Tuesday, August 7, 2012

शक्तिको दम्भ

भारतका केही उत्तरपूर्वी राज्यमा गत साताको सुरुमा विद्युत् आपूर्ति अवरुद्ध भयो। यसलाई संसारकै अहिलेसम्मको सबैभन्दा व्यापक विद्युत् अवरोधसम्म भनियो। भारतका १९ राज्यका ६२ करोड जनसंख्याले त्यस दिन बिजुली पाएनन्। यही कारणले भारतमा वैदेशिक लगानी प्रभावित हुनेजस्ता धारणा पनि विज्ञहरूले प्रकट गरे। भारतमा विद्युत् आपूर्ति अवरोधसम्बन्धमा टेलिभिजन च्यानल अलजजिराले सम्प्रेषण गरेको समाचारमा त्यसको कारण केलाउने प्रयास पनि गरेको रहेछ। त्यसको निष्कर्ष खण्डको नेपाली अनुवाद यस प्रकारको छ : 

• यो आंशिकरूपमा संरचनात्मक समस्या हो। बढी बिजुली प्रयोग गर्ने भनिएका यी उत्तरी र पूर्वी राज्य एकअर्कासँग जोडिएका छन्।
• विद्युत् भार अनुगमन गर्ने केन्द्रहरूबाट दिइएको भार प्रेषण चेतावनीलाई क्षेत्रीय निकायहरूले कुनै न कुनै रूपमा उपेक्षा गरे।
• बढ्दो माग पूरा गर्न भारतको उत्पादन क्षमतामा १० प्रतिशत वार्षिक वृद्धि आवश्यक हुन्छ। गत वर्ष त्यसको आधामात्र उत्पादन वृद्धि भयो।
• यस मुलुकको आपूर्तिको स्रोत र उपभोग विन्दुबीचको विद्युत् ह्रास दर संसारकै उच्चतममध्येमा पर्छ।
• विद्युत्को अवैध उपभोग पनि यहाँको प्रमुख समस्यामध्येको हो। कुल विद्युत् उत्पादनको ३० प्रतिशत जति बिजुलीको अवैध प्रयोग गरिन्छ।
• केही विशेषज्ञहरूका अनुसार अनुदान र उत्तरपूर्वका कृषि क्षेत्रमा कतिपय स्थानमा निःशुल्क विद्युत् उपलब्ध गराइएकाले पनि ग्रिडमा भार बढी परेको हो।

यी बुँदा हेर्दा भारतको ठाउँमा नेपाल लेखिदिने हो भने यसले हाम्रो विफलताको कथा पनि बताइदिने देखिन्छ। अर्थात्, हाम्रो अवस्था पनि यसभन्दा खासै भिन्न छैन। त्यसो हो भने त हामी पनि यस्तै भयानक विपत्तिका लागि कम्तीमा मानसिकरूपमै सही तयार रहनुपर्ने देखिन्छ। कुनै पूर्वतयारी गर्ने वा अरूको विफलताबाट सिक्ने त हाम्रो संस्कार छैन नि! हुन त, नेपालमा त्यसरी विद्युत् प्रणाली ठप्पै भयो भने पनि खासै फरक नपर्ला। भारतमा जस्तो रेल रोकिने छैन। अरू कामकै लागि पनि कति नै बिजुलीको प्रयोग हुन्छ र? अधिकांश गाउँमा यसै पनि बिजुली छैन। भए पनि बत्ती बाल्नेबाहेक अरू के पो गरिन्छ र? यस्तै, नेपालमा बिजुली बन्द हुँदा अन्तर्राष्ट्रिय सञ्चार जगतले पनि खासै ध्यान नदेला। दिए छ नै भने 'सांग्रिला पुरानै चोलामा' भन्नेजस्ता शीर्षकमा पुरातन जीवन शैली झल्काउने रोमाञ्चक समाचार सम्प्रेषण गर्नसक्छ। अर्थात्, हाम्रो जीवन शैलीमा खासै फरक पर्ने छैन। फरक पर्ने नै भए त हामी विद्युत् उत्पादनको अपार क्षमता व्यर्थैमा खेर जाँदा यसरी चुप लागेर पक्कै बस्ने थिएनौ होला!

नेपालको छिमेकमा पर्ने उत्तरपूर्वी भारतमा यसरी विद्युत् प्रणाली अवरुद्ध हुनुको मूल कारण 'अभाव' नै रहेछ। पर्याप्त आपूर्ति भए भार सम्प्रेषण क्षमताभन्दा बढी प्रयोग हुने समस्या पक्कै उत्पन्न हुने थिएन। यता नेपालमा आफूलाई मात्र हैन भारत र बंगलादेशलाई समेत पुग्ने जल विद्युत् निकाल्न सकिन्छ। अब त सौर्य ऊर्जाकै लागि पनि नेपाल संसारकै बढी सम्भावनायुक्त स्थान मानिएको छ। बिजुली निकाल्न सके नेपालको ऊर्जा माग पूरा हुनेमात्र हैन विकासका अपार सम्भावना खुल्ने थिए। विशेषगरी यातायातमा विद्युत् शक्ति प्रयोग गर्न सकिने थियो। आफूलाई मनग्गे पुगेपछि निर्यात गरेर विदेशी मुद्राको आर्जन र व्यापार सन्तुलन कायम गर्न सकिने थियो। गरिबी निवारणका प्रयासमा ग्रामीण विद्युतीकरण निकै उपयोगी माध्यम बन्न पुगेको छ। उपलब्ध प्राकृतिक साधनस्रोतको सदुपयोग गर्न सके दिनहुँ हजारौँ युवा मुगलान भासिनुपर्ने थिएन। भारतमा तापीय र आणविक ऊर्जाको प्रयोग बढ्दा वातावरणमा पर्ने दुष्प्रभावको मार नेपालीले सहनुपर्छ। जल र सौर्यजस्ता नवीकरणीय ऊर्जाको उत्पादन बढाउन सके तापीय र आणविक ऊर्जाको खपत पक्कै कम हुन्थ्यो। नेपाल अप्रत्यक्षरूपबाट पनि लाभान्वित हुन्थ्यो। यी सबै सामान्य जानकारीका विषय हुन्। नेपालका नीति निर्माता, भाग्य विधाता सबैलाई यो थाहा पनि छ। दुर्भाग्य, थाहा पाएर पनि सबै टुलुटुलु हेरिबस्न अभीशप्त छन्। नेपालको राजनीतिक, सामाजिक, व्यावसायिक सबै क्षेत्रका अगुवाहरूमा अलिकति इच्छाशक्तिको कमी र धेरै चाहिँ सत्यको सामना गर्ने सामर्थ्यको अभावले सबैलाई पुंसत्वहीन बनाएको छ।

विश्व शक्ति बन्ने सपना लिएर एक्काइसौँ शताब्दीमा पाइला राखेको भारतका लागि ऊर्जाको आपूर्ति अत्यन्त महत्वपूर्ण छ। नेपालमा उत्पादन हुने जल तथा सौर्य विद्युत् सायद भारतका लागि पनि ऊर्जाको सबैभन्दा भरपर्दो र सस्तो स्रोत हो। तर, नेपाललाई चाहिएको ऊर्जा बेच्न बरु भारत तयार हुन्छ तर नेपालीको चित्त नदुखाई बिजुली निकाल्न भारतीय बाबुहरू रुचाउँदैनन्। तिनले त 'यी नेपालीलाई यस्तै व्यवहार गरेर थकाउनुपर्छ, त्यतिन्जेलमा भारत र नेपाललाई जति नै हानि हुन्छ होस्' भन्ने ठानेको देखिन्छ। बाबुहरूको यही हेपाहा मानसिकताले नेपाली जनमानसमा भारतप्रति शंका, आक्रोश र अलिकति शत्रुता पनि बढ्दैगएको छ। उता 'नेपाली जनतामा भारत विरोधी भावना छैन काठमाडौंका बुद्धिजीवीमात्रै भारतप्रति नकारात्मक छन्' भन्ने श्यामशरणहरूको गलत निष्कर्षमा आधारित नीतिका कारण भारतको शासकवर्ग नेपाललाई मौका पाउनेबित्तिकै दपेट्ने मानसिकतामा रहेको भान परेको छ। श्यामशरणहरू भुटानै भारतको अँगालोबाट उम्किन छटपटाउन थालेका बेला नेपालीलाई भुटानजस्तो भएर फाइदा लिन सल्लाह दिन्छन्। तिनलाई 'भुटान बन' भन्नुलाई नेपालीले 'गाली' ठान्छन् भन्ने थाहा नभएकै हो? नेपालमा पनि भारतको जति चर्को स्वरमा विरोध गर्योल उति नै बढी राष्ट्रवादी ठहरिइन्छ। यिनै भुइँफुट्टाका अहंकारले दुवै देशका जनता अन्धकारमा रहन विवश छन्।

यसो त नेपालप्रति भारतीय बाबुहरूको व्यवहार उहिल्यै पनि चित्त दुखाउने प्रकृतिकै रहेछ। विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, २०५५ बाट यी पंक्तिहरू उद्धृत गरौँ - ' ... उसको ( भगवान सहाय, तत्कालीन भारतीय राजदूत) एउटा नराम्रो प्रवृत्ति हाम्रोप्रति के थियो भने हामीहरू भनेको उनीहरूकै मातहतका शक्ति हौँ। त्यस्तै किसिमको व्यवहार गर्न ऊ खोज्थ्यो। त्यो हामीलाई मन पर्दैन थियो। '। भारतीय राजदूतलाई आफ्नो थान्कोमा बस्न भन्नसक्ने प्रधानमन्त्री हुँदा त त्यस्तो थियो भने अहिले राजदूतमार्फत् सरकार जोगाउन हारगुहार गर्ने बेलामा कस्तो होला?

'त्यो ( कोसी र गण्डक योजनाको संयुक्त अध्यक्षजस्तो आईसीएस अफिसर सिन्हा ) आयो मकहाँ। आएर के भन्यो भने , ' कोइराला साहब, सुना है कि आपको कुछ दुःख पहुँचा है, और आपने बहुत बुरा माना हैँ। ऐसी बात है तो हमारे नेता जवाहरलालजी का कहना हैँ कि बीपी कोइराला की मित्रता ज्यादा महत्व रखती है, बनिस्पत गण्डक योजनाका सम्झौता। कागजके टुकडेपर किए जानेवाले सम्झौते उतने महत्वपूर्ण नहीँ जितने महत्वपूर्ण हैँ प्रधानमन्त्री बीपी कोइराला के साथ की मित्रता।'

यस्तो इज्जत भएका प्रधानमन्त्री (बीपी कोइराला) छँदा त नेपाल ठगिएको थियो। त्यस्ता प्रधानमन्त्री ( नेहरु) हुँदा त बाबुहरू नेपाललाई हेप्थे। अब त न यता न उता! बस् बगिरहोस् पानी। बसिरहौँ हामी अन्धकारमा! र बाबुहरू गरिरहुन् घमण्ड नेपाललाई तह लगाएकोमा। टनकपुरमा सहमति गर्दा गिरिजाले राष्ट्रघात गरेको ठहरियो। ठहर्यारइयो। सिंगो महाकाली चाहियो भारतका बाबुलाई। पञ्चेश्वर परियोजना त सपनामा मात्र बन्छ। बिपनामा बनाउन त नेपालका नभए पनि भारतकै पर्यावरणवादी नागरिकले नदेलान्। चण्डीप्रसाद भट्ट र सुन्दरलाल बहुगुणाहरू अजर जो हुन्छन्।

नेपाली साँच्चै नै भारतविरोधी चाहिँ हैनन्। चित्त नदुखाउने हो भने अलिकति ठगिँदा पनि नेपालीलाई रिस उठ्दैन। बीपीले त उतिबेलै भनेका रहेछन् - '... यसमा (गण्डक सम्झौतामा) उनीहरूले हेरेरमात्र भएन, यसको राजनीतिक पक्ष म विचार गरौँला। केही इन्जिनियरहरूलाई मैले आफैँले बोलाई छलफल गरेँ। तिनीहरूसँग छलफल गर्दा मैले के भने भने हाम्रो हितमा कुनै किसिमको हानि नपरेर उनीहरूलाई फाइदा हुन्छ भने मलाई आपत्ति छैन। तर हाम्रो हित जोगिनुपर्छ। हाम्रो हित भनेको मुख्य दुई कुराको थियो। एउटा पानी र अर्को बिजुली। हामीलाई चाहिएको पानी राखेरमात्र उनीहरूलाई दिनुपर्छ भन्ने मेरो विचार थियो।' अहिले पनि जनताको मानसिकता खासै बदलिएको छैन। यत्ति हो, त्यसलाई स्पष्टसँग व्यक्त गर्नसक्ने आँट भएका नेता, प्रशासक र बुद्धिजीवी छैनन्।

नेपाली भूभाग डुबाउने गरेर सीमामा बाँध बनाउँदा भारतीय पक्षले नेपालीलाई 'पाठ' सिकाएको ठान्दा हुन्। तर, त्यस्तो बाँधले अन्ततः भारतीय भूमि पनि डुब्छ भन्ने तिनले बिर्सेका छन्। सन् १९९० को दशकको वाग्मतीको विनाश वा यही दशकको कोसीको कहर त नेपालको सीमामा सीमित रहेन । कोसी बाँध (नफुटोस् भन्ने कामना गरौँ! ) फुटिहाल्यो भने के होला? बाढीले सीमा छुट्याएर विनाश गर्ने त पक्कै हैन। यस्तोमा पनि दुवै देशका बाबुहरू गम्भीर हुनसकेका छैनन्। भारतले छिमेकीसँग गर्ने व्यवहार सही हुन्थ्यो भने छरछिमेकका सबै देशमा भारतीय जनता, भाषा, संस्कृतिप्रति अगाध सम्मान र मोह हुँदाहुँदै पनि शासनप्रति शत्रुता हुने थिएन। बाबुहरूले के विचार गर्लान् र यस्तो मानवीय पक्षमा?

No comments:

Post a Comment