Monday, August 25, 2014

राजनीति 'नजान्ने' राजनेता


विश्वेश्वरप्रसाद कोइराला असफल राजनीतिकर्मी तर सफल राजनेता हुन्। उनको राजनीतिक व्यक्तित्वमा यी दुवै पक्षको उत्तिकै महत्व देखिन्छ तर राजनेताका रूपमा बीपी अहिले झन् विवादरहित र आकर्षक बन्दैगएका छन्।
राजनेतामा सैद्धान्तिक दृढता, नैतिक भावना, दूरदृष्टि र निश्चित ध्येय तथा त्यसको प्राप्तिका लागि सहमति जुटाउने क्षमता तथा कौशल अनि बृहत्तर हितका लागि स्वार्थ त्यागजस्ता गुण हुनुपर्छ भन्ने मान्यता छ। लोकतन्त्रप्रतिको सैद्धान्तिक प्रतिबद्धतामा बीपी कहिल्यै विचलित भएनन्। विसं २०१५ सालको निर्वाचनपछि संसारभर ‘जनहितकारी अधिनायक’हरूको उदय भएको थियो। विश्वका उनका समकालीन थुपै्र नेता लोकतन्त्रजस्तो ‘सुस्त’ राजनीतिक व्यवस्थाबाट देशको प्रगति हुँदैन भन्ने बहानामा निरंकुश शासक बन्दै गएका थिए। बीपी भने लोकतन्त्रबाट विचलित भएनन्। उनले जीवनको अन्तिम घडीमा समेत ‘लोकतन्त्रका विषयमा सम्झौता नगर्ने’ अडान छाडेनन्।
राजनीतिक जीवनको उत्तरार्धमा बीपीको चिन्तनमा ठूलो परिवर्तन भएको देखिन्छ। सशस्त्र आन्दोलन सफल नभएपछि उनमा ठूलै नैतिक र मानसिक दबाब पनि परेको थियो। त्यही क्रममा बीपीले अहिंसाको बाटो लिए। तर, आफूविरुद्ध चलाइएका मुद्दामा भने उनले सशस्त्र आन्दोलनका क्रममा भएका घटनाको नैतिक जिम्मेवारी पनि लिए। उनले लिएको नैतिक जिम्मेवारीलाई राजाले साबिती वयानका रूपमा प्रचार गरेर मृत्युदण्ड दिनसक्ने जोखिम कानुनका विद्यार्थी बीपीले पक्कै बुझेका थिए। तै पनि बीपी नैतिक दायित्व स्वीकार गर्नबाट विचलित भएनन्। 
शीतयुद्धको समाप्ति त्यति छिटै र सजिलै होला भन्ने बीपीले पनि ठानेका थिएनन् होला। तर, राष्ट्रियता संकटमा छ र त्यसलाई जोगाउन देशमा लोकतन्त्र आवश्यक छ भन्ने मान्यतामा उनी दृढ रहे। त्यसक्रममा उनले आफूलाई ‘एक्लो बृहस्पति’सम्म भनेका थिए। हुन पनि सत्तालाई गौण ठानेर लोकतन्त्रका लागि संघर्ष गर्दा धेरैको समर्थन पाउन सकिँदैन थियो। राजनेता भएकैले बीपी सत्ताभन्दा लोकतन्त्र र राष्ट्रलाई महत्व दिनुपर्छ भन्ने आफ्नो मान्यतामा अडिग रहनसकेका हुन्। 
नेपालका ‘रैती’लाई ‘स्वतन्त्र नागरिक’बनाउने ध्येयमा पनि बीपी विचलित भएनन्। बीपीलाई भने २००७—२०४६ को चार दशकमध्ये पञ्चायत कालको तीस वर्ष राज्यले नै ‘अराष्ट्रिय’ बनाउने प्रयास गरिरह्यो। त्यति बेला हुर्केका धेरैले बीपीलाई ‘देशबेचुवा’, ‘भारतीय दलाल’ भनेर पढे। केहीले त्यस्तै ठाने पनि। राजाका पञ्च र कम्युनिस्टहरू बीपीलाई एकै स्वरले ‘अराष्ट्रियतत्व’ भन्थे। अहिले यी दुवैथरी बीपीको राष्ट्रियतासम्बन्धी धारणाका प्रबल समर्थक भएका छन्। उनका प्रखर विरोधीसमेत बीपीको लोकतन्त्र र राष्ट्रियताको अन्योन्याश्रित सम्बन्धसम्बन्धी व्याख्यामा सहमत हुनुपर्योर। बीपीले २०३३ सालमा स्वदेश फर्कने बेलामा गरेको अपिलमा उल्लेख गरेको ‘लोकतन्त्र र राष्ट्रियताको अन्योन्याश्रित सम्बन्ध’ सम्बन्धी धारणा यथार्थमा शीतयुद्धकालीन विश्व राजनीतिमा नयाँ सिद्धान्त थियो। सानो मुलुकको सत्तामा नरहेको राजनेताको धारणा संसारका सामु व्याख्यासहित पुग्न सकेन। सन् १९९० को दशकमा पूर्वी युरोपको ‘राष्ट्रियता र लोकतन्त्र’सम्बन्धी जागरणलाई नियाल्ने हो भने बीपीको सैद्धान्तिक सूत्रको महत्व बुझिन्छ। ढुंगामाटोसँग जोडिएको राष्ट्रियतालाई बीपीले जनतासँग जोडेका थिए। बीपीका अनुसार ‘राष्ट्रियताको पहिलो पनि र अन्तिम पनि सर्त हो — प्रजातन्त्र’।
यसरी हेर्दा बीपी दूरदृष्टि, अटल निष्ठा र दृढ संकल्प भएका स्वार्थरहित राजनेता देखिन्छन्। संसारमै उनी बाँचेको कालखण्डमा बीपीसँग दाँजिने राजनेता बिरलै पाइएलान्। नेपालमा २००७ को जनक्रान्तिपछि आधुनिक युगको थालनी भएको हो। त्यस जनक्रान्तिका वास्तविक ‘नायक’ बीपी नेपाली आधुनिकताका उन्नायक पनि हुन्। यसैले समकालीन नेपालमा बीपी सबैभन्दा सम्मानित राजनेता हुन पुगेका हुन्। बीपीप्रति नेपालीले संसारमै गर्व गर्न सक्छन्।
असफल राजनीतिकर्मी 
राजनीतिकर्मीका रूपमा भने बीपी सफल भएनन्। उनी २००७ सालको क्रान्तिलगत्तै र २०१५ सालको संसदीय निर्वाचनपछि सत्तामा गए। पहिलोपटक त्यति बेलाका शक्तिहरू भारत र राजा दुवै चिडिए। तिनैका गोटीको चक्रव्युहमा बीपी ‘अभिमन्यु' भए। दोस्रो पटक पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति तथा तिनको स्वार्थसँग सम्झौता गर्न नसक्ता बीपी सत्ता च्युत भए। सशस्त्र आन्दोलन छाडेर निर्वासनबाट फर्कने बेलामा राजनीतिक चातुर्य देखाएर राजासँग सम्झौता गरेका भए वा इन्दिरा गान्धीसँग सम्झौताका लागि तयार भएका वीपी विमानस्थलबाट सोझै सुन्दरीजल पुर्याकइने थिएनन्। भारतको आड लिएर फर्केका भए बीपीले राजालाई ‘मेलमिलाप’का लागि आग्रह गर्नुपर्ने थिएन। बरु, उनले सत्ता साझेदारीका लागि धम्की दिनसक्थे। पुष्पकमल दाहाललाई लिन २०६३ को जनआन्दोलनपछि तत्कालीन गृहमन्त्री आफैँ हेलिकप्टर लिएर गएको सम्झने हो भने भारत र दरबारमध्ये कुनै एउटाको आड र अझ यी दुवैको भर पाएको भए सत्ता सजिलै हासिल हुन्थ्यो। तर, बीपीले त यी दुवैलाई चिडाए। उनलाई राजनीतिकरूपमा सफल कसरी भन्नु? 
चाणक्यदेखि मेकियावेलीसम्मका पण्डितहरू सत्ताका लागि सम्झौता गर्नु ‘राजनीतिक’ बुद्धिमानी ठान्छन्। ‘साम, दान, दण्ड र भेद’को नीतिमा ‘सत्याग्रह’ पर्दैन। बीपी राजा महेन्द्रसँग मिलेको भए सधैँ सत्तामा रहनसक्थे रे! सेनाको मुखियालाई नटेर्नु सत्ता राजनीतिका दृष्टिबाट राजनीतिक कौशल होइन। राजनीतिक लाभहानिलाई महत्व नदिने उनको स्वभावले २०३६ मा जनमत संग्रह गराउने सरकारमा बहुदल पक्ष सहभागी हुन पाएन। त्यति बेला धेरैले जनमत संग्रहमा हारको प्रमुख कारण सरकारी धाँधलीलाई नै ठहर्यातएका थिए। बीपी स्वयंले पनि पञ्चायतको पक्षमा बहुमत देखिएको जनमत संग्रहको परिणामलाई ‘अप्रत्याशित र अव्याख्येय’ भनेका थिए। सम्भवतः राजनीतिक चतुर्या।इँका दृष्टिले सत्तामा सहभागिता नखोज्नु गल्ती नै हो। 
बीपी सशस्त्र संघर्षमा सघाउने इन्दिरा गान्धीको प्रस्ताव अस्वीकार गरेर स्वदेश फर्के। राजाले पत्रे्कर थुने। कालान्तरमा बीपीकै कान्छा भाइ गिरिजाप्रसाद कोइरालाले नयाँ दिल्लीलाई १२ बुँदे सहमतिको थलो र मध्यस्थ बनाए। त्यसो नगरेको भए न माओवादी सजिलै शान्तिपूर्ण राजनीतिमा आउने थियो न राजतन्त्रै समाप्त हुने थियो। बीपी राष्ट्रियताको चिन्ता गरेर नेपाल फर्कनुभन्दा ‘पर्खेर हेर’को रणनीति अपनाएर भारतमै केही समय अरू बसेका भए पक्कै विमानस्थलबाटै जेलमा जानुपर्ने थिए। संकटकालको अन्त्यपछि इन्दिरा गान्धी चुनावमा हारिन् र बीपीका शुभचिन्तकहरू सत्तामा आए। 
बीपीमा लोकतन्त्रका लागि पश्चिमा मुलुकले सहयोग गर्छन् भन्ने भ्रम पनि रहेको देखिन्छ। व्यापारी पश्चिमको वास्तविक प्राथमिकता लोकतन्त्र हुँदैन भन्ने सत्य उनले बुझेनन्। रुसी खेमा त यसै पनि बीपीको पक्षमा हुने कुरै थिएन। उनले अफगानिस्तानको रुसी आधिपत्यलाई दक्षिण एसियालाई अस्थिर बनाउने ठूलो कारणका रूपमा चित्र गर्ने गरेका थिए। रुस त बीपी ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर नेपाल फर्केकोमा पनि खुसी थिएन। बीपी नेपाल फर्केपछि राजावादी र रुस—भारत खेमाका भनेर चिनिनेहरू सबै समानरूपमा उद्वेलित भएका थिए। त्यति बेेला ‘चार वरिष्ठको वक्तव्य’का नामले चर्चित एउटा वक्तव्यमा बीपीको स्वदेश आगमनले ल्याएको तरंग देख्न सकिन्छ। टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, डिल्लीरमण रेग्मी र डा. केशरजंग रायमाझीले ‘बीपीको आगमनले देशको प्रजातान्त्रीकरणमा प्रतिकूल प्रभाव पर्छ ’ भन्ने आशय झल्कने वक्तव्य दिएका थिए। बीपीले अन्तर्राष्ट्रिय परिस्थितिको नेपालको राष्ट्रियतामा पर्ने प्रभावको आकलन त गरे तर त्यसलाई आफ्नो अनुकूल बनाउने प्रयास गरेनन्। 
वीपीको राजनीतिक व्यक्तित्वलाई मूलतः ४ चरणमा विभाजित गर्न सकिन्छ। उनको विचार निर्माणमा प्रारम्भिक चरणको क्रान्तिकारी परिवेश महत्वपूर्ण देखिन्छ। सायद, यही चरणले उनलाई आजीवन विद्रोही बनायो। राणा शासनविरुद्ध सशस्त्र जनक्रान्ति २००७ सम्मलाई यही चरणमा राख्न सकिन्छ। त्यसपछि २०१८ सालमा प्रधानमन्त्री पदबाट बर्खास्त नहुँदासम्म बीपी संगठन, विकास र शासनमा केन्द्रित देखिन्छन्। सुन्दरीजलको बसाइ (२०१८—२५) देखि भारत निर्वासन र सशस्त्र आन्दोलन अवधि बीपीको वैचारिक परिपक्वताको चरण हो। तर, उनको चिन्तनमा यी सबै चरणभन्दा महत्वपूर्ण परिवर्तन २०३३ पछि देखिएको छ।
सायद, चतुर राजनीतिकर्मी भएको भए बीपीले सत्ताका लागि सम्झौताका उपाय अपनाउने थिए। राजनीतिक चतुर्यावइँको अभावले उनलाई राजनीति नुबझ्ने राजनेता बनायो। राष्ट्रियता र लोकतन्त्रप्रतिको चरम अनुराग तथा मानवतावादी दृष्टिकोणले उनी सबैभन्दा प्रभावशाली र सम्मानित राजनेता त भए तर सत्ता राजनीतिमा सफल भएनन्। ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर २०३३ मा निर्वासनबाट फर्केका बीपी त्यसपछि नै यथार्थमा ‘राजनेता’का रूपमा प्रकट भएका हुन्। अर्थात्, विदेशमा बस्ने र हतियार उठाउने नीति छाडेर नेपालमै बसेर अहिंसात्मक मार्ग अवलम्बन गर्ने उनको नीतिले राष्ट्रिय समर्थन पायो। यिनै नीतिका कारण विश्वेश्वरप्रसाद कोइराला राजनेता भए।

No comments:

Post a Comment