको थियो । कुशल संगठक मानिएका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएका २०५१ र २०६४ को निर्वाचनमा भने कांग्रेस दोस्रो दल बन्नपुग्यो । एमाले मनमोहन अधिकारीको नेतृत्वमा रहेका बेला पहिलो दल हुनपुगेको थियो ।

पहिलो संविधान सभाको निर्वाचनमा बन्दुक र बलमात्र हैन पुष्पकमल दाहालको आकर्षक व्यक्तित्वका कारण पनि एमाओवादीलाई नेपाली जनताले मत दिएका हुन् । उनको व्यक्तित्व अझै पनि उनका समकक्षी अरू नेताभन्दा आकर्षकै छ । दोस्रो संविधान सभा चुनावसम्म आइपुग्दा भने दाहालको आकर्षण थेरै फिका भइसकेको थियो । बीपी र पुष्पकमलको आकर्षक व्यक्तित्व र किसुनजी, मनमोहनजी तथा सुशील कोइरालाको सरल जीवन शैलीलाई नेपाली मतदाताले रुचाएको देखियो ।

शेरबहादुर देउवा पार्टी सभापति छँदैमा देशमा संसद् र स्थानीय तथा प्रादेशिक निर्वाचन हुनेछ । कांग्रेसविरुद्ध पहाडमा एमाले र एमाओवादी मिलेर चुनाव लड्न सक्छन् भने मधेसमा सबै मधेसी दल कांग्रेसका विपक्षमा एक हुनसक्छन् । कांग्रेसले सके त लोकतान्त्रिक शक्तिलाई समेट्न सक्नुपर्थ्यो तर पार्टीभित्रै भाग पुग्दैन अरूलाई कसरी दिनु ? बरू हार्ने तर भागबन्डा नगर्ने बानी जो परेको छ नेपाली कांग्रेसका नेतालाई । यसैले कांग्रेस कसैसँग मिलेर चुनाव लड्ला भनेर पत्याउन सकिँदैन । पार्टीभित्रै पनि आन्तरिक निर्वाचनको तुस मरिसकेको छैन । बहुसंख्यक जिल्ला सभापति पुरानो संस्थापन पक्षका छन् । तिनका काममा हस्तक्षेप हुन थाल्यो भने स्थानीय निकायको निर्वाचन राम्ररी हाँकिनेछैन । तर स्थानीय निकायको चुनाव सभापति देउवाको लोकप्रियताको पहिलो परीक्षण हुनेछ ।

देउवाको व्यक्तित्व
शेरबहादुर देउवा न बीपीजस्तो चमत्कारी आकर्षण भएका नेता हुन् न उनको जीवनशैली किसुनजी र सुशील कोइरालाकै जस्तो सरल छ । वैयक्तिक जीवन शैलीलाई छाड्ने नै हो भने पनि उनका राजनीतिक विचार र व्यवहार अहिले हामीले अपनाएको उदार प्रगतिशील लोकतन्त्रका गुणसँग मेल खाने प्रकारका छैनन् । देउवाको उद्दाम महत्त्वाकांक्षा र चरम व्यवहारवादले विगतमा देशले ठूलै क्षति बेहोरिसकेको छ । उनले सरकारमा रहिरहन संसदीय पद्धतिकै बेइज्जत हुने गरी सांसद खरिदविक्रीको नेतृत्व गरेका थिए। यस्तै ‘टाउकाको मोल तोक्ने’ अनुदार सरकारको नेतृत्व पनि उनैले गरेका हुन् । संकटकालका कारण जनता थप आत्तिएका बेलामा संकटकाल लम्याउन पार्टीले सहमति दिएन भनेर चुनाव हुनै नसक्ने जान्दाजान्दै पनि संसद् विघटन गरेकै हुन् । पार्टी फुटाउँदा देशको भन्दा कांग्रेसको बढी अहित हुने भए पनि कांग्रेसजनले नै देउवालाई सभापति रोजी सकेपछि सायद त्यो गल्ती अब चर्चाको विषय रहेन । तर, लोकतन्त्रको पुनःस्थापनाका लागि नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन भइरहेका बेला राजालाई बिन्तीपत्र टक्य्राएर ‘गोर्खाली राजाले न्याय गरे’ भन्दै प्रधानमन्त्री पनि भएकै हुन् । देउवाले गरेका गल्तीमा कतै न कतै प्रत्यक्षपरोक्ष गिरिजाप्रसाद कोइरालालगायतका नेताको पनि जिम्मेवारी थियो । तर मूल कारणी देउवामाथि त्यसको दोष पनि बढी नै लाग्छ । धेरै पहिलेका कुरा पन्छाउने हो भने पनि कैलाली, मोरङ, सुनसरी र झापालाई छुन पनि नदिने हठ गरेर मधेस आन्दोलन चर्काउने निहुँ दिनेमध्येका एक जना त देउवा पनि हुन् । यी सबै कारणले देउवाका हातमा लोकतन्त्र सुरक्षित रहँदैन कि भनेर झस्कनु अस्वाभाविक होइन ।

यस्तै शेरबहादुर देउवाले अहिले नवसम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने हुनाले तिनैको हित रक्षा गर्छन् भन्ने ठान्ने धेरै छन् । उनको जीवनशैलीमा देखिएको परिवर्तनले त्यस्तो धारणालाई निराधार भन्न पनि दिँदैन । सम्भ्रान्त वर्गमा जन्मनु पाप हैन । कसैले आफूलाई त्यस वर्गमा स्थापित गर्छ भने त्यसलाई पनि अन्यथा सिद्ध नहुँदासम्म अपराध मान्न मिल्दैन । तर, सम्भ्रान्तहरू धेरैले सौम्य सम्भ्रान्तता र कठोर सामन्ती प्रवृत्तिलाई एउटै ठानेको देखिन्छ । नेपाली समाजमा पनि सम्भ्रान्तता र सामन्ती प्रवृत्तिबीच खासै भेद गरेको देखिँदैन । सभ्य सम्भ्रान्तहरू उदार हुनसक्छन् । सामन्तहरू अनुदार हुन्छन् । देउवा सम्भ्रान्तमा परिणत भए पनि सामन्त बन्न खोजेनन् भने मुलुकलाई ठूलो क्षति हुनेछैन । गल्ती र कमजोरीको औचित्य सिद्ध गर्न खोज्ने र आफूलाई विशेषा ठान्ने प्रवृत्ति सामन्ती हो । तिनको औचित्य सिद्ध गर्न खोज्नुभन्दा तिनलाई स्वीकार गरेर फेरी नगर्ने वाचा गरे बरु व्यक्तिमाथि विश्वास गर्ने आधार बन्छ ।

अग्निपरीक्षामा शशांक
नेपालका सबै राजनीतिक परिवर्तन नेपाली कांग्रेसकै अगुवाइमा भएको छ । त्यसमा पनि कृष्णप्रसाद कोइरालाकै छोराले नेतृत्व गरेका छन् । नेपालमा राणा शासन, पञ्चायत र राजतन्त्र समाप्त पार्ने निर्णायक आन्दोलनको नेतृत्व कोइरालाले नै गरेका हुन् । त्यसैले यी सबै आन्दोलनको उपलब्धिका रूपमा रहेको नेपालको संविधान, २०७२ का लागि श्रेय दिने हो भने सबैभन्दा बढी कोइरालाकै भागमा जान्छ । (कमजोरीको दोष पनि उनीहरूले पाउँछन् ।) लोकतन्त्रका केही आधारभूत मान्यतामा सम्झौता गरिएको भए पनि यो संविधान अहिलेसम्मका संविधानभन्दा बढी लोकतान्त्रिक र प्रगतिशील छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता विषयमा जनमत संग्रहबाट निर्णय लिइएको भए अझ लोकतान्त्रिक हुन्थ्यो तर संविधान सभामा निर्वाचित जनप्रतिनिधिको अत्यन्त ठूलो बहुमतले पारित गरेको संविधान हो यो । यसैले यो संविधान नेपालीका लागि गर्वको विषय हो । अब संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषयलाई उल्टाउन सजिलो पनि छैन । कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि संविधानमा हस्ताक्षर गरेका छन् । अतः उनले संविधानका प्रावधानमा प्रश्न उठाउने नैतिक आधार पनि गुमाइसकेका छन् । यस अवस्थामा शेरबहादुर देउवा र शशांक कोइराला दुवैका अभिव्यक्तिमा प्रतिगमनको प्रतिध्वनि सुनिनु पक्कै पनि सुखद र स्वाभाविक होइन । शशांक कोइरालाले कांग्रेस केन्द्रीय सदस्य र संविधान सभासदका रूपमा कुनै छाप पार्न सकेका छैनन् । उनले केही नबोलेरै यतिका वर्ष बिताइदिए । अब महामन्त्री भएकाले उनको भूमिक कार्यकारी भएको छ । कांग्रेसको नेतृत्व गर्ने चाहना भए अब उनले आफूलाई अगाडि सार्नैपर्छ । तर, प्रतिगमनतर्फ उनका पाइला घुमे भने दाजु प्रकाश कोइरालाको नियति उनले पनि भोग्नुपर्ने हुनसक्छ भन्ने हेक्का राख्नु उचित हुनेछ । बीपी पुत्र भएबापत उनले कांग्रेस नेतृत्वमा सजिलै ठाउँ पाएका पाएका हुन् । अब त्यसलाई जोगाउन र बढाउन परिश्रम गरे भनेमात्र शशांक नेतृत्वमा यथार्थमै स्थापित हुनेछन् ।

रामचन्द्र : परम्परा धान्ने कि उदाहरण बन्ने ?
रामचन्द्र पौडेलको भूमिका पछिल्लो समयमा पार्टीभित्रै पनि धेरैपटक भीष्मको जस्तो निरीह देखिएको थियो । देखेको बोले पनि त्यसको पक्षमा उभिन नसक्ने स्वभावका कारणा उनको भूमिका कार्यकर्ताले रूचाएनन् । अब उनका सामु ३ वटा विकल्प देखिन्छन् । पहिलो संसारका अरू धेरै उदारवादी दलका नेताहरूले जस्तै सक्रिय राजनीतिबाट अवकाश लिने । सम्भवतः उनलाई यस्तो निष्क्रियता मनै पर्दैन । त्यस अवस्थामा उनले पार्टीको वरिष्ठ नेताका रूपमा (औपचारिकरूपमा वरिष्ठ नेताको पदवी नदिए पनि उनी अहिलेका नेतामा सबैभन्दा वरिष्ठ त हुन् नै ) सभापतिलाई सहयोग र सल्लाह दिने तर भागबन्डा खोज्ने देउवा प्रवृत्तिको अनुसरण नगर्ने गरेर उदाहरण बन्ने अर्को विकल्प हुनसक्छ । पार्टीभित्रको स्थायी गुटबन्दी अन्त्य गर्न पौडेलको सबैभन्दा ठूलो सहयोग यही हुनसक्छ । तर नयाँ संस्थापनले कार्यकर्तालाई काखा र पाखा गरेका अवस्थामा भने कार्यकर्ताको संरक्षण गर्न पौडेलमाथि दबाब पर्नसक्छ । राजनीतिबाट पनि समयछँदै अवकाश लिनुपर्छ भन्ने उदाहरण र आदर्श प्रस्तुत गर्ने मौका चाहिँ पौडेलले पाएका छन् ।

गगनको भूमिका
गगन थापा कांग्रेसवृत्त बाहिर पनि सम्भावना भएका नेताका रूपमा चर्चित छन् । कांग्रेसभित्र उनको उदय निकै तीव्र गतिमा भएको थियो । यस पटकको निर्वाचनमा उनको महत्त्वाकांक्षा र कार्यकर्ताको सोचका बीचमा तालमेल भएन । कांग्रेस चिनेका कसैले पनि कृष्णप्रसाद सिटौलाको समूहबाट उमेदवार बनेका गगनले महामन्त्री जित्लान् भनेर पत्याएका थिएनन् । तर गगनका लागि एउटा अवसरमात्र खेर गएको हो । सभापति देउवाले पक्कै पनि गगनजस्ता सम्भवनायुक्त युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेछन् । गगनको लोकप्रियता र क्षमता जनपरिचालनका लागि बढी उपयोगी हुनसक्छ । गगनले भाउभन्दा भूमिका खोजे भने अर्कोपटक उनी चक्रव्यूहका अभिमन्यु बन्नेछैनन् ।
कार्यकर्ताले रचेको कांग्रेसको महाभारतको नयाँ कथालाई नेपाली जनताले रूचाएनन् भने धेरै पात्रको भूमिका र चरित्र त पुनः बदलिनेछ नै कांग्रेस स्वयं पनि हराउन सक्छ ।

No comments:

Post a Comment