Tuesday, September 17, 2013

पुटिनको बुद्धिमत्ता



हजार शब्दमा भन्न व्यक्त नहुने विचार एउटै चित्रबाट सजिलै अभिव्यक्त हुन्छ भन्ने कथनको पुष्टि इन्टरनेसनल हेराल्ड टि्रब्युनमा प्रकाशित पेटि्रक सपातको 'सिरिया सम्बन्धमा रसियाली धारणा’ शीर्षकको व्यंग चित्रबाट भएको छ। ह्वाइट हाउसको कुनै सभाकक्षमा 'प्रेसिडेन्ट अफ् दी युनाइटेड एस’ लेखिएको देखिने पोडियम छ। छेउमा तारैतारा भएको झन्डा छ। पछाडि दुईवटा खाली कुर्सी छन्। पोडियममा उभिएको व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हुन् भन्ने सजिलै चिनिन्छ। 
उनको हातमा गातामा 'सिरियाका लागि रुसी योजना’ लेखिएको कागज छ। उनी ' अमेरिकी मित्रहरू’ भनेर सम्बोधन सुरु गर्दैछन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाकै ठाउँमा उनैको मञ्च प्रयोग गरेर रुसी राष्ट्रपति पुटिनले अमेरिकी जनतालाई सिरियाका बारेमा सम्बोधन गरेको यो चित्र सम्भवतः केही दिन पहिले प्रकाशित राष्ट्रपति पुटिनको लेखबाट उत्पन्न स्थितिप्रति गरिएको व्यंग्य हो। इन्टरनेसनल हेराल्ड टि्रब्युनको (नेपालमा छापिने) हंगकंग संस्करणमा गत शनिबार प्रकाशित 'रुसबाट सावधानीको आह्वान’ शीर्षकको लेखमा पुटिनले अमेरिकी राष्ट्रपति ओबामाको सिरिया नीतिका कमजोरी औंल्याएर वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन्। पुटिनको लेखमा पाठकले ४ हजारभन्दा बढी प्रतिक्रिया व्यक्त गरेको अनलाइन संस्करणमा देखिन्छ। धेरैले युद्धको विभीषिका रोक्न पुटिन अग्रसर भएकोमा सराहना नै गरेका छन्। केहीले सिरियामा अमेरिकी आक्रमण रोक्ने नाममा पुटिनले त्रू्कर तानाशाहलाई जोगाउन खोजेको आरोप पनि लगाएका छन्। पुटिनले लेखको अन्त्य 'ईश्वरले हामी सबैलाई समान बनाएको बिर्सन हुँदैन ’ भनेर गरेका छन्। 
केहीले पुटिनको यही अभिव्यक्तिप्रति व्यंग्य गर्दै रुसको कानुनमा समलिंगीविरुद्ध भएको भेदभावको विषय पनि उठाएका छन्। समलिंगी अधिकारकर्मीका लागि सिरियामा विषालु ग्यासको प्रयोग, मानवीयताका नाममा अमेरिकी आक्रमणको तयारी र त्यसलाई रोक्न पुटिनको कूटनयिक अग्रसरता जत्तिकै महत्वपूर्ण हुन्छ होला रुसमा समलिंगी अधिकारको निषेधको विषय। जेहोस्, पुटिनले अमेरिकीमात्र हैन विश्व जनमतकै ध्यान आकर्षित गरे यस लेखका म्ाध्यमबाट।
पूर्व गुप्तचर भ्यादिमिर पुटिन मलाई मन नपर्ने नेतामध्येमा पर्छन्। रुसमा लोकतन्त्रलाई उनले उपहासको विषय बनाएका छन्। उनमा सत्ता मोह पनि उत्तिकै धेरै छ। बेलाबखत साइबेरियामा चरासँग उँड्नेजस्ता चटकले लोकप्रियता बढ्छ भन्ने उनको धारणा पनि उत्तिकै आलोचनाको विषय बनेको छ। उदार लोकतन्त्रवादी रुसीहरू पुटिनको अधिनायकवादी शासनविरुद्ध संघर्ष गरिरहेका छन्। पुटिनको विरोध गर्नेहरूलाई कुनै न कुनै अभियोग लगाएर जेलमा हाल्ने वा निर्वासित गर्ने रुसी शासनको नियमित अभ्यासजस्तै भएको छ। यी सबै कारणले होला मलाई पुटिन धूर्त हुन् तर असल हैनन् भन्ने लाग्छ।
यस प्रकरणमा निरीह 'निमित्त नायक' बन्न पुगेका बाराक ओबामा भने मलाई मन पर्ने नेतामध्येका हुन्। ओबामालाई नोबेल शान्ति पुरस्कार दिँदा मैले 'उधारो’ भन्नुको तात्पर्य काठमाडौंस्थित अमेरिकी राजदूतावासले लगाएजस्तो 'स्केप्टिकल’ थिएन। शान्तिका लागि ओबामाले थप योगदान पुर्‍याउन सकुन् भन्ने चाहना मिसिएको आग्रह थियो। कारण, शान्ति पुरस्कार दिइँदा उनले धेरै योगदान गरेका थिएनन्। परन्तु, विश्व शान्तिमा निर्णायक भूमिका हुनसक्ने व्यक्तिका पंक्तिमा ओबामा सबैभन्दा अगाडि थिए। दुर्भाग्य, उनले संसारको उनीप्रतिको अपेक्षा पूरा गर्न सकेनन्। इराकबाट अमेरिकी सेना फर्काउने र अफगानिस्तानबाट हट्ने उनका राम्रा निर्णय हुन् तर मध्यपूर्वका हकमा उनले अमेरिकालाई मानव अधिकारको पक्षमा उभ्याउन सकेनन्। अमेरिकी अर्थतन्त्रलाई उनले बाटामा ल्याए। परन्तु, संसारलाई बाटो देखाउन सकेनन्। इजिप्टको निर्वाचित सरकारलाई सेनाले अपदस्थ गर्दा उनको अमेरिकाले मौन समर्थन गर्‍यो। सिरियाकै हकमा पनि अमेरिका स्पष्ट हुनसकेको देखिएन। मुस्लिम ब्रदरहुडलाई अल कायदा ठान्ने अमेरिकी अनुदार दृष्टिकोणकै ओबामाले पनि प्रतिनिधित्व गरेको देखियो। सिरिया संकटमा पनि अमेरिकाले सैनिक हस्तक्षेपकै नीति अपनाउन खोज्यो। बेलायतको संसद्ले प्रधानमन्त्री डेभिड क्यामरुनको सिरिया आक्रमणको प्रस्ताव विफल नपारेको भए अमेरिकी सदनमाथि पनि राष्ट्रपति ओबामालाई साथ दिने दबाब बढ्ने थियो। त्यस अवस्थामा सिरियामा आक्रमण हुने जोखिम अति नै धेरै थियो। अहिले पनि यो जोखिम टरिसकेको त छैन तर अमेरिकी राष्ट्रपति ओबामा पक्कै हच्केका चाहिँ हुनुपर्छ। (अचम्म, तैपनि मलाई अझै ओबामा नै मन पर्छन्।)
राष्ट्रपति पुटिनले यस लेखलाई सुरक्षा परिषद्को भिटोभन्दा बलियो अस्त्र बनाउन सके। उनले अमेरिकी जनतासँग प्रत्यक्ष संवादका लागि जनसञ्चारको माध्यम अपनाउनु परेको उल्लेख गरेर लेख सुरु गरेका छन्। रुसी टेलिभिजन वा अन्त कतै यही धारणा प्रकट गरेको भए त्यसले पक्कै पनि दी न्युयोर्क टाइम्समा प्रकाशित भएको लेखले जति प्रभाव पार्न सक्ने थिएन। यसैले पुटिनले माध्यमको चयनमा पनि बुद्धि पुर्‍याएको देखियो। अमेरिका र रुसका बीचमा शीतयुद्धकालीन वैमनस्य र विश्वयुद्धमा भएको सहकार्यको उल्लेख गरेर मित्रता र शत्रुता स्थायी नहुने सन्देश दिएका छन्। र साथै, शीतयुद्धकालभर संसारलाई ठूला युद्धबाट जोगाउन सफल संयुक्त राष्ट्रसंघको औचित्य र भूमिकाको पनि चर्चा गरेका छन्। सुरक्षा परिषद्को निर्णयबिना अमेरिकाले एक्लै वा नेटो राष्ट्रका बलमा सैनिक कारबाही गरेमा संयुक्त राष्ट्र संघको नियति पनि 'लिग अफ नेसन्स ’कै जस्तो हुनसक्ने चेतावनी पनि पुटिनको लेखमा दिइएको छ।
सिरियाली तानाशाह बसर अल असादको प्रत्यक्ष समर्थन पनि पुटिनले लेखमा गरेका छैनन् तर विद्रोहीहरूको अल कायदासँग सम्बन्ध हुनसक्ने स्पष्ट उल्लेख गरेर उनले असादको बचाउ गरेका छन्। तर, उनको तर्कले असादको पक्षधरता गौण बनाइदिएको छ। पुटिनको बठ्याइँ यसले पनि पुष्टि गर्छ।
सिरियाले रासायनिक हतियारको प्रयोग गरेको विषय पक्कै पनि मानवताका लागि कलंकै हो। पुटिनले त्यो घातक विष विद्रोहीले प्रयोग गरेको पनि हुनसक्छ भन्ने सन्देह प्रकट गरेका छन्। आफैँ मारिन सक्ने गरी विद्रोहीले रासायनिक हतियार प्रयोग गरे होलान् भनेर पत्याउन मुस्किल हुन्छ। यो असदलाई शंकाको सुविधा दिने पुटिनको धूत्याईँ हो।
ओबामामा भने उल्टो दम्भ प्रकट भएको छ। अमेरिकीहरू विशेषगरी अनुदार रिपब्लिकनमा देखिने अहंकार ओबामाबाट पनि व्यक्त हुँदा उनलाई माया गर्ने संसारभरका उदार लोकतन्त्रवादीको चित्त दुखेको हुनुपर्छ। अमेरिकाको विशेषता अरूभन्दा बेग्लै हुनुमा होला तर मानवीयताका दृष्टिबाट त संसारमा सबै समान छन्। पुटिनले मानवीय समानताको पाठ ओबामालाई सिकाउने दिन पनि देख्नु पर्दोरहेछ। पुटिन स्टालिनका युगअनुसारका अवतार हुन्। यसमा पटक्कै सन्देह छैन। तर, ओबामाका आदर्श त मार्टिन लुथरकिङ पो हुन्, महात्मा गान्धी र नेल्सन मन्डेलाको ओबामाले धेरै पटक प्रशंसा गरेका छन्। जोन एफ. केनेडी ओबामाका आदर्श हुन्। त्यतिमात्र हैन केनेडी परिवारको साथ र शुभेच्छा पाएरै ओबामा अमेरिकाको राष्ट्रपति बन्न सफल भएका हुन्। तर, किन जर्ज बुस (दोस्रा)को जस्तो दम्भ देखियो उनमा? यो सुहाउँछ र?
पुटिन सिरियामा अमेरिकी आक्रमण रोकाउन सफल भए। त्यतिमात्र हैन, वार्ताबाटै सिरियाका रासायनिक हतियार सन् २०१४ को मध्यसम्म नष्ट गर्न सहमति रुस र अमेरिकाबीच भएको छ। यी सबैमा 'हिरो' भए पुटिन। हुनु त पर्थ्यो ओबामा। उनैले नेतृत्व र अग्रसरता लिनुपर्थ्यो वार्ताको। संसारको शान्ति र प्रगतिको नेतृत्व अमेरिकाका प्रथम काला राष्ट्रपति बाराक ओबामाले लिन सकेका भए संसारमा खुसी हुने धेरै नै हुन्थे । अहिलेको स्याबासीले बढाएको साखलाई पुटिनले रुसी जनताको लोकतान्त्रिक आकांक्षाको दमनमा प्रयोग गर्न जो सक्छन्।
ओबामाले अमेरिकालाई शक्तिको मातबाट मुक्त गर्ने अपेक्षा उनको कार्यकालमा पूरा हुने लक्षण देखिएन। तर, उनका पूर्ववर्ती राष्ट्रपति जिमी कार्टर, बिल क्लिन्टन अझै पनि मानवीयताको सेवामा लागेकै छन्। ओबामाको पनि उमेर छ। के थाहा, सत्तामा नभएपछि दुनियाँको यथार्थ उनले राम्ररी बुझ्ने र सामान्य मानिसहरूको हितमा संलग्न हुन सफल पो हुन्छन् कि? अझै उनको कार्यकाल डेढ वर्ष बाँकी छ। चमत्कार एकै रातमा हुनसक्छ। अझै पनि एउटै निर्णयले संसारको गति र दिशा परिवर्तन गर्नसक्ने शक्तिशाली व्यक्ति हुन् ओबामा! उनलाई कुन्नि केले रोकेको छ?
यस्तो विडम्बना, नेपाली राजनीतिमा पटकपटक देखिएको छ। चटकेहरू धेरैपटक नायक बनेका छन्। बनाइएका छन्। असल व्यक्ति निमित्त नायक हुन पुगेको छ। संसारको जस्तै नेपालमा पनि धेरैजसो जनमत चटकेले निर्माण गर्छ। बेलामा सही निर्णय लिन नसक्नेहरू जति नै असल र शक्तिशाली भए पनि ओझेलमा पर्छन्। अहिले अमेरिकी राष्ट्रपति ओबामा परेजस्तै।

No comments:

Post a Comment