Wednesday, September 28, 2011

बदलिएको विश्व

नयाँ सहस्राब्दी शान्ति, समृद्धि र स्वतन्त्रताको हुने अपेक्षा धेरैले गरेका थिए। हुन पनि सोभियत साम्राज्यको पतनसँगै 'शीतयुद्ध' सकिएको थियो। समृद्ध, उदार र लोकतान्त्रिक अमेरिकामात्र विश्व महाशक्तिका रूपमा बाँकी थियो। अल कायदा, तालिबानजस्ता संगठनहरूको फाटफुट नाम सुनिए पनि तिनले संसारकै भाग्य र भविष्यमा ग्रहण लगाउनसक्लान् भन्ने कसैले पत्याएको थिएन। शीतयुद्धताका चर्को स्वरमा 'अमेरिकी साम्राज्यवाद'को विरोध गर्नेहरू पनि बर्लिनको पर्खाल ढलेको उत्सवमा सामेल हुन थालेका थिए। अमेरिका सबैको सपनाको संसार बन्न पुगेको थियो।
अचानक, सन् २००१ को सेप्टेम्बर ११ मा अल कायदासम्बद्ध आतंककारीले अमेरिकी वैभवको प्रतीक मानिने न्युयोर्कस्थित विश्व व्यापार केन्द्रको भवन 'टि्वन टावर' मा हवाइजहाज ठोकाएर ध्वस्त पारिदिए। एकमात्र विश्व महाशक्ति अमेरिकाको शक्तिको प्रतीक मानिने राजधानीस्थित रक्षा मन्त्रालयको भवन 'पेन्टागन'मा पनि त्यही प्रकृतिको आक्रमण भयो। अर्थात्, अमेरिकाको वैभव र शक्ति दुवैमाथि आक्रमण भयो। धेरैले त्यसलाई उदार समाज र लोकतान्त्रिक मूल्यमाथिको आक्रमण ठाने। अमेरिकालाई माया गर्नेहरू त बढी नै विचलित भए।
आतंककारी समूहले नियोजितरूपमा हवाइजहाज ठोकाएको ठहर भएपछि अमेरिकाले निकै चर्को प्रतिक्रिया व्यक्त गर्‍यो। राष्ट्रपति जर्ज बुसले 'आतंकविरुद्ध युद्ध'को घोषणा गरे। संसारले अमेरिकालाई साथ दियो। आतंकविरुद्ध अपूर्व विश्व एकता देखापर्‍यो। विशेषगरी पश्चिम युरोपले अमेरिकाको गुन तिर्‍यो। अल कायदा र तालिबानको 'आश्रय' मानिएको अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले अमेरिकी नेतृत्वमा सैनिक कारबाही गर्‍यो। त्यति बेलासम्म पनि विश्व जनमत अमेरिकाकै पक्षमा थियो। यही समर्थन र सद्भावको सहमा राष्ट्रपति बुसले घोषणा गरे- ' जो हाम्रा पक्षमा छैनन्, उनीहरू हाम्रा विरोधी हुन्।' बुसको त्यही अहंकारले अमेरिकाका साथी घट्न थाले। युद्धमा अमेरिका जितेर पनि हार्न पुग्यो।शीतयुद्धको समाप्तिपछि नै अमेरिकी अहंकार बढेको थियो। संसार 'एक ध्रुवीय' भएको भ्रममा अमेरिकी शासकहरूले आफूलाई विश्वका पहरेदार ठान्न थालेका थिए। त्यस अहंकारले संसारभरमा भित्रभित्रै अमेरिकाविरुद्ध विद्वेषको बीउ रोप्यो। अहंकारको जालोले टालिएका अमेरिकी शासकका आँखा तै पनि खुलेनन्। उनीहरूले अमेरिकाले जे गर्छ त्यही लोकतान्त्रिक र न्यायपूर्ण हुन्छ भन्ने ठान्न थाले। त्यही दम्भले अमेरिकाले जताततै शत्रु जन्मायो। स्वतन्त्रता, लोकतन्त्र, खुला समाजजस्ता आफ्नो पहिचान गाँसिएका शाश्वत मूल्यमा पनि अमेरिकाले दोहोरो मापदण्ड अपनायो। अर्थात्, अमेरिकाले आफ्नो धर्म (स्थापनाको सिद्धान्त)को उपेक्षा गर्‍यो। कतै न कतै यही उपेक्षाले आतंककारीको मनोबल उकासेको हुनुपर्छ। अफगानिस्तानमा रुसी हस्तक्षेपविरुद्ध अमेरिकाले पाकिस्तानसमेतको सहयोगमा तालिबान जन्माएको थियो। तालिबानीलाई अमेरिकाले नै प्रशिक्षण, पैसा र प्रविधि दिएको हो। तिनै तालिबानपछि अमेरिकाका परमशत्रु बन्न पुगे। दोस्रो विश्वयुद्धपछि अमेरिकालाई सबैभन्दा बढी क्षति तिनैका कारण पुगेको छ।
अमेरिकामाथिको आक्रमणपछि नागरिक स्वतन्त्रतामा, हवाइ यात्रामा, अन्तर्राष्ट्रिय कानुनहरूमा अनुदार पक्षको प्रभाव बढेको छ। यसलाई सभ्यताको द्वन्द्व ठान्ने हो भने उदार मूल्यहरूबाट पछि हट्ने यो प्रयास कट्टरपन्थीको जीत हो। यस व्यवहारले अमेरिकाको साखमा नकारात्मक प्रभाव परेको छ। सम्भवतः अलकायदाले पाएको यही हो। त्यस घटनाले उदार मूल्यमा विश्वास गर्ने समाजमा निरीहता, जोखिम र छटपटी उत्पन्न गरेको थियो। त्यसैले अमेरिकामाथि आक्रमण हुँदा संसारको सर्मथन उसले पाएको हो। तर, राष्ट्रपति बुसले त्यस सद्भावलाई विश्वको लाचारी ठाने। यथार्थमा उनको अहंकारकै कारण अमेरिका एक्लिँदै गयो। ग्वान्तानामो बेको जेललाई अमेरिकीले नै कलंक ठानेे। शुभ संकेत चाहिँ के हो भने स्वयं अमेरिकामै कट्टरपन्थीहरू एक्लिए। बाराक हुसेन ओबामा अमेरिकाको राष्ट्रपतिमा विजयी हुनु कट्टरपन्थी दम्भको पराजय र अस्वीकृतिको अभिव्यक्ति हो।
बुसको सुरु गरेको 'आतंकविरुद्धको युद्ध'मा सुरुमा पश्चिम युरोपले तनमनधनले सहयोग गरेको थियो। हुनत, अहिले पनि नेटो अलकायदा र तालिबानविरुद्धको लडाइँमा संलग्न छ तर युरोपेलीहरू अमेरिकासँग टाडिन खोजेका छन्। अमेरिकी नेतृत्व अब युरोपका लागि स्वीकार्य नरहेको जनाउ उनीहरूले दिइसकेका छन्। मध्यपूर्वको जागरण र विद्रोहमा अमेरिकाभन्दा युरोपले नेतृत्व दिएको छ। लिबियामा भएको हस्तक्षेप फ्रान्सको अगुवाइमा हुनु यसैको संकेत हुनुपर्छ। बर्लिनस्थित अमेरिकी चर्चमा भएको स्मृति सभा युरोपेली जनमानसमा भएको परिवर्तनको झलक हो। आक्रमणलगत्तै २००१ मा त्यहाँ भएको कार्यक्रममा त्यहाँ करिब दुई लाख जना जम्मा भएका थिए भने सम्झना सभामा दुई सय जना जतिमात्रै थिए।

आक्रमणलगत्तै अमेरिकालाई साथ दिने पाकिस्तान अहिले पछुताएको देखिएको छ। अफगानिस्तानमा अमेरिकी नेतृत्वमा नेटोले सैनिक कारबाही गरेपछि तालिबानी र अल कायदाका नेता पाकिस्तान पसे। उनीहरूले आतंक पनि सँगै लिएर आए। फलस्वरूप, अहिले पाकिस्तान 'जेहादी आतंक'बाट सबैभन्दा बढी पीडित भएको छ। पाकिस्तानी सेना सबैभन्दा बाक्लो उपस्थिति भएकै सहरमा अल कायदाका नेता बिन लादेन मारिए। यसले पाकिस्तानको शासनप्रति अमेरिकामा चरम अविश्वास उत्पन्न भएको छ। अमेरिकाले युद्धपछि वर्षको डेढ खर्ब डलर जति सहायता पाकिस्तानलाई दिएको छ। तैपनि, पाकिस्तानले आफूलाई आतंकबाट सबैभन्दा पीडित मुलुक भन्न र ठान्न थालेको छ। पाकिस्तानको भौगोलिक क्षेत्रभित्रै अमेरिकाले सैनिक कारबाही गर्ने गरेको छ। पाकिस्तानी गुप्तचर संस्था आईएसआईको तालिबानीसँगको सम्बन्धका कारण सूचना दिइए चुहिने डरले होला त्यस्ता कारबाहीमा पाकिस्तानलाई सुइँको पनि दिइँदैन। लादेनै मारिँदा पाकिस्तान पनि सरकार र सेनाले थाहा दिइएन। पाकिस्तानको आजको अवस्था हेर्दा 'सार्वभौमसत्ता'कै परिभाषा फेर्नुपर्ने हो कि भन्ने लाग्छ। यस्तै, यति धेरै अविश्वास भएपछि मित्रता झन् डरलाग्दो हुनसक्छ।
अल कायदा र तालिबानजस्ता संगठनले जति विध्वंश मच्चाएर पनि अन्ततः हार्नैपर्छ। नत्र, सभ्यता हार्छ। बिन लादेनलगायतका अलकायदाका अगुवा मारिए। मुसलमान विश्वमै अल कायदाको साख १० वर्ष पहिलेभन्दा धेरै गिरेको छ। पश्चिममा उसको समर्थन घटेको छ। प्रविधि र पैसा आउने बाटो साँगुरो भएको छ। अहिले संगठन छितरिएको छ। यसैले झन् खतरनाक भएको छ। तर, विध्वंश गर्नमात्र सक्ने संगठन हुन पुगेको छ। रुसी सैनिकलाई परास्त गरेर मुलुकलाई 'मुक्त' गर्ने तालिबान अब 'जेहादी' भन्दा बढी 'अपराधी' ठानिन्छ। इस्लामी जगतमै पनि कतिपय पहिलेका समर्थक र सहयोगीले सम्बन्ध तोडेका छन्। सायद, अब अल कायदा विश्व स्तरको चुनौती रहेन। ( त्यसो त पहिले पनि थिएन कि?) अरब जागरण र त्यहाँ लोकतन्त्रको खोजी पनि प्रकारान्तरले कट्टरपन्थीहरूको पराजय नै हो।
प्यालेस्टिनी राज्यको विवादमा अमेरिकाले फेरि साथी गुमाउने लक्षण देखिएको छ। प्यालेस्टिनी जनतालाई ओबामाले पनि स्वतन्त्र राष्ट्रको सपना देखाएका थिए। अहिले पुरा हुने बेला आउँदा अमेरिकाले निषेधको बाटो रोजेको छ। हुनत, इजरायली र प्यालेस्टिनी नेताहरूले वार्ताबाटै स्वतन्त्रताको समस्या समाधान गरेको भए उत्तम हुनेथियो। अमेरिकाले यसमा बढी नै जोड दिनुपर्थ्यो। सहजीकरणमा अग्रसर हुनुपर्थ्यो। इराक आक्रमणबाट गुमेको अरब जनताको सद्भाव फर्काउन यो सर्वोत्तम उपाय हुन्थ्यो। यस पटक पनि अमेरिकाले प्यालेस्टिनी राष्ट्रको 'धाई' बन्ने अवसर गुमाउने लक्षण छ। इजरायललाई जसरी नै प्यालेस्टिनलाई पनि निषेध गर्न सकिँदैन। अमेरिकाले नचाहे पनि ढिलोचाँडो प्यालेस्टिन राज्य त बन्छ। दलगत राजनीतिक लाभहानिका कारण लोकतन्त्रका आधारभूत मूल्य मान्यताको उपेक्षा गर्ने 'रिपब्लिकन रोग'बाट ओबामा पनि मुक्त हुननसक्नु अमेरिका र प्रकारान्तरले संसारकै अर्को दुर्भाग्य हो।
आर्थिक कारणले पनि अब अमेरिकाले 'विश्व प्रहरी'को भूमिका पूरा गर्न सत्तै्कन भन्ने सन्देह धेरैले प्रकट गरेका छन्। सम्भवतः यही बुझेर ओबामाले सुरुका दिनमा राष्ट्रसंघलाई अगाडि सार्ने नीति लिएका थिए। विश्वको बहुध्रुवीय चरित्रलाई स्वीकार गरेर उनले युरोपमा सद्भाव पनि बढाएका थिए। आफ्नो गुण जोगाउन भने उनले प्रयास गरेको देखिएन। यसैले अहिले अमेरिका द्विविधामा देखिएको छ। किन्तु, अझै पनि निकट भविष्यमा अमेरिकाको ठाउँ लिने कोही देखिँदैन। यसो त, अमेरिकाको गन्तव्य पनि धेरैजसो नियतिले तय गर्ने गरेको छ। व्यापारमा रमाउने मुलुकलाई युद्धमा होमिने रहर त नहुनु पर्ने हो तर कर नपरे पनि 'जाइ कटक गर्ने' प्रवृत्ति अमेरिकी चरित्र बनेको देखिएको छ। सन् १९९० पछि अमेरिकाले संसारका सबै महादेशमा सशस्त्र हस्तक्षेप गरेको छ तर झन् एक्लिएको छ। शीतयुद्धपछि संसार बदलिइसकेको छ। चीन आर्थिक र सामरिक दुवै दृष्टिले निकै शक्तिशाली र आक्रामक बन्दै गएको छ। भारतको उदयले अमेरिका दक्षिण एसिया नीतिमा परिवर्तन गर्नैपर्ने अवस्थामा पुगेको छ। मध्यपूर्व र अफ्रिकामा लोकतन्त्रको लहर चल्नु सुखद संकेत भए पनि त्यसले अमेरिकालाई चुनौती नै थपेको छ। अब त्यहाँ पनि इजरायलमुखी परम्परागत नीति बदल्नुपर्ने बाध्यता उत्पन्न भइसकेको छ। युरोपसँग अब अमेरिकाको प्रतिस्पर्धा र सहयोग दुवै नयाँरूपमा हुनेछ। विश्वयुद्ध पछिको पुस्ता निर्णायक बन्दै जाँदा युरोप र जापानमा पनि अमेरिकाप्रतिको धारणा बदलिनसक्छ। आश्चर्य, संसार यति बदलिए पनि अमेरिकाले यसलाई स्वीकार गरेको चाहिँ देखिएको छैन।
अमेरिकाले आफ्नो धर्म ( स्थापनाको सिद्धान्त) को जहाँ पालना गर्‍यो त्यहाँ उसले जितेको छ। जापान र जर्मनीलाई ध्वस्त पार्ने अमेरिकै हो तर त्यहाँ उसले आफ्नो धर्मको पालना गर्‍यो। अहिले ती दुवै मुलुक अमेरिकाका भरपर्दा साथी र उदार समाजका उदाहरण बनेका छन्। भियतनाम र इराक आक्रमण अमेरिकाको अर्घेल्याइँ थियो। भियतनामबाट त नराम्ररी हारेरै फर्कनु पर्‍यो भने इराकको जित हारभन्दा बढी प्रत्युत्पादक हुने लक्षण देखिन थालेको छ। अमेरिकाको जग उदार लोकतन्त्रका मूल्यमान्यता, स्वतन्त्रता र वैयक्तिक मर्यादाका टिकेको छ। तिनलाई बिर्सेर वा उपेक्षा गरेर अमेरिका अगाडि बढ्न सक्तैन। भनिन्छ, 'धर्मो रक्षति रक्षित'।

No comments:

Post a Comment