Sunday, June 16, 2013

कांग्रेस हुनुको अर्थ


कांग्रेस कुनै बेला विद्रोहको पर्याय थियो। कुरै नबुझेको बालकलाई छिटो नहाल्दा, टोपी नलगाउँदा, पाइजामा लाउँदा कांग्रेस भनेर पाकाहरूले हप्काएको, उल्याएको अझै सम्झना छ। पंचायतको चुनावका दिन बाटोमा डोरी टाँगेर छेकिएको थियो। डोरी पन्छाएर बाटो काटेका बेला चुनाव गराउन जाने कर्मचारीले कस्तो कांग्रेसजस्तो रहेछ यो केटा भनेको बिर्सेको छैन। 

कांग्रेस हुनुको अर्थ धेरैपछि कृष्णप्रसाद न्यौपानेको दीक्षा र श्रीभद्र शर्माको सागर्दी र गोवर्धन शर्माको संगतमा बुझेको थिएँ। श्रीभद्र जीलाई खाना खुवाउन पाउँदा गृहिणीमात्र हैन, होटेलवाला पनि खुसी हुने गरेको मैले देखेको छु। सोध्दा गृहिणीहरू भन्थे - यसरी पकाएर त हामीले कतिलाई खुवायौँ कतिलाई। तर, उहाँले सधैँ हामीलाई सम्झनु हुन्छ। खाना मीठो भनिदिनु हुन्छ। खुवाएकोमा धन्यवाद भन्नुहुन्छ। 
दमौलीकी थकाल्नी दिदीले भनेकी अझै सम्झना छ - यी बाहुन पंच भए पनि बानीबेहोर पुरानै कांग्रेसकै जस्तो छ। खानेकुरा जस्तो भए पनि मीठो छ भन्छन्। खान दिएकोमा धन्यवाद दिन बिर्सँदैनन्। काम गर्नेलाई कहिल्यै हेप्दैनन्। ठूलो सानो भनेर फरक गर्दैनन्। तिमीहरूले खाएको थाल कति फोहोर लतपतिएको हुन्छ उनले खाएको थाल माज्न घीनै लाग्दैन। नेता भनेको त यस्तो पो हुन्छ !
गोबर्धन शर्मा आँखा देख्नुहुन्नथ्यो। उहाँलाई पार्टीको काम गर्न दृष्टिहीनताले कहिल्यै रोकेन। एकाएक एक्लै आएर भनिदिनुहुन्थ्यो - गोविन्द बाबु म हिलेखर्क हिँडेको। उहाँलाई एक्लै पठाउन मन मान्दैन थियो। नजानलाई मनाउन सकिँदैन थियो। अनि के गर्ने? सम्भव भए आफू पनि जाने नत्र सहयोगी कुनै खोजेर साथ लगाउने गर्थेँ। जनमत संग्रहमा च्यांगलिंग टारमा आमसभा हुनेभयो। त्यहाँका बहुदल पक्षका साथीहरूले बोलाए। उग्र कम्युनिस्टको गढ भनिएको च्यांगलिंग जान हिचकिचाइरहेको थिएँ। उहाँसँग डुम्रेमा भेट भयो। उहाँले - म पनि जान्छु तपाईँ पनि जानुपर्छ, भन्नुभयो। बाटामा भन्नुभयो मर्न डराए पनि काल आइहाल्छ त। हेरौँ न के गर्दा रहेछन्? बिना व्यवधान आमभसा सकेर हामी फर्क्यौँ। 
राजनीतिमा करिब २० वर्षजति सक्रिय रहँदा जीवनशैली कांग्रेसकै जस्तो बनाउने प्रयास गरेँ। राजनीति चटक्कै छाडेको पनि २० वर्ष नाघिसक्यो। बेलाबखत पुरानो सम्झना आउने गर्छ। गँजेडीले गाँजा खान छाडेपछि पनि हात माड्न भने नछाडेजस्तो !
डा शशांक कोइरालाले पार्टीका बारेमा भनेका छन् - अहिले त कांग्रेसका कतिपय कार्यकर्ताले बीपीको फोटो हेरेर उहाँ पनि हाम्रो पार्टीमा हो र भन्ने स्थिति अाइसक्यो ।
यस्तो कांग्रेसमा संस्कार कस्तो भयो होला?

No comments:

Post a Comment