Tuesday, August 21, 2012

उहिलेका कुरा - १


' बिहानै आँखा खुल्दछन्, मनमा कुरा खेल्दछन् । 
अब मेरो बुढेसकाल लागिसक्यो क्यार हजुर ! '

यस्तै लक्षण मैले आफैंमा देख्न थालेको छु । त्यसमाथि थप अर्को लक्षण पनि देखिएकाे छ -  पुराना कुरामात्रै सम्झने र भनिहाल्न मन लाग्ने । कतै पढेको कि सुनेको हो सम्झना भएन तर वाक्य बिर्सेको छैन - 'बूढाहरू अतीतमा बाँच्छन् ।' अंग्रेजीमा 'नोस्टाल्जिया' भन्छन्  क्यारे नि ! हो त्यस्तै ।

म पहिलो पटक विराटनगर २०२७ सालमा आएको थिएँ । मेरै उमेरका मामा साथी लिएर । नारायणघाटसम्म हिँडेर । अनि बसमा वीरगन्ज । त्यसपछि रेलमा कटियार हुँदै जोगवनी । बाटामा कटियारको रिक्सा हडतालले झन्डै रेल नछुटेको र उत्तम मामाको झोंकले झन्डै विहारी भैयाको  चटकन खानुपरेको  र कटिहारमा बजारभित्र जाँदा रेल छुट्नै लागेकोबाहेक अरू घटना वर्णनीय छैन ।

मामा र म रक्सौलबाट रेल चडेका थियौँ । रेल यात्रा पहिलो त थिएन तर दुई जना उर्बौला ठिटामात्र हिँडेकाले मलाई बढी नै डर लागेको थियो । रेल सुगौली कटिहारहुँदै जोगवनी जान्थ्यो । रक्सौलमा केही देहाती पनि हामी चडेकै डिब्बामा थिए । मलाई एक जना बूढी आमाले चिठी पढिदिन भनिन् । चिठी भोजपुरी भाषामा थियो क्यारे । पढ्दा लय मिलाउन नजानेकाले हो कि सुन्नेहरू हाँसेका थिए । मामा केटाहरूसँग कुरा गर्दै थिए एक जनाको गाला चड्काइ दिएछन् । 'उसले मेरो खल्तीमा हात हाल्यो' - मामा भन्छन् । 'हैन मैले त आफ्नै शरीर कन्याउँदा छोइएको हो ' - ऊ भन्छ । उसका साथीहरू जुर्मुराउन थाले । मामा पनि के कम ? । उनी मभन्दा एकाधपटक बढी नै रेल चडेका । तै  चिठी पढिदिएको गुन काम लाग्यो । तिनै आमाले देहाती केटाहरूलाई सम्झाइन् र हामीलाई जोगादिइन् । 

कटिहारमा चाहिँ रेल अलिधेरै बेर रोकिने रहेछ । विराटनगरको एउटा परिवार पनि भेटिएको थियो । बजारभित्र जाने सल्लाह भयो । बजारको एउटा होटलमा गइयो रिक्सा लिएर । खाना खाएर केहीबेर सुस्ताएपछि फर्कन लाग्दा त रिक्सा हड्ताल भइसकेछ । होटेलवालाले बल्लतल्ल तीनवटा रिक्सा खोजेर पठाइदियो । एकैछिन हिँड्नेबित्तिकै हड्तालकारीले रोकेर हावा फुस्काइदिए । रेल छुट्ने बेला भइसक्यो तर हामी बजारैमा । अत्यास लाग्न थाल्यो । मामाले मेरो झोला पनि बोकिदिए । दौडेर गइयो । धन्न रेल छुटेन ।
 
दोस्रो पटक विराटनगर गएको २०२८ को चैतमा हो । त्यो मेरो दोस्रो हवाई यात्रा थियो । त्यसभन्दा पहिले २०२४ सालको जेठमा पालुंगटार गएको थिएँ काठमाडौंबाट । डकोटा भन्ने जहाज चल्थ्यो नेपालमा उतिबेला । जहाज चड्दा रोमांचक अनुभूति हुन्छ अझै पनि । डर र रमाइलो दुवै एकै पटक लाग्छ । रोंगटे पिंग खेलेकोजस्तै । विराटनगर आउने अगिल्लै दिनदेखि काठमाडौंमा पानी परेको थियो । बिहान त निकै जाडो थियो अचेलको पुसमाघ जत्तिकै । मैले स्वेटर लगाएको थिएँ । साथीले हवाईजहाजमा जानेमान्छेले कोट पनि लगाउनुपर्छ भन्यो । त्यो पनि लाइदिएँ । वायुसेवा निगमको नयाँ सडक अफिसबाट बसले एअरपोर्ट लान्थ्यो । तेहाँ कोट लगाउने धेरै जना थिएनन् । म गमक्क परेको थिएँ । 

हवाई जहाजमा चड्न धेरै बेर कुर्न परेन । जहाज उड्दा डरले अनुहार बिगारेछु क्यारे, छेवैमा बसेका मोटा मान्छेले सान्त्वना दिए - मत डरो । कुछ नहीं होगा । लाजैमर्दो भएको थियो । बाहिर हेरेँ । पहाडै पहाड़ । कताकति खरले छाएको घर । ढुंगाले छाएको घर कतै देखिएन । पहाडमा जताततै पहिरो गएको देखेको सम्झना छ । तेस्तै डँडेलो कि कुहिरो पनि देखेजस्तो लाग्छ । वाकवाक लागेजस्तो हुन लागेको थियो जहाज ओर्लने बेला भएछ । कोटधारीको धन्न इज्जत जोगियो ।

जहाजबाट बाहिर के निस्केको थिएँ रसेटामा बसेजस्तै पो भयो । फरक्क फर्केर जहाज भित्रै पसौँ जस्तो भयो । सामान लिउन्जेल कुर्दा पसिनै पसिना भइसकेको थियो । मेजस्तो कोट र स्वेटर लगाउने कोही थिएन । मान्छेहरू मलाई हेरेर हाँसेजस्तो लाग्यो । सामान आएपछि बाहिर निस्केर रिक्सा खोज्न थालेँ । रिक्सावालाले त गंजीमात्रै लगाएको थियो । बजारअड्डामा मामाको घरमा पुग्ने बेलासम्ममा त म उसिनिइसकेँ जस्तो लागेको थियो । मामा त मेरो अवस्था देखेर हाँस्न र गिज्याउन पो थाले । हजुरआमाले लुुगा फुकाउन भन्नुभयो । पानी ल्याएर दिनुभयो । बल्ल मैलै बुझे संकटको जड त स्वेटर र कोट रहेछन् ।

त्यसपछि कति पटक विराटनगर गएँ  गनेरै सकिँदैन । धेरै पटक हवाईजहाजबाटै गएँ । त्यसपछि एक पटकबाहेक व्यक्तिगत कामका लागि गएको छैन । यस पटक पनि अपांगता भएका बालबालिकाले संचालन गरेका बाल क्लबसम्बन्धी अध्ययनका लागि गएको हुँ । काठमाडौंबाट १:४० बजे प्लेन उड्छ भनेर हतार गरेर विमानस्थल पुग्दा चेक इन सुरु भइसकेको थियो । आन्तरिक उडानमा एअरपोर्ट ट्याक्स लिन छाडिएको रहेनछ । उतिबेलाको हेरेर विमानस्थल निकै भव्य भए पनि  सफाइ भने उस्तै छ । विमान स्थलमा टेलीकम र एनसेलको थ्रीजी सेवा छैन रहेछ कि ! जीपीआरएस मात्र टिप्यो । तैपनि समय कटाउन सजिलै भयो । ( मैले एनसेलको सेवा प्रयोग गर्न बन्द गरेको थिएँ । आईप्याडमा टेलिकमको थ्रीजीले देउखुरीमा काम नगरेपछि धेरैले सल्लाह दिए एनसेलको कभरेज र सेवा राम्रो भनेर । इनरुवामा त एनसेलको पनि थ्रीजी रहेनछ । अझ गाउँतिर त कतै कतै टेलिकमको नेटवर्क भएको ठाउँमा समेत एनसेलको चालचुल केही भेटिएन । गाँठ गुमाना बेबकुफ बन्ना )

बुद्ध एअरको जहाज २:१५ मा उड्यो । सँगैको सिटमा कोटधारी महानुभाव बसेका थिए । आफ्नो कन्तबिजोग सम्झेँ ।  प्याब्सनको कार्यक्रममा गएका रहेछन् । भेट्ने भए यिनले पनि भन्ने ठाने । झ़्यालबाट बाहिर हेर्न थालेँ । बितेका ४० वर्षमा पहाडमा मोटर बाटा धेरै बनेछन् । बस्ती पनि धेरै बसाइएछन् । मैले त ख्यालै गरेको रहेनछु । सबैजसो घरहरूमा जस्ताको छानो देखियो । बाटामा देखिनेमध्ये मोटर बाटो र बस्ती नभएका डाँडा थोरैमात्रै थिए । उति बेलाजस्तै अहिले पनि कोसीको विनाश लीलाले मन चसक्क दुख्यो । 

यसपटक चाहिँ म टी सर्टमा थिएँ । जहाजबाट ओर्लने बित्तिकै पानी पर्न थाल्यो । गर्मीको अनुभव भएन ़। विराटनगरबाट हुलाकी राजमार्ग हुँदै इनरुवा २६ किलो मिटर रहेछ । मारुती भ्यानमा १२ सय भन्दारहेछन् । रिक्सावालाले सिकाउन थाले माइक्रो बससम्म रिक्सामा जाने र अनि बसमा जाने । आँट आएन गर्मीमा त्यो जोखिम उठाउने । मोलतोल पछि ११ सयमा कुरा छिनियो । पछिल्लो ढोका खोलिदिए चालकले । भित्र पसेपछि बल्ल तराई आएको थाहा भयो । झ्याल नखुल्ने रहेछ । साउनामा पसेजस्तै भयो । चालकलाई गाड़ी रोक्नु म अगाडि आउँछु भनेको त तेहीँ बस्नुस् एक छिन, तेल हाल्ने बेलामा रोकौँला पो भने । तेति बेला चाहिँ २०२८ सालकै गर्मी सम्झेँ । तर उत्निखेरै फर्कन मन चाहिँ लागेन । थाहा थियो नि त म फर्कन सक्तिन भन्ने ।  

उति बेलाका धेरै कुरा अब छैनन् । सबैभन्दा त मलाई िवराटनगर बोलाउने र डुलाउने नारायण मामा नै छैनन् । उनले मलाई फारबिसगन्ज लगेका थिए कांग्रेसहरूको क्याम्पमा । धरान घुमाएका थिए । मीठाइदेखि बियरसम्म खुवाएका थिए । त्यति धेरै माया गर्ने त्यहाँ अब कोही छैन । त्यसैले हो कि खासै रमाइलो पनि लाग्दैन । बजारभित्र पस्दै पसिन ।

बाटा धेरै नै बनेका छन् । टेलिफोन र बिजुली पनि गाउँमा पुगेका छन् । जीवनस्तरमा पनि सुधार भएकै छ । तै पनि, मानिस सन्तुष्ट चाहिँ छैनन् । किन ? उत्तर मलाई पनि थाहा छैन ।

No comments:

Post a Comment