Sunday, June 7, 2009

जोखिममा ज्यान..

.


गोंगबुबाट रानीबारी, लाजिम्पाट हुँदै लैनचौर पुग्दासम्म पनि सोमबारको बन्द निकै चर्को भएको थाहा पाइसकेको थिएँ । पहिलेका बन्दहरूमा मोटरसाइकल, सफा टेम्पो, साइकल र रिक्सा चल्थे । लाजिम्पाटदेखि उता बन्द समर्थकहरूको झुण्ड देखिन थालेको थियो । लैनचौर चौबाटोमा पुग्दा दुई जना बालक साइकल लिएर आए । बन्दमा काठमाडौंका बालबालिका रमाउँछन् होला । एक त, आफूभन्दा गरुंगो भारी बोकेर विद्यालय जान नपर्ने, अर्को सडकमा ढुक्क भएर खेल्न पाइने । काठमाडौंमा भित्री भागमात्र हैन नयाँ बस्तीहरूमा पनि खेल्ने ठाउँ छैनन् । यसैले सडक नै उनीहरूको खेल मैदान हो । साइकल चलाउँदै आएका बालकलाई बन्द समर्थक किशोरहरूले देखे । रोके र साइकलको हावा खुस्काई दिए । बालकहरू रुनमात्र सकेनन् । एउटा उद्दण्ड किशोरले त साइकलमा एक लात हान्यो पनि । साइकलको पांग्राभित्रका डण्डीहरू बाँगिए । बालकहरू साइकल डोर्‍याएर बाटो लागे । भनुन् पनि कसलाई ? घरमा भने उल्टै किन गएको त बन्दका दिन साइकल लिएर भन्ने गाली खाइन्छ । यस्ता बालक धेरैजसो बदलाको भाव लिएर हुर्कन्छन् रे । ठूलो भएपछि क्रुर र हिंस्रक हुन्छन् रे ।


बालकहरू बाटो लागेपछि क्यामरा नल्याएकोमा थकथक मान्दै म पनि अगाडि बढेँ । ती बालकका ठाउँमा अपांगता भएका हि्वलचेयर प्रयोगकर्ता भएको भए के हुन्थ्यो भन्ने लाग्यो । विचारै नगरी तिनको हि्वलचेयरको हावा खुस्काइदिन बेर थिएन । त्यस अवस्थामा कति सास्ती हुन्थ्यो होला ? अनि मैले आफैलाई त्यस्तो भएको भए के हुन्थ्यो भनेर कल्पना गर्न थालेँ । पहिलो त, म बसेको ठाज़बाट हि्वलचेयर लिएर ठमेल, लाजिम्पाट, कान्ति अस्पताल वा नारायण गोपाल चोक कतै पनि हि्वलचेयरमा निस्कन सकिएला जस्तो लाग्दैन । कारण कुनै पनि बाटो बनाउादा हि्वल चियरमा हिँड्ने पनि हुन्छन् भन्ने सोचिएजस्तो देखिँदैन । अर्को, बन्दको उपद्रोलाई अपवाद मान्ने हो भने पनि सबारी चलाउनेहरू र सडकको हेरचाह गर्नेहरू कोही पनि अपांगता भएकाहरूको आवश्यकताप्रति संवेदनशील छैनन् । यस्तै संवेदनहीनता नीति निर्माता, कार्यक्रम कार्यान्वयनकर्ता, सञ्चारकर्मी र व्यापक जनसमुदायमा छ । यसैले अपांगता हुनेहरूलाई अपांगताले भन्दा समाजको मानसिकता र भौतिक संरचनाले बढी अशक्त बनाएको छ ।


पैदल हिँड्दै जाँदा मैले हि्वलचियरमा हिँड्नेलाई लाजिम्पाटबाट नागरिक दैनिकको कार्यालयसम्म पुग्दा कति अप्ठेरो पर्ने रहेछ भनेर विचार गर्न थालेँ ।- डर देखाएर, विध्वंश गरेर जबर्जस्ती गराइने बन्द जनसमर्थनको हैन राज्यको निरिहताको मापक हो । बन्द आयोजकहरूले पनि नबुझेका हैनन् होला । बुझ पचाएपछि के गर्ने? ) सडकका पेटीहरू हि्वलचियर हिाडाउन मिल्ने गरेर बनाइएका छैनन् । भित्री सहरमा त पेटी नै छैनन् । यसैले मोटरहरूसागै मिसिएर हिँड्नै पर्‍यो । मोटर साइकल र माइक्रोबस चलाउने अधिकांशले सबारी नियम उल्लंघन गरिरहेका हुन्छन् । उछिनापाछिनका क्रममा उनीहरूले सबारी घुइँक्याउदा हि्वलचियरमा हिँड्नेको मन कति डराउँछ होला? भूपिले लेखेजस्तै 'मृत्य' नजिकैबाट घुइँकिएर गयो' उनीहरूले सधैँ भोग्छन् ।


( यस्तो अनुभूति मैले पनि एक पटक गरेको छु । जापान अध्ययन कार्यक्रममा गएका बेला आओमोरी प्रान्तको सानो सहर किजुकुरीमा हि्वलचेयर मेलामा भाग लिएको थिएँ । म पाहुनाका रूपमा सहभागी भएको थिएँ भने सहरमा मेयर, प्रशासक, सहकारीका अध्यक्षलायत स्थानीय गण्यमान्यले पनि भाग लिएका थिए । हि्वलचियर प्रयोगकर्ताका समस्या र सास्तीका बारेमा संवेदना जगाउन मेला आयोजना गरिएको थियो । व्यस्त सहरको मध्य भागसम्म हि्वलचेयरमा जानुपथ्र्यो । मोटरहरू आइरहेका छन् । हुनत, हर्न कसैले बजाउँदैन थियो तैपनि डर लागिरहने । कतै पछाडिको गाडीले ठक्कर दिने पो हो कि? अनि बाटो सजिलो थियो । सडक पार गर्ने सजिला ठाउा बनाइएको थियो । चौबाटाहरूमा सडक पार गर्न ध्वनि र प्रकाश दुवै प्रकारका संकेत थिए । कान नसुन्नेका लागि बत्तीले जनाउ दिन्थ्यो भने आँखा नदेख्नेले एक प्रकारको संगीत सुनेर बाटो काट्न हुने थाहा पाउँथे । करिब एक घन्टा लामो त्यो यात्रा निकै रोमाञ्चक, भयावह र शिक्षाप्रद रÞयो । जापानीहरू ट्राफिक नियम राम्रै पालन गर्छन् भन्ने थाहा पाउँदा पाउँदै पनि मलाई लाग्नु अत्यास लागेको थियो । काठमाडौंका सडकमा हि्वलचियरमा हिँड्नेलाई कति डर लाग्दो हो ? र कति सास्ती हुँदो हो ?)


लाजिम्पाटबाट कान्तिपथ हुँदै पैदल हिँड्दा केशरमहलको चौबाटोमा बाहेक हि्वलचियरमा हिँडेनेले बाटो काट्ने ठाउँ रहेनछ । जमलबाट मोटरजस्तै घन्टाघरतिर लाग्ने कि सोझै भोटाहिटी तिर लाग्ने ? जता जान खोजे पनि हि्वलचियर सजिलै लैजाने ठाउँ छैन । सबारी चालकको सुविधा र पैदल यात्रीको सुरक्षाका लागि आकासे पुल बनाइएको छ बाटो काट्नका लागि । आकासेपुलमुनि जेब्रा क्रसिङ हुने कुरा पनि भएन । टुँडिखेलको दायाँ बायाँ सडक एकतर्फी छ । कति मुस्किल हुन्छ होला उनीहरूलाई ? केशरमहलपछि त एकैचोटी थापाथलीमा मात्रै पेटी र सडकमा हि्वलचियर ल्याउन सकिने बाटो छ । अर्थात् बीचमा मान्छेले ज्यानको माया मारेर र ट्राफिक नियम मिचेर जहाँबाट मन लाग्यो वा मिल्यो उहीँबाट बाटो काट्नु पर्‍यो । यस्तै विचार गर्दै नागरिक दैनिकको कार्यालय रहेको जेडीए कम्प्लेक्स पुगेँ । त्यहाँ पनि लिफ्ट बन्द थियो । हि्वलचियरमा गएको भए जागिर खान घस्रेर वा अरूको बुइमा जानुपर्थ्र्यो ।


(अपांगता भएका नागरिकका लागि पनि मर्यादित जीवन यापनका लागि सुविधा जुटाउने दायित्व राज्यको हो । यहाँ त, सुविधा थप्नु त परै जाओस् नयाँ भौतिक संरचना निर्माण गर्दा अपांगता हुनेको समस्यालाई उपेक्षा गरिन्छ र उनीहरूको पहुँच कम गरिन्छ । राज्यले गर्ने यही पक्षपात र अन्यायले अपांगता हुनेहरूको अशक्तता बढ्छ । सरकारी संयन्त्रमा रहेका अधिकांश जिम्मेवार व्यक्तिहरू स्रोतको अभाव भएको रेडिमेड उत्तर दोहोर्‍याउँछन् । संवेदनशील हुने हो भने राज्यले धान्नै नसक्ने खर्च लाग्दैन । भत्ता दिएर परनिर्भर बनाउन तयार हुने तर अवरोध हटाएर आत्मनिर्भर हुन नसघाउने अचम्मको सामन्ती मानसिकता छ राज्यका हर्ताकर्तामा ।)


यसो त, पैदल हिँड्ने अरूका लागि पनि राजधानीका सडक सुविधाजनक र सुरक्षित छैनन् पेटीमा पसल हुन्छ । पैदल यात्री सडकमा नहिँडी सुखै पाउँदैनन् । सबारी चालकले नियम र मर्यादा ख्याल राख्दैनन् । हर्नको आवाज सुनिसक्नु हुन्न । सडकमा कुन बेला कता के हुने हो सधैा त्राहीमाम हुनुपर्छ । ट्राफिक प्रहरीले पैदल यात्रुको पीरमर्काको ख्याल गरेको बिरलै भेटिन्छ । जेब्रा क्रसिङको सेतो धर्को धेरैजसो ठाउँमा देखिँदैन । अन्दाज गरेर काट्नुपर्छ । यसैले पैदल यात्रुले मन लागेका ठाउँबाट बाटो काट्छन् र सबारी चालकले जेब्रा क्रसिङ नजिक आइपुगेपछि सबारीको गति बढाउँछन् । विशेषगरी माइक्रोबसको उछिनपाछिन र मोटरसाइकलको हतारले पैदल यात्रुको ज्यान सधैँ जोखिममा हुन्छ । पाका र अशक्तहरूका लागि त बाटो काट्दा ज्यानकै बाजी राख्नुपर्छ । एकाध भलाद्मी सबारी चालकले पैदल हिँड्नेलाई बाटो दिन गाडी रोके भने पछाडिबाट आउनेले सिध्याउला कि भन्ने डर हुन्छ । अधिकांश चालकहरू जेब्रा क्रसिङमा अगाडिको सबारी किन रोकियो भन्ने विचारै नगरी उछिन्न हतार गर्छन् ।
पैदल हिँड्नेको सुविधा र सुरक्षा पनि ट्राफिक प्रहरीको कर्तव्य हो । उनीहरूको तालिममा नै सिकाइँदैन कि कुन्नि अत्यन्त कम मात्र अपांगता भएका र अरू पैदल यात्रुप्रति संवेदनशील भएको देखिन्छ ।


पैदल हिँड्नेलाई तुच्छ जीव ठान्ने सामन्ती मानसिकता राज्यका हर्ताकर्तामा रहुन्जेल स्थिति बदलिने आशा पनि त गर्न सकिन्न । यसैले काठमाडौंका पैदल यात्रुले ज्यान जोखिममा राखेरै हिँड्नु विकल्प छैन । भाग्य बलियो भए गन्तव्यमा अवश्य सकुशल पुगिएला ।

No comments:

Post a Comment