जिन्दगीको पहिलो आर्जन उसले प्रेयसीका लागि समर्पित गर्ने अठोट गर्यो। जाडो बैंसमा थियो। उनको पछ्यौराभन्दा राम्रो उपहार अरू के हुन्थ्यो र? बजारमा पाएसम्मको राम्रोे कास्मिरी सल किन्यो। सल छुँदा पनि उसलाई काउकुती लाग्यो। पैसा तिरेर पसलबाहिर निस्कने बेलामा सम्झ्यो घरमा त जाडोमा लगलग कामेर घरधन्दा गर्दै बाँचेकी आमा बुढी पनि छिन्। पसलमा फर्क्यो र पाएसम्म सस्तो अर्को पछ्यौरा पनि किन्यो। पसलेले भन्यो - 'नौकर्नीको लिए तो काम चलिजान्छ हजुर'
हतारिएर घर पुग्यो। अनुहार र आँखामा भएसम्मको बैंस समेटेर कोठामा पत्नीको अगाडि उभियो। निकै आकर्षक ढंगले पछेउरा फुकालेर ओडाइदियो। पत्नीले पछेउरा हेरी। छामी। आँखाभरि उपेक्षा भरेर पुलुक्क उसको अनुहार हेरेर नाक, मुख, आँखीभौँ खुम्च्याई। ऊ खिसि्रक्क पर्यो। मन अमिलिए पनि हाँस्ने कोसिस गर्दै भान्सामा कोठामा गयो। आमा सधैँजस्तै केके केलाउँदै थिइन्। पछ्यौराको पोको आमाको पोल्टामा पर्ने गरी फ्यात्त फालिदियो। आमाले पोको फुकाइन्। पछ्यौरा छातीमा टाँसिन् र ओडिन्। डबडबाउँदा आँखा पारेर आमाले भनिन् - 'मेरो बाबाको पहिलो कमाइ !'
उसलाई धेरै बेरसम्म लागिरह्यो पछ्यौरा नसाँटेकोमा थकथकी लागिरह्यो ।
( २०४४ साल चैत)
No comments:
Post a Comment