Sunday, December 6, 2009

जोगमेहरको संगत

जोगमेहरको संगत

जोहरमेहर श्रेष्ठसँग मेरो संगत राजनीतिक कारणले भएको हो। यसैले राजनीति छाडेपछि उनीसँग सम्पर्क र सम्बन्ध भएन। अर्थात् भेटघाट नभएकै करिब २५ वर्ष भएछ। तनहुँ जिल्ला पञ्चायतको उपसभापति हुनुपूर्व पनि उनीसँग भेट भएको थिएन। उनको राजनीतिक ‘लाइन'सँग असहमत भए पनि व्यक्तिका रूपमा जोगमेहर श्रेष्ठको हार्दिकताबाट म प्रभावित थिएँ।

नेपाल रेडक्रसको बुटवल महाधिवेशनमा उनीसँग पहिलो पटक अलि लामो कुराकानी भएको थियो। त्यस भेटमा उनी बढी नै अनौपचारिक भइदिए। रेडक्रस केन्द्रीय समितिको चुनाव थियो। उनी केन्द्रीय सदस्य थिए। सायद, उनलाई हटाउन केन्द्रीय समितिका प्रभावशाली व्यक्तिहरू लागेका थिए। प्रिन्सेहृ शाह नै अध्यक्ष थिइन्। चुनाव निर्विरोध गराउन अञ्चलाधीश लागेका थिए। रेडक्रसमा राजनीतिक विभाजनै त होइन खेमाजस्तै देखा पर्न लागेको थियो र हामी विशेषगरी तनहुँबाट प्रतिनिधित्व गर्नेहरू कांग्रेसका रूपमा दरिएका थियौँ। हामीसँग केन्द्रीय समितिका अधिकांश पदाधिकारी एक्लै परे नजिकिन खोज्ने र समूहमा भए तर्किने गर्थे। अरू केही जिल्लाबाट पनि कांग्रेस समर्थकहरू प्रतिनिधिका रूपमा आएका थिए। तीमध्ये केही कांग्रेसका रूपमा चिनिनै चाहँदैन थिए। यस्तैमा हामीसँग सबैले देख्ने गरी लामो कुराकानी गर्न जोगमेहर दाइ तम्से। कुराकानीका लागि प्रिन्सेफ शाहले समेत देख्ने ठाउँ उनले रोजेका रहेछन्। तनहुँका केही कांग्रेसी नेताका क्षेमकुशल सोधे। उनले केन्द्रीय समितिमा उमेदवार हुने जानकारी गराए। हामीले शुभकामना दियौँ, बेलुका नारायणगढ पुगेर निर्मल प्रधानको हलमा सिनेमा हेर्ने सल्लाह भयो। र हात मिलाएर हामी छुटिट्यौँ। उनले त्यही भेटलाई आफ्नो उमेदवारीका पक्षमा हाम्रो समर्थनका रूपमा प्रस्तुत गरेछन्। हात मिलाएर समर्थन गरेको भनेछन्। धेरैपछि थाहा भयो। आफू त्यसरी झुक्किएको थाहा पाउँदा पनि मलाई नमीठो पटक्कै लागेन।
जोगमेहर दाइसँग काठमाडौंमा भेटघाट हुन थाल्यो। राजधानी जाँदा जोगमेहरलाई पनि भेट्ने कार्यक्रम बन्थ्यो। उनी हाम्रा कुरा थाहा पाउन खोज्थे भने हामी उनीमार्फत् पञ्चायतको। गण्डकी अञ्चल स्तरीय पञ्चभेला बहिष्कारपछि एक पटक उनी दमौली आए। पञ्चहरू तनहुँ, लमजुङ र गोर्खा जिल्ला पञ्चायत भंग गराउन मरिमेटेर लागेका थिए। गण्डकी अञ्चल पञ्चहरूका दृष्टिमा ‘बाघ लागेको वन' भएको थियो। कास्की र मनाङबाहेक अरू जिल्लामा कांग्रेस समर्थकले चुनाव जितेका थिए। तिनमा पनि तनहुँमा त जिल्ला पञ्चायतको ११ मा ७ पद जितेका थिए। यसैले विशेष संवेदनशील मानिन्थ्यो। जाँचबुझ समितिका सदस्यका रूपमा तनहुँ हामीसँग जोरी खोज्नुजस्तै थियो। सम्भवतः दरबारको एउटा पक्ष हामीलाई बिच्क्याउन चाहँदैन थियो। रञ्जनराज खनालसँगको कुराकानीमा पनि मलाई त्यस्तै भान परेको थियो। यस्तैमा जोगमेहर दमौली आए। दमौली आउने बित्तिकै उनले पञ्चहरूलाई बोलाएर आफू धेरै थाकेकाले भोलि बिहान भेटघाट गर्ने भनेर पन्छाए। अनि मलाईसँगै लिएर नरबहादुर गुरुङको घरमा गए। गुरुङ घरैमा थिए। केही बेर सामान्य कुराकानी गरे। रक्सी खाने कुरा भयो। उनले घरको रक्सी खाने त भने तर स्वास्थ्यले साथ दिँदैन भनेर आधा गिलास पनि खाएनन्। नरबहादुरसँग पनि भोलिभेट्ने भनेर बिदा लिए। त्यसपछि उनले मादीको किनारतिर घुम्न जाउँ भने। म जोगमेहरसँग एक्लै घेरैबेर हिँड्ने ‘मुढ' मा थिइन। यसैले जोगमेहरदाइलाई थकाइ लागेको कुरा सम्झाएर उम्कन खोजेँ। अनि उनले भने - मलाई शारीरिक थकाइ लागेको हैन। पञ्चहरूको कुरा सुन्दासुन्दा थाकेको हुँ। उनीहरू सधैँ एउटै कुरा गर्छन्। हाम्रो मूल्यांकन भएन। कांग्रेसले चुनाव जिते। यिनलाई हटाउनु पर्‍यो। अनि केहीको नितान्त व्यक्तिगत कुरा हुन्छ। कति सुन्नु। तिमीहरूसँग राजनीतिक वा सामाजिक कुरा हुन्छ। अलि ‘फ्रेस'जस्तो लाग्छ। यसैले पञ्चहरूलाई पन्छाएको हुँ। भोलि बिहानै हिँड्नु छ। उनीहरूसँग सामूहिक भेट गरे भइहाल्छ। जोगमेहर दाइ मैलै सोचेभन्दा पनि धेरै बाठा रहेछन् भन्ने लाग्यो। मादीको तिरमा हामी निकै बेर बस्यौँ। पञ्चायती राजनीतिका अन्तरकुन्तर खोतलेका थिए। दरबारको इसारामा कीर्तिनिधि विष्टलाई राष्ट्रिय पञ्चायतको सदस्य नबनाउँदा आफूलाई वक्रदृष्टिले धेरै समयम्म हेरिएको तीतो अनुभव उनले सुनाएका थिए। कांग्रेसप्रति आफ्नो मोह अझै बाँकी रहेको पनि उनले घुमाएर सुनाएका थिए।

साँझ गेस्ट हाउसमा अरू साथीहरू पनि आए। उनले रक्सी खाने इच्छा व्यक्त गरे। मैलै स्वास्थ्यका कारण खान हुँदैन भनेर उनले दिउँसो भनेको सम्झाएँ। उनले हाँसेर भने - यो उपसभापति साँच्चै सोझो बाहुन वा। त्यो त घरको रक्सीले जीउ नै गन्हाउने हुन्छ भनेर पो खान्न भनेको त। सबै हाँसे, म खिश्रिक्क परेँ।

उनका बारेमा सुनिने धेरै ठट्टा काठमाडौँको राजनीतिमा जोगमेहरको पकड फुस्काउन नसकेका सम्भ्रान्तहरूको खोपीबाट सुरु भएका हुन्। सहरबाहिरको सामान्य नेवारले राजधानीको पञ्चायती राजनीतिलाई कब्जामा लिएको सहन नसक्नेहरूले जोगमेहरलाई उडाएर अहं तुष्टि गर्न त्यस्ता ठट्टा सुनाइएका हुनुपर्छ। मैले भेटेको जोगमेहर संसारको भूगोल र राजनीतिसँग परिचित थिए। नेपालको राजनीतिमा जीवनकालमै किंवदन्ती बनेक जोगमेहर दाइलाई श्रद्धान्जली।

No comments:

Post a Comment