Tuesday, January 13, 2015

पुस्तौँ पुस्ताको पीडा

पुस्तौँ उस्तै पीडा सहनु परेपछि पीडकप्रति आक्रोश वा घृणाभन्दा सन्तानले त्यस्तै कहर काट्न नपरे हुन्थ्यो भन्ने कामना बढी हुनेरहेछ। पूर्व कमलरीका चार पुस्तासँग एकैछिन 'बतियाउदा' तिनमा प्रतिशोध वा आक्रोश खासै भेटिएन। बरु उनीहरू आफूले सहेको पीडा सन्तानले 'भोग्न नपरे' हुन्थ्यो भन्ने कामना गर्दै थिए। र, अलिकति 'नपर्ला कि' भन्ने आशा पनि तिनमा देखिएको थियो। 

लखनिया करिब ६५ वर्षकी थिइन्। करिब किनभने उनलाई आफू कति वर्ष भएँ भन्ने नै थाहा छैन। उनकी नातिनी १४— १५ वर्षकी भइन्। यसैले त्यति वर्ष भइन् कि? छोराछोरी पाएको उमेरसम्म पनि उनी वर्षमा बताउन सक्तिनन्। यसैले अनुमान गर्नुबाहेक उनको उमेर पत्ता लगाउने उपाय मसँग भएन। सामान्य नेपाली बुझ्छिन् तर मनका कुरा बताउन सक्तिनन्। थारु भाषामा उनले आफूले भोगेको सास्ती र दुनियाँमा आएको परिवर्तनका बारेमा बताइन्।

लखनिया 'मालिक'का घरमा काम गर्न कुन उमेरदेखि थालेको हो भन्ने चाहिँ सम्झिन्नन् । उनका बाबु मालिकका घरमा काम गर्थे। कमैया भनिने बँधुवा मजदुरका रूपमा। उनी र आमा पनि मलिककै घरमा काम गर्थे। त्यसपछि बिहा भयो। पति अर्को मालिकको काम गर्थे। उनी स्वतः पतिको मालिकको परिवारकी कामदार भइन्। यस्ता महिला कामदारलाई जुठोपुरो खान र झुत्रा जडाउरी लगाउन दिए पुग्थ्यो। तिनलाई ज्यालाबनी दिनुपर्दैन थियो।

लखनियाका पतिले मालिक मालिक फेरेसँगै उनले पनि 'देशी' र 'पहाडी'का घरमा काम गरिन्। दौँतरी र आमाहरूजस्तै लखनियाले पनि कुटपिट, दुर्वचनलाई मालिकको अधिकार र आफ्नो भाग्य ठानेर स्वीकार गरेकी थिइन्। पति सायद बढी नै स्वाभिमानी थिए। भोकै बस्नु परे पनि कमैया नबस्ने निधो गरेर मालिकको घर छाडे। मजुरी गर्न थाले। लखनियाले उतिबेलाका धेरै दुःख त बिर्सिसकिन् रे। तर, पछिल्लो मालिकले कोदो दिएर धानको भाउमा ऋण बोकाएको र मजुरी गरेर कमाएको सबै उसैलाई बुझाउँदा पनि ऋण नघटेको भने कहिल्यै बिर्सिन्नन्।

लखनियाँ सँगै उनकी १५ वर्षकी नाती रुबी पनि थिइन्। रुबी कक्षा ४ मा 'बोर्डिङ' स्कुलमा पढ्छिन्। विद्यालयकै पोसाकमा थिइन्। रुबी पूर्वकमलरी हुन्। रुबीलाई ८—९ वर्षकै उमेरमा पहाडी 'मालिक'का घरमा काममा लगाइएको थियो। छोरीलाई कमलरी राख्नुको साटो पढ्न पठाए लाग्ने सबै खर्च एउटा संस्थाले बेहोर्ने भएपछि रुबी पनि गाउँका अरू सँगीहरूसँगै विद्यालय जान थालिन्। पहिले सरकारी विद्यालयमा पढ्थिन्। सरकारी स्कुलको पढाइबाट रुबी र उनका साथीहरूले खासै प्रगति गर्न नसेकपछि उनीहरूलाई यस वर्ष कक्षा घटाएर भए पनि निजी विद्यालयमा पढ्न पठाइएको छ। रुबीले कमलरी भए पनि गाउँ छाडेर जान परेन। अर्थात्, परिवारबाट टाढा जानु परेन। यसैले मालिक्नीले बेलाबखत कुटेकी, कपाल 'लुछेकी' र खान नदिएकीबाहेक अरू दुर्व्यवहारको खासै अनुभव छैन। अनि रुबीको अनुहारमा पीडाका रेखा पनि छैनन्। बोलीमा पीडाका सुस्केरा पनि छैन। बरु आशाको उज्यालो र विश्वासको चमक छ।

पार्वतीको उमेर त्यस्तै ३५ — ४० को हुनुपर्छ। उनकी छोरी १२ वर्षकी छिन्। पार्वतीले पनि बाबुकै मालिककोमा काम गर्न थालेकी हुन् रे। उनको बेलासम्म पनि छोरीमात्रैलाई काममा लगाउन टाढा पठाउने र लैजाने चलन खासै थिएन रे। कति वर्षमा आफू अर्काको धरमा काम गर्न थालेँ भन्ने उनलाई हेक्का नै छैन। अर्काको घरमा काम गर्नुपर्दाको सास्तीका सम्झना पार्वतीका आँखाबाट रसाइहाले। लखनियाको घाउमा सायद खाटा बसिसकेको थियो। पुराना दिन सम्झँदा उनका आँखा रसाएनन्। रुबीले कमलरी हुनुको चोट खासै सहनु नपर्दै मुक्ति पाइन्। उनले मालिक्नीले 'कपाल लुछेकी' पनि सजिलै बताइन्। सायद घाउको दाग बस्नै पाएन। पार्वतीको घाउमा खाटा बसे पनि कसैले छुनेबित्तिकै चस्स दुखिहाल्ने रहेछ। मालिक्नीले मासु पकाएको भाँडामा पानी हालेर दिएको र काममा चित्त नबुझ्ने बित्तिकै बाबुआमा उड्केर गाली गरेको दुर्व्यवहार पावर्तीले बिर्सनै सक्तिरहिन छिन्। पावर्तीकी छोरी अहिले रुबीलाई छात्रवृत्ति दिएर पढाउने संस्थाकै सहयोगमा नजिकैको निजी विद्यालयमा पढ्छिन्। पावर्तीले आफ्नी छोरी त्यसरी स्कुल जाली भनेर चिताएकै थिइनन् रे!

यी माथिका तीन पुस्ताले पाएको दुःख पक्कै पनि असामान्य र अमानवीय हो। नेपाल 'कमलरी'हरू कलिलै उमेरमा बालापनमात्र हैन जीवनै खोसिएका पात्र हुन्। तिनले किन क्षतिपूर्ति नपाउने? लेखपढ गर्ने, सीप सिक्ने उमेरकालाई सायद त्यस्तो अवसर जुटाएर पनि सहयोग गर्न सकिएला तर उमेर घर्केकाहरूलाई राज्यले विशेष सहयोग उपलब्ध गराएर आँसु पुछ्नु नै मानवीय व्यवहार हुनेछ।

'कमलरी' प्रथाका साँच्चैका पीडितले भने माथिका तीन पुस्ताले भन्दा बढी नै कहर काटेका छन्। लखनिया र पावर्ती दुवैले कमैया प्रथाकै विस्तारित कहरमात्र काट्नु परेको हो। तिनले कम्तीमा राति आमाबाबु वा पतिलाई दुःख सुनाएर रुने मौका पाएका थिए। बेचिएर पराईको घरमा पुगेका थिएनन्। रुबीलाई 'कमलरी'कै रूपमा काममा पठाइएको भए पनि गाउँमै थिइन्। उनले पनि नचिनेको बाटो हिँड्नु परेको थिएन। यसैले यिनीहरूले 'कमलरी' प्रथाको वास्तविक प्रतिनिधित्व गर्दैनन्।

झरना ९ वर्षकी छँदा काठमाडौंका कुनै सज्जनले घरमा अलिअलि काम पनि सघाउने र स्कुलमा पढ्न पठाउने भनेर परिवारबाट छुटाएर ल्याए। पैसा पाएपछि झरनाका बाबुले छोरी पढ्नै पठाएको पनि ठाने। कुकुर खेलाउने काम लगाइएकी झरना आफूलाई कुकुरसरह पनि व्यवहार नगरेको कहिल्यै बिर्सन्नन्। यसरी परिवारबाट छुट्ट्याएर लगिएकी बालिकाहरूले भोगेका हुन् यस प्रथाका चरमा यातना। कमलरी प्रथाविरुद्ध संघर्ष गर्नेहरू यही पुस्ताका हुन्। झरनाको पुस्ताका थारु बालिकाले बढी नै सास्ती बेहोरेका छन्। तिनका अनगिन्ती कथाव्यथा सार्वजनिक भइसकेका छन्। तिनको पीडाको व्यापारसमेत सुरु भएको छ। अर्कातिर, पूर्वकमलरीको उद्धार, पुनःस्थापना र परिपूरणका क्षेत्रमा केही काम भएको छ। राज्यले केही गरेजस्तो गरेको छ। सामाजिक संस्थाले पनि केही गरेका छन्। राज्य र सामाजिक संस्थाले यिनका नाममा गरेको खर्चबाट को बढी लाभान्वित भएको छ भन्ने बहसको अर्को विषय हुनसक्छ तर जे जति भएको उनीहरूले भोगेको अन्याय र तिनको आवश्यकताका तुलनामा अत्यन्त थोरै छ।

विशेषगरी २०३६ सालपछि नेपाली समाजमा नवधनाड्यको संख्या बढ्न थाल्यो। सम्भवतः सामन्ती मानसिकता र उपभोक्तावादी भौतिकता दुवैको संयुक्त विष समाजमा फैलन थाल्यो। बाबुआमालाई कलिला छोरीहरू 'बेचेर' घरखर्च चलाउन तम्से। धनीहरू आफ्ना छोरीकै उमेरका 'कमलरी' किनेर कजाउन पौरख ठान्न थाले। नाता र व्यवहारमा मानवीय पक्ष हराएपछि उचित र अनुचितको भेद पनि मेटिनेरहेछ। थारु महिलाले धेरै वर्षदेखि नेपालका अरू महिलाले भन्दा थप शोषण र दमन सहनुपरेको छ। तिनले सहनुपरेको यौन उत्पीडन त अझ राम्ररी सतहमा आएकै छैन।

कुनै बेला काठमाडौँकै छेउछाउका जिल्लामा छोरी बम्बई (मुम्बई) पठाउन तँछाड्मछाड् गर्थे। राष्ट्रिय पञ्चायतका एक जना सदस्यले २०३०को दशकको प्रारम्भमा आफू बम्बई गएर कोठीवालीको मेजवानी खाएको वर्णन निकै गर्वसाथ गरेको सम्झन्छु। अहिले चेलीबेटी बेचबिखन गम्भीर अपराध भएको छ। यस्तै, कमलरी राख्नेहरूले बढो गर्वसाथ घरमा 'थरुनी' केटी राखेको वर्णन गर्थे। अब सायद, दण्डको भयमात्र हैन सनमाजिक कलंकका डरले पनि सार्वजनिकरूपमा बताउने आँट गर्दैनन्। सामाजिक र कानुनी दृष्टिकोणमा परिवर्तन भएको छ। अहिले कमलरी किनबेचका लागि माघीमा मेला लाग्दैन। काठमाडौं वा छिमेकको सहरबजार र गाउँबाट कुनै मालिक चिल्लो मोटर चडेर कमलरी किन्न सानसँग जाने आँट गर्दैनन्। काम गर्ने केटी खोज्नेहरू भने अझै सुटुक्क जाँदा रहेछन्! माघीको मौकामा त बरु पूर्वकमलरी रहेका र कमलरी हुनुपर्ने जोखिममा भएकाहरूको सम्मान गर्न थालिएको छ। (म पनि यस्तै कार्यक्रममा देउखुरीको चैनपुर, बाकीमा पुगेको थिएँ। त्यही भेटेको हुँ लखनिया, पार्वती, झरना र रुबीलाई। यी सबै नाम मैले राखेको भए पनि अरू उनीहरूकै विवरण हो।)

लखनियादेखि रुबीसम्मको पुस्ताले बेग्लाबेग्लै प्रकारले तर उस्तै अमानवीय अन्याय सहेको छ। उनीहरूको भोगाइ बेग्लै छ। अचम्म मैले उनीहरूको चाहना सोध्दा भने सबैले लगभग एउटै कुरा भने। लखनियाले भनिन् — रुबी मेरी ठूलो छोराको छोरी हो। यसले यसरी स्कुल गएको देख्दा मलाई रमाइलो लाग्छ। सपनामा पनि यस्तो होला भन्ने सोचेकी थिइन। कान्छो छोराकी पनि छोरी छ। उसलाई पनि यसरी नै पढाउने व्यवस्था भए हुन्थ्यो। पार्वती अर्की छोरीलाई पनि पढाउने व्यवस्था (निजी स्कुलमा) भए हुन्थ्यो भन्छिन्। झरना अहिले एउटा संस्थामा काम गर्छिन्। उनी सबैलाई पढाउने र सीप सिकाउने व्यवस्था मिलाउन पाए हुन्थ्यो भन्छिन्। अरू त अरू रुबीले भनिन्- मौसीकी छोरीलाई पनि पढाउन पाए हुन्थ्यो। कसैले पनि 'कमलरी'ले राज्य वा पुराना पीडकबाट क्षतिपूर्ति पाउनुपर्ने अधिकार खोज्दैखोजेनन्।

राज्य चलाउनेहरूसँग बन्दुक बोक्नेबाहेक अरूका कुरा सुन्ने मन छैन। व्यक्ति वा सामाजिक संस्थाको सद्भावमात्रले सबैलाई राम्रो शिक्षा दिएर तिनका सन्तानलाई 'कमलरी' बन्नै नपर्ने बनाउन सक्तैन । प्रतिशोध र क्षतिपूर्तिको माग नचर्कँदै सरकार पूर्वक्रियाशील होला?

No comments:

Post a Comment