Monday, September 5, 2016

मदर टेरेसाकाे चिठी

आज मदर टेरेसालाई भ्याटिकन सिटीमा एक समारोहबीच 'सेन्टहुड' (सन्त) उपाधि प्रदान गरिँदैछ । उनका प्रशंसक र अनुयायीमात्र हैन विरोधीको संख्या पनि ठूलै रहेछ विशेषगरी भारतमा । गरिबको सेवामा जीवन अर्पण गरेकी मदर टेरेसाको विरोध गर्नेहरूलाई उनको काम गर्ने शैली मन नपरेको रहेछ । साथै, उनलाई तिनले धर्म परिवर्तन गराउने गरेको आरोप पनि लगाएका छन् । जतिबेला मैले उनले पठाएको पत्र पाएको थिएँ यस्तो विवाद सायद थिएन । भए पनि मलाई थाहा थिएन । त्यसैले मदर टेरेसाप्रति अगाध श्रद्धा थियो । परोपकारी काममा रेडक्रस अभियानमार्फत् जोडिएकाले पनि हो कि स्वयंसेवीप्रति अझै पनि श्रद्धा लाग्छ ।

मदर टेरेसाको नाम धेरै पहिलेदेखि सुनेको भए पनि २०४५ सालको भूकम्पमा उनलाई नेपालमा उद्धारका काममा संलग्न हुने अनुमति नदिइएपछि एक प्रकारको श्रद्धा जागेको थियो । त्यतिबेला नेपाली कांग्रेस प्रतिबन्धित थियो । प्रतिबन्धित नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि पञ्चायती सरकारले भूकम्पपीडितको सहायता गर्न रोकेको थियो । त्यसैले पनि हो कि मदर टेरेसासँग एक प्रकारको भावनात्मक तादात्म्य स्थापित भएको थियो । उति बेला कांग्रेसको कार्यकर्ता जो थिएँ ।

मिसनरी अफ च्यारिटीका सिस्टरहरू भेट्न आएको सुनेर म आफैँ बाहिर निस्केर उनीहरूलाई कार्यकक्षमा बोलाएँ । उनीहरूमध्ये एक जना सिस्टर पूर्वपरिचित नै थिइन् । सामान्य भलाकुसारीपछि उनले पोस्टकार्ड दिइन् र भनिन् - मदरले तपाईँलाई धन्यवाद तथा आशीर्वाद दिनुभएको छ । मैले पोस्टकार्ड हेरेँ । मैलाई सम्बोधन गरेर २३ जुलाई १९९३ का दिन अलि पुरानो टाइपराइटरमा अंग्रेजीमा लेखिएको ४ वाक्यको संक्षिप्त पत्र रहेछ त्यो । उनले पत्रको सुरुमा मिसनरी अफ च्यारिटीको काठमाडौंमा दर्ता गर्न गरेको सहयोगका लागि धन्यवाद दिएकी रहिछन् । सिस्टरहरूले मैले गरेको सहयोगका सम्बन्धमा उनलाई बताएको कुरा अर्को वाक्यमा लेखिएको रहेछ । क्रिश्चियन मिसनरीहरूकै शैलीमा ईश्वरलाई प्रेम गर्ने र अरूलाई पनि गर्न लगाउने उपदेश अर्को वाक्यमा दिइएको थियो । चौथो वाक्यले भने उनको विनम्रता र सौजन्यको परिचय दिएको थियो । त्यसमा उनले लेखेकी थिइन् - मेरो कृतज्ञता तिम्रा लागि मेरो प्रार्थना हो ।
त्यसपछि उनकै हस्ताक्षरमा लेखिएको थियो 'गड ब्लेस यु' र ली टेरेसा मे ।


म तिनताका समाज कल्याण परिषद्मा काम गर्थेँ । कामकै सन्दर्भमा मिसनरी अफ च्यारिटीका सिस्टरहरूलाई कार्यालयमै भेटेको थिएँ । उनीहरू नेपालका काम गर्छन् भन्ने त थाहा थियो तर दर्ता नगरी काम गरेकाले सम्पर्क थिएन । पञ्चदेवलको वृद्धाश्रममा अति अशक्त बूढाबुढीको सेवासुश्रुषा गरेको देखेपछि मैले उनीहरूसँग सामान्य जानकारी लिएको थिएँ । अनि अरू संघसंस्थालाई जस्तै वैधरूपमा काम गर्न सल्लाह दिएर उपायहरू बताएको थिएँ । त्यति त मेरो कर्तव्य नै थियो ।

त्यसपछि एकाधपटक च्यारिटीको कार्यक्रममा बोलाउँदा गएबाहेक अरू सम्पर्क थिएन । केही महिना पहिले २०५० सालको बाढीपहिरोपछि एक पटक मिसनरी अफ च्यारिटीका सिस्टरहरूसँग भेट भएको थियो । उनीहरू अलि ढिला भएका कारण उद्धार कार्यमा पठाउन सकिएन तर पञ्चायत कालमा जस्तै उपेक्षा गर्ने मन पनि भएन । अनि मैले सिस्टरहरूलाई अनुरोध गरेँ - बाढीपछि हामीले गरेको कामको अनुगमन गरेर सुझाव दिनुस् । जाने व्यवस्था म मिलाइदिउँला । सडक बाटो राम्ररी नखुलेको र हवाई टिकट किन्ने पैसा च्यारिटीसँग नभएको समस्या समाधान त्यसरी भएको थियो । सिमरासम्म ३ जना सिस्टरलाई कुनै संस्थासँग सहयोग मागेर पठाएको थिएँ । बस्ने खाने व्यवस्था सिस्टरहरूले आफैँ गरेका थिए । केही दिनपछि उनीहरू समाज कल्याण परिषद्मा आए । निकै खुसी देखिएका थिए । भने - हामीले भारतका बिहार र बंगालमा बाढीका बेला धेरै काम गरेका छौं तर यति व्यवस्थितरूपमा उद्धार र पुनःस्थापना कार्य गर्न सकेका थिएनौ । बाढीपछि विभिन्न रोग महामारीकै रूपमा फैलन्छ तर नेपालमा त त्यसको लक्षणै देखिएन । यसैले हामीलाई समेत सिक्ने अवसर दिएकोमा धन्यवाद भन्न आएका हौं ।

आफू पनि संलग्न भएको कामको प्रशंसा सुन्दा खुसी लाग्यो नै । उनीहरूलाई धन्यवाद भने । बस, मिसनरी अफ च्यारिटीका सिस्टरसँगको सम्पर्क यत्ति नै थियो । त्यसैले मदर टेरेसाको पत्रले म विस्मित भएको थिएँ । त्यस्तो सहयोग त (सहयोग भन्ने हो भने) कतिलाई गरेको थिएँ भन्ने गनेर वा सम्झेरै सकिँदैन थियो । कतिले मुखले धन्यवाद भन्थे कतिले त काम टारेको ठानेर ठसक्क परेको अनुहार लगाउँथे ।

त्यतिकै भरमा उनले मलाई आफैँले सही गरेर (टाइप पनि उनैले गरेकी भन्थिन् सिस्टरले त ) पत्र पठाउँदा म हर्षविभोर भएको थिएँ । उनीप्रति श्रद्धा झन् बढेको थियो । मलाई त्यतिबेला जीवनमा एउटा सम्झना गर्न लायक उपलब्धि र उपहार पाएजस्तो लाग्यो । नभन्दै, मेरा नातिनातिनाले पनि मदर टेरेसाले मलाई लेखेको पत्र हेर्न मागे । मलाई मदरले भेट्न कलकत्ता बोलाएकी सन्देश पनि ती सिस्टरले दिएकी थिइन् । तर, उतिबेलाको व्यस्तता र सन् १९९४ पछि समाज कल्याण परिषद्मा नरहेका कारण म उनलाई भेट्न जान सकिन । सन् १९९७ मा त उनको निधन नै भयो । उनको मृत्युमा नरमाइलो लाग्यो ।

त्यसपछि प्रसंगवशः बेलाबखत सम्झनेबाहेक अरू केही भएन । पत्रकारितालाई पेसा बनाएपछि दोहोरो निष्ठा धान्न सकिँदैन भनेर मैले संघसंस्थासँगको सम्बन्ध खुम्च्याउन थाले । मिसनरी अफ च्यारिटीसँग पनि सम्पर्क कायम रहने कुरै भएन ।
मदर टेरेसालाई सन्त घोषित गर्ने निर्णयपछि सञ्चार माध्यममा आएका सामग्री सामाजिक सञ्जालमार्फत पढ्दा उनको आलोचना नै बढी भएको भेटेँ । आलोचकहरूको दृष्टिकोणको म सम्मानै गर्छु । मदरका तर्फबाट प्रतिवाद गर्ने हक पनि छैन र चाहना पनि छैन । अहिले कसैले जति नै आलोचना गरे पनि मदर टेरेसा प्रतिवादका लागि आउन सक्तिनन् । उनले असहायहरूलाई बढी दुःख कटाइन् र दानदातव्यको खर्चपर्चमा बढी नै कन्जुसी गरिन् भन्नेहरूले सन् १९५२ मा उनले कलकत्ताका गल्लीमा असहायको सेवा सुरु गर्दाको अवस्थामा भने ध्यान नदिएको देखियो । उनको कथित चमत्कार सायद क्याथोलिक परम्पराको कमजोरी हो ।
जेहोस्, मदर टेरेसा अब उप्रान्त क्याथोलिकहरूका लागि सेन्ट टेरेसा भएकी छन् । मेरा लागि भने उनी मदर टेरेसा नै रहन्छिन् । लाग्छ, मेरी आमा र आँबैले जस्तै मदर टेरेसाले पनि मेरो भलो चिताइरहेकी होलान् । 

No comments:

Post a Comment