Wednesday, August 22, 2012

प्रहरी : नेपाल र भारतमा


नेपाल प्रहरीका नायब प्रहरी उपरीक्षक (डीएसपी) दीप शमशेर राणालाई फेसबुकमा नेकपा (एमाले)का नेताविरुद्ध टिप्पणी गरेकोमा कारबाही स्वरूप सरुवा गरिएको छ। भारतमा महाराष्ट्र नवनिर्माण सेनाका नेता राज श्रीकान्त थाकरेलाई सार्वजनिकरूपमा 'गुलाबको फूल' दिने प्रहरी कन्सटेबल प्रमोद तावडेमाथि कारबाही हुनसक्ने समाचार दी टाइम्स अफ इन्डियाले अनलाइन संस्करणमा दिएको छ।  
उपरीक्षक राणाले एमालेको भातृसंस्था युवा संघका अध्यक्ष महेश बस्नेतले एक जना प्रहरीलाई मसालको राँकोले झोसेको तस्बिरमा आक्रोशपूर्ण टिप्पणी गरेका थिए। डीएसपी राणाले टिप्पणी गरेको तस्बिरको आधिकारितामा सन्देह गरेर त्यो कम्प्युटरबाट तयार गरिएको आरोप पनि बस्नेतले लगाएका थिए। पछि एएफपीका फोटो पत्रकार प्रकाश माथेमाले त्यो तस्बिर आफूले खिचेको पुष्टि गरे। प्रहरी जवानलाई आगो झोस्ने बस्नेतलाई राणाले 'राक्षस' लेखेेका छन्। राणालाई उनको संगठनले कारबाही गरे पनि उनका प्रति जनसमर्थन बढेको देखिएको छ। सामाजिक सञ्जालहरूको प्रतिक्रियालाई जनमतको आधार मान्ने हो भने सायद रमेश खरेलपछि सामाजिक सञ्जालमा यति धेरै प्रशंसा र समर्थन पाउने प्रहरी अधिकृत दीप राणा नै भएका छन्।  
भारतमा प्रमोद तावडेमाथि यी पंक्तिहरू लेख्दासम्म कारबाही गएको समाचार सार्वजनिक भएको छैन। राज थाकरेले केही दिन पहिले उत्तरपूर्वमा भएको जातीय दंगापछि तनाव ग्रस्त मुम्बईमा प्रहरीको भूमिकाको सराहना गरेका थिए। थाकरेलाई मुम्बईका दबंग 'नेता' मानिन्छ।  महाराष्ट्रमा विशेष प्रभाव भएको हिन्दु अतिवादी संगठन शिव सेनाका प्रमुख बाल थाकरेका कुनै बेला उत्तराधिकारी मानिने राजले विरोध प्रदर्शनमा अपेक्षाकृत सन्तुलित भाषण गरेकोमा लेखिका शोभा डेले ट्विट गरेर आश्चर्य मिश्रित प्रसंशा गरेकी थिइन्। तिनै राज थाकरेले प्रहरीको मनोबल बढाउने भाषण गरेपछि मन थाम्न नसकेर फूल अर्पण गरेको प्रतिक्रिया कन्सटेबल तावडेले दिएका छन्। दी टाइम्स अफ इन्डियाका अनुसार राजलाई फूल दिँदा आफूमाथि कारबाही हुन्छ भन्ने जानीजानी आँट गरेको तावडेले बताएका छन्। 
दुवै देशमा प्रहरीमाथि संगठनभित्रैबाट सामान्यतः सही देिखने काम गर्दा पनि कारबाही हुने गरेको देखियो। दुवै घटनाका पात्र  प्रहरीले आवेग थाम्न सकेनन्। प्रहरी संयमित हुनुपर्छ । यो भन्नमात्र सजिलो छ । यी दुवै घटनामा हृदयहीन व्यक्तिबाहेक अरू सबैले यस्तै व्यवहार त गर्थे होलान् । मातहतका सहयोगीमाथि आगो झोसेको देख्दा पनि रिस त साधुलाई मात्र । नत्र अरूले सहन सक्तैनन् । यस्तै, सबैले दुत्कारेका बेला आफूलगायत संगठनको सराहना भएको सुन्दा खुसी नहुन पनि मन जित्नुुपर्छ।  
प्रहरी भावुक र आक्रोशित हुन हुन्छ कि हुँदैन ?  भावना व्यक्त गरेबापत सजाय दिने कि नदिने ? राणालाई सरुवा गर्दा प्रहरी मनोबल कमजोर हुन्छ कि हुदैन ? राणाको सरुवा र बस्नेतमाथि मुद्दा सँगै हुनु पर्ने थियो कि ?  सामाजिक संजालमै सही छलफल हुनु राम्रै होला ।
जेहाेस्, राणा र तावडेले कारबाही भोग्दै रहुन् तर यीभित्रको जीउँदो मानिस पनि बाँची रहोस्। नत्र, मानिस र मेसिनमा के फरक हुन्छ र?  

No comments:

Post a Comment