Monday, October 26, 2009

कोइरालासँग स्पष्टीकरण!

कोइरालासँग स्पष्टीकरण!

smaller text tool iconmedium text tool iconlarger text tool icon
सभापति गिरिजाप्रसाद कोइरालासँग स्पष्टीकरण माग्ने नेपाली कांग्रेसका छोटे नेताहरूको अभियान सामसुम भएजस्तो छ। कार्यवाहक सभापति सुशील कोइरालाले स्पष्टीकरण टार्न अपनाएको उपायले काम गरेजस्तो छ। सभापति कोइरालाको उपस्थितिमा छलफल गर्ने भन्ने बित्तिकै स्पष्टीकरणको सबाल बिरालाको घाँटीमा घन्टी बाँध्ने मुसाहरूको मतोजस्तै भएको देखियो। जेहोस्, यस पटक कांग्रेस केन्द्रीय समितिका सदस्यले आँट चाहिँ ठूलै गरेका हुन् - पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग स्पष्टीकरण सोध्ने!

सभापति कोइरालाले छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउन गरेको सिफारिस स्पष्टीकरणको बहाना बन्यो। कांग्रेसका भुरे नेताहरूलाई आफू पनि केही हौँ' भनेर दुनियालाई देखाउनु जो थियो। त्यसभन्दा पनि प्रधानमन्त्री माधवकुमार नेपाललाई धम्क्याउने अश्त्रका रूपमा यो आवाज उठेको भान हुन्छ।

उनीहरूले संस्थागत निर्णयको विषय उठाएर सभापतिले एकल निर्णय गर्न पाउँदैनन् भनेका छन्। कांग्रेसमा संस्थागत निर्णयको संस्कार बसाउने उद्देश्यले यो विषय उठाइएको हो भने त राम्रो हो। तर, पात्र, प्रवृत्ति र परिस्थिति हेर्दा तिनको नियतमा शंका नै धेरै हुन्छ। प्रधानमन्त्रीका विषयमा रामचन्द्र पौडेल र सुशील कोइरालाका भनाइहरू बाझिएका छन्। संस्थागत कुरा के हो त? कसका कुरा आधिकारिक हुन्? पार्टीको कार्यवाहक सभापतिका कि संसदीय दलका नेताका? भक्तपुरमा कांग्रेसका दुई समूहले कार्यक्रम आयोजना गरे। एउटामा शेरबहादुर देउवा गए। अर्कोमा सुशील कोइराला पुगे। त्यहाँ कुन समूह आधिकारिक हो? पार्टीमा समानान्तर संगठन कायम राख्ने पनि संस्थागत निर्णय कांग्रेसले गरेको छ कि? देउवाको भाषण सभापति कोइरालाको खोइरो खन्नमा केन्द्रित र सीमित भयो। त्यो पनि संस्थागत निर्णय नै हो कि?

अहिले संस्थागत निर्णयको सबाल उठाउनेहरूको अनुहार र अतीत नियाल्दा महाभारतको कर्ण पर्वको एउटा प्रसंग सम्झना हुन्छ। कर्ण दुर्योधनका सेनापति थिए। अर्जुन र कर्णबीच निर्णायक युद्ध भइरहेको थियो। त्यत्तिकैमा कर्णको रथको पांग्रो जमिनमा धसियो। उनले त्यसलाई निकाल्न सकेनन्। भार्गवाश्त्र प्रयोग गर्न खोजे। परशुरामको श्रापले गर्दा त्यसको मन्त्र नै बिर्से। उता अर्जुन वाण हानिरहेका थिए। अनि कर्णले अर्जुनलाई रथमा नभएको निशस्त्र शत्रुलाई वाण हान्नु धर्म युद्धको नियमविपरीत भएको र अर्जुन कुलिन क्षत्रीय भएको सम्झाए। अर्जुन धर्म संकटमा परे। उनले वाण चलाउन रोके। अनि कृष्णले अर्जुनलाई सुनाएर कर्णलाई भने - कर्ण! पाण्डवलाई लाक्षा गृहमा जलाउने षड्यन्त्र गरिएका बेला, जुवामा झेल गरेर पाण्डवको राज्य हरिएका बेला, एकवस्त्रा द्रौपदीलाई राजसभामा घिसार्दै ल्याएर चीर हरण गरिएका बेला, निशस्त्र अभिमन्युलाई सात महारथिले घेरेर मारेका बेला तिम्रो धर्म कता गएको थियो? अहिले त बढो धर्मका कुरा गर्दैछौ।' यसपछि जे भयो त्यो यहाँ लेख्नु परोइन।

अहिले संस्थागत निर्णयका लागि चर्को स्वर गर्ने र गिरिजाप्रसाद कोइरालालाई औँला ठड्याउनेहरूले नै यसभन्दा पहिले कोइरालालाई एकल निर्णय गर्न पटक पटक उक्साएका हुन्। यस्तै कोइरालाले सुजाताको साटो आफूलाई उपप्रधानमन्त्री बनाउन सिफारिस गरेको भए त्यतिबेला यिनले संस्थागत निर्णय खोज्ने थिए कि थिएनन् होला? आफूलाई फाइदा हुँदा संस्थागत निर्णय कहिल्यै नखोजेकाहरूले अहिले चर्को स्वर किन गरे? कोइरालाको दौराको फेर समातेर नेता हुने दिन सकिए भन्ने निष्कर्षले उनीहरूलाई कोइरालाविरोधी बनाएको हो कि? नेपालको राजनीति हो, यहाँ धोका, बेइमानी र ढोंग सबै क्षम्य हुन्छ। चाँडै नै सबैले बिर्सन्छन्। यहाँ त जो जति पाखण्डी छ ऊ उति नै आफूलाई महान ठान्छ र दुनियाले पनि त्यस्तै ठानेका होलान् भनेर साउनको मजुरझैँ मख्ख पर्छ। उता जनता भने खिस्स हाँसेर खिसी गरिरहेका हुन्छन्।

सुजाता कोइरालालाई उपप्रधानमन्त्री नबनाएको भए पनि माधवकुमार नेपालको सरकारलाई केही फरक पर्ने थिएन। अहिले उनलाई उपप्रधानमन्त्री बनाएर पनि सरकारको साख र प्रभाव बढेकोे छैन। यस्तै उपप्रधानमन्त्री हुने बित्तिकै पार्टीमा सुजाता बलियो भइहालेकी पनि छैनन्। कांग्रेसजन र सत्ताबीच अचम्मको ...प्रेम र घृणा'को सम्बन्ध रहँदै आएको छ। सत्तामा जान सधैँ लुछाचुँडी गर्ने अनि जो जान्छ उसका विरुद्ध सबै एक भएर खनिने कांग्रेसीको पुरानै प्रवृत्ति हो। सुजाताले मन्त्री हुँदाभन्दा उपप्रधानमन्त्री हुँदा बढी विरोध सहनु परेको छ। महासमितिमा उनको विरोध झन् बढी हुनेछ। सानो घटनाले पनि आवेशमा आउने स्वभाव नियन्त्रण गर्न सकिनन् भने उनलाई झन् बढी हानि हुनसक्छ। यसैले सुजातालाई उपप्रधानमन्त्री बनाउने सिफारिस गरेर गिरिजाबाबुले पनि छोरीको भलो चाहिँ गरेनन्। विडम्बना, राणाको जहानिया शासन समाप्त पार्न संघर्ष गरेका नेता पारिवारिक शासन स्थापना गर्न लागिपरेका देखिए जनताका आँखामा। यस सिफारिसलाई सामान्य जनताले राम्रो मानेका छैनन्। राजनीतिक स्वार्थ हुनेको समर्थन र विरोधलाई बेवास्ता गरे पनि फरक नपर्ने रहेछ। तिनको सहयोग र विरोध स्वार्थमा आधारित हुँदो रहेछ। जनताको धारणा नाफा नोक्सानबाट निर्देशित हुँदैन। यसैले जनताको मन चिन्न र जित्न सक्नेको प्रभाव दिगो हुन्छ।

नबनाउन भन्दाभन्दै पनि सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा रामचन्द्र पौडेलले प्रधानमन्त्री नेपालसँग सम्बन्ध बिग्रेको जनाउ दिएका छन्। कांग्रेसका अरू नेताले पनि सुजातालाई उपप्रधानमन्त्री नबनाउनु नै भनेका थिए रे। केन्द्रीय समितिले त महासमितिको बैठक नगर्न अस्वीकार गरेर र प्रधानमन्त्री नेपालसँग भारत भ्रमणमा नगएको विषयमा सुजातासँग स्पष्टीकरण मागेर सभापति कोइराला पार्टीमा निर्णायक नभएको जनाउ दिइसकेको थियो। तैपनि, प्रधानमन्त्री नेपालले सभापति कोइरालाको सिफारिस माने। महाभारतकै अर्को प्रसंग। युद्धको हुने भएपछि दुर्योधन र अर्जुन युद्धमा कृष्णसँग सहयोग माग्न गए। कृष्ण सुतेका रहेछन्। अर्जुन उनको गोडामनि र दुर्योधन सिरानतिर बसे। कृष्ण बिउँझेपछि कृष्णले पहिले अर्जुनलाई देखेर आउनुको कारण सोधे। अर्जुनले सहयोग मागे। दुर्योधनले पनि आफू झन् पहिले आएको भनेर सहयोग दाबी गरे। अनि कृष्णले एकतिर निसश्त्र आफू र अर्कातिर सशस्त्र यादव सेना राखेर अर्जुनलाई रोज्न भने। अर्जुनले कृष्णलाई रोजे। सिंगो यादव सेनाभन्दा भन्दा कृष्णको सहयोगलाई अर्जुनले महत्व दिए। प्रधानमन्त्री नेपालले पनि कांग्रेस केन्द्रीय समितिभन्दा गिरिजाबाबुलाई बढी महत्व दिएको देखियो। नेपालको यो निर्णय कति दूरदर्शी र लाभदायी हुन्छ भन्ने थाहा पाउन त समय लाग्ला तर कांग्रेसका भुरेटाकुरे रजौटालाई भने उनले हैसियत देखाइदिएका छन्। सही गलत जे गरे उनले त्यसको फल पनि पाउने नै छन्। तर, प्रधानमन्त्री बेठीक अनि सरकार चाहिँ ठीक भन्दै हिँडेर कांग्रेसका नेताहरू ...जोकर' साबित भएका छन्।

कोइराला स्पष्टीकरण प्रकरण अब यिनैका लागि घाँडो हुँदै गएको देखिन थालेको छ। महासमिति आउँदै छ। कांग्रेसजन आफूले जति गाली गरे पनि अरूले आफ्ना नेताको आलोचना गरेको सहँदैनन्। केन्द्रीय समितिमा ...कोइराला' लाई चुनौती दिने ...हिरो'हरूले महासमितिमा आफैँले स्पष्टीकरण दिनुपर्ने अवस्था आउन सक्छ। अरू जस्ता भए पनि मूलीले घर पोलेर खरानी बेच्दैन। यसैले स्पष्टीकरण प्रकरणको टुंगो गिरिजाबाबुले नै लगाउनुपर्छ। आफैँले हुर्काएर अहिले पाखुरा सुर्कनसक्ने बनाएका नेताको व्यक्तित्व अरु बढाइदिन आफैँ अग्रसर भएर स्पष्टीकरण दिनु उपयुक्त हुनेछ। भन्छन् नि - बैगुनीलाई गुनले मार्नु। अन्यथा, बिचराहरूले नाक राख्न पनि अर्को भाउँतो गर्नु पर्नेछ।

http://nagariknews.com/opinions/98-opinion/6306-2009-10-25-06-03-27.html

No comments:

Post a Comment