Tuesday, May 19, 2015

टोखामा भेटेको खुसी


आज मंगलबार बिहानै टोखा जाने तरखर गरे पनि ७ बजेतिर मात्र घरबाट निस्कन सकेँ। वैशाख १२ गतेको महाभूकम्पलगत्तै छटपटी सुरु भएको छ। कतै न कतै पुगेर केही गर्दामात्र चित्त शान्त हुन्छ। नत्र कताकता अपराध बोध र ग्लानिजस्तो उद्वेग ले सताइरहन्छ। नियमित काम त गरिएकै छ जसोतसो तर भूकम्प पीडितका लागि केही गर्न मन लाग्छ।
यसपटक वैशाख १३ गतेदेखि नै करुणा फाउन्डेसनका राष्ट्रिय निर्देशक दीपकराज सापकोटासँग कुराकानी हुन थाल्यो। दीपकजी बढी नै व्यग्र। म अलि सुस्त। तैपनि केही ठाउँमा सहायता पुर् याउन सहयोग गर्न सकेँ। यस क्रममा गरेको कामको केही विवरण नागरिकमा छापिएका समानान्तरहरूमा पनि लेखेको छु।
मंगलबार (५ जेठ, २०७२) टोखा जाँदा यति खुसी हुने मौका पाउँलाजस्तो लागेकै थिएन। पहिलो त टोखा क्षेत्रमा बाहिर हल्ला गरिएजस्तो विनाश भएको रहेनछ। म यसबीच धादिङबेसी, बोसान, भक्तपुर, डुकुछाप, आँबु खैरेनीलगायतका ठाउँमा पुगेको छु। मुख्य टोखा बजार जोगिएकै छ धरापजस्तो देखिए पनि। क्षति धेरै नभएको देखेरै मन रमाएको थियो। अनि गणेशको मन्दिरमा पुगेपछि देब्रेतिर तल पालहरु धेरै देखिए। त्यहीबीच केही पाका मानिसहरूसँग कुराकानी गरेर क्षतिको आकलन गर्न पनि खोजेँ। जे देखिएको थियो उनीहरूले पनि त्यही पुष्टि गरे। पालहरूको तस्बिर खिँच्ने क्रममा तल खानेपानी उपभोक्ताको कार्यालयमा जस्ता वितरण भएको देखेँ। उत्सुकता बढ्यो। सरकारले काम थालेछ जस्तो लागेर बुझ्न गएको लुमन्ती भन्ने गैरसरकारी संस्थाले दिएको जस्ता खानेपानी उपभोक्ता समितिले बाँडिदिएको रहेछ। करिब ४० परिवारलाई जस्ता वितरण भइसकेछ। अरू ६० परिवारलाई दिने हो भने बस्नै नहुने गरी घर भत्केका सबैलाई पुग्छ रे ! खानेपानी उपभोक्ता समितिको कार्यालयमा भेटिएका १ जनाले नगरपालिकाले विवरण पनि तयार गरिसकेको दाबी गरे।
त्रिपालहरूमा त्यति बेला कोही थिएनन्। यसैले पालमा पनि को होलान् र जस्तो लाग्यो। फर्कनका लागि गणेश स्थानतिर लागेँ। बाटामा एउटा जगमा पानी लिएर आउँदै गरेकी नानी देखेँ। फोटो खिचौँ है भनेर सोधेँ। मोबाइलमा फोटो खिचेँ। अनि सँगै बसेका पतिपत्नीसँग कुराकानी गर्न थाले। उनीहरू मूलतः आज अर्को ठूलो भूकम्प आउने डरले बाहिरै बसेका रहेछन्। कुराकानीकै क्रमम सोधेँ - यी पालमा कुनै सुत्केरी, अपांगता भएका व्यक्ति पनि छन् कि? एउटा ठूलो पालतिर देखाएर उनले भनिन् - त्यसमा एक जना भर्खरकी सुत्केरी छिन्।
म फरक्क फर्किएर त्यही पालतिर लागेँ।
पालमा पुग्दा चुनु खड्गी नवजात शिशुसँगै भेटिइन्। उनकी र दिदीकी छोरी दुईवटी सानी नानीहरू पनि त्यहीँ थिए। बच्चा वैशाख २१ गते प्रसुती गृहमा जन्मेको रहेछ। अस्पतालले भोलिपल्टै घर पठाइदिएछ। दुई दिनकी सुत्केरी चुनु टोखाको कच्ची सडकको बाटोबाट सोझै पालमा पुगेकी रहिछन्। घर भत्केकाले बस्न नहुने भएको रहेछ। अनि के गर्नू? जोजसको घर बस्न हुने छ उनीहरूसमेत पालमै छन् भने घरै भत्केकाको विकल्पै भएन।
पालमा राति करिब सय जना जति सुत्छन् रे !त्यहीँ पातलो प्लास्टिक ओछ्याएर सुतेकी थिइन् चुनु। मैले के चाहिन्छ भनेर सोधेँ। उनले खासै यही चाहिएको छ पनि भनिनन्। त्यहीबाट उत्तिखेरै दीपकजीलाई फोनमा चुनुको अवस्था बताएँ। उनले सहयोग जुटाउने वचन दिएपछि म चुनुका पति दसराज खड्गीलाई खोज्न छोरीहरू अगाडि लगाएर गएँ। मासु पसलमा भेटिए जसराज। उनलाई सुत्केरीलाई केही सहयोग लिएर आउने जानकारी दिएर फोन नम्बर मागेँ। खड्गीले खासै चासो देखाएनन्। सायद पत्याएनन्। क्लान्त देखिने एउटा बूढोले सहायता ल्याइदिने गफ दिँदा पत्याउन् पनि कसरी? ( नपत्याउनुको पनि कारण रहेछ। उनको विवरण नगरपालिकाका मानिसहरूले पनि लिइसकेका रहेछन्। तर पाल माग्न जाँदा कुपन मागेछन्। कुपन चाहिँ उनलाई दिएकै रहेनछ। नगरपालिकाले दिने भनेको १५ हजार पनि पाउने विश्वास उनलाई छैन। अर्थात्, उनी कसैलाई पत्याउनै नसक्ने भएका रहेछन्। मलाई उनको ताल देख्दा उति बेला अलि दिक्क पनि लाग्यो। दनुवार गाउँमा भेटिएका युवाको सम्झना भयो। )
काठमाडौं फर्कने बेलामा टोखामा माइक्रोबस पाइएन। जोर र बिजोर नम्बरका गाडी पालैसँग चलाउने भनेर रोकिएको रहेछ। हिँडेरै ओर्लने सुरले केही तल आउँदै थिएँ एउटा बोलेरे जिप आएको देखेँ। निजी गाडी थियो त्यो। जे त पर्ला भनेर लिफ्ट मागेँ। मनकारी रहेछन् तल ग्रान्डी हस्पिटलभन्दा पनि तलसम्म ल्याइदिए। घर आइपुगेँ। दीपकजीको फोन आयो। सामानको जोहो गर्न ऋचा जीलाई लगाइसकेको र तयार भएपछि खबर गर्ने जानकारी दिए। अनि नियमित काममा लागेँ।
दिउँसो ३ बजेतिर करुणा फाउन्डेसनको गाडी आयो। म पत्नी र नातिसमेत लिएर बाटो लागेँ। टोखा पुग्दा त मूल प्रवेश द्वारमै टाँगो राखेर बाटो रोकिएको रहेछ। नजिकै एक जनासँग सोधेँ। सुरक्षाका लागि राखेको भनेर कलि रुखो शैलीमा उत्तर दिए। बिहान त्यहीबाटो माइक्रो बसमा गएको थिएँ। टोखा बजार एकाएक कमजोर त पक्कै भएन होला जस्तो लाग्यो तर तर्क केही नगरी एक जना सुत्केरीका लागि केही सहायता सामग्री लिएर आएको कसरी जाने होला भनेर सोधेँ। उनले त मलाई हप्काउन पो थाले। यहाँ कति जना सुत्केरी होलान् एक जनालाई मात्र सहायता लिएर आउने हो? मैले पनि निजी सहयोग हो एक जनाका बारेमा थाहा पाएकाले उनैका लागि ल्याएको भनेर तिनलाई मत्थर पारेँ। लाछीमा मासु पसल भएको खड्गीलाई सोधेँ। उनले कुन लाछी कुन खड्गी सोधीखोज गर्न थाले। ल यहाँ अलमलिनु ठीक छैन भनेर पैदल जान त पाइएला नि भनेर सोधेँ र सँगै गएकाहरूलाई मोटरबाट उत्रन भने। चालक कुमारलाई यतै कतै बसिरहनु भनेर बजारभित्र पस्यौँ। बिहानको गल्ली बिर्सेछु। खड्गीको फोन स्विच अफ थियो। त्यसै फर्कने कुरा पनि भएन। सोध्न थाले। संयोग एउटा घरको छिँडीमा बसेकाहरूसँग सोधेको त चुनुकै अमाजुको घर परेछ। उनीसँगै चुनुका भाइ पनि भेटिए। दुवैलाई लिएर चुनुको पालमा गयौँ। महिलाहरू (मखन, नीलु र रिचा) र नातिलाई पनि त्यहीँ छाडेर चुनुका पतिलाई खोज्न उनको घरतिर हिँड्यौँ। मोटर ल्याउन नपाए सामान बोक्न त २ /३ जना चाहिन्थे नै। दसराज दिदीका घरमा भेटिए। अनि मोटर भएको ठाउँतिर गयौँ। करुणाका ड्राइभर कुमार इलामका रहेछन्। झोँक चलेको रहेछ त्यो बाटो निहुँ खोजुवासँग। कुमार हाम्रैपछि पछि गाडी लिएर गएछन्। हामी आइपुग्दा गाडी छैन। लौ फसाद । कुमारको फोन नम्बर ऋचासँग पनि रहेनछ। करुणाबाटै नम्बर लिएर ऋचाले मलाई नम्बर टेक्स्ट गरिन्। कुमारसँग सम्पर्क भयो। अनि झोर जाने बाटो हुँदै चुनुको पालमा पुगियो। अनि सामानहरू झिकेर चुनुलाई जिम्मा लगाउँदै भने - चुनुले यो छोराका पाफामा नयाँ माइती पनि पाइन्। त्यति बेला चुनुका आँखामा देखिएको खुसी र दसराजको आँखाको चमकले मेरा थकाइ मेटियो। आज वास्तवमै खुसी लाग्यो। हिजो बोसानमा बनेका अस्थायी आवासहरू देख्दाजस्तै।
धन्यवाद दीपक सापकोटासहितका करुणा फाउन्डेसन, नेपालका सहायताकर्मीहरूलाई ! धन्यवाद चुनु र बोसानवासीलाई !

No comments:

Post a Comment