Tuesday, January 21, 2014

लोकतन्त्रको आत्मा


लोकतन्त्रको स्थापनामा जति अग्रसर हुने गरे पनि त्यसको अभ्यासमा नेपाली समाज कहिल्यै गम्भीर भएको देखिँदैन। यसैले होला लोकतन्त्रका आन्तरिक गुणहरूका विषयमा नेपाली समाजमा खासै बहस पनि हुँदैन । भएकै चर्चा पनि शासन पद्धतिजस्ता बाहिरी पक्षमा सीमित हुन्छ । यसको 'आत्मा’ राजनीतिक बहसमा मुख्य विषय बन्दैन । एकाध जनाबाहेक धेरै लोकतन्त्रको यान्त्रिक पक्षमै सीमित हुन्छन् । 
राजनीतिक छलफल गर्ने अभ्यास कम्युनिस्टहरूमा छ तर उनीहरू मार्क्सको पुराणभन्दा अगाडि बढ्नै सत्तै्कनन् । शताब्दीयौँ पुरानो दृष्टिकोणबाट हेरेर आजको समाज र राजनीतिको व्याख्या गर्नु हास्यास्पद निरर्थक अभ्यास हो । त्यसमाथि मार्क्सवाद उदार लोकतन्त्रको प्रतिवादमा प्रतिपादित विचार हो । मार्क्सवादी चस्मा लगाएर लोकतन्त्रको अन्तरात्मा देख्नै सकिँदैन । लोकतान्त्रिक कहलिएको नेपाली कांग्रेसमा त झन् बहसको संस्कारै छैन । नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिआएको कांग्रेसका नेताहरूमा बीपी कोइरालाबाहेक अरूले राजनीतिक बहसमा उल्लेख गर्नुपर्ने कुनै विचार दिन पनि सकेका छैनन् । बीपीकै विचारको पनि विवेचना प्रदीप गिरि र नरहरि आचार्यबाहेक अरूले गरेका छैनन् । यिनीहरू पनि विचारका दृष्टिले बीपीभन्दा नयाँ देखिन सकेका छैनन् । यस क्रममा केही दिन पहिले कहलिएका माओवादी विचारक डा. बाबुराम भट्टराईले 'कम्युनिस्टहरूको कल्याणका लागि’ उन्नत (हाइब्रिड लोकतन्त्र)को खोजीमा एउटा लेख छपाएका छन् । उनको लेखलाई ( के देखेर हो कुन्नि ?) विख्यात बुद्धिजीवी डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमार्फत् सराहना गरेका छन् । आफूले ३० वर्षदेखि सोचेको विचार भट्टराईको लेखमा व्यक्त भएकोमा डा. पाण्डे फुरुंगै परेका छन् । पत्रकार प्रतीक प्रधानले डा. भट्टराईकै लेख र विचारलाई लक्षित गरेर लेखेको लेखमा लोकतन्त्रका केही मान्यताको उल्लेख गर्दै बाबुरामजीलाई लोकतान्त्रिक हुन चुनौती दिएका छन् । यी सबै विवेचना लोकतन्त्रको 'आवरण' र 'आभूषण'मै केन्द्रित र सीमित रहे पनि यस विषयमा थालिएको बहस भने अगाडि बढ्नु आवश्यक छ । 
राजनीतिमा धेरै प्रचलनमा ल्याइने वामपन्थी, मध्यमार्गी र दक्षिणपन्थी शब्द यथार्थमा जनतालाई अलमल्याउने थेगोमात्रै हो । संसारका सबै राजनीतिक सिद्धान्त र वादलाई उदार र अनुदार गरेर २ कोटीमा मात्र बाँडे पुग्छ । व्यक्तिलाई सर्वोपरि मान्ने सिद्धान्त उदार हो र अरू कुनैमा केन्द्रित वाद अनुदार हो । अनुदारवादीमा राष्ट्रवादी, समाजवादी, कम्युिनस्ट, पुँजीवादी सबै पर्छन् । यीमध्ये कतिपयले लोकतान्त्रिक प्रक्रिया अपनाए पनि ती उदारवादी हैनन् । उदारवादले व्यक्तिलाई केन्द्रमा राख्छ र बलियो बनाउन चाहन्छ । अनुदारवादीहरू मात्रा, प्रकृति र शैलीमा फरक भए पनि राज्यलाई बलियो बनाउन चाहन्छन् । यसरी हेर्दा नेपालमा सही अर्थमा उदार लोकतन्त्रवादी दल छैनन् । नेपाली कांग्रेस २०१२ सालपछि समाजवादी भयो र २०४८ सालपछि बढी नै पुँजीवादी प्रभावमा पर्यो्। यद्यपि, यसको स्थापना भने उदारवादी लोकतान्त्रिक दलकै रूपमा भएको हो । कम्युनिस्टहरू एमाले र माओवादी नीतिगत आधारमा अनुदार राज्यवादी दल हुन् । यिनको कम्युनिस्ट नाम जनता अलमल्याउन 'देखाउने दाँत’ मात्र हो । त्यसो त रुसले वा चीनले अभ्यास गरेको कम्युनिज्म नै पनि राज्य नियन्त्रित पुँजीवादै हो । हेनरी फोर्डको विकास नमुनाकै यिनले सर्वसत्तावादी ढाँचामा अनुसरण गरेका हुन् । व्यक्ति अमेरिकाको पुँजीवादमा मात्र हैन त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएका कम्युनिस्ट शासनमा पनि केन्द्रमा थिएन ।
नेपालका सन्दर्भमा लोकतन्त्रको चर्चा गर्दा समाजको सामन्ती स्वरूप र संरचनालाई बिर्सनु हुँदैन । राणाहरूको जहानियाँ शासन सर्वसत्तावादी र सामन्ती प्रकृतिको थियो । सामन्ती शासनमा सामान्य व्यक्तिलाई पशुवत् व्यवहार गरिन्छ । प्रजा राजाको सम्पत्ति मानिन्छ । कम्युनिस्ट शासकहरूले पनि सामन्ती संस्कारलाई नै पार्टीका नाममा स्थापित गरे । मुखले 'कमरेड’ भन्ने र व्यवहारमा खोला तर्दा कार्यकर्ताको बुइ चड्ने नेपालका कम्युनिस्ट नेताको प्रवृत्ति चीन वा रुसका कम्युनिस्टको नक्कलमात्र हैन नेपाली समाजको सामन्ती संस्कार उपज पनि हो । 
नेपालमा राणा शासन ढलेपछि पनि सामन्ती संस्कारलाई बदल्न बीपी कोइरालाबाहेक अरूले चाहेको देखिँदैन । बिस्तारै सामन्ती संस्कारलाई अभिजात्य वर्गको चरित्रका रूपमा स्थापित गरियो नेपाली समाजमा । मन्त्री हुनेबित्तिकै 'आज्ञा’ र 'स्योस् ’ सुन्न मन लाग्नु मानसपटलमा बसेको सामन्ती संस्कार हो । अहिलेसम्म पनि त्यो बदलिएको छैन र कसैले बदल्न खोजेको पनि देखिएन । बरू सबै व्यक्तिका बीचमा विभेद बढाउने त्यसै प्रवृत्तिलाई स्थापित गर्नतिर प्रवृत्त भए । सत्ता र समाज बदल्ने भनेर हजारौं व्यक्तिको प्राणाहुति गराउनेे माओवादी नेताहरूले त झन् सामन्ती संस्कारलाई व्यवहारमै स्थापित गरे । पुष्पकमल दाहालको राजसी तामझाम यसैको उदाहरण हो । 
सामन्ती संस्कार र सत्ता एक अर्काका पर्याय र तथा पूरक बनेकाले नै नेपाली जनताले राज्यलाई अहिलेसम्म आफ्नो ठान्न सकेका छैनन् । त्यही कारणले सकेसम्म सामान्य व्यक्ति राज्य संयन्त्रको नजिक पर्नै चाहँदैन । त्यस्तो अवस्थामा जनताले राज्यमा स्वामित्वको अनुभूति गर्ने त प्रश्नै उठ्दैन । यसैले नेपालको लोकतन्त्रलाई खोक्रो बनाएको छ । फलस्वरूप, सामाजिक सुरक्षालगायत नागरिकका अधिकार चरितार्थ गर्ने प्रयास पनि 'राजाले प्रजालाई कृपा’ गरेकै सरह ठान्ने सोच नेपाली बुद्धिजीवी, संचारकर्मी सबैमा छ । नागरिकले पनि त्यसलाई अधिकार ठान्नसकेका छैनन् । हामीले प्रयोग गर्ने भाषामा यो सोच अभिव्यक्त हुन्छ । जनतालाई 'आम’ र 'खास’ वर्गमा विभाजित गर्नु, राज्यले दिने र जनताले पाउनेजस्ता प्रयोगमा सामन्ती सोच भाषिकरूपमा मूर्त भएको हुन्छ । यसैले हाम्रो राज्यले विद्यार्थीलाई पढ्न अनुदान उपलब्ध गराउँदैन तर शिक्षकलाई तलब दिन्छ । विद्यार्थीलाई आरक्षण वा यस्तै केही नाममा वृत्ति दिन्छ । बिरामीको उपचारको हक सुरक्षित गर्दैन बरु डाक्टरलाई तलब दिन्छ । शिक्षक र डाक्टरले दुवैले सत्ताको प्रतिनिधित्व गर्छन् । बिरामी र विद्यार्थी जनता हुन् ।
लोकतन्त्र जनताको जीवनमै चरितार्थ गर्ने हो भने यो राज्यवादी सामन्ती सोच र संस्कार परिवर्तन गर्नुपर्छ । उदार लोकतन्त्रको मर्म यही हो। उदारवाद पुँजीवाद हैन र उपभोक्तावाद पनि हैन । उदारवाद त मानववाद हो । उदारवाद यथार्थमा राजनीतिक पद्धतिकोे संकीर्णताबाट मुक्त सिद्धान्त हो । यसमा लोकतन्त्रका शाश्वत मूल्य र मानवीय मर्यादा भने अपरिहार्य हुन्छन् । उदार लोकतन्त्र अपनाउने हो भने यसका सर्वव्यापी मान्यता पनि आत्मसात् गर्नुपर्छ । यस्ता मान्यता आत्मसात् गर्दा माटो, हावा, पानी सुहाउँदो बनाउन खोज्नु हुँदैन । त्यस्तो खोजीमा लागु गरिएका निर्देशित, आधारभूत, पञ्चायती नामका व्यवस्था असफल भइसकेका छन् । किन त्यही विफलता दोहोर्यागउने ? जनतालाई शासनमा सहभागी गराउनुको अर्थ उनीहरूलाई साक्षी राखेर ठालु अगुवाले निर्णय गरिदिनु हैन । सीमित व्यक्तिले जुन नाममा शासन गरे पनि त्यो ठालुतन्त्रै हो । व्यक्तिको सर्वोच्चतामा विश्वास गर्ने र सबै विषयलाई त्यही आधारमा हेरेर निर्णय गर्ने पद्धतिमात्र उदार लोकतन्त्र हुनसक्छ । विश्वेश्वरप्रसाद कोइरालाले 'सुम्निमा’ उपन्यासकी नायिकाको मुखबाट भनेजस्तै 'मानिसभित्रको 'मनुवा’को’ सर्वोपरिता स्वीकार्ने राजनीतिक, आर्थिक र सामाजिक प्रणालीमात्र एक्काईसौं शताब्दीको लोकतन्त्र हुनसक्छ ।
आर्थिक तथा सामाजिक नीति भने माटो र हावा सुहाउँदो हुनुपर्छ । बजारले व्यक्तिलाई सुविधा दिएसम्म त्यसलाई स्वतन्त्र रहन दिनुपर्छ तर गिरोहबन्दी गरेर उपभोक्तालाई बन्धक बनाउने र दोहन गर्ने छुट बजारलाई दिनु उदार लोकतन्त्रको मर्मअनुुरूप हुँदैन । राज्य चाहिने नै बलियो बजार वा संस्थाको थिचोमिचो र शोषणबाट व्यक्तिलाई जोगाउनका लागि हो ।
नेपालमा नयाँ राजनीतिक संस्कारको विकासका लागि अग्रसर हुने उपयुक्त समय आएको छ । विशेषगरी हिंसात्मक आन्दोलनमा संलग्न नभएकाहरू नयाँ संस्कारको विकासका लागि अगाडि बढ्न सक्छन् । कांग्रेस, एमाले, माओवादी र राप्रपालगायत अहिले परिदृश्यमा रहेका दलका नेता कुनै न कुनै बेला हिंसामा विश्वास गर्थे । त्यसले गर्दा उनीहरू साध्य र साधन दुवैको पवित्रतालाई समान महत्व दिन प्रतिबद्ध देखिँदैनन् । सहमतिका नाममा तिनले बेलाबखत गर्ने अलोकतान्त्रिक र अनुदार निर्णयहरू त्यसैको उदाहरण हो । यथार्थमा व्यक्तिलाई स्वतन्त्र, समान र सक्षम बन्न सहायक हुने गरी राज्य सत्ताको परिवर्तन गर्ने लोकतान्त्रिक अभियान अहिलेको आवश्यकता हो । कांग्रेस र एमालेमा २०३६ सालपछि लागेका युवा यसका निम्ति अग्रसर हुनसके विकल्प खोजिरहनु पनि परोइन । नत्र, नयाँ अनुहार राजनीतिमा आउनु आवश्यक हुन्छ ।

No comments:

Post a Comment