Friday, April 2, 2010

गिरिजाबाबुलाई सम्झँदा - १


नमानेको आदेश

गिरिजाबाबुको निधनपछि थालिएको उहाँको गुनगान अब मत्थर हुन थालेको छ । उहाँको व्यक्तित्त्वका

विविध पक्ष उजागर भयो । मैले उहाँको निकट भएर काम गर्ने खासै मौका पाइन । तैपनि उहाँको

व्यक्तित्त्वका केही पाटाहरू उजागर गर्ने घटना सम्झनामा छन् । त्यस्ता घटना बिस्तारै लेख्दै जाने जमर्को गर्नेछु । तिनलाइ समानान्तरमा पोस्ट गर्नेछु ।
पोखराबाट फर्कँदा नेतात्रयसँग खैरेनीमा ।


कसैलाइ छाप्न, रेडियोमा प्रसार गर्न मन लागे गरे हुन्छ । स्रोत खुलाए आभारी हुनेछु, नखोले पनि कसैमाथि मुद्दा हाल्ने छैन ।
पत्रकारितालाइ पेसा बनाउनुपूर्व म सरकारी कर्मचारी र त्यसभन्दा पहिले राजनीतिक कार्यकर्ता थिएँ ।

पत्रकारका रूपमा उहाँलाइ गाली नगर्ने थोरै जनामा पर्थेँ । पद छाड्न र सुजातालाइ काखी नच्याप्ने

आग्रह उहाँलाइ मन नपरेको प्रसंग पनि हुनसक्छ । जेहोस्, मलाइ गिरिजाबाबुलाइ बुझ्नसक्छु भन्ने

भ्रम थियो । उहाँले मैले देखेको मन पराएको पनि थाहा पाएको थिएँ । यसको पृष्ठभूमि निकै पुरानो छ



सत्याग्रह (२०४२) पछि नेपाली कांग्रेसले पोखरामा भेला गरेको गरेको थियो । देशभरका नेता

कार्यकर्ता भेला भएका थिए । म त्यति बेला तनहुँ जिल्ला पञ्चायतको उपसभापति थिएँ । कांग्रेसले

आधिकारिकरूपमा पञ्चायतको चुनाव लड्ने निर्णय नगरे पनि तनहुँमा पार्टीकै तर्फबाट निर्वाचन

लडाइएको थियो । सभापतिसहित ११ मध्ये ७ स्थानमा कांग्रेसका उमेदवार निर्वाचित भएका थिए ।

मलाइ चुनाव लड्ने खासै मन थिएन तर जिल्लाका नेताहरूको दबाब र गाउँका साथीहरूको सल्लाहबाट

स्वीकार गरेको थिएँ । मेरो गाउँमा मबाहेक कांग्रेसकै अर्को मान्छेले चुनाव जित्ने अवस्था पनि सायद

थिएन । यस्तै जिल्लाव्यापी परिचय बनाएको अर्को व्यक्तित्त्व पनि थिएन । पहिले प्रधानपञ्च अनि

उपसभापतिको चुनाव जितेँ । उपसभापति भएपछि राजनीति अलि बढी नै तीतो हुँदै गएको थियो ।

राजनीतिमा चाहिले छलछाम नभएकाले पनि होला मन रमाउन सकेको थिएन । तर, काममा

सकेसम्म इमानदार हुने प्रयास गर्थेँ । यसैले कम्युनिस्ट र पञ्चहरूले पनि रूचाउन थालेका थिए ।

तर, कांग्रेसिभत्रै रिस गर्नेको संख्या थपिँदै गएको थियो । पञ्चायतमा बढ्दै गएको असहिष्णु

व्यवहारले वाक्क लागिसकेको थियो । त्यसैले मैले पञ्चायत रजत जयन्तीका अवसरमा पुस १,

२०४२मा दमौलीमा आयोजित कार्यक्रममा घोषणा गरेको थिएँ - अब पञ्चायतमा कुनै चुनाव लड्दिन

। त्यसपछि पोखरा भेला भएको थियो । मैले पोखरा भेलामा यही मनस्थितिमा भाग लिएको थिएँ ।

भेलामा मैले बोल्नुपर्छ भन्ने साथीहरूको सल्लाह थियो । मौका पाएँ पनि । मैले पार्टीले विकास

निर्माण समर्थकहरूको संरक्षणका लागि स्थानीय निर्वाचनमा भाग लिनुपर्छ तर मचाहिँ अब बिदा

लिन्छु भने । साथै पञ्चायतका पद र अवसरलाइ पार्टी संगठनका लागि भने प्रयोग गर्नु हुँदैन । त्यो

कम्युनिस्टहरूको शैली हो । हामीले राजनीतिक पहिचान कायमै राख्नुपर्छ तर कम्युनिस्टजस्तो

भूमिगतरूपमा पञ्चायतका पद र अवसरको अर्को प्रयोजनमा प्रयोग गर्नुहुन्न भन्ने मेरो मान्यता थियो

। चुनावमा भाग लिनुपर्छ भन्ने मेरो धारणा पुष्टि गर्ने तर्कमा भने - राजनीतिक परिवर्तनका लागि

पार्टीबाटै आन्दोलन गर्नुपर्छ । तर, हाम्रो विश्वासमा जनमत संग्रहमा बहुदललाइ मत दिएका कार्यकर्ता

र समर्थक मतदातालाइ पञ्चहरूको प्रतिशोधबाट बचाउन हामीले केही साथीलाइ पञ्चायतमा पठाउनै

पर्छ । नत्र पार्टीलाइ जनताले विश्वास गर्न छाड्नेछन् । भेलाका सहभागीले लामो ताली बजाएर मेरो

विचारको समर्थन गरे । ती शिक्षक थिए सायद ।
किसुनजी, गणेशमानजी र गिरिजाबाबुलगायत नेताहरूले पनि ध्यान दिएर सुनेजस्तो लाग्यो ।

गणेशमानजीले आफ्नै शैलीमा भन्नुभयो - के कुरा गरेको होला? पार्टीले चुनाव लड्नुपर्छ रे अनि म

चाहिँ लड्दिन रे ! मैले त केही बुझिन । म अलमल्ल परेँ । स्पष्टीकरण दिनुपर्ने हो कि भनेर माइक

नजिकै अलमलिएकै बेला किसुनजीले भन्नुभयो - ल ल मैले बुझेको छु । अहिले जानुस् । म

मञ्चबाट फर्कँदै गर्दा गिरिजाबाबुले भन्नुभयो - मलाइ भेट्नुस् ।
पोखराबाट उहाँहरू फर्कँदा दमौली पस्नुभयो । त्यहाँबाट खैरेनीसँग म पनि उहाँकै जिपमा आएँ ।

बाटामा उहाँहरू चितवन जाने थाहा भयो । मलाइ पनि त्यही दिन जन्त जानु थियो गैंडाकोटसम्म ।

म जन्तीसँगै गएँ । साँझपख भरतपुरमा उहाँहरू बसेको होटलमा पुगेँ । गिरिजाबाबुले बोलाउनु भयो ।

र मलाइ बिना भूमिका भन्नुभयो - राजनीति नछाड्नुस् । काठमाडौं आउँदा मलाई भेट्नुस् । मैले

राजनीति छाड्ने आफ्नो निर्णय स्पष्ट पार्न खोज्दै तनहुँमा पढेलेखेका नेता कांग्रेसमा छँदैछन् नि भनेर

नाम लिएँ । उहाँले भन्नुभयो - ती प्यारासाइट हुन् । तिनको नामै नलिनुस् । म अवाक् भएँ । उहाँले

कुराकानी टुंग्याउँदै आदेश दिनुभयो - राजनीति छाड्ने हैन । काठमाडौं आएर मलाई भेट्नुस् । मैले

राजनीति छाड्ने अठोट गरिसकेकै थिएँ । तर, उहाँको तत्काल प्रतिवाद गरिन हाँसेर टारेँ ।
पछि काठमाडौं आउँदा पनि उहाँलाई एक्लै भेटिन । जनआन्दोलन भयो । त्यसपछिका भेटमा मैले

कहिल्यै त्यो प्रसंग उठाइन । उहाँले पनि बिर्सनु भयो होला । मलाई राजनीति गर्ने आदेश दिनु भएन


गिरिजाबाबुले मलाई किन राजनीति नछाड्न भन्नु भयो होला भन्ने अहिलेसम्म बुझ्न सकेको छैन ।

No comments:

Post a Comment