Friday, August 8, 2014

दिनेश 'चरी'काे दुःखान्त


धादिङका चरी भनेर चिनिने दिनेश अधिकारीको मृत्युमा नेपाल प्रहरी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका भिन्नाभिन्नै दाबी सार्वजनिक भएका छन्। प्रहरीले दिनेशको मृत्यु ‘’मुठभेड''का क्रममा प्रहार गरेको गोली लागेर  भएको बताएको छ। प्रहरीका अनुसार चरीको पिछा गर्दै जाँदा उनले गोली हानेपछि प्रतिरक्षामा गोली चलाउँदा उनको मृत्यु भएको हो। दिनेश प्रहरीको 'मोस्ट वान्टेड' अपराधीको सूचीमा थिए रे। एमाले अध्यक्ष केपी ओलीले भने प्रहरीले दिनेशलाई अन्यत्रै मारी घटनास्थल भनिएको ठाउँमा लगेर सार्वजनिक गरेको गम्भीर आरोप लगाएका छन्। धादिङका एमाले नेताहरू झन् बढी रुष्ट देखिनु स्वाभाविकै हो। 
प्रहरीको जस्तै ओलीको भनाइ पनि पत्याइहाल्ने वा पत्याउँदै नपत्याउने आधार छैन। जनसाधारणले सामान्यतः प्रहरीको भनाइ पत्याउँछन्। चरीका हकमा पनि त्यही भएको देखियो। संसारभर राजनीतिक नेताहरूले भनेको जनताले कमै पत्याउँछन्। ओली पनि अपवादमा परेका छैनन्। तर, अन्यथा सिद्ध नहुँदासम्म शंकाको सुविधा भने दुवै पक्षलाई दिनुपर्छ। 

दिनेश अधिकारी फरार अभियुक्त रहेछन्। विभिन्न अपराधमा उनको संलग्नता रहेको प्रहरी दाबीलाई एमाले नेताहरूले पनि चुनौती दिएको थाहा छैन। विगतमा पटकपटक प्रहरीले पक्राउ गर्दा राजनीतिक दबाबका कारण दिनेश उम्केका थिए रे ! जन्म र मृत्यु पहिले नै लेखिएको हुन्छ भन्ने भाग्यवादी मान्यता नराख्ने हो भने कानुनी कारबाहीमा हस्तक्षेप नभएको भए सायद चरी जेलमै भए पनि जिउँदै हुने थिए कि? उनलाई मार्ने पात्र प्रहरी भए पनि परिस्थितिको सिर्जना भने राजनीतिक नेताहले गरेको देखियो। महाभारत युद्ध सकिएपछि धृतराष्ट्रलाई विदुरले - 'भीमको हातबाट मारिएको भए पनि दुर्योधनको मृत्युको कारण महाराजको पुत्र मोह हो।' भनेको प्रसंग सम्झना हुन्छ। 

प्रहरीले उनलाई पक्रनु पर्थ्यो। पत्रे्कपछि राजनीतिक दबाबबाट उम्किहाल्छन् भने ठानेर मुठभेडमै सही सिध्याउने योजना बनाएको हो भने त्यो सही काम होइन। राज्यको बलियो संगठनले व्यक्ति विशेषलाई सिध्याउने योजना बनाउनु हुँदैन। प्रहरीले भनेजस्तै पिछा गर्दै जाँदा दोहोरो गोली हानाहान भएको भए पनि सकेसम्म उनलाई जिउँदै समात्ने प्रयास गर्नुपर्थ्यो।  

जेहोस्, एमाले नेताहरूको प्रतिक्रिया भने अलि बढी र नसुहाउँदो प्रकारको देखियो। प्रहरीले भनेजस्तो मुठभेडमा दिनेश मारिएका हुन् भने घटनालाई यसरी चर्काउनु पूर्व गृहमन्त्रीसमेत रहिसकेका केपी ओलीलाई सुहाउँदैन। त्यसमा पनि आफ्नै पार्टीका उपाध्यक्ष गृह मन्त्री छन्। गृह मन्त्री वामदेव गौतमले संसद्लाई ' िनजले प्रहरीतर्फ गोली प्रहार गरेकाले प्रहरीले जवाफी कारबाही गर्दा’ दिनेशको मृत्युभएको जानकारी दिए। यसको तात्पर्य गृह मन्त्रीले कारबाहीको नैतिक जिम्मा लिनु नै हो। हुन पनि उनले कि त जिम्मा लिनु पर्थ्यो नत्र घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्थ्यो । जे गरे सही गरे ।

हुन पनि ओलीले दाबी गरेजस्तै दिनेशलाई योजनाबद्ध ढंगले मारिएको हो भने अहिलेको नेपाल प्रहरीले गृह मन्त्रीको जानकारीबिना एमालेका नेताहरूको संरक्षण पाउँदै आएका व्यक्तिको हत्या गर्ने आँट गरे होलान् भने पत्याउन कठिन हुन्छ। अपराधी र राजनीतिकर्मीको सम्बन्धका बारेमा बनेका हिन्दी सिनेमा सम्झाउने एमाले नेताहरूको आक्रोश बरु अलि बढी ‘नाटकीय' देखिएको छ। 

दिनेशजस्तै अवस्थामा रहेका अरू अपराधी र अभियुक्तले पनि यस घटनाबाट अप्रिय पाठ सिक्नु उचित हुनेछ। दिनेशले पाएको राजनीतिक ‘संरक्षण' नै प्रकारान्तरमा उसको मृत्युको कारण बन्नपुगेको कटु यथार्थ दिनेश र अरू कथित ‘डन’का परिवारजनले पनि बुझे बेस हुनेछ। घटनाको जाँच गर्नु, गराउनु र प्रहरीको ज्यादती देखिए प्रचलित कानुनअनुसार कारबाही हुनुलाई भने अन्यथा ठान्न नमिल्ला। तर, कसैको अहं तुष्टिका लागिमात्र प्रहरीमाथि कारबाही गरियो भने चाहिँ त्यो समाजका दुर्भाग्यपूर्ण हुनेछ। एमालेको साख पनि अरू गिर्नेछ।  

हुनत, नेपालका नेताले केही सिक्लान् भन्ने ठान्नु मुर्ख्याइँ हुनेछ। तैपनि, नेपाली कांग्रेसलगायत अरू राजनीतिक दलले पनि अपराध र राजनीतिको सम्बन्ध सेतु टुटाउन अप्रिय निर्णय लिनसमेत अगाडि सर्नुपर्ने शिक्षा यस घटनाले दिएको छ।  

1 comment: