Tuesday, September 9, 2014

मानवतावादीको समाजवाद

नेपालको राजनीति र साहित्य दुवैतिर उत्तिकै उच्च स्थानमा रहेका विश्वेश्वरप्रसाद कोइरालाको शत वार्षिकी मनाइँदै छ। सम्भवतः देशभित्र सबैभन्दा धेरै समर्थन, विरोध र चर्चा भएका र विदेशमा सम्मान गरिएका नेपाली हुन् बीपी। 

त्यस क्रममा धेरैले उनलाई राजनीतिमा लोकतान्त्रिक समाजवादी, साहित्यमा यौन मनोविश्लेषणका प्रयोक्ताका रूपमा चिन्ने र चिनाउने गरेका छन्। बीपी भने राजनीतिमा मूलतः मानवतावादी हुन् र 'त्रू्कर पुँजीवाद’ विरोधी हुन्। उत्तरार्धमा बीपीको विचारमा स्पष्ट देखिएको उपभोक्ता संस्कृतिप्रतिको असहमतिले उनलाई पर्यावरणवादी अर्थात् 'ग्रिन’ पनि बनाएको छ। उनकोे चिन्तनको यस पक्षको भने खासै चर्चा भएको छैन। 
बीपीलाई बुझ्न सजिलो हुने केही पंक्ति तल उद्धृत गरिएको छ।
• 'हामीले विकासको पश्चिमी ढाँचा अनुकरण गर्दा खेरी धनी झन् झन् धनी र गरिब झन् झन् गरिब हुँदैगइरहेका छन्। यो सम्पन्न वर्गको जरा (आधार) यस देशमा छैन। त्यो वर्गलाई यो देशको आर्थिक पुनरुत्थानमा खास रुचि पनि छैन। ’ 
• 'हामीहरू के चाहन्छौँ भने 'पोलिसी’ बनाउने कुरामा पनि जनता सम्मिलित हुनुपर्छ र त्यो 'पोलीसी इम्प्लिमेन्ट’ (कार्यान्वयन) बखतमा पनि जनताको सहभागिता हुनुपर्छ। अनिमात्र विकास हुन्छ।’ 
• 'हामीहरूको आर्थिक सामर्थ्य के छ? हाम्रा विद्यमान आर्थिक साधन के छन् जसलाई जग बनाएर विकासको पहिलो इँट राख्न सकिन्छ? हामीसँग उर्वर जमिन छ। श्रमशक्ति, जना, नदी, नाला प्रशस्त छन्। वन जंगल छ। पुँजीको भने ठूलो अभाव छ। विकासको कार्यक्रम बनाउँदा यी साधन र अभावलाई बिर्सन पाइन्न। विकासको लक्ष्य के त? भन्दा प्रत्येक नेपालीलाई खान, लाउन, बस्न घर, केटाकेटी पढ्ने र ओखतीमुलोको व्यवस्था गराउने हो। ’ 
• 'नेपालका लागि गरिबी भन्नु पनि गाउँमै छ। गाउँ र गाउँलेको अवस्थाबारे तपार्इँलाई केही थाहा छैन भने गरिबीको समस्या बुझ्नेपट्टि पाइलो सार्न पनि सक्नुहुन्न। बडो उत्कृष्ट एवं जटिल प्रविधि भएका विकसित देशहरूबाट विकासको धारणा आयात गर्नु नै हाम्रा योजनाविद्हरूको गल्ती हो। ’ 
( विकाससम्बन्धी विश्वेश्वरप्रसाद कोइरालाका यी सबै उद्धरण बलदेव मजगैयाँको सम्पादनमा प्रकाशित 'बीपी कोइराला विचार विन्दु, २०४७’बाट लिइएको हो। पुस्तकमा कुनै उद्धरण सन्दर्भसहित र कुनै उद्धरणमात्र पनि दिइएकाले यहाँ उद्धृतमात्र गरिएको छ।) 
दुर्भाग्य, ' विकसित देशहरूबाट विकासको धारणा आयात गर्ने ' गल्ती २०४६ पछि पनि गरियो र २०६३ पछि समेत त्यसैलाई निरन्तरता दिइयो। फलस्वरूप, मुलुक विद्यार्थी र बिरामीसँग कर उठाएर ढुकुटी भर्ने र राजनीति, प्रशासन र अरू क्षेत्रका ठालुलाई पोस्ने विकृत पुँजीवादी अर्थव्यवस्थाको भारसमा फस्यो। नेपालले अहिले अपनाएको आर्थिक विचार पुँजीवादी हो। हुनत, उदारवादी राज्य व्यवस्था भएका मुलुकमा लगभग सबैतिर बजार अर्थतन्त्र भएकाले पुँजीवाद र उदारवादलाई पर्याय ठान्नेहरू पनि छन् तर पुँजीवाद समाजवादको सहोदर हो। उदारवादी राज्यमा त बजारको त्रू्करताबाट कमजोरलाई जोगाउने विधि र संयन्त्र हुन्छ। राज्यले जनतालाई सबै प्रकारका शक्तिशालीको थिचोमिचोबाट संरक्षण गर्नुपर्छ भन्ने मान्यता हुन्छ। 
बीपीका अर्थतन्त्र र विकाससम्बन्धी विशेषगरी पछिल्ला कालखण्डका विचार र अवधारणाको अनुशीलन गर्दा राज्यले कमजोर नागरिकको न्यूनतम आवश्यकताको जिम्मा लिनुपर्छ भन्ने उनको मान्यता रहेको स्पष्टै बुझिन्छ। यही मान्यतालाई समाजवाद भन्ने हो भने बीपीलाई समाजवादी भन्न सकिन्छ। तर, समाजवादका आधारभूत पक्षहरू भौतिकवादी दृष्टिकोण र प्राकृतिक साधनस्रोतको दोहनप्रति भने बीपीको चर्को विमति छ। समाजवादीहरू मानवेतर सबै प्राणी र वस्तुको शोषण एवं दोहन गरेर पनि समाजलाई समृद्ध बनाउनुपर्छ भन्ने मान्यता राख्छन्। तर, पछिल्लो कालखण्डका विचार हेर्दा बीपी समाजवादीभन्दा बढी 'ग्रिन’ देखिन्छन्। उनका समाजवादी मित्र विली ब्रान्टले प्रशंसा र उद्धृत गरेको बीपीको विकास अवधारणा पनि दिगो विकाससम्बन्धी नै हो। 
समाजवाद अपेक्षाकृत पश्चिमी र वर्गमा आधारित भौतिकवादी चिन्तन हो। बीपीमा पछिल्लो कालखण्डमा 'बसुधैव कुटुम्बकम्’ प्रकृतिको आध्यात्मिकता देखिएको छ। 'ठूलो हैन असल’ भन्ने उनको मान्यता भौतिकवादी होइन। यस्तै हेनरी फोर्डको विकास प्रारूपको अस्वीकृतिको वैचारिक पक्ष पश्चिमको 'उपभोक्ता संस्कृति’प्रतिको असहमति हो। बरु, पूर्वीय चिन्तनमा वैदिक युगसँग जोडिने र अहिले पश्चिममा बिस्तारै राजनीतिक विचारका रूपमा स्थापित हुँदै गएको प्रकृति र मानवतावादी 'बाँचौ र बाँच्न दिऊँ' भन्ने विचार व्यक्ति र प्रकृतिमाथि राज्य र पुँजीपतिको शोषणविरुद्ध पनि छ। बीपीले आजभन्दा करिब ५० वर्ष पहिले नै यस्तो धारणा प्रकट गरेका छन्। सशस्त्र आन्दोलन पूर्व नै पनि उनमा 'दिगो मानवीय विकास’को धारणा उत्पन्न भएको पाइन्छ 'जेल जर्नल'का कतिपय पंक्तिमा। थोरै जनसंख्याले धेरै साधनस्रोतको उपभोग गर्ने उपभोक्तावादी ढाँचा अर्थात् बीपीका शब्दमा 'हेनरी फोर्ड नमुना’को विरोध उनले सैद्धान्तिक आधारमै गरेका हुन्। त्यसको स्पष्ट अर्थ हुन्छ, अहिले नेपालले अपनाएको चरम उपभोक्तावादी बजार अर्थतन्त्रको पनि बीपीले विरोध गर्ने थिए। उनले उपभोक्तावादी पुँजीवाद विरोधी यो विचार सन् १९८१ मै अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा व्यक्त गरेका थिए। 
कार्ल मार्क्स र अरू धेरै समाजवादीको ध्यान गरिबीको कारण र त्यसबाट मुक्तिको उपाय खोज्नमा भन्दा धनी हुनुको कारण र तिनको धन खोस्ने उपायमा बढी केन्द्रित छ। बीपीको ध्यान भने गरिबलाई सम्मानपूर्ण जीवन यापन गर्न सक्षम बनाउनेमा केन्द्रित छ। यो वास्तवमा बेलायतमा उदारवादीहरूले अठारौं शताब्दीमा थालेको सुधारकै अंग थियो। विशेषगरी शिक्षा र स्वास्थ्यको अवसर सबैलाई समानरूपमा उपलब्ध हुनुपर्छ भन्ने त्यस सुधारको मूल ध्येय थियो। त्यसका लागि राज्यको दायित्व र भूमिका हुनुपर्छ भन्ने मान्यतालाई पछि 'समाजवादी’ भन्न थालियो। त्यो मूलतः उदारवादी चिन्तन हो। 
बीपीका छरिएका विचारका आधारमा विकासको खाका कोर्दा शिक्षा र स्वास्थ्य सेवाको जिम्मा राज्यले लिनुपर्छ, बजारमा राज्य, पुँजीपति वा श्रमिक कसैको पनि एकहट्ठी (एकाधिकार) हुनुहुँदैन, 'जग्गा हुन्छ जोत्नेको' अर्थात् खेती गर्नेले जमिनको स्वामित्व पाउनुपर्छ, उत्पादन र सेवा उद्योग श्रम प्रधान र वातावरणमैत्री हुनुपर्छ, भारवहन क्षमताअनुसार मात्र प्राकृतिक स्रोत साधनको उपभोग गर्नुपर्छ भन्न सकिन्छ। (विशेषगरी सन् १९७० को दशकको उत्तरार्धमा विश्वको ध्यान वातावरणको भारवहन क्षमतातिर गएको हो। यही बेलातिर संयुक्त राष्ट्रसंघले ब्रान्ट कमिसन, ब्रुन्टल्यान्ड कमिसनजस्ता विश्वस्तरीय समिति बनाएर अध्ययन गराएको थियो। बीपीले यी अध्ययनहरूको प्रतिवेदन हेर्न त भ्याएनन् तर लाग्छ, यिनको निष्कर्ष बीपीले पहिल्यै बुझेका थिए। बीपीले अहिलेको 'दिगो विकास’ शब्द नै त सायद प्रयोग गरेका छैनन् तर धेरै पहिले नै बीपीले त्यस अवधारणालाई अघि सारेका थिए। ब्रान्टले बीपीको त्यही विचार एउटा समाजवादी सम्मेलनमा उद्धृत गरेका छन्।)
बीपीलाई उनका विकाससम्बन्धी वैकल्पिक चिन्तनका आधारमा हेर्नुपर्छ। विकासको चिन्तन धेरै आर्थिक चिन्तकले प्रस्तुत गरेका छन् तर बीपीले राजनीतिक नेताका रूपमा विकासलाई नयाँ अर्थ दिए। यसैले बीपीले विकल्प दिन सकेका हुन्। परिवार केन्द्री, गुजारामूलक, नेपालका हकमा किसानमुखी, दिगो र आत्मनिर्भर विकास उनको चिन्तनको सार हो। ( बीपीले कल्पना गरेको गुजारा भने हातमुख जोड्ने प्रकृतिको नभएर 'दूधभात खान, छोराछोरी पढाउन, ओखतीमुलो गर्न ऋण लिनु नपर्ने अर्थात् मध्यमवर्गीय परिवारको स्तरको हो।) यसलाई 'समाजवाद’ भन्ने हो बीपी समाजवादी हुन्। अरू विकास प्रणाली व्यक्ति वा राज्य केन्द्री छन् भने बीपीले परिवारकेन्द्री विकास ढाँचा अगाडि सारेका छन्। बीपी समृद्धिको साटो गुजारा रोज्छन् र परिवार आत्मनिर्भर हुने विकासका पक्षमा देखिन्छन्। अर्थात्, बीपीको विकास चिन्तनको केन्द्रमा समृद्धि हैन स्वतन्त्रता छ। विडम्बना, बीपीको विकास चिन्तनमा 'भविष्यमुखी’ विकल्प मान्न सकिने यस पक्षको भने चर्चै हुनसकेको छैन। उनको शतवार्षिकी पनि सायद सतहमै अलमलियो।

No comments:

Post a Comment