Tuesday, August 13, 2013

थाम्न गाह्रो इज्जत


भन्छन्, इज्जत आर्जन गाह्रो हुन्छ। आर्जनभन्दा पनि इज्जत जोगाउन गाह्रो हुन्छ। नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भारतले यस पटक राम्रै इज्जत दियो। भारतलाई राम्ररी चिनेका पत्रकार युवराज घिमिरे डिजिटल पत्रिका सेतोपाटीमा लेख्छन् — '...कोइरालाको यात्रालाई साँच्चै नै राजकीय हैसियतको स्वरूप दिइयो। सोनिया गान्धीसँग हात मिलाउँदै 'पोज गरेको’ फोटो वितरित गरियो यसपल्ट। त्यतिमात्र हैन औपचारिक या राजकीय भ्रमणमा दिल्ली आउने महत्वपूर्ण अतिथिहरूलाई गान्धी समाधि (राजघाट) लगिने चलन छ। तीन पूर्वप्रधानमन्त्रीहरूलाई भन्दा फरक व्यवहार प्रदान गर्दै कोइरालालाई राजघाट पनि लगियो।’ पूर्वप्रधानमन्त्रीहरूलाई भन्दा बढी सम्मान दिने भारत सरकारको व्यवहार हेर्दा यसपटक बाबुहरूको हैकम नचलेको भान हुन्छ। नत्र, कर्मचारीतन्त्र बढी नै मर्यादाक्रम खोज्ने गर्छ। त्यसमाथि घिमिरेकै शब्द सापटी लिँदा काठमाडौंस्थित भारतीय दूतावासले त सुशील कोइरालालाई ' भारतविरोधीका रूपमा चित्रित गर्दैआएको’ छ।

जेहोस्, सुशील कोइरालालाई भारतले पहिलोपटक गम्भीररूपमा लिएको देखियो। नत्र, कांग्रेसभित्र चलखेल गर्न र सभापति कोइरालालाई एक्ल्याउन भारतीय बाबुतन्त्रले कांग्रेसभित्र र बाहिरका आफ्ना गुमस्तालाई समेत प्रयोग गर्दैआएको थियो। त्यसरी प्रयोग हुनेमा कांग्रेसभित्रै पनि शल्य, शकुनि र शिखण्डीका भूमिकामा देखिएका थिए। 
(महाभारतका यी पात्रहरूको प्रवृत्ति पनि उल्लेख गरौँजस्तो लाग्यो। महाभारत युद्धमा पाण्डवका पक्षबाट लडाइँ गर्न सेनासहित कुरुक्षेत्र आएका मद्र नरेश शल्य झुक्किएर कौरवको शिविरमा पुग्छन् र स्वागत सत्कार ग्रहण गर्छन्। उनलाई कौरवका पक्षबाट लड्नुपर्ने नैतिक वाध्यता हुन्छ। शल्य नकुल र सहदेवका मामा हुन्। युधिष्ठिर शल्यलाई भेट्न जान्छन् र सहयोग माग्छन्। शल्यले दुर्योधनका तर्फबाट युद्ध गरे पनि पाण्डवको भलो गर्ने वाचा गर्छन्। कर्ण सेनापति भएपछि शल्यलाई उनको सारथि बनाइन्छ। तर, पाइलै पिच्छै अर्जुनको प्रशंसा गरेर शल्यले कर्णको मनोबल कमजोर तुल्याउँछन्। एउटाको नजिकबसेर अर्काको भलो गर्ने चरित्रलाई शल्य भन्ने गरिन्छ।
बहिनी गान्धारीको हस्तिनापुरका जन्मान्ध राजकुमार धृतराष्ट्रसँग बिहा गरिदिनु परेकोमा गान्धारका राजकुमार शकुनिको चित्त दुखेको थियो। भीष्मको पराक्रमको उनी सोझै सामना गर्न सत्तै्कन थिए। यसैले उनले कपटखेल रचे। हस्तिानापुर दरबारमा बसेर उनले कौरव र पाण्डवबीच शत्रुता गराउने, दुर्योधनको महत्वाकांक्षा बढाउने र जुवामा छल गरेर पाण्डवहरूको राज्य हरण गर्ने षड्यन्त्र गरे। शकुनि भलो गरेको देखाएर कुभलो गर्ने चरित्र हो।
महाभारतअनुसार शिखण्डी पूर्वजन्ममा काशी नरेशकी छोरी अम्बा थिइन्। उनले राजा शल्वलाई पति वरेकी थिइन् र स्वयंवरका अवसरमा माला लगाउने ताकमा थिइन्। नियतिलाई मन्जुर भएन। स्वयंवर समारोहबाटै अम्बालाई अरू दुई बहिनीहरूसहित हरण गरेर भीष्मले भाइ विचित्रवीर्यसँग विवाह गर्न हस्तिनापुर लगे। अम्बाले आफूले शल्वलाई पति भजेको भनेपछि भीष्मले जान दिए। शल्वले अरूले लगेकी नारीलाई पत्नी स्वीकार नगर्ने भने। फर्केर हस्तिनापुर आइन्। यता भीष्मले पनि अरूलाई भजेकी नारी भन्दै तिरस्कार गरिदिए। अन्ततः तपस्या गरेर उनले महादेवसँग भीष्मलाई मार्ने वर पाइन्। द्रौपद पुत्रीकारूपमा पुनर्जन्म भयो। लिंग परिवर्तन भएर उनी पुरुष भए र महाभारत युद्धमा पाण्डवका तर्फबाट सहभागी भए। युद्धमा अर्जुनका सारथि कृष्णले शिखण्डीलाई अगाडि सारेर भीष्ममाथि वाण बर्साउन लगाए। अर्कैको स्वार्थमा प्रयोग हुने पात्रलाई शिखण्डी भनिन्छ।)
नेपाली कांग्रेस स्थापना कालदेखि नै शल्य, शकुनि र शिखण्डीहरूले भरिएको छ। यिनैका नयाँ अवतार त हुन् 'तर्बुजा कांग्रेस’ अर्थात् मन, वचन र कर्मले कम्युनिस्ट तर आवरणमा लोकतन्त्रवादी! कांग्रेसलाई एनेकपा (माओवादी)को 'बी’ टिम बनाउनेहरू निर्णायक रहिरहँदासम्म तिनले राष्ट्रियता र लोकतन्त्र कमजोर पार्न सबैभन्दा पहिले नेपाली कांग्रेसलाई आफ्नो धर्मबाट च्युत गराउने प्रयास छाड्ने छैनन्। कारण, कांग्रेसजनमा सिद्धान्तनिष्ठाले महत्व पाउनेबित्तिकै तर्बुजाहरूको हैकम जो समाप्त हुनेछ।
भारतले साँच्चै नै सुशील कोइरालाई उचित सम्मान दिएर गल्ती सच्याउन खोजेको हो भने त्यो स्वागतयोग्य नै हो। हुनत, सम्मान पात्रताका आधारमा निर्धारित हुन्छ। तैपनि, कोइरालालाई उचित महत्व दिन पुष्पकमल दाहाल वा शेरबहादुर देउवाको अवमूल्यन गर्नुपर्ने चाहिँ थिएन। कतै यो कोइरालालाई अनुगृहित र अति महत्वाकांक्षी बनाउने र देउवासमेतका मनमा डाहा उमार्ने खेल त हैन? निधो अहिले नगरी हालौँ। तैपनि, कतै न कतै पूर्वप्रधानमन्त्रीहरूको मनमा चिसो चाहिँ पक्कै पसेको हुुनुपर्छ। र त्यही चिसोलाई लैनचौरका बाबुहरूले इबी साध्ने आगो बनाएर ताप्न सक्छन्।
यसो त, नेपाली कांग्रेसको अहिलेको नेतृत्वले पार्टीको ऐतिहासिक गरिमा धान्न नसकेरमात्रै हो नेपाली जनताले पनि लोकतन्त्रका सबै संघर्षको अगुवाइ गरेबापत कांग्रेसलाई पटकपटक मौका दिएकै हुन्। नेपाली अलि भावुक र भुलक्कड छन् तर बैगुनी चाहिँ छैनन्। नेपाली कांग्रेस दक्षिण एसियाको राजनीतिमा सम्मानकै पात्र पनि हो। बर्माको नेसनल लिग फर डेमोत्रे्कसी सत्तामा पुग्यो भने पनि कांग्रेसका नेतालाई यसरी नै सम्मान दिन सक्छ। बंगलादेशको अबामी लिगले त नेपाली कांग्रेसको गुन त के रिनसम्म पनि तिर्न सकेको छैन। जेहोस्, सभापति कोइरालालाई दिइएको पछिल्लो सम्मान धान्न पनि कांग्रेसलाई निकै कठिन हुने देखिन्छ।
कांग्रेस अहिले राष्ट्रियता र लोकतन्त्र धान्ने झिक्रो हुनुपरेको छ। विडम्बना, आफ्नै पार्टीको इतिहास ब्याजको राजनीतिमा रमाउने अहिलेका नेतालाई गह्रुंगो भएको छ। नेपाली कांग्रेसले फेरि पनि राष्ट्रियता र लोकतन्त्र अविभाज्य र अन्योन्याश्रित हुन्छन् भन्ने स्थापनादेखिको सिद्धान्तप्रति प्रतिबद्धता देखाएर जनविश्वास आर्जन गर्नुपर्छ। मदारीहरू चर्का नारा लगाएर भिड बटुल्न सिपालु हुन्छन्। कहिले गाई काट्ने अनि कहिले भैँसी पूजा गर्ने उत्ताउलो विचलन कांग्रेसका नेतालाई सुहाउँदैन। कांग्रेसले जनतालाई तमासा हैन बाटो देखाउनुपर्छ। अनिमात्र यो पार्टी माओवादीको 'बी टिम’हुनबाट जोगिनसक्छ।
अब संघीयताबाट पछि हट्न मिल्दैन। तर संघीयताका नाममा देशमा विखण्डन र विभेद बढाउन खोज्नेहरूभन्दा कांग्रेसले बेग्लै अडान राख्नसक्नु पर्छ। संघीयता लोकतन्त्रमा मात्र सम्भव हुन्छ। विडम्बना, कम्युनिस्ट र साम्प्रदायिक शक्तिहरू संघीयताका प्रवक्ता बनेका छन् र कांग्रेसलाई संघीयता विरोधी भनेर हल्ला मच्चाउँदै छन्। कांग्रेसले भरपर्दो उत्तर दिनसकेको छैन।
शासकीय स्वरूपमा पनि संसदीय पद्धतिप्रतिको अडानमा कांग्रेस विचलित हुनु हुँदैन। अभ्यासका क्रममा यसको स्वरूपका विषयमा लचिलो भए हुन्छ। तर, कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन गर्ने पद्धति नेपालले अपनाउँदा शक्ति केन्द्रित भएर अधिनायकवादी लादिने र विदेशी चलखेलका लागि सजिलो हुनेछ। प्रत्यक्ष निर्वाचित व्यक्तिले सम्झौता गर्न सकेन भने मुलुक गतिरोधको भुमरीमा फस्छ। इजिप्टको हालैका घटनाबाट नेपालले सिक्नु उचित हुन्छ। संसदीय पद्धति हुँदो हो त मोहमद मोर्सीलाई हटाउन परे पनि अर्को लोकतान्त्रिक विकल्प निस्कने थियो र हटाउने आँट गर्न सेनालाई पनि सजिलो हुने थिएन।
संसदीय पद्धति भन्नेबित्तिकै वेस्टमिन्स्टर पद्धतिलाई जस्ताको तस्तै अपनाउनु जरुरी छैन। संसद्मा जनसंख्याको संरचनाअनुसारको प्रतिनिधित्व सुनिश्चित् गर्नुपर्छ। यसका लागि उपयुक्त निर्वाचन प्रणाली छान्न सकिन्छ। समानुपातिक प्रतिनिधित्वको अभ्यास त हामीले गरी नै सकेका छौँ। यसैगरी संसद्बाट सरकार बनोस् तर त्यो जनउत्तरदायी पनि होस्। संसद्मा बहुमत हुनेबित्तिकै प्रतिपक्षलाई उपेक्षा गर्ने तीतो अनुभव हामीले गरेका छौं। विगतमा २०४८, २०५१, २०५६ मात्र हैन २०६४ मा गठित संसद्मा विपक्षतिर ढल्केर सत्ता पक्षले सन्तुलन कायम गर्न नसकेकाले दुर्घटना भएको हो। वास्तवमै स्वतन्त्र र सक्षम न्यायपालिकाले सन्तुलनलाई सहज बनाउँछ। यी सबै लोकतन्त्रका अनिवार्य तत्व हुन्। यसैले कांग्रेसले यस्ता विषयमा सम्झौता गर्न मिल्दैन।
विचारमा मात्र हैन कांग्रेस आचारमा पनि माओवादीको 'बी’ टिम बन्न छाड्नुपर्छ। वाईसीएलले बन्द गरेर कार्यकर्ता छुटायो वा अपराधीलाई जोगायो भनेर तरुण दलले पनि त्यसै गर्नु पतनतिर उन्मुख हुनु हो। सार्वजनिक अपराधमा समातिएका व्यक्तिलाई छुटाउन बन्द गरिरहने हो भने कांग्रेसको लोकतान्त्रिक साखमै प्रश्न उठ्नेछ। तर्बुजा कांग्रेसहरूलाई चितवन बन्द गरेर कार्यकर्ता छुटाउन दबाब दिनु अनुचित नलाग्न सक्छ। तर, त्यो विधिको शासन स्वीकार नगर्ने मानसिकताको उपज हो। लोकतन्त्र मान्ने हो भने त्यसका अप्ठेराहरू पनि स्वीकार गर्नुपर्छ।
इजरायलमा साना दलहरूको 'ब्ल्याकमेलिङ’बाट आजित र प्रत्यक्ष निर्वाचनमा निश्चित् प्रतिशतको सीमा राख्ने संशोधन प्रस्ताव दर्ता हुँदैछ। नेपालमा पनि अरूको अनुभवबाट सिक्नु जरुरी छ। इजरायल शत्रुहरूबाट घेरिएको छ। उसलाई अस्तित्व जोगाउनै संघर्ष गर्नु परेको छ। यसो त नेपाल मित्रहरूबाट घेरिएको छ। फेरि पनि अस्तित्व जोगाउन त धौधौ नै छ।
यस अवस्थामा कांग्रेसले राष्ट्र र जनताको हित, जनताका उद्दाम महत्वाकांक्षा र लोकतान्त्रिक मूल्यको सँगसँगै रक्षा गर्नुपर्छ। राष्ट्रियता र लोकतन्त्रबीचको अन्योन्याश्रित सम्बन्ध जनतालाई बुझाएर तिनको विश्वास लिनसक्नुपर्छ।
कांग्रेसको लोकतान्त्रिक साखमा अहिलेसम्म सैद्धान्तिक सन्देह गरिएको छैन। यसैले अब कांग्रेसले पुनः लोकतन्त्र र राष्ट्रियताका पक्षमा दह्रोसँग उभिनुपर्छ। माओवादीको 'बी’टिम बनेर इतिहासमा कमाएको इज्जत जोगिँदैन। ऐतिहासिक गौरव र सामयिक दायित्व बोध गर्ने हो भने कांग्रेस अब लोकतन्त्र र राष्ट्रियताका पक्षधरहरूको छहारी हुनसक्नुपर्छ।
अनिमात्र नेपाली कांग्रेसको गौरव र साख जोगिनेछ!

No comments:

Post a Comment