Monday, December 28, 2009

बन्द मुलुक

बन्द मुलुक

smaller text tool iconmedium text tool iconlarger text tool icon
भीड ठूलो देखेपछि बोल्दा होस गुमाउनेमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल पनि पर्छन्। उनको बानेश्वर भाषणको देशभित्र चर्कै आलोचना भयो। विदेशमा नेपाली नेताका भाषणलाई खासै महत्व दिइँदैन होला। यिनीहरू ठाउँ र सन्दर्भपिच्छे बोली फेर्न खप्पिस भएको सबैले थाहा पाएकै छन्।

मूलधारको राजनीतिमा नजान परेको कार्यकर्ताको दबाबले दाहाल कटुता बढाउने चर्को भाषण गर्नु वाध्य भएको पनि हुनसक्छ। कारण, शान्ति प्रक्रिया पूरा भएपछि अहिलेजस्तै कानुन हातमा लिन पाइने छैन। समानान्तर सरकार चलाउन पाइने छैन। त्यतिबेला जबर्जस्ती रकम असुली, कुटपिट, लुटपाट, निजी र सार्वजनिक सम्पत्ति कब्जा, नक्कली नम्बर प्लेट हालेर चोरीका मोटर प्रयोग गरे कारबाही हुनेछ। त्यसैले अहिलेकै अस्तव्यस्तता र अराजकता कायम राख्ने माओवादी कार्यकर्ताका चाहना हुनसक्छ।

सम्भवतः यही कारणले शान्ति प्रक्रिया पूरा गर्न माओवादीले खासै चासो नदेखाएको हो।
दाहालले बानेश्वर भाषणमा भारतलाई ‘मालिक' भने। धेरैले उनको अभिव्यक्ति नेपाली राष्ट्रियता र स्वाभिमानविरुद्ध ठाने। भारतलाई ‘मालिक' भन्नु उनको अवचेतनको अभिव्यक्ति हुनसक्छ। अथवा, सर्पको खुट्टा सर्पैले देखेको पनि हुनसक्छ।

भारत र चीनलाई नेपालका आन्तरिक मामिलामा तान्ने प्रयास राष्ट्रिय हितका दृष्टिले भने आपत्तिजनक र प्रत्युत्पादक हुनेछ। दाहालले भनेझैँ ‘नेपालको विकासमा भारत र चीनको समर्थनमा रणनीति' बनाउनु त आत्मघाती नै हुनसक्छ। त्यसो भयो भने भारत चीन दुवै नेपालका मालिक हुनेछन्। नेपाल दुवैको ‘संरक्षित राष्ट्र' बन्न पुग्नेछ। विकासको मौका त थपिएला तर त्यो भुटानको समृद्धिजस्तै हुनेछ। भारत र चीनले सबैभन्दा पहिले नेपालको लोकतन्त्र मास्नेछन् र स्थिरताका नाममा कुनै अधिनायकलाई स्थापित गर्नेछन्।

भारतले सधैँ मध्यस्थताका नाममा यथास्थिति कायम गर्ने प्रयास गर्दै आएको छ। अंग्रेजका पालामा राणाहरूलाई बलियो बनाउने काम भारतले गरेकै हो। राणा कालमा नेपाली विद्रोहीहरू भारतमा र भारतीय क्रान्तिकारी नेपालमा थुनिएका थिए। जनक्रान्ति निस्तेज बनाउन स्वतन्त्र भारतले पनि सन् १९५० मा मोहन शमशेरसँगको सम्झौता गरेको हो। पञ्चायत प्रशिक्षण केन्द्रहरू भारतीय सहयोगमा बनाइएका थिए। भारतकै कारण सुवर्ण शमशेर र बीपी कोइरालाले निरंकुश पञ्चायतविरुद्धको सशस्त्र संघर्ष स्थगित गर्नु परेको थियो। जनमत संग्रहमा भारत सरकारको समर्थन पञ्चायतले पाएको थियो। नेपालको लोकतन्त्र भारतका लागि आस्थाको नभएर रणनीतिक लाभको विषय हो। अन्तिम समयमा पनि करणसिंहले राजा जोगाउने प्रयास गरेकै हुन्। पहिलो वा दोस्रो जनआन्दोलनमा प्राप्त नैतिम समर्थन त्यहाँको सरकार वा ‘संस्थापना पक्ष'को होइन। त्यो नेपाली जनताका भारतीय मित्रहरूको समर्थन हो।

चीनले त नेपालको लोकतान्त्रिक परिवर्तनलाई कहिल्यै सघाएको छैन। चीनले सधैँ नै नेपाली आन्दोलनकारीलाई ‘डाँकु, अपराधी' भनेको थियो। यो मुलुक यसै पनि अधिनायकवादका पक्षमा हुने नै भयो। लोकतन्त्रसँग चिनका कम्युनिस्ट शासकलाई ‘एलर्जी' छ र त उनीहरू लोकतन्त्रको माग गर्नेलाई १५ वर्ष कैद हाल्छन्। सबैभन्दा बढी त नेपालमा लोकतन्त्र भए तिब्बतीहरू जाग्लान् भन्ने डर उनीहरूलाई छ।

भारत र चीन नेपालमा कथित ‘स्थिर' सरकार चाहन्छन्। लोकतन्त्रमा सरकार स्थिर नहुनसक्छ। यसैले चीन र भारतको लागेपुगे नेपाललाई बन्द मुलुक बनाएर राख्नेछन्। यसमा उनीहरूको मतो मिल्छ। बन्द मुलुक बनाउनुको अर्थ हो - नेपालमा पश्चिमी मुलुकहरूको प्रभाव र पहुँच नहोस्। पश्चिमी शक्तिको नेपालमा उपस्थिति र प्रभाव भारत र चीनका लागि सधैँ टाउको दुखाइ बनेको छ। मानव अधिकार उल्लंघन हुँदा बोलीले मात्रै भए पनि पश्चिमले चासो देखाउने जो गरेको छ।

दाहालले भनेजस्तो भए नेपाल सके त भुटान नभए बर्मा हुन्छ। भारत र चीनलाई आफ्नो स्वार्थ पूरा भएमा मानव अधिकार वा लोकतन्त्रको चासो हुँदैन। चीन र भारतकै आडमा त बर्मामा सैनिक शासन २० वर्ष टिकेको हो। भुटानले ‘जाति संहार' भन्न सकिने गरी नेपाली भाषी नागरिकको दमन गर्दा भारतले भुटानकै पक्ष लिएको छ। चीनले केही बोलेको छैन। निरंकुश दमनकारी सरकारहरूलाई उनीहरूले सघाउँदै आएका छन्।
यसैले नेपालको आन्तरिक मामिलामा भन्नेमा भारत र चीनलाई निम्तो दिनु गंगादत्त भ्यागुताले सर्पसँग मीत लगाएजस्तै हो। दाहालले भारतलाई मालिक मानेको हैन भनेर बोली सच्याएका छन्। तथास्तु।

Sunday, December 20, 2009

निषेधको राजनीति

निषेधको राजनीति

smaller text tool iconmedium text tool iconlarger text tool icon
‘कम्युनिस्ट शासनको अन्त्यपछि त्यहाँ (पूर्वी र मध्य युरोप) सोचाइमा परिवर्तन भएको सबैभन्दा कठिन समस्या हामी सबैले देखेका थियौँ। औपचारिक लोकतन्त्र त जनताले सजिलै अपनाए तर लोकतान्त्रिक प्रक्रियाको आत्माका रूपमा रहेको सहिष्णुता र सहअस्तित्वलाई स्वीकार गर्न समय लाग्यो।' यी पंक्तिहरू हंगेरीका राष्ट्रपति लाज्लो सोल्योमले ‘शान्तिपूर्ण जलवायु क्रान्ति' शीर्षकको लेखमा लोकतान्त्रिक रूपान्तरणको चरणमा देखिने समस्याका सम्बन्धमा उल्लेख गरेका हुन्। लोकतन्त्रलाई शासन पद्धतिमात्र ठान्ने संस्कारमा हुर्केका नेपाली नेताहरूमा पनि अहिले यही समस्या देखा परेको छ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले धमाधम गणराज्य घोषित गरिरहेको छ। यसका कार्यकर्ताले निजी र सार्वजनिक सम्पत्ति विशेषगरी जमिन कब्जा गर्ने क्रम तीव्र बनाएका छन्। सरकारमा रहेका अरू दलका नेता कार्यकर्ताविरुद्ध उग्र र हिंसात्मक प्रदर्शन पनि माओवादीको अहिलेको मूल काम भएको छ। ढल्नै लागेको अर्थव्यवस्थामा धक्का लाग्ने गरी आजैदेखि ३ दिन ‘आमहडताल' को आह्वान गरेकोछ (यी पंक्ति लेख्दासम्म हडताल फिर्ता लिन अरू दलले गरेको आग्रहलाई माओवादीले स्वीकार गरेको छैन।)। जनता आत्तिएका छन्। र, सत्तामा रहेकाहरू विदेश सयरमा छन्। प्रमुख दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति कार्यान्वयनै नभई तुहिएको छ। संवाद र सहकार्यको अभ्यासमा सहायक हुने यस्तो संयन्त्र तुहाउन सरकारमा सामेल दलका नेताहरू नै सक्रिय छन्। उनीहरूलाई यसबाट भाग खोसिने डर जो लागेको होला। माओवादी नेताले पनि सहमतिको आवश्यकतालाई थेगोमात्र बनाएकाछन्। यसैले मुलुक दुर्घटना उन्मुख भइरहेको छ।
अभ्यासले संस्कार बसाउँछ। नेतृत्वमा इच्छाशक्ति र प्रतिबद्धता भए संस्कार बस्छ। यसका लागि राजनीतिक नेतृत्वलगायत समाजको सबै पक्षले लोकतन्त्रलाई जीवनशैलीका रूपमा स्वीकार गर्न सक्नुपर्छ। नेपालमा भने लोकतन्त्रलाई शासन पद्धतिसम्म पनि हुन दिइएन। यस्तोमा लोकतन्त्र जीवनशैली बन्ने संभावनै भएन। विशेषगरी, राजनीतिक नेताहरूले लोकतन्त्रलाई अपनाउनै सकेनन्। न पार्टीभित्र समझदारी, सम्मान र सहिष्णुता देखाउन सके न मुलुकमै। निषेध र प्रतिशोध नेपाली राजनीतिको मुख्य प्रवृत्ति बन्यो। पञ्चहरू राजनीतिक विरोधीलाई ‘देश छाड' भन्थे। तुलसी गिरीले त राष्ट्रिय पञ्चायतकै केही सदस्यलाई इंगित गर्दै ‘विरोध गर्ने हो भने सीमापारि जानुपर्छ' भनेका थिए। निषेधको राजनीतिलाई ‘स्थायी भाव' बनाएकै कारण पञ्चायत सजिलै समाप्त भयो।
निषेध मानवीय गुण होइन। मिलेर बस्न नजानेको भए धर्तीबाट मान्छे मासिइसक्ने थियो। अहिले पनि अरूको मर्का बेवास्ता गर्दा धर्तीको सृष्टि जोखिममा परेको छ। राजनीतिमा पनि यही सूत्र लागू हुन्छ। जनआन्दोलनहरूको सफलताले सिकाएको पनि यही हो। सहकार्य सफल भएको छ। विद्वेष र निषेध सधैँ परास्त भएको छ। माओवादी विद्रोहलाई बल प्रयोग गरेर दबाउन खोज्दा संसदीय प्रणाली नै विफल भयो। राजनीतिक दलहरूलाई निषेध गर्दा राजतन्त्र समाप्त भयो। निषेधको राजनीतिको विफलताको यो अर्को उदाहरण थियो। अहिले पनि निषेध र घृणालाई राजनीतिको आधार बनाउन छाडिएको छैन।
निषेधलाई ‘निषेध' नगर्दासम्म नेपाली राजनीति र त्यसैका कारण बिग्रन लागेको आर्थिक अवस्थामा सुधार हुनेछैन। राजनीति र अर्थव्यवस्था दुवै बिगारेर समाज सपार्न सकिँदैन। सहिष्णुता र सहअस्तित्वलाई जीवनशैली बनाएरमात्र नेपाली समाजमा हुर्काइएको घृणाको राजनीति र निषेधको संस्कार अन्त्य गर्न सकिन्छ। प्रतिशोधले घृणा र निषेध बढाउँछ। सन् १९८९ को कम्युनिस्ट सत्ताविरुद्धको पूर्वी तथा मध्य युरोपको क्रान्ति रुमानियाबाहेक अन्यत्र शान्तिपूर्ण रÞयो। चीनमा चर्को दमन भयो। युरोपको घाउ निको भइसक्ता पनि चीनमा सइन पल्टिरहेको छ। तिब्बत र उइगुर आन्दोलनको बीउ तियान आन मेनमै रोपिएको थियो। कुनै पनि दिन चीनमा राज्यविरुद्ध हिंसात्मक आन्दोलन चर्क्यो भने आश्चर्य नमाने हुन्छ। युरोपको स्थिरता, शान्ति र विकासमा अहिले खासै समस्या देखिएको छैन।
नेपाली राजनीतिक नेताहरूले सिको गर्ने हो भने निषेधको किल्ला बनेको चीनको हैन सहिष्णुता र सहअस्तित्व अपनाउन सकेको युरोपको गर्नुपर्छ। अहिलेको माओवादी आन्दोलनले नेपाली जनतालाई सास्ती थपेको छ। घृणा, द्वेष र विभाजन थपेको छ। सबैभन्दा बढी, राष्ट्र असफल हुने जोखिम बढाएको छ। सशस्त्र द्वन्द्वमा ध्वस्त पारिएका संरचना फेरि बनाउन सकिएको छैन तर तिनलाई बनाउन सकिन्छ। ध्वस्त पारिएको समाजिक सद्भाव भने फेरि कायम गर्न पुस्तौँ लाग्छ। जलवायु परिवर्तनको प्रभाव रोक्न जीवनशैली बदल्नु अपरिहार्य भएजस्तै यो राष्ट्र र समाज जोगाउन निषेधको त्याग गर्नैपर्छ। अन्यथा, अहिले चिताउनै नसकिने अनीष्ट हुनेछ। त्यति बेला पछुताउने मौका पनि पाइने छैन।

Monday, December 14, 2009

व्यर्थको विवाद

व्यर्थको विवाद

संविधान बनाउन चुनिएकाहरू व्यर्थको विवाद झिकेर समस्यालाई झन् जटिल बनाउँदै छन्। यसरी त बेलामा संविधान बन्दैन। संविधानसभाको संरचनाले सबै मिलेमात्र संविधान बन्ने बनाएको छ। तर्, सबैभन्दा धेरै सभासद भएको माओवादी ‘चल अकेला ...' शैलीमा कुदेको छ भने नेपाली कांग्रेस र नेकपा (एमाले) वाल्ल परेर अडिएका छन्। अरू त्यसै जिल्ल छन्।
शासकीय स्वरूपबारे दलहरूबीच सहमति बन्न सकेको छैन। प्रत्यक्ष मतदानबाट निर्वाचित पदाधिकारी कार्यकारी प्रमुख हुने अध्यक्षात्मक प्रणाली वा निर्वाचित व्यवस्थापिकामा बहुमत भएको व्यक्ति कार्यकारी प्रमुख हुने संसदीय प्रणाली कुन रोज्ने भन्ने विवादमा प्रमुख दलहरू सिँगौरी खेल्दैछन्। राजनीतिक दलका नेताले आफू र आफ्नो दलको अहिलेको अवस्था हेरेर धारणा बनाउने र त्यसैलाई सर्वोत्तम ठान्ने हठ गरिरहेका छन्।
प्रत्यक्ष निर्वाचनका चमत्कारी व्यक्तित्वले जित्ने संभावना हुन्छ। अहिले पुष्पकमल दाहालसँग दाँजिने अर्को चमत्कारी नेता देखिएको छैन। मूलतः यही कारणले माओवादीहरू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका पक्षमा हुन्। अर्कोतिर, नेपाली कांग्रेसमा नेताको झन्झन् अनिकाल पर्दैछ। प्रत्यक्ष निर्वाचनबाट चुनिने औकातका नेता नभएकाले कांग्रेसका लागि संसदीय पद्धति अपरिहार्य भएको हुनुपर्छ। संसद्मा त जोडजाड गरेर पनि बहुमत पुर्‍याए भइहाल्छ।
लोकतन्त्रका आधारभूत चरित्र हुने हो भने जुन पद्धति अपनाए पनि हुन्छ। प्रतिनिधिमूलक निर्वाचित व्यवस्थापिका, उत्तरदायी कार्यपालिका र स्वतन्त्र न्यायपालिका लोकतान्त्रिक शासन पद्धतिमा न्यूनतम आधार हुन्। शक्तिशाली राष्ट्रपति चाहिन्छ भन्ने अनि न्यायापालिका संसद् वा सरकारको अधिनमा राख्ने हो भने त्यो लोकतान्त्रिक हुँदैन। यस्तै संविधानमा असंशोधनीय प्रावधान राख्ने हो भने संसदीय प्रणाली अपनाउनु अर्थहीन हुन्छ। यसैले संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने हो भने ‘घिउ र तरबार बेच्ने'को जस्तो व्यवहार दलका नेताहरूले गर्नु हुँदैन।
संविधानसभाको संरचनाले कुनै पनि दलले एक्लै संविधान बनाउन सत्तै्कन। संविधानसभाबाटै दलहरूले जनादेश पाएको मान्ने हो भने स्पष्ट छ सबै मिलेर बनाउनुपर्छ। अर्थात्, सम्झौता गर्नुपर्छ। न माओवादीले भनेजस्तो संविधान बन्छ, न कांग्रेसले खोजेजस्तो नै बन्छ। नेताहरूको वुद्धि भए यो राम्रो संविधान बन्ने अवसर पनि हो। नियतमा खोट नभए माआवादीले समानताका प्रावधानमा बढी जोड दिने र कांग्रेसले स्वतन्त्रताको रक्षामा ध्यान दिने गरे हुन्छ। स्वतन्त्रता र समानता एक अर्काका परिपू्रक र परिपोषक हुन्।
नेपाली जनताका हितमा नै संविधान बनाउने हो भने अरू देशको सिको गर्न पनि सकिन्छ। कम भ्रष्टाचार, प्रेस स्वतन्त्रता, लोकतन्त्र र मानव विकास सूचकांकका आधारमा हेर्दा केही देशहरू अब्बल दर्जामा पर्छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलको २००९को प्रतिवेदनअनुसार स्विटजरल्यान्ड, स्विडेन, सिंगापुर, डेनमार्क र न्युजिल्यान्ड कम भ्रष्टाचार भएका ५ देश हुन्। इकोनोमिस्टको लोकतन्त्र सूची, २००८मा सबैभन्दा माथि रहेका ५ देशमा स्विडेन, नर्वे, आइसल्यान्ड, डेनमार्क, नेदरल्यान्ड छन्। रिपोर्टर्स विथआउट बोर्डर्सको २००९को प्रतिवेदनअनुसार सबैभन्दा बढी प्रेस स्वतन्त्रता भएका ५ देशमा डेनमार्क, फिनल्यान्ड, आयरल्यान्ड, नर्वे र स्विडेन छन्। सयुक्त राष्ट्र संघको पछिल्लो मानव विकास प्रतिवेदनमा मानव विकासका दृष्टिबाट नर्वे, अस्ट्रेलिया, आइसल्यान्ड, क्यानाडा र आयरल्यान्ड छन्।
यी सबै विकसित देश हुन्। तर यी, संसारका सबैभन्दा धनी, शक्तिशाली वा ठूला मुलुक त हैनन्। सबैजसो मुलुकको आआफ्नै प्रकारको शासन पद्धति छ तर सबैमा प्रतिनिधिमूलक निर्वाचित व्यवस्थापिका, उत्तरदायी कार्यपालिका र स्वतन्त्र न्यायपालिका छ। लोकतन्त्रका यी आधारभूत चरित्रमा सम्झौता गरिएको छैन।
नेपालीले खोजेको स्वतन्त्रता र समानताको प्रत्याभूति हो। स्वतन्त्रता संकुचित गर्ने र विभेद बढाउने प्रकारको संविधान बन्यो भने त्यो दिगो हुनेछैन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अपनाउने हो भने संवैधानिक सर्वोच्चता कायम हुनुपर्छ। केही धारा असंशोधनीय बनाउनुपर्छ। न्यायालय स्वतन्त्र र शक्तिशाली हुनुपर्छ। संसदीय प्रणालीमा जाने हो भने संसदीय सर्वोच्चता कायम गर्नुपर्छ। संविधानमा असंशोधनीय धारा राख्नु हुँदैन।
जनप्रतिनिधिले संविधान बनाउन सक्छन् र राम्रो पनि बनाउँछन् भनेर प्रमाणित गर्ने मौका नेपालका राजनीतिक दलका नेताले पाएका छन्। साँगुरो फड्के तर्नुछ। भेँडाझैँ जुध्ने कि बाख्रालेजस्तै मिलेर जाने? संविधान सभासद गणेश बनाउन खोज्दा बाँदर बनाउने ढंगमरु शिल्पी हैनन् भने बुद्धि पुर्‍याऊन्।

Sunday, December 6, 2009

जोगमेहरको संगत

जोगमेहरको संगत

जोहरमेहर श्रेष्ठसँग मेरो संगत राजनीतिक कारणले भएको हो। यसैले राजनीति छाडेपछि उनीसँग सम्पर्क र सम्बन्ध भएन। अर्थात् भेटघाट नभएकै करिब २५ वर्ष भएछ। तनहुँ जिल्ला पञ्चायतको उपसभापति हुनुपूर्व पनि उनीसँग भेट भएको थिएन। उनको राजनीतिक ‘लाइन'सँग असहमत भए पनि व्यक्तिका रूपमा जोगमेहर श्रेष्ठको हार्दिकताबाट म प्रभावित थिएँ।

नेपाल रेडक्रसको बुटवल महाधिवेशनमा उनीसँग पहिलो पटक अलि लामो कुराकानी भएको थियो। त्यस भेटमा उनी बढी नै अनौपचारिक भइदिए। रेडक्रस केन्द्रीय समितिको चुनाव थियो। उनी केन्द्रीय सदस्य थिए। सायद, उनलाई हटाउन केन्द्रीय समितिका प्रभावशाली व्यक्तिहरू लागेका थिए। प्रिन्सेहृ शाह नै अध्यक्ष थिइन्। चुनाव निर्विरोध गराउन अञ्चलाधीश लागेका थिए। रेडक्रसमा राजनीतिक विभाजनै त होइन खेमाजस्तै देखा पर्न लागेको थियो र हामी विशेषगरी तनहुँबाट प्रतिनिधित्व गर्नेहरू कांग्रेसका रूपमा दरिएका थियौँ। हामीसँग केन्द्रीय समितिका अधिकांश पदाधिकारी एक्लै परे नजिकिन खोज्ने र समूहमा भए तर्किने गर्थे। अरू केही जिल्लाबाट पनि कांग्रेस समर्थकहरू प्रतिनिधिका रूपमा आएका थिए। तीमध्ये केही कांग्रेसका रूपमा चिनिनै चाहँदैन थिए। यस्तैमा हामीसँग सबैले देख्ने गरी लामो कुराकानी गर्न जोगमेहर दाइ तम्से। कुराकानीका लागि प्रिन्सेफ शाहले समेत देख्ने ठाउँ उनले रोजेका रहेछन्। तनहुँका केही कांग्रेसी नेताका क्षेमकुशल सोधे। उनले केन्द्रीय समितिमा उमेदवार हुने जानकारी गराए। हामीले शुभकामना दियौँ, बेलुका नारायणगढ पुगेर निर्मल प्रधानको हलमा सिनेमा हेर्ने सल्लाह भयो। र हात मिलाएर हामी छुटिट्यौँ। उनले त्यही भेटलाई आफ्नो उमेदवारीका पक्षमा हाम्रो समर्थनका रूपमा प्रस्तुत गरेछन्। हात मिलाएर समर्थन गरेको भनेछन्। धेरैपछि थाहा भयो। आफू त्यसरी झुक्किएको थाहा पाउँदा पनि मलाई नमीठो पटक्कै लागेन।
जोगमेहर दाइसँग काठमाडौंमा भेटघाट हुन थाल्यो। राजधानी जाँदा जोगमेहरलाई पनि भेट्ने कार्यक्रम बन्थ्यो। उनी हाम्रा कुरा थाहा पाउन खोज्थे भने हामी उनीमार्फत् पञ्चायतको। गण्डकी अञ्चल स्तरीय पञ्चभेला बहिष्कारपछि एक पटक उनी दमौली आए। पञ्चहरू तनहुँ, लमजुङ र गोर्खा जिल्ला पञ्चायत भंग गराउन मरिमेटेर लागेका थिए। गण्डकी अञ्चल पञ्चहरूका दृष्टिमा ‘बाघ लागेको वन' भएको थियो। कास्की र मनाङबाहेक अरू जिल्लामा कांग्रेस समर्थकले चुनाव जितेका थिए। तिनमा पनि तनहुँमा त जिल्ला पञ्चायतको ११ मा ७ पद जितेका थिए। यसैले विशेष संवेदनशील मानिन्थ्यो। जाँचबुझ समितिका सदस्यका रूपमा तनहुँ हामीसँग जोरी खोज्नुजस्तै थियो। सम्भवतः दरबारको एउटा पक्ष हामीलाई बिच्क्याउन चाहँदैन थियो। रञ्जनराज खनालसँगको कुराकानीमा पनि मलाई त्यस्तै भान परेको थियो। यस्तैमा जोगमेहर दमौली आए। दमौली आउने बित्तिकै उनले पञ्चहरूलाई बोलाएर आफू धेरै थाकेकाले भोलि बिहान भेटघाट गर्ने भनेर पन्छाए। अनि मलाईसँगै लिएर नरबहादुर गुरुङको घरमा गए। गुरुङ घरैमा थिए। केही बेर सामान्य कुराकानी गरे। रक्सी खाने कुरा भयो। उनले घरको रक्सी खाने त भने तर स्वास्थ्यले साथ दिँदैन भनेर आधा गिलास पनि खाएनन्। नरबहादुरसँग पनि भोलिभेट्ने भनेर बिदा लिए। त्यसपछि उनले मादीको किनारतिर घुम्न जाउँ भने। म जोगमेहरसँग एक्लै घेरैबेर हिँड्ने ‘मुढ' मा थिइन। यसैले जोगमेहरदाइलाई थकाइ लागेको कुरा सम्झाएर उम्कन खोजेँ। अनि उनले भने - मलाई शारीरिक थकाइ लागेको हैन। पञ्चहरूको कुरा सुन्दासुन्दा थाकेको हुँ। उनीहरू सधैँ एउटै कुरा गर्छन्। हाम्रो मूल्यांकन भएन। कांग्रेसले चुनाव जिते। यिनलाई हटाउनु पर्‍यो। अनि केहीको नितान्त व्यक्तिगत कुरा हुन्छ। कति सुन्नु। तिमीहरूसँग राजनीतिक वा सामाजिक कुरा हुन्छ। अलि ‘फ्रेस'जस्तो लाग्छ। यसैले पञ्चहरूलाई पन्छाएको हुँ। भोलि बिहानै हिँड्नु छ। उनीहरूसँग सामूहिक भेट गरे भइहाल्छ। जोगमेहर दाइ मैलै सोचेभन्दा पनि धेरै बाठा रहेछन् भन्ने लाग्यो। मादीको तिरमा हामी निकै बेर बस्यौँ। पञ्चायती राजनीतिका अन्तरकुन्तर खोतलेका थिए। दरबारको इसारामा कीर्तिनिधि विष्टलाई राष्ट्रिय पञ्चायतको सदस्य नबनाउँदा आफूलाई वक्रदृष्टिले धेरै समयम्म हेरिएको तीतो अनुभव उनले सुनाएका थिए। कांग्रेसप्रति आफ्नो मोह अझै बाँकी रहेको पनि उनले घुमाएर सुनाएका थिए।

साँझ गेस्ट हाउसमा अरू साथीहरू पनि आए। उनले रक्सी खाने इच्छा व्यक्त गरे। मैलै स्वास्थ्यका कारण खान हुँदैन भनेर उनले दिउँसो भनेको सम्झाएँ। उनले हाँसेर भने - यो उपसभापति साँच्चै सोझो बाहुन वा। त्यो त घरको रक्सीले जीउ नै गन्हाउने हुन्छ भनेर पो खान्न भनेको त। सबै हाँसे, म खिश्रिक्क परेँ।

उनका बारेमा सुनिने धेरै ठट्टा काठमाडौँको राजनीतिमा जोगमेहरको पकड फुस्काउन नसकेका सम्भ्रान्तहरूको खोपीबाट सुरु भएका हुन्। सहरबाहिरको सामान्य नेवारले राजधानीको पञ्चायती राजनीतिलाई कब्जामा लिएको सहन नसक्नेहरूले जोगमेहरलाई उडाएर अहं तुष्टि गर्न त्यस्ता ठट्टा सुनाइएका हुनुपर्छ। मैले भेटेको जोगमेहर संसारको भूगोल र राजनीतिसँग परिचित थिए। नेपालको राजनीतिमा जीवनकालमै किंवदन्ती बनेक जोगमेहर दाइलाई श्रद्धान्जली।

हार्ने लडाइँ

हार्ने लडाइँ

smaller text tool iconmedium text tool iconlarger text tool icon
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा थप ३० हजार अमेरिकी सैनिक पठाउने घोषणा गरे। सिपाहीको गन्ती बढाएर अफगान युद्ध जितिँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि उनले किन सैनिक संख्या बढाएका होलान्? इराकबाट जस्तै त्यहाँबाट पनि सेना हटाउन थालेको भए बरु तालिबानलाई हराउन बल पुग्थ्यो। तालिबानी कट्टरता अफगान समाजको समस्या हो। अफगानहरूले मात्रै त्यस्तो धर्मान्धतालाई परास्त गर्न सक्छन्। सिपाही त जति पठाए पनि अफगानी पहाड र कन्दरामा कता बिलाउँछन् कता?

अमेरिकाभित्र र बाहिर अफगानिस्तानमा थप सेना पठाउने निर्णयको आलोचना भएको छ। हमिद कारजाइको सरकार पश्चिमको साथ र समर्थनमा टिकेको मानिन्छ। उनको सरकारलाई अफगानहरू ...भ्रष्ट' ठान्छन्। यो सरकार रहुन्जेल तालिबानप्रति जनसमर्थन बढ्ने अनुमान छ। गरिबी, अभाव र युद्धको पीडाबाट जर्जर अफगानहरू तालिबानीलाई मन पराउँदैनन्। तर, अमेरिकी सेना उनीहरूका लागि पराइ र बैरी दुवै हो। आफूले भोग्नु परेको कहरको कारण उनीहरूले अमेरिकी आक्रमणलाई नै ठान्छन्। पहिले तालिबानसँग जोगिए पुग्थ्यो भने आक्रमणपछि अमेरिकी सैनिकसँग पनि जोगिनुपर्ने भयो। तालिबान अमेरिकाले नै जन्माएको ...कृत्या' हो। अफगानिस्तानमा सोभियत रुसको प्रतिरोधका लागि अमेरिकाले धार्मिक कट्टरता जगाउन अगुवाइ गरेको हो। त्यसको सबैभन्दा गम्भीर परिणाम पनि अमेरिकाले नै सहनु पर्‍यो।

अफगानिस्तानमा सैनिक थप गर्ने निर्णयसँगै अमेरिकी गुप्तचर संस्था सीआईएलाई पाकिस्तानमा विमानबाट दूरभेदी अश्त्र प्रयोग गर्ने अनुमति पनि दिइएको छ। अब पाक-अफगान सीमा र अल कायदा, तालिवानका नेता, लडाकु रहेका ठाउँमा अलि खुलेरै आक्रमण हुनेछ। निर्दोष नागरिक बढी मारिने छन्। फलस्वरूप पाकिस्तानी जनमत थप अमेरिका विरोधी हुनेछ। शत्रुको शत्रुलाई मित्र ठानेर त्यहा कट्टरपन्थीप्रति सहानुभूति र समर्थन बढ्नेछ। जे हुन नदिन यति धेरै रगत र पैसा बगाइएको हो त्यही हुनेछ।

भियतनाम युद्धबाट अमेरिकाले केही सिकेको रहेनछ। अमेरिकाले सैनिक हस्तक्षेप नगरेको भए बरु दक्षिण भियतनाम अझैसम्म स्वतन्त्र राष्ट्र रहने थियो कि? युद्ध कौशल नपुगेर हैन, जनसमर्थन नभएकाले अमेरिका हारेको हो। जर्ज बुसले अमेरिकाका शत्रु समाप्त पार्न थालेको 'आतंकवादविरुद्ध युद्ध'ले संसारभर अमेरिका विरोधी लहर सिर्जना गरेको थियो। ओबामा राष्ट्रपति भएपछि अमेरिकी दृष्टिकोण र छविमा सुधार हुन लागेको देखिँदै थियो। दुर्भाग्य, उनी पनि पुरानै बाटो हिँड्न पुगे।
अफगानिस्तानमा सेनाको संख्या बढाउने कि नबढाउने र कस्तो रणनीति अपनाउने भन्ने विषयमा निकै विवाद पनि भएको हो। सैनिक अधिकारीहरूले संख्या बढाउन सिफारिस गरेको भए पनि कूटनीतिक क्षेत्रबाट रणनीति परिवर्तन गर्नुपर्ने सुझाव राष्ट्रपति ओबामालाई दिइएको थियो। तर, अन्ततः उनले सेनाको संख्या बढाउने निर्णय गरे। अफगान युद्ध ओबामाले थालेका हैनन्। अमेरिका त्यहाँबाट सहजतापूर्वक फर्केको भए हारेको ठहरिने थिएन। अनुदार अमेरिकी शासनका सामु ओबामा झुके। विडम्बना, ओबामा नोबेल शान्ति पुरस्कार लिन जानुभन्दा पहिले नै थप अशान्तिका कारक बन्न पुगे।

अफगानिस्तानमा अमेरिकी सेनाको संख्यासँगै यस क्षेत्रमा पनि तनाव बढ्छ। पाकिस्तानमा त प्रत्यक्ष प्रभाव नै पर्छ। पाकिस्तान अशान्त भयो भने भारत पनि त्यसको रापबाट झुल्सिन्छ। गत वर्षको मुम्बई विष्फोट यसैको उदाहरण हो। त्यस अवस्थामा नेपाल अछुतो रहन सत्तै्कन। दक्षिण एसियामा यस्तै उथलपुथल भएका बेला विश्वेश्वरप्रसाद कोइराला सिद्धान्तबाहेक सबै दाउमा राखेर नेपाल फर्केका थिए। अहिले त्यस्तै दूरदर्शी कोही देखिएका छैनन्। सबै ठूला दलले संविधानभन्दा सत्ता रोजेको देखिएको छ। लोकतान्त्रिक मूल्य, मान्यता र विधिको रक्षा कसैको प्राथमिकतामा परेको छैन। मानव अधिकार उल्लंघनलाई कसैले गम्भीरतापूर्वक लिएको छैन। सत्ता स्वार्थका लागि उक्साइएको जाति, भाषा र क्षेत्रगत साम्प्रदायिकताले ...कृत्या'को रूप लिन लागेको छ। जातिवादी आन्दोलनका अगुवाले बिस्तारै ...युद्ध सरदार'को रूप लिँदैछन्। संविधान निर्माण सत्ताको खेलमा कुनामा घचेटिएको छ। निर्धारित मितिमा संविधान पारित नभए मुलुक संकटमा पर्छ। त्यस्तो अवस्थामा कसैले दह्रो शासनका नाममा अधिनायकवाद लाद्नै खोज्यो भने पनि संसारले खासै वास्ता गर्दैन।

ओबामाले अफगानिस्तानमा सेनाको संख्या बढाउँदा नेपालको कमजोर लोकतन्त्रमा पर्ने प्रभावप्रति यहाँ छलफल हुनु आवश्यक छ। अरू कसैले थालेको हार्ने लडाइँसँग हाम्रो नियति जोडिन किन दिने?