Tuesday, April 1, 2014

नक्कलको प्रतिप्रभाव


नेपालका राजनीतिक नेता र बुद्धिजीवी सामन्तवाद, पुँजीवाद, समाजवादजस्ता केही राजनीतिक थेगोको सेरोफेरोभन्दा बाहिर निस्कन सकेका छैनन्। तर, यी सबै शब्द अब लगभग असान्दर्भिक भइसके। यिनले स्वाभाविक अर्थ पनि गुमाइसकेका छन्। पश्चिमी राजनीतिक विचारकै सिको गरेर नेपाली समाजमा यी शब्द चलाइएका थिए। 
युरोपेली समाज उन्नतिको विभिन्न चरणमा क्रमशः अगाडि बढेको देखिन्छ। ईसाको सोह्रौ र सत्रौं शताब्दी युरोपेली 'पुनर्जागरण र सुधार’ को युग थियो। ग्रीक र रोमन सभ्यताको पुनरुत्थानपछि औद्योगिक क्रान्ति भएको थियो युरोपमा। त्यसपछि मात्र त्यहाँ आधुनिक र उत्तरआधुनिक प्रवृत्ति देखियो। यसैले त्यहाँ सामन्तवाद, पुँजीवाद, समाजवाद सबै लोकतन्त्रीकरणका क्रममा घोलिएर गए। पश्चिममा सामन्तवाद बिस्तारै गयो। पुनर्जागरण र सुधार तथा त्यसपछिको औद्योगिक क्रान्तिका कारण त्यहाँ सामन्तवाद धेरै समय टिक्न सकेन। पूर्वमा विशेषगरी चीन, भारतलगायतका मुलुकमा भने हतार गरियो। त्यसैले 'एन्टिबायोटिक’को मात्रा नपुगेजसरी सामन्तवादको रोग निको भएन।
नेपाली समाजको विकास भने चरणबद्धरूपमा भएको छैन। नेपाली साहित्यले स्वच्छन्दतावाद (रोमान्टिसिज्म) देखि अधियथार्थवादसम्मको यात्रा करिब ४० वर्षकै अवधिमा तय गरिसकेको थियो। राजनीतिमा पनि लगभग यस्तै प्रवृत्ति देखियो। विसं २००७ सालमा मात्र नेपालबाट जहानीयाँ शासन हटाइएको थियो। त्यसको ५८ वर्षभित्रै नेपालबाट बिनारक्तपात राजतन्त्र हट्यो। जननिर्वाचित संविधान सभाबाट मतदानकै प्रक्रिया अपनाएर राजतन्त्र समाप्त पार्ने निर्णय भयो। यस्तो तीव्र गतिमा राजनीतिक विकास अन्यत्र भएको छैन। राजनीतिक विकासमा नेपालले कसैको सिको गरेको होइन। यद्यपि, लोकतन्त्रका आधारभूत मान्यता भने नेपालमा पनि स्वीकार गरिएको छ।
नेपालमा महाथिर वा ली क्वान युको ढाँचा अनुकरण हुनसत्तै्कन र त्यो जनहितकारी पनि हुँदैन। यी दुवैको सोच चरम पुँजीवादी र अधिनायकवादी हो। तिनको मुलुकले भौतिक समृद्धि प्राप्त गरे पनि पुँजीवादको प्रतिअसर समाजमा पर्दै गएको छ। सिंगापुरमा विधिको शासनलाई महत्व दिएकाले आधुनिक उदार समाजमा प्रवेश गर्दा ठूलो झड्का नलाग्न सक्छ तर प्रतिपक्षी राजनीतिकर्मीलाई जाली मुद्दामा जेल हालेर शासन चलाउने महाथिरको शासनको प्रतिअसरका रूपमा मलेसियाली समाजले कुनै पनि बेला ठूलै उथपपुथलको सामना गर्नुपर्ने हुनसक्छ। त्यसमाथि मलेसियामा धनी र गरिबका बीचमा मात्र हैन धनीहरूकै बीचमा समेत ठूलो अन्तर भएको मुलुकमा पर्छ। 'दी वेल्थ रिपोर्ट, २०१४’अनुसार मलेसियामा अर्बपति र उच्च धनाढ्यको अनुपात १:३७ छ रे। सबैभन्दा नराम्रो अवस्था त भारतको रहेछ। त्यहाँ एक जना अर्बपतिका अनुपातमा २६ जनामात्र ३ करोड डलरभन्दा बढी सम्पत्ति भएका उच्च धनाढ्य रहेछन्। चीनमा यो अनुपात १:४४ रहेछ। चीन र भारतजस्तै उदीयमान अर्थतन्त्र भएका ब्राजिल र दक्षिण अफ्रिकामा भने यो अनुपात क्रमशः १:१२९ एवं १:११९ रहेछ। जापानमा सम्पत्ति वितरण सबैभन्दा सकारात्मक देखियो। त्यहाँ यसको अनुपात १:६०९ छ। जापानको जस्तो धेरै जना धनी हुने तर धेरै धनी भने अनुपातमा कमैै हुने ढाँचा अपनाउने कि मलेसिया वा भारत, चीनको जस्तो सम्पत्ति थोरै जनाको हातमा थुप्रिँदै जाने पद्धति रोज्ने? अझ नेपालीले त राम्ररी गुजारा चलाउने पद्धतिलाई पो प्राथमिकता दिनुपर्ने होला। नेपालीका लागि महाथिरको हैन बुद्धको शिक्षा बढी उपयोगी हुन्छ। बुद्ध, कौटिल्य, विदुर र शुक्रका उपदेश र नीतिबाट सार खिचिएको गान्धीको 'गर्जो टार्ने, लोभ नगर्ने' अर्थतन्त्र नेपालका हकमा दिगो र जनहितकारी हुनेछ।
राजनीतिको मानवीकरण गरिएमा मात्र व्यक्ति चिन्तनको केन्द्रमा हुन्छ। पश्चिमा व्यक्तिवाद र मानवीकरण समानार्थी शब्द हैनन्। मानवीकरण बुद्धको करुणामा बरु बढी जोडिन सक्छ। हामीले आर्थिक र राजनीतिक चिन्तनमा अन्तर्मुखी हुनसक्नुपर्थो। बहिर्मुखीमात्र हुँदा व्यक्ति सुखी हुन सकेन। यसको अर्थ भुटानको जस्तो 'खुसी’ को सूचकांक ( ह्यापिनेस इन्डेक्स) अनुसरण गर्ने पनि होइन। लोकतन्त्रका मूल्यलाई पूर्णतः आत्मसात गर्न नसक्ता भुटानको उन्नति खोक्रो देखिएको छ। देशको २० प्रतिशत जति जनसंख्यालाई उठीवास लगाएर शान्ति र समृद्धिको गुड्डी हाँक्नु यथार्थमा खोक्रो दम्भ नै हो। यस्तै, भारतले सस्तोमा खाना पकाउने ग्यास नदिनेबित्तिकै सरकारै बदलिने मुलुकको ऊर्जा विकासको कथा देश र जनताका लागि त्रू्कर व्यंग्यमात्रै हो।
नेपाली समाजले विकासका चरणहरूमा फड्को मारेको छ। लामो सामन्ती निद्राबाट बिउँझदा आधुनिक संसारमा पुगेजस्तो नाटकीय परिवर्तन देखिएको छ समाजमा। नेपाल एकैपटक आधुनिक युगमा प्रवेश गरिसकेको छ। नेपालले पुनर्जागरण, औद्योगिक क्रान्ति र पुँजीवादी संक्रमणको सबै चरण पार गर्नैपर्छ भन्नु मूर्खतामात्रै हो। अब सम्पत्ति र प्रगतिमा रहेको अन्तर कम गर्ने नीति अपनाउने हो भने नेपाली समाज छिटै नै सुखी र समृद्ध हुनेछ। व्यक्ति यथार्थमा स्वतन्त्र हुनेछ। आधुनिकतालाई भौतिक समृद्धिसँग जोड्ने सोच नै गलत हो। आधुनिकता त व्यक्ति, समाज, राज्यको मानसिकता र संस्कारमा प्रकट हुनुपर्छ। आधुनिक चिन्तनको केन्द्रमा व्यक्ति हुन्छ। यसैले मानवतावादी अद्यात्म आधुनिक जीवनशैलीको प्रमुख चरित्र हुनुपर्छ। तर, नेपाली राजनीतिमा मानवीय पक्ष उपेक्षित भएको छ। यसैले प्रगतिको प्रतिफल जनताले नपाएका हुन्। भूमिपुत्र भन्दै राजनीति गर्नेले वैदिक कालको 'माता भूमि पुत्रो हं पृथ्वा’ लाई हैन महाभारतकालको 'वीरभोग्या बसुन्धरा ’ लाई आत्मसात् गरे। अनि कसरी मिल्छ राजनीतिक संगति? यही सोचमा परिवर्तन आवश्यक छ।
र अन्त्यमा,
सडक बनाउँदा ह्विलचेयर चलाउनेको सुविधा वा बाटो काट्ने संकेत राख्दा दृष्टिहीनहरूको आवश्यकतालाई न हेर्नु विकासको अमानवीकरण हो। ट्राफिक प्रहरीले जेब्रा क्रसिङमा जम्मा भएका वा बाटो काट्न पर्खेर बसेका यात्रुलाई वास्ता नगर्ने संस्कार अमानवीय सामन्ती पुँजीवादको उदाहरण हो। फराकिलो सडक रहेछ भने नियम मानेर बाटो काट्ने यात्रुले आधा मिनेटको बाटो पार गर्न कम्तीमा पनि ५ मिनेट पर्खनुपर्छ। झमझम पानी परे पनि वा टन्टलापुर घाम लागे पनि जेब्रा क्रसिङबाट बाटो काट्नेलाई प्रहरीले हेप्छन् र मोटर चालकलाई मात्रै सजिलो हुनेगरी बाटो काट्न दिन्छन्। यो शासनमा रहेको सामान्य जनतालाई हेप्ने संस्कारको उदाहरण हो। सामान्य जनतामात्र हैन ट्राफिक प्रहरीको व्यवहार मोटर कार चड्ने र मोटर साइकल चड्नेप्रति पनि फरक हुन्छ रे। आलोपालो जस्तै दुवै साधन प्रयोग गर्ने एक जना मित्रले सुनाएअनुसार निजी मोटर हाँकेका बेला 'मापसे’को चेकजाँचमा भद्र बोली र व्यवहार गर्ने प्रहरीले मोटर साइकल चडेका बेला अलि हेप्छन् रे। त्यस्तो संस्कार भएका प्रहरीले पैदल यात्रुलाई हेप्नु कुन ठूलो कुरा भयो र? तर, संसारका सभ्य भनिएका समाज भने पहिले पैदल यात्रुको सुविधा हेरिन्छ, अनिमात्र मोटर चालकको। कार चड्ने त त्यहाँ नै धेरै हुन्छन् तर मानिसको सुविधाको बढी ख्याल गरिन्छ।
- See more at: http://www.nagariknews.com/opinion/story/15815#sthash.PUzyKtc8.dpuf

No comments:

Post a Comment