Wednesday, March 20, 2013

खुसीका क्षणहरू

१. सेवाको सन्तोष 

आज विश्व खुसी दिवस ( World Happyness Day)  हो रे ! जीवनमा सबैभन्दा खुसी भएका क्षणहरू सम्झन मन लाग्यो। यसो त ससाना घटनामा पनि खुसी हुने बालसुलभ बानी छ मेरो। रिस पनि छिटै उठ्छ र साम्य हुन्छ। रिसाउन्न भन्यो सक्तै सक्तिन। रिसलाई छाडौँ। कहिल्यै नर्बिसने खुसीका दुई क्षणहरू यहाँ प्रस्तुत गर्न मन लाग्यो। विसं २०४१/४२ तिर हुनुपर्छ। म तनहुँ रेडक्रसको सभापति थिएँ। मोतिबिन्दुका लागि आँखा शिविर सञ्चालन गर्ने निर्णय भयो। पोखराबाट डाकटरहरू आउने भए। हामीले बिरामीलाई खाने र बस्ने प्रबन्ध मिलाउनु पर्ने भयो। दमौली बजारमा चन्दा उठाइयो। अलिकति पैसा तनहुँ जिल्ला पञ्चायतले पनि दियो। कम्बल रेडक्रससँग थियो। परालमाथि कम्बल ओछ्याएर जिल्ला सभा गृहलाई आवास र उपचार कक्ष बनाइयो।   

अपेक्षा गरेभन्दा बढी नै बिरामी आए। धेरैजसा ६०-७० वर्षका थिए। अपरेसन गर्नुपर्ने जतिलाई भर्ना गरियो। पालैसँग डाक्टरहरूले अपरेसन गरे। डा. केशव अधिकारीले गरेको परिश्रम अझै सम्झन्छु। बिरामीहरू अधिकांश परिवारले हेपेका हेला गरेकामध्येका रहेछन्। अधिकांशले स्पष्ट देख्न छाडिसकेका थिए। धेरैका परिवारले त्यहाँ भर्ना गरेपछि छाडेर हिँडेका थिए। त्यसैले आँखाको अपरेसन गरेका ती बूढाबुढीको स्याहार पनि गर्नुपर्थ्यो। बूढाबुढीलाई दिसापिसाब गर्न पनि चौरसम्म लैजानुपर्थ्यो। केही साथीहरू स्वयंसेवकका रूपमा सेवारत थिए। म पनि तिनैसँग रातदिन त्यही बसेको थिएँ। आँखाको पट्टी खोल्ने दिन आयो। डाक्टरहरूले बिरामीलाई सोध्न  थाले - पहिले कस्लाई हेर्ने? बिरामीहरू कसैले डाक्टरकै मुख हेर्ने भने। कसैले सन्तानको नाम लिए। यस्तैमा एक जना बूढी आमाको पालो आयो। उनले भनिछन् - मलाई दिसापिसाब गराउने बाहुन नानीको मुख हेर्छु ! म अलि पर कसैलाई केही सम्झाउँदै थिएँ। मेरो स्वर चिनेर उनले संकेत गरिछन्। डाक्टरले मलाई बोलाएर ती आमाको पट्टी समाउन भने। अनि आमाले सबैभन्दा पहिले मेरो मुख हेर्न खोजेको जानकारी दिए। म हर्ष विभोर भएँ। अवाक् भएछु। गहभरि आँसु भए। मैले जीवनमा सबैभन्दा ठूलो पौरख गरेजस्तो आनन्द भयो। अनिदो, भोक, थकाइ सबै मेटिएजस्तो लाग्यो। खुसीको त्यो क्षण म कहिल्यै बिर्सन सक्तिन। 

२. डाक्टरको धर्म

मेरो ठूलो छोरा पवनलाई मेनेन्जाइटिस भएको थियो। उपचारपछि पनि राम्रो निको भएन। आँखा गडबड हुन थाल्यो। डा. उपेन्द्र देवकोटालाई देखाउन पाए हुन्थ्यो भन्ने लाग्यो। चिनेका अर्को बिरामीको पालोमा पवनलाई पनि लगेर देखाएँ। उनले बिरामी देख्नेबित्तिकै रोग चिने। तत्काल अपरेसन गर्नुपर्छ भने। वीर अस्पतालमा अपरेसन गर्नलाई उनले भर्ना गरिदिए। अपरेसन गर्ने दिनमा सबै तयारी गरियो। तर, नेपाल मेडिकल एसोसिएसनले त्यो दिन हडताल गर्न आह्वान गरेको रहेछ। बिहानै नेता टाइपका डाकटर आएर अपरेसन नहुने सूचना दिए। म आत्तिन थालेँ। बाबु पनि आत्तिइसकेको थियो। यस्तैमा ९ बजेतिर डाक्टर देवकोटा आए र अपरेसनको तयारीका लागि सामान किन्न भने। हडताली डाक्टरहरू पनि आए। देवकोटाले भने - २१ /२२ वर्षको एक जना युवक मर्ने बाँच्ने दोसाँधमा छ। तिमीहरू आफ्ना सानातिना मागका लागि उसको अपरेसन नगर भन्छौ। मेरा लागि यो अपरेसनभन्दा महत्वपूर्ण केही छैन। हडतालमा नैतिक समर्थन छ।  
अपरेसन सफल भयो।  छोरालाई घर लिएर आउने दिन झुलुक्क डा. देवकोटालाई देखेँ। उनलाई धन्यवाद भन्न खोजेको त हर्षले बोल्नै सकिन। उनले मेरो काँध थपथपाए र मुसुक्क हाँसेर भित्र पसे। त्यो क्षण म अहिले पनि सम्झन्छु । 

No comments:

Post a Comment