Monday, August 13, 2012

अप्ठेरो मामिला

 सरकारले रिस उठेका सचिवहरूलाई काम नहुने ठाउँमा सरुवा गरेछ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले केही सचिवलाई बोलाएर हकारे रे। उनीहरूले मुख्य सचिवलाई नटेरेकाले प्रधानमन्त्रीले हप्काएका हुन् रे। सचिवहरूले सहयोग नगरे कारबाही गर्ने चेतावनीसमेत प्रधानमन्त्रीले दिए रे। अझ, पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने सचिवलाई त कारबाही गर्न तयारीसमेत प्रधानमन्त्री भट्टराईले गरिरहेका छन् रे। बाबुराम भट्टराईको यस व्यवहारले गाउँको एउटा पुरानो घटना सम्झायो। 
गाउँमा एक जना धनी मान्छे थिए। तिनका सन्तानको भने कुन्नि के कारणले हो उमेरअनुसार शारीरिक र मानसिक विकास भएको थिएन। तैपनि, आमालाई छोराको बिहा गर्ने रहर लागेछ। गाउँकै जात मिल्ने गरिबकी छोरी मागेर बिहा गरिदिए। बिहा त भयो तर छोरा र बुहारीको व्यवहार हेर्दा आमाको नाति खेलाउने रहर पुग्ने लक्षण देखिएन।  
उमेर पुग्दै गएपछि केटी त माइतै बस्न थाली। केटाकी आमा पीर मान्न थालिन्। केटी चाहिँ जात्रामात्रामा बढी नै रमाउन थालेकी थिई। आमाले मलाई भनिन् ! लौन बाबु, बुहारी त घरै आउँदिन। गाउँतिर कुरा काट्न थालिसके। तिमीले भनेको मान्छे कि एकपल्ट सम्झाई देऊ ! तिनी मेरी आमाकी साथी थिइन्। उनका छोरा मभन्दा जेठा थिए। बुहारी मेरै दौँतरी। मलाई अलि असजिलो पनि लाग्यो। एक्लै कुरा गर्नु पनि अप्ठेरो मामिला। पहिले केटालाई सोधेँ। 'नआए नआओस् मलाई मतलब छैन अर्को बिहा गर्छु' पो भने।  
केटीलाई र हामीभन्दा केही वर्ष पाका अर्का साथीलाई पनि बोलाएँ। केटीलाई किन घर नबसेकी? अलि लाज मानिन्। केही जवाफ दिइनन्। अनि ती दाजुले फकाइफुल्याई गरेर सोधे। उनले एक दिनको घटना सुनाइन् - केटा र केटी बेग्लाबेग्लै ओछ्यानमा सुत्दा रहेछन्। आमाले थाहा पाइछन्। नाति खेलाउन रहरमा बुहारी भित्र्याएकी आमालाई छोराबुहारीको चाला देखेर पीर लाग्यो। उनले छोरालाई बुहारीसँगै सुत् भनिछन्। छोराले आमाको आदेश त पालन गरे तर इच्छा पूरा गरेनन्। आमाले मेसो पाइछन्। अनि मुखै फोरेर संसर्ग गर्न भनिछन्। छोराले दुलही मान्दिन भनेछन्। आमाले दुलहीलाई कसरी तह लगाउने सम्झाइछन्। आमाछोराका कुराकानी केटीले पनि सुनिछन्।   
बेलुका भयो। नभन्दै केटा आए। 'मलाई तेल लगाई द' भने। तेल लगाइदिए पछि केटी बिस्तारै खाटको पल्लो छेउमा पल्टिन्। केटा नजिकै सरेर केटीलाई आफूतिर तान्न खोजेछन्। केटी केटाको हात पन्छाएर अर्कोतिर कोल्टो परिछन्। आमाले त्यस अवस्थामा के गर्ने भनेर सिकाएकी थिइनन् क्यारे केटाले ओछ्यानबाटै चिच्याएर आमालाई भनेछन्  'आमा यो त अर्कैतिर फर्की?'  
यति सुनाइसकेपछि केटीले उल्टै हामीलाई सोधिन् - त्यस्तो घरमा म के भनेर बस्ने? मसँग उत्तर थिएन। तिनको घरजम भएन। पछि केटीले अर्कै बिहे गरिन्। केटाले पनि अलि परिपक्व भएपछि दोस्रो बिहा गरे।  
प्रधानमन्त्री भट्टराईले वरीयता मिचेर मुख्य सचिव त बनाइदिए तर सम्मान कमाइदिन त सकेनन्। कसैले पनि सत्तै्कन। र कसैका लागि पनि सत्तै्कन। आदर र अदब त आफैँले कमाउने हो। करले माया लाग्दैन। डरले श्रद्धा जाग्दैन। मुख्य सचिवले नै आफ्ना सहकर्मीसँग छलफल गर्न खोजेका भए राम्रो हुन्थ्यो। सामूहिकरूपमा उनीहरू कुराकानी गर्न तयार नभए एक्लाएक्लै भेटघाट गरेको भए हुन्थ्यो। उनीहरूले सहयोग नगर्दा कामै बिग्रेको भए त्यो पनि खुलाएको भए हुन्थ्यो। आफूभन्दा वरिष्ठ सहकर्मीहरूसँग झुकेकै भए पनि उनैको मान बढ्थ्यो। विनयशीलताले हानि त गर्दैन। मातहतका सहकर्मीलाई तह लगाउन प्रधानमन्त्री गुहार्नु मुख्य सचिवको पदीय मर्यादालाई पटक्कै सुहाएन। कमजोर व्यक्तिले बलियो भएको भान पार्न खोज्छ रे। मुख्य सचिव र प्रधानमन्त्रीमा यही हीनताग्रन्थी देखियो।  
कति पटक प्रधानमन्त्री गुहार्ने? अनि सचिवहरू बैठकमा आएनन् भन्दैमा तिनले कसुरै गरेको ठान्न मिल्छ? सरकारले अहिले निर्णय त जे पनि गर्ला तर त्यसको नैतिक वैधता नभए झन् बढी बेइज्जत हुन्छ। यति धेरै जना वरिष्ठ सचिवहरूलाई तर्साउन खोज्दा लहरो तान्दा पहरो गर्ज्यो भने के होला? प्रधानमन्त्रीले पारदर्शी र चित्तबुज्दो निर्णय गरेका भए यस्तो अवस्था उत्पन्नै हुने थिएन। एउटा कमजोरी ढाक्न थप त्रुटि गर्दै जानु भासमा दौडन खोज्नुजस्तो हुन्छ। बाबुराम र लीलामणि असफल भएर त केही बिग्रने थिएन तर तिनले मुलुकको स्थायी सरकार भनिने निजामती सेवालाई नै धमिलो बनाउने डर देखियो। आमाले ओछ्यानमा पुगेको छोरालाई सिकाउने कुरा धेरै हुँदैन र सिकाउन थाल्ने हो भने छोराको घर पनि हुँदैन। अहिले बलफ्ती कजाइएका सचिवहरूले कुनै कारणले प्रधानमन्त्री फेरिए भने टेर्लान् र?  
  

No comments:

Post a Comment