Monday, September 28, 2015

भो अब पुग्यो!

'प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ।' 

  • भारत निर्वासनबाट नेपाल फर्कने क्रममा २०३३ साल पुस १६ गते विश्वेश्वरप्रसाद कोइरालाले देशवासीलाई गरेका आह्वानभित्रको यो वाक्य आजका लागि पनि उत्तिकै सान्दर्भिक छ।नेपाली जनताले आफूलाई 'सार्वभौमसत्तासम्पन्न' घोषणा गरेर बालिग मताधिकारका आधारमा निर्वाचित प्रतिनिधिहरूको ठूलो बहुमतले संविधान पारित गरेलगत्तै भारतले अघोषित नाकाबन्दी सुरु गरेको छ। भारतसँग सरसामान आयात निर्यात रोकिने वा बेलाबखत भारत सरकारकै चाहनामा नाकाबन्दीजस्तो व्यवहार हुने घटना नौलो हैन। सानो र भूपरिवेष्ठित छिमेकीका रूपमा नेपालले मात्र हैन भुटानले पनि यस्तो व्यवहार र पीडा सहँदै आएको छ। भुटान र नेपालको ऐतिहासिक पृष्ठभूमिको अन्तरले गर्दा भारतको अहङ्कारी व्यवहार उता अलि सजिलै पचाइन्छ होला नेपालीलाई स्वीकार्न र सहन अलि कठिन हुन्छ। राजनीतिक दलका नेता सबैजसोले 'त्वं शरणम्' गरिदिँदा न जनता अपमानको तीतो घुट्को निल्न बाध्य हुँदैआएका हुन्।

महन्थ जी : तपार्इँ पनि!

सिक्किम विलयपछि बीपी नेपाल फर्कन लागेको थाहा पाएर इन्दिरा गान्धीले जगजीवन राममार्फत् नयाँ दिल्ली बोलाएको र बीपीले दिल्ली जानुभन्दा बरु मृत्युदण्ड भए पनि नेपालै जान्छु भनेर फर्केको घटना कम्तीमा महन्थ ठाकुरलाई अरूले सम्झाउनु नपर्ला। यस्तै बीपीप्रति उनको हृदयको कुनै कुनामा श्रद्धा पनि उनका बाँकी नै होला। ठाकुरको पछिल्लो संगतले राष्ट्रियता र लोकतन्त्रप्रतिको प्रतिबद्धता कमजोर बनाएको भए पनि विजय गच्छदारका गतिविधि त केही दिन पहिलेसम्म नेपाली राष्ट्रियताकै पक्षमा देखिएको थियो। राजेन्द्र महतो वा उपेन्द्र यादवहरूबाट राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्धता खोज्ने मूर्खता म गर्दिन। तिनको दीक्षा नै लोकतन्त्र र राष्ट्रियताविरुद्ध जो छ। तर ठाकुर र गच्छदार पनि तिनकै पंक्तिमा उभिएको देख्दा पत्याउन गाह्रो हुँदो रहेछ। कम्तीमा बीपीका यी पुराना अनुयायी हिङ हालेका टाला भएकाले अलिअलि बास्ना त आउनुपर्ने।

मनै फाटेपछि

'नागरिकता' जलाउने नै हो भने त्यागे भैगो नि! 'पहाडी उपनिवेशबाट मुक्त गर्न' सके मुलुकै पाइएला। बलिया छिमेकीको आड छँदैछ। कदाचित् नसके रासन कार्ड त मिलिहाल्ला। मधेसी नेता त कतिको रासन कार्ड छँदैछ रे! तिनको पछि लागे थारु नेताले पनि पाउलान्। नेताहरूलाई माया नलागे पनि जनतालाई त माया छ नि नेपाल र नेपालीको। नेपाली भएर पहाडीसँग मिलेर बस्ने मनै छैन भने पनि रगत धेरै नबगाउँ्क। छिनोफानो गर्ने सबैभन्दा उत्तम उपाय जनमत संग्रह हो। तराईका जिल्लामा जनमत संग्रह गरेर शान्तिपूर्वकै समस्या टुंग्याउँ्क। बहुमत तराईवासी एउटै प्रदेश चाहन्छन् वा स्वायत्त नै चाहन्छन् भने पनि शान्तिपूर्वकै होस्। लोकतान्त्रिक विधि र प्रक्रियामा मधेसी नेताको विश्वास नहुनसक्छ तर यत्तिकै त अल्पमतले बहुमतमाथि रजाइँ गर्न पाइएन नि!

पक्कै पनि आधा जनसंख्या मधेसमा बस्छ तर सबै मधेसी मूलका त हैनन्। अनागरिक बनाइयो वा भेदभाव गरियो भनेर नथाक्ने मधेसी नेता मधेसमा बस्ने अरू नेपालीलाई दोस्रो दर्जाको नागरिक बनाउन किन उद्यत भएका हुन्? पहाडी र मधेसीलाई अहिलेका आन्दोलनकारीले भनेजस्तै फरकफरक नै मान्ने हो भने पनि अधिकार त त्यस भूभागमा बस्ने सबैको होला। यसैले संविधान सभाले गरेको निर्णयमा चित्त बुझ्दैन भने जनमत संग्रह गरेर टुंगो लगाए हुन्छ।

दुःख लागेको छ यिनको कुबुद्धिले मधेसका सबै राजनीतिकर्मीप्रति बाँकी नेपालमा चर्को वितृष्णा जागेको छ। अब सायद अर्को रामवरण यादव नेपालको राष्ट्रपति बन्न सक्नेछैन। दसैँको मुखमा भुइँचालोको घाउमा नाकाबन्दीको नुनचुक छर्केको 'गुन' कुनै स्वाभिमानी नेपालीले कहिले बिर्सन सक्ला र?

रोज्नै परेपछि
लामो समयसम्म तराईका मागप्रति सहानुभूति र समर्थन गरेकोमा पछुतो त लागेको छैन तर अहिलेको आन्दोलनको चरित्र र नियत देखेपछि समर्थन र सहानुभूति बाँकी पनि रहेन। अझै पनि कैलालीदेखि दाउन्ने पश्चिमका तराईका जिल्लाको एउटा प्रदेश बनाउनु उपयुक्त हुन्छ र मोरङ र सुनसरीलाई पहाडमा गाभ्नु बेइमानी हो भन्ने मान्यतामा भने कायमै छु। तर नेपालकै अस्तित्वमा, स्वाभिमानमा र सार्वभौमसत्तामा अतिक्रमण हुनथालेपछि व्यक्तिगत मान्यता गौण हुँदारहेछन्। नेपाली हुनुमा गौरव गर्ने नागरिकका रूपमा म अहिले केही भावुक भएँ पनि हुँला तर अब अति भयो! नेपालका सीमा मिचिएका छन्। दसगजा नजिकै बाँध, सडक र तटबन्ध बनाएर भारतीय पक्षले नेपाली भूमिलाई डुबाइदिएको छ। मधेसमा मसिहा भन्नेले त्यसका बारेमा कहिल्यै केही बोलेको सुनिएको छैन। भारतको सीमा सुरक्षा बललेे नेपाली चेलीको अपमान गर्दा यी मधेसका 'मसिहा'को स्वाभिमान जागेको अहिलेसम्म थाहा पाएको छैन। ती घरबार डुबानमा पर्ने जनता वा अस्मिता लुटिने चेली तराईमूलकै हुन् तर भारतीय ज्यादतीविरुद्ध यिनले कहिल्यै मुख खोल्दैनन्। उल्टै दसगजामा गएर नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्छन्। मुगलानलाई मुलुकमा हस्तक्षेप गर्न उक्साउनेलाई नेपाली जनताले कसरी स्वीकार गर्ने?

प्रदेश बनाएर सँगै बस्ने विचार भए नागरिकतै जलाउन त मन नमान्नुपर्ने हो। जनताले चुनेका प्रतिनिधिको अत्यधिक बहुमतले पारित गरेको संविधान जति नै मन नपरे पनि कुनै लोकतन्त्रवादीले अस्वीकार त गर्न नसक्नुपर्ने हो। यसैले तराईवासीका नाममा भएको अहिलेको आन्दोलनका अगुवाहरूको नियतमै शंका उत्पन्न भएको हो।

देखियो मोदीको ऋषि मन पनि!

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष पहिलोपल्ट नेपाल आउँदाको वचन र व्यवहार सम्झने हो भने भारतले यति चाँडै नेपालमाथि नाकाबन्दी गर्ला भनेर सोच्न पनि सकिँदैनथियो। भूकम्पलगत्तै नेपालमा सहायता पठाउन उनले देखाएको तत्परताभित्र कूटनीतिक स्वार्थ लुकेको होला र मौका पाउनेबित्तिकै नेपालीको मर्ममै प्रहार गर्न भारत अग्रसर होला भन्ने कल्पना पनि गर्न सकिँदैन थियो। तर भुइँचालोबाट अकल्पनीय धनजनको क्षति सहेका नेपालीको घाउमा प्रधानमन्त्री मोदीको भारतले नाकाबन्दी गरेर नुनचुक पो छर्क्यो। लाग्छ, भारत नेपाललाई यही बेला थला पार्न उद्यत छ। रथ भासिएका बेला कर्णमाथि प्रहार गरेजस्तै!

बरु बन्द गरौँ सीमा सधैँका लागि

भारतको विहारमा चुनाव हुन्छ दुःख यताकाले पाउँछन्। उत्तर प्रदेशमा चुनाव हुन्छ। सास्ती नेपालीलाई थपिन्छ। नेपालीबाट भारतलाई सुरक्षा खतरा छ भने सीमा बन्द गरे भैगो नि त। कचकच सधैँका लागि समाप्त। संसारका सबै देशमा खुला सीमा छैनन्। नेपाल र भारतबीच पनि किन चाहियो? अप्ठेरो पर्नेबित्तिकै नाका थुनिने भएपछि खुला सीमा हुनुको के अर्थ?

पहिलो नाकाबन्दी पनि सहेकै हो। उति बेला पनि नेपालमा भुइँचालो गएको थियो र नेपालीहरू आक्रान्त भएकै बेला आक्रमण गरिएको थियो। अहिले पनि एक तिहाइ नेपाल अस्थायी टहरामा बसेको छ। राष्ट्रिय नालायकहरूले पुनःनिर्माणको कामै थालेका छैनन्। छिमेकीको 'मित्रता' नाकाबन्दीका रूपमा प्रकट भएको छ। केही विभीषणहरू उक्साइएका छन्। राष्ट्रिय स्वाभिमानसँग सम्झौता नगर्ने हो भने आगामी दिनहरू निकै कष्टकर हुनसक्छन्। अन्तर्राष्ट्रिय समुदाय बलेको आगो ताप्छ। राष्ट्रसंघको रवैयामा भारतीय प्रभाव ह्वास्स जो गनाइसक्यो।

भारतले यस नाकाबन्दीबाट दासहरूको भक्ति बढाएको होला तर मित्रहरूको साथ गुमाएको छ। भारतीय र नेपाली जनताबीचको सम्बन्ध यस्ता कुनै घटनाले बिगार्न सत्तै्कन तर भारतका शासकहरूप्रति बचेखुचेको सद्भाव पनि ठुल्याइँको अहङ्कारबाट गुमेको छ। नेपालीहरूको आँखा खोल्यो होला यस घटनाले!

नाकाबन्दी गरेर पहाडलाई उपनिवेश बनाउने चाहना हो भने रअका एजेन्टहरूले थाहा पाउन् – पहाडमा त्यहाँका जनताले खान पुग्ने अन्न उब्जन्छ। गाउँमै भएको पैसाले ससाना बिजुली निकाल्ने हो भने इन्धनका लागि पनि खासै परनिर्भर हुन पर्दैन। यसैले भारत वा तराईले नाकाबन्दी गरेर झुकाउने डरमान्नु पर्दैन। मनमा डर नपाल्ने हो भने शिर ठाडो गर्न कठिन हुँदैन।

विदेशी हस्तक्षेपप्रतिको नेपालीका मनमा रहेको घृणा भारतीय बाबुहरूले बुझ्नै सत्तै्कनन्। दुई शताब्दीभन्दा बढी त भारतीयहरू बेलायतकै उपनिवेशमा रहे। त्यसभन्दा पहिले पनि धेरै वर्ष बाहिरबाटै आएकाले त्यहाँ शासन गरेका हुन्। त्यसैले भारतीय कर्मचारी तन्त्रमा स्वतन्त्रता संस्कार हैन अहङ्कारको अर्को नाम हो। यही

अहङ्कारले भारतकै कतिपय राज्यहरूमा पृथकतावादी आन्दोलनलाई ऊर्जा थपिरहेको छ। नेपालीको मित्रताको कुनै अर्थ हुन्छ भारतका लागि भने बाबुहरूको साटो दूतका रूपमा राजनीतिक वा प्राज्ञिक व्यक्ति पठाउनुपर्छ। व्यक्तिका रूपमा पनि आदरको पात्र आए भने यताकालाई गुनासो गर्न र दुखेसो पोख्न पनि मन लाग्छ। आफूलाई नेपालको गभर्नर ठान्ने कर्मचारीसँग नेताहरू अलि कडैरूपमा प्रस्तुत हुनु अस्वाभाविक होइन।

अपराधीलाई सजाय

मधेसी नेता जनताका लागि लडेका हुन् भने अहिलेको ज्यादतीको निष्पक्ष र स्वतन्त्र छानबिन तथा अपराधीमाथि सजाय र पीडितलाई क्षतिपूर्तिको माग गर्नेथिए। जिउँदै जलाइएका प्रहरी अधिकारी वा एम्बुलेन्सबाट झिकेर मारिएका सशस्त्र प्रहरी अधिकृतले पनि न्याय त पाउनुपर्योि नि। कैलालीमा मारिएका दुई वर्षे बालक र महोत्तरीमा मारिएका बालक दुवैका हत्यारालाई सजाय हुनुपर्छ। साथै, टीकापुरमा गएर एउटा जातिविरुद्ध हतियार उठाउन उक्साउने घृणा फैलाउने भाषण गर्नेहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनहरूअनुसार कारबाही चलाउनुपर्छ। उपेन्द्र यादवको नेतृत्वमा आगजनी हुँदा त्यसको जिम्मेवारी उनले लिनुपर्ने कि नपर्ने? राज्यले मानव अधिकारको उल्लंघन गरेको छ भने त्यसका लागि जिम्मेवारहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्छ। आन्दोलनका नाममा गरिएका ज्यादती र अमानवीय अपराध पनि क्षम्य त हुनसत्तै्कन। राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरबाट छानबिन र दोषीहरूमाथि कारबाही होस् भनेर भन्नेहरूले मात्र न्यायका लागि संघर्ष गरेको भन्न सुहाउँछ। राज्यको त झन् यसै पनि कर्तव्यै हो।

र, अन्त्यमा

सानैमा गाउँको जात्रामा सुनेको यो गीत दोहोरीमा तन्देरीलाई तरुनीले दिएको जवाफ हो। तर अहिले सम्झँदा लाग्छ, यो गीतको शाश्वत महत्ता रहेछ। भारतीय शासकहरूलाई अब नेपालीले भनिदिनुपर्छ-

'भो माया लाउँदिन पुग्यो

अलिकति भितरी मनदुख्यो।'

No comments:

Post a Comment