Monday, March 16, 2015

नदिमको नियति

'न्यायका नौ सिङ' नेपालीमा प्रचलित एउटा भनाइ। 'नेपालको कानुन दैवले जानुन्' भुक्तभोगीहरूको टिप्पणी। न्याय र कानुनलाई एउटै ठान्छन् कतिपय वकिल र न्यायाधीशहरू। तर, कानुन सबै न्यायपूर्ण हुँदैनन्। अन्याय सधैँ गैरकानुनी पनि हुँदैन। यस्तै, गैरकानुनी काम सधैँ अन्याय पनि हुँदैन। तर, अदालतमा न्यायाधीशले त कानुन हेरेर न निर्णय गर्छन्। न्यायाधीशको निर्णयलाई 'न्याय' ठान्ने कि नठान्ने? दुबिधा हुन्छ। उस्तै मुद्दामा न्यायाधीश र अभियुक्त बदलिँदा इन्साफ पनि फेरिएका उदाहरण नेपालका अदालतमा बग्रेल्ती नै होलान्। (कसैले यसको अध्ययन गरेका छन् कि? ) न्यायाधीशहरूसँगै मुद्दा जोडियो भने 'न्यायिक मन' राखेर फैसला गर्न कठिन पनि होला। 

न्यायाधीशलाई बर्खास्त गरेको मुद्दामा पनि न्यायभन्दा प्रतिशोध नै बढी प्रभावकारी होला। यद्यपि, न्यायाधीशले फैसला गर्दा न्यायिक मन राख्ने अपेक्षा एवं विश्वासमा उनीहरूलाई आफ्नो मानहानिको मुद्दासमेत आफैँले हेर्न पाउने सुविधा र अधिकार दिइएको हुन्छ। तर, बेलाबखत न्यायाधीशहरूले न्यायिक मनको मर्म मिचेको देखिन्छ। मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई 'आतंकवादी' ठहर गरी १३ वर्ष कैद गर्ने त्यहाँको अदालतको फैसलामा पनि न्यायिक मन र विवेक प्रयोग भएको देखिएन।

नसिदलाई दिइएको कैद सजायलाई नेपाली सञ्चार माध्यममा खासै महत्व दिइएको देखिएन। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मालदिभ्सको फौजदारी अदालतको विशेष इजलासले नदिमलाई गत शुक्रबार 'आतंकवाद'मा संलग्न भएको ठहर्यारएर १३ वर्ष कैद गर्ने निर्णय सुनाएको छ। नदिम राष्ट्रपति भएका बेला तत्कालीन प्रधान न्यायाधीश अब्दुल्ला मोहमदलाई पक्राउ गरेको र गैरकानुनीरूपमा थुनामा राखेको आरोप उनीमाथि लगाइएको छ। आधारातमा फैसला सुनाएपछि नदिमलाई तत्कालै झ्यालखानामा पठाइयो। ( फैसला नै मध्यरातमा सुनाइएकाले पनि षड्यन्त्र र न्यायका नाममा अन्याय गरिएको शंका पुष्टि हुन्छ।)

नदिमले भने आफूमाथि लगाइएको अभियोग पूरै अस्वीकार गरेका छन्।

नदिमका समर्थकहरू उनलाई राष्ट्रपति यामिन अब्दुल गयुमको निर्देशनमा सजाय दिइएको ठान्छन्। मालदिभ्समा सन् २०१८ मा हुने राष्ट्रपतिको चुनावमा सबैभन्दा बलिया प्रतिस्पर्धी हुनेथिए नदिम। अहिले नै उनलाई कैदमा हाले पछि 'मैदान साफ' हुने ठाने होलान् गयुमले। नदिमका सहयोगीहरूले यस निर्णयलाई 'पूर्णत राजनीतिक' भनेका छन्। उनीहरूका अनुसार 'राष्ट्रपति नदिमलाई कानुन व्यवसायी राख्न दिइएन, पुनरावेदन गर्नबाट रोकियो, उनका साक्षीहरूलाई बोल्न दिइएन अनि सरकारी अभियोक्ताहरूलाई प्रहरी र न्यायाधीशले निर्देशन' दिइरहे।

नदिमले अदालतमा आफूमाथि लगाइएको अभियोग इन्कार गर्नुका साथै 'सत्ताको अधिनायकवादी शक्तिको प्रतिवाद' गर्न देशवासीलाई आह्वान पनि गरे। समाचार एजेन्सीहरूका अनुसार उनले माल्दिभ्सको न्यायपालिका 'भ्रष्टाचारी र कलंकित' भएको आरोप पनि लगाए। न्यायाधीशहरूले घुस लिने गरेको दाबीसमेत नदिमले गरेका छन्। उनका अनुसार ती न्यायाधीशहरूको निर्णयका कारण सामान्य जनताले अन्याय सहनु परेको छ भने मुलुकको विकास प्रभावित भएको छ।

नदिमको दल माल्दिभिएन डेमोक्य्राटिक पार्टी (एमडीपी)ले उनको मुद्दामा गरिएको फैसलालाई त्यहाँको 'कलिलो लोकतन्त्रमाथि प्रहार ' भनेको छ। पार्टीकी प्रवक्ता साउना अभिनाथका अनुसार 'लोकतन्त्रलाई १३ वर्षका लागि कैद गरिएको' छ र यसले कसैको भलो गर्नेछैन। अहिले ४७ वर्षका नदिम १३ वर्ष कैदमा बस्नु पर्यो् भने छुट्दा ६० वर्षका हुनेछन्।

मालदिभ्समा तीस वर्षसम्म एकछत्र राज गर्ने अधिनायक पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमविरुद्धको आन्दोलनपछि त्यहाँ बहुदलीय लोकतन्त्र स्थापना भएको ७ वर्षमात्र भएको छ। मौमुनलाई हटाउन भएको आन्दोलनको नेतृत्व वातावरणवादी युवा नदिमले गरेका थिए। श्रीलंका र बेलायतबाट शिक्षा हासिल गरेका नदिम सन् २००८ को पहिलो लोकतान्त्रिक निर्वाचनमा माल्दिभ्सको राष्ट्रपति पदमा विजयी भए। लोकतान्त्रिक अभ्यास हुँदै नभएको समाजमा प्रायः सबै क्रान्तिकारीले गर्ने गल्ती नदिमले पनि दोहोर्यााउन थाले। उनको सरकारले भ्रष्टाचारको अभियोगमा पत्रे्कर थुनेको विपक्षी राजनीतिक कार्यकर्तालाई अदालतले छाडिदिएपछि नदिम अदालतमाथि नै जाइलागेका थिए। यही क्रममा उनको सरकारले तत्कालीन प्रधान न्यायाधीशलाई पक्रने र थुन्ने गरेको थियो। प्रधान न्यायाधीशलाई पत्रे्कपछि मालदिभ्समा महिनौसम्म विरोध प्रदर्शन चल्यो। सम्भवतः त्यति बेलाको विपक्षले अन्तिम लडाइँ गर्ने निर्णय गरेको थियो। लामो अशान्तिपछि सशस्त्र प्रहरीको दबाबमा नदिमले सन् २०१२ मा पदबाट राजीनामा गरे। लगत्तै उनले 'बन्दुक देखाएर राजीनामा गर्न बाध्य पारिएको' भने पनि त्यसपछि सत्ता बदलियो। अन्तरिक सरकारले चुनाव गरायो र नदिम हारे। पूर्वराष्ट्रपति मौमुनकै भाइ पर्ने अब्दुल गैयुम राष्ट्रपति चुनिए। अनि थुनिने पालो आयो नदिमको। यसबीच नदिमलाई पक्रने र छाड्ने क्रम चलिरह्यो। अगिल्लो महिना उनलाई सफाइ पनि दिइएको थियो तर सत्ताको चित्त बुझेन सायद। मुद्दा उल्टियो।

नदिमलाई राजनीतिबाट पन्छाउने माल्दिभ्स सरकारको षड्यन्त्रप्रति भारत र संयुक्त राष्ट्रसंघले चासो लिएको एएफपीले जनाएको छ। पढेर फर्केपछि पत्रिकामा सरकारले सन् १९८९ को चुनावमा धाँधली गरेको आरोप लगाएर पत्रिकामा लेख प्रकाशित गरेपछि त्यतिबेलाको शासनले उनलाई पत्रे्कको थियो। त्यसपछिका वर्षहरू नदिमले धेरै कैदमै बिताए। सन् १९९९ मा उनी मालेबाट सांसद चुनिए पनि राजीनामा गर्न बाध्य पारिएका थिए। यही बीचमा उनी देशबाहिर गए। माल्दिभिएन डेमोक्य्राटिक पार्टी स्थापना गरे। माल्दिभ्समा विरोध प्रदर्शन बढ्न थालेपछि अन्ततः २००५ मा बहुदलीय व्यवस्था स्थापना भयो।

नदिम अहिले कैदमा छन्। चञ्चल सत्ताले कुनै पनि क्षण कोल्टे फेर्न सक्छ। उनी पुनः सत्तामा पुग्न पनि सक्छन्। लोकतन्त्रवादीलाई नदिमप्रति ऐक्यबद्धता जनाउन मन पनि लाग्छ। तर, नदिमको आरोहअवरोह हेर्दा स्थान र नाम बदल्ने हो थुप्रै नेपाली राजनीतिकर्मीको विगतजस्तै देखिन पुग्नेछ। नदिमको नियतिले नेपालका राजनीतिकर्मीहरूलाई झकझक्याउला त?

नेपाली नेताको दुर्योधन प्रवृत्ति
केही दिन पहिले पुष्पकमल दाहालले 'आफूलाई उठी सुख न बसी सुख' भएको गुनासो गरेका थिए। उनको दिक्दारी पढ्दा धेरै वर्ष पहिले विश्वेश्वरप्रसाद कोइरालाले 'आफू एक्लो बृहस्पति भएको' घोषणा गरेको सम्झना भयो। पात्र, परिस्थिति र प्रवृत्ति नितान्त बेग्लै भए पनि राजनीतिक नेताहरूले धेरैजसो प्रतिकूल अवस्था नै भोग्नुपर्ने हुन्छ। राजनीति तिनको आफ्नै रोजाइ भएकाले त्यस्तो नियतिबाट भाग्न पनि सत्तै्कनन्। तर, विवेक प्रयोग गर्ने हो भने सायद जीवनको अन्तिम घडीमा सन्तोषको सास फेर्न सक्छन् बीपी कोइरालाले जस्तै।

दाहालमात्र हैन अधिकांश नेपाली राजनीतिकर्मीहरू 'दुर्योधन पथ'मा हिँडेका देखिन्छन्। महाभारतको उद्योग पर्वमा एउटा प्रसंग छ दुर्योधनको प्रवृत्ति उजागर गर्ने। सम्झौताको अन्तिम प्रयास गर्न कृष्ण हस्तिनापुर गएका बेला दुर्योधनलाई एकान्तमा भेटेर सम्झाउँछन्- तिमीलाई धर्म र न्यायको ज्ञान छ। वनवास र गुप्तवास पूरा गरेर फर्केका पाण्डवलाई उनीहरूको राज्य फिर्ता नगर्नु अन्याय र अधर्म दुवै हो। तैपनि किन तिमी आफूलाई नसुहाउने हठ गरिरहेका छौ?' कृष्णका कुरा सुनेपछि दुर्योधन भन्छन्- हो मलाई धर्म के हो भन्ने पनि थाहा छ तर त्यसप्रति कुनै रुचि छैन। पाप के हो भन्ने पनि थाहा छ तर त्यसबाट पन्छने पनि मन पनि छैन। मनभित्रको कुनै तत्वले जे जे भन्छ म त्यही त्यही गर्छु।'

अहिले मुलुकमा जे भइरहेको छ त्यसले कसैको पनि भलो गर्दैन भन्ने सबै राजनीतिकर्मीहरूले बुझेका छन्। तर, कुन्नि किन सबै आआफ्ना हठ, स्वार्थ र दम्भका कैदी भएका छन्। जानीजानी उनीहरू दुर्योधनको दुःखान्त वरण गर्ने दिशामा उन्मुख भएका छन्। बिहान संविधान सभाबाट सहमतिमा संविधान निर्माण गर्न प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गर्ने एनेकपा (माओवादी)का अध्यक्ष दाहाल दिउसो संविधान सभा नै भङ्ग गरेर राजनीतिक सभा गठन गरी संविधान लेख्नुपर्छ भन्ने नेकपा–माओवादीसँग एकीकरण वार्तामा बस्छन्। उनले आफूलाई बिहान ढाँटे कि दिउँसो छकाए?

छातीमा लोकतान्त्रिक उदारता समेट्न सक्ने कोही नहुनु सायद समसामयिक नेपाली राजनीतिमा उत्पन्न संकटको मुख्य कारण हो। विडम्बना, सहमतिको माला जप्नेहरू नै घृणाको खेती गर्दैछन्। पञ्चायतलाई 'राष्ट्रिय' र 'राम्रो' व्यवस्था देखाउन त्यति बेला लोकतन्त्रवादीलाई अराष्ट्रिय तŒव भनियो। पञ्चहरूले निषेधको नकारात्मक राजनीति गरे। लोकतन्त्र स्थापना त भयो तर पञ्चायती शासनमा हुर्केको पुस्ताले सिकेको जानेकै त्यही नकारात्मक प्रवृत्तिमात्र थियो। अर्को लामो धर्को तान्नतिर कोही लागेन। अरूको धर्को मेटेर छोटो बनाउनै सबै लागे। राजनीति अपशब्दको भण्डार भयो। राजनीतिमा नाममा अपसंस्कारको विकास गरियो। लोकतन्त्र शिष्ट, भद्र र सभ्य राजनीतिक प्रणाली हो। सायद यसैले नेपाली राजनीति र लोकतन्त्रबीच तालमेल मिल्न नसकेको हो।

अरू नेताहरूले सुशील कोइराला र पुष्पकमल दाहाललाई सहमति निर्माण गर्ने जिम्मा दिएछन्। शल्यलाई सेनापति बनाएर महाभारतको युद्ध जित्ने दुर्योधनको आशाभन्दा कोइराला—दाहाल वार्ताबाट संविधानमा सहमति बन्ने अपेक्षा पनि खासै फरक होलाजस्तो त देखिँदैन।

तैपनि, अंग्रेज दार्शनिक स्यामुएल टेलर कलरिजले सुझाएजस्तै 'अविश्वासको निलम्बन' ( सस्पेन्सन अझ डिस्बिलिभ) गरेरै भए पनि नेपाली राजनीतिप्रति आशावादी हुन मन लागेको छ। नियतिले पुनः निराश नबनाओस्!

No comments:

Post a Comment